काठमाडौं । कोराना भाइरसको सर्वत्र त्रास । चैत्र ११ देखि लकडाउन । पढाइ र परीक्षा स्थगित । शिक्षासँगै सवैक्षेत्र कोठामा सीमित भएको अवस्था । अधिकांश विद्यालय आइशोलेशन र क्यारेन्टाइनमा परिणत भएपछि शिक्षक र विद्यार्थी होम क्वारेन्टाइनमा बसेको अवस्था थियो ।

यसैबिच शिक्षकहरु माथि गम्भीर आरोप लाग्यो । नेपाल प्रहरी, डाक्टर, नर्स, निजामती कर्मचारी कार्यक्षेत्रमा खटिरहेका छन् तर शिक्षकहरु निदाएर बसिरहेका छन् । घरमा बसेरै सरकारी तलव खाइरहेका छन् । सरोकारवालाहरुबाट शिक्षकहरु सिकाइ निरन्तरताका लागि निन्द्राबाट जाग्नुपर्ने, विद्यार्थीसम्म पुग्नुपर्नेखालका प्रतिक्रिया आउन थाले ।

यस्ता प्रतिक्रियाले वास्तवमै निदाएर बसेका शिक्षकहरुलाई त छोएन तर, वास्तवमै लकडाउन भएपनि आफ्नै तरिकाले शिक्षण सिकाइ गतिविधिमै सक्रिय र बालबालिकाको सिकाइ प्रति चिन्तित शिक्षकहरुको मुटुमा भने चसक्क पोल्यो ।

यस्तै चसक्क हुने मकवानपुरका नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध केही शिक्षकहरुले शिक्षकहरु निदाएर बसेका छैनन् र शिक्षण सिकाइमै सक्रिय छन् भन्दै एउटा नयाँ अभियानको शुरुवात गरे– ‘ननिदाएका शिक्षकहरु’

अभियान शुरु गर्ने निधोमा त शिक्षकहरु पुगे तर, कसरी सावित गर्ने कि वास्तवमै शिक्षकहरु निदाएका छैनन् । विभिन्न रचनात्मक र शृजनशील कार्यमा सक्रिय छन् भनेर । बोलेर, लेखेर मात्रै कसैले नपत्याउने । फेरी लकडाउनको समय । अनि उनीहरुले जुक्ति निकाले– सक्रिय र सिर्जनशील काममा व्यस्त शिक्षकहरुकहाँ पुगेर भिडियो रेकर्ड गरेर युट्युव र फेसबुकबाट सार्वजनिक गर्ने ।

भिडियो रेकर्डिङ, भिडियो इडिटिङ विशुद्ध प्राविधिक कुरा भएकाले शुरुमा केही अतालिएका शिक्षकहरुले त्यसको समाधान पनि सरल तरिकाले गरे । यससम्बन्धी ज्ञान भएका शिक्षकहरु खोजेर ९ सदस्यीय प्राविधिक उपसमिति नै गठन गरियो ।

अभियानको शुरु कहाँबाट गर्ने भन्ने दुविधाका बीच शिक्षकहरु एउटा निधोमा पुगे । लकडाउनको अवस्थामा पनि सरकारले प्रस्तुत गरेका वैैकल्पिक सिकाइ प्रक्रियालाई अत्यन्तै सफलताका साथ सञ्चालन गरेको मकवानपुर जिल्लाको बालज्योति माध्यामिक विद्यालयमा पुगेर त्यहाँका शिक्षकहरुको शृजनशीलता र सक्रियतालाई खिचेर प्रश्नोत्तर सहित प्रस्तुत गरियो ।

शिक्षकहरु निदाएका होईनन् बरु शृजनशील कार्यमा पनि छन् भन्ने सावित गर्न यस्तो कार्यक्रम थालिएको कार्यक्रमका परिकल्पनाकारसमेत रहेका संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्मा बताउँछन् । शुरुमा प्राविधिक पक्षमा केहि असहजता देखिएपनि प्राविधिक ज्ञानभएका शिक्षकहरु जुटेपछि अभियान सफल बनेको उनको भनाइ छ ।

देशभर रहेका शिक्षकले गरेका नवप्रवर्तनीय कार्यलाई उजागर गर्न कार्यक्रम थालनी गरिएको बताउँदै संगठनका जिल्ला अध्यक्ष श्रीराम दाहाल प्रतिकूल परिस्थितीमा पनि अनुकुल कार्य गर्न सक्षम शिक्षकका उदाहरणीय कार्य कार्यक्रमको विषयवस्तु रहने गरेको बताउँछन् । जिल्ला अध्यक्ष दाहालकै संयोजकत्वमा गठन भएको प्राविधिक उपसमितिका सदस्य एवम् शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतमले कार्यक्रम प्रतोताको भूमिका निर्वाह गर्ने गरिरहेका छन् ।

कार्यक्रम ननिदाएका शिक्षकहरु फेसबुक पेज र अनलाइनपत्र युट्यूब च्यानलबाट प्रत्येक शुक्रबार बेलुकी आठ बजे प्रत्यक्ष प्रशारण हुने गरेको प्रस्तोता सुनिल गौतम बताउँछन् । कार्यक्रमका शृंखलामा नवप्रवर्तनीय कार्य गर्ने विद्यालयका शिक्षकले गरेका कार्यलाई भिडियोका रुपमा तयार पारेर प्रशारण गर्ने गरिएको उनले बताए ।

कसरी हुन्छ तयारी
कार्यक्रमको विषयवस्तुलाई प्राविधिक उपसमितिले स्थलगत रुपमा पुगेर भिडियो तयार पार्ने गर्दछ भने मकवानपुर जिल्ला बाहिरका विषयवस्तु भने कच्चा भिडियोका रुपमा सम्वन्धित पक्षले प्राविधिक उपसमितिलाई पठाउने ब्यवस्था रहेको छ ।

कार्यक्रमको भिडियो द क्लिकर्स स्टुडियो हेटौंडाले निशुल्क सम्पादन गरिरहेको छ भने प्राविधिक उपसमितिले त्यसलाई तयार पार्ने गरेको संयोजक दाहालले बताए । कार्यक्रममा लाग्ने कूल लागत हालसम्म नि:शुल्क हुने ब्यवस्था मिलाइएको र आगामी दिनका भने दिगो स्रोतको खोजी गरिने दाहालले बताए ।

हालसम्म मकवानपुर जिल्लाको हेटौंडा ५ को बालज्योति मावि, ६ नं वडाको बंशगोपाल मावि, १८ नं वडाको ज्योति माविका शिक्षकहरुको सक्रियता, शृजनशीलता र फरक अभ्यास प्रस्तुत गरिसकिएको छ । मकवानपुरका मात्रै होइन धादिङ जिल्लाको जनजागृति मावि र सिद्धार्थ माविको पनि फरक अभ्यास प्रस्तुती भइसकेको छ ।

प्रतिभा पहिचान पनि
विद्यालयमा पुगेर त्यहाँका शिक्षकले गरेका राम्रा अभ्यास मात्रै होइन शिक्षकहरुले व्यक्तिगत सक्रियतामा गरेका शृजनशील र रचनात्मक कार्यलाई पनि ननिदाएका शिक्षकहरु कार्यक्रममा प्रस्तुत गर्ने गरिएको छ । यसले शिक्षकहरुमा रहेको फरक प्रतिभाको पहिचान र त्यसको उजागर गर्ने काम पनि भएको छ । कार्यक्रममा मकवानपुर जिल्लाकै संगठन जिल्लाकमिटि सहकोषाध्यक्ष चन्द्रादेवी लामा बल र उनका श्रीमान् समेत रहेका नारायणप्रसाद गौतम शिक्षक द्वयले लकडाउनका समयमा तयार पारेका शैक्षिक सामग्रीलाई पनि प्रस्तुत गरिएको छ ।

अन्य शिक्षकहरु सामाजिक सञ्जालमा दर्शन छाट्न व्यस्त रहेका बेला शिक्षक द्वयले भने घरमा बसेर निरनतर विभिन्न सिकाइ सामग्री निर्माण गर्दै बसेका थिए । एकातिर शिक्षकहरुको प्रतिभा उजागर भएको छ भने अर्कोतर्फ शिक्षकहरु सबै निदाएर नबसेका केही शिक्षक घरमा पनि सिकाइ सुधार र शृजनशील काममै क्रियाशील रहेको कार्यक्रमले प्रमाणित गर्न सफल भएको छ । यो कुरा उजागर भएसागै निदाएका अन्य शिक्षकहरुलाई पनि जाग्न विवस गराइदिएको देखिन्छ ।

देशव्यापी बनाउने सोच
यस अभियानलाई मकवानपुर र धादिङमा मात्रै सिमित नगरी देशव्यापी बनाउने योजना रहेको संगठनका जिल्ला अध्यक्ष दाहाल बताउँछन् । कार्यक्रमको छैठौं श्रृंखला अन्तर्गत गत शुक्रबार पाल्पा जिल्लाको दमकडा माविको असल अभ्यास र शिक्षकहरुको सक्रियता र शृजनशीलता प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको विषयवस्तु तीन ढाँचाका रहने बताउँदै संगठनका राष्ट्रिय अध्यक्ष शर्मा पहिलो, लकडाउनका समयमा शिक्षकहरुले गरेका उपलब्धीपूर्ण बैकल्पिक सिकाइका विषयवस्तु, दोस्रो सामान्य अवस्थामा पनि शिक्षकले गरेका उदाहरणीय कार्य र तेस्रो चाहिँ सरकारले चिन्न नसकेका ति न्यून पारिश्रमिकमा रहेर उत्यन्तै उदाहरणीय कार्य गर्ने बालबिकास शिक्षक शिक्षकसँग सम्वन्धित विषयवस्तु समेटिने बताए ।

सुतेका जागे, जागेका काममा लागे
कार्यक्रमको छैठौं श्रृंखलासम्ममा नै करिव १ लाख २० हजार दर्शकहरुले हेरिसकेको र यो संख्या उल्लेख्य वृद्धि भइरहेको शिक्षकहरु बताउँछन् । यस कार्यक्रम पछि सुतेका शिक्षकहरु जागेका र जागेका शिक्षकहरु थप शृजनशील कार्यमा लागेका आयोजकहरु बताउँछन् । कार्यक्रमका केही शृंखला प्रस्तुति पछि नै देशका विभिन्न जिल्लाबाट कार्यक्रमका लागि सामग्री आईपुगेको प्राविधिक समितिले जनाएको छ । वास्तवमै सक्रिय विद्यालय र त्यसका शिक्षकहरुलाई यस कार्यक्रमले हौस्याएको छ ।

टेलिभिजन कार्यक्रमको शैलीमा प्रस्तुत हुने कार्यक्रमको हाल चौतर्फी चर्चा र परिचर्चा चुलिएको छ । पहिले शिक्षकहरु निदाएका भनेर आरोप लगाउने सरोकारवालाहरु पनि कार्यक्रम पछि सबै शिक्षकहरु निदाएका रैनछन् भनेर अर्ति दिन शुरु गरेका छन् ।

कस्तो हुन्छ कार्यक्रम
कार्यक्रमको पहिलो चरणमा सम्वन्धित शिक्षक तथा विद्यालयको भिडियो प्रस्तुत हुने र दोस्रो चरणमा सम्वन्धित शिक्षक, प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष कुराकानीको प्रस्तुति हुने गरेको छ । यस्तै, कार्यक्रमको तेस्रो चरणमा कार्यक्रमका समीक्षकका रुपमा आमन्त्रण गरिएका विज्ञबाट समीक्षा हुने गर्छ । यस्तै, कार्यक्रमको अन्त्यमा यसै सत्रमा कला साहित्य वा संगीत क्षेत्रका प्रख्यात विशेष व्यक्तित्वसँग उनीहरुको नजरमा राम्रा शिक्षकसँगको अनुभूती साटासाट हुने गर्छ ।

हालसम्म कार्यक्रममा शिक्षाविद्हरु प्राडा विद्यानाथ कोईराला, प्राडा मनप्रसाद वाग्ले, प्राडा नन्दबहादुर सिंह, प्राडा वासुदेब काफ्ले, प्राडा बालचन्द्र लुईटेल उपस्थित भएर कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको प्रतिक्रिया दिइसकेका छन् ।

कार्यक्रममा सहभागी भएपछि शिक्षाविद् प्राडा विद्यानाथ कोईरालाले वास्तवमा प्रस्तुती हेरेपछि मलाई लाग्यो कि हामी शिक्षाविद् भन्नेहरुलाई पनि यी शिक्षकहरुले सिकाएका छन्, वास्तविक सिकाइ त ती दुरदराजमा हुने रहेछ भनेर प्रतिक्रिया दिएका थिए भने प्राडा मनप्रसाद वाग्लेले देशको केहि स्थानमा मात्रै हेरेर शिक्षकहरु निदाए भन्ने प्रतिक्रिया दिनेहरु वास्तवमा गलत रहेछन् भन्ने अनुभूती भएको छ भन्ने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्