काठमाडौँ । सक्रिय राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो । फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।

राष्ट्रिय किताबखाना(शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाए । “राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए । उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् । ”

बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् । राजीनामा गर्न चाहने शिक्षकको भीड ह्वात्तै बढेपछि किताबखानामा कामको चाप बढेको छ । कर्मचारी न्यून हुँदा ‘आजको काम आजै’ भन्दै आएको किताबखानाले काम सक्न तीन दिनसम्म लगाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

विभिन्न पालिकाले सेवा अवधि सकिन लागेका शिक्षकलाई आकर्षण दिएको छ । सेवा छोड्न चाहने शिक्षकलाई पालिकाले कम्तीमा एक लाखदेखि बढीमा पाँच लाख रुपियाँसम्म दिने गरेका छन् । पुतलीबजार, मण्डन देउपुर, सूर्यविनायक, व्यास, पनौतीलगायतका नगरपालिकाले यस्तो आकर्षण दिएका छन् ।

धेरै पालिकाले अङ्ग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । अङ्ग्रेजी माध्यमबाट पढाउनुपर्ने भएकाले कतिपय शिक्षकले सेवाबाट अवकाश लिन चाहेका छन् । केन्द्रीय सरकारले दरबन्दी मिलान नगर्दासम्म तलब भत्ता उपलब्ध नगराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ र दरबन्दी मिलान हुँदा आफू अपायक विद्यालयमा सर्नुपर्ने डरले पनि कतिपय शिक्षकले राजीनामा दिएका छन् ।

“२०४८ सालमा स्वतः स्थायी भएका शिक्षकको सेवा अवधि ३० वर्ष पुगेकाले पेन्सनबापत तलबको करिब ६५ प्रतिशत रकम प्राप्त हुन्छ । त्यति रकम घरमै बसेर आउने भएपछि किन दुःख गर्नु भनेर पनि राजीनामा दिएका छन्”, शिक्षक किताबखानाका महानिर्देशक खकुरेलले भने ।

उनले पछिल्लो सातायता दैनिक सरदर ६० जनाको आवेदन पर्ने गरेको बताउँदै गुनासो गरे, “दरबन्दीअनुसारका कर्मचारी छैनन् । भएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा पनि नभ्याउने अवस्था भयो । हामीहरूको जनशक्ति अभावले सेवाग्राही मर्कामा परे । ” कार्यालयमा उपसचिव तीन, अधिकृत चार र प्राविधिक सहायक पाँच जना छन् । देशभरि एक लाख सात हजार ८६० स्थायी शिक्षक छन् ।

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक नेत्रप्रसाद सुवेदीले सेवा अवधि ६० पुग्ने हल्लाले पनि कतिपय कर्मचारीले राजीनामा दिइरहेको बताए। देशभरिका ८८ हजार निजामती कर्मचारीका लागि ६६ जना कर्मचारी सो किताबखानामा कार्यरत छन् भने दैनिक १५ देखि ३० जना निवृत्तिभरणका लागि किताबखानामा जाने गरेका छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्