बैतडी । कोरोनाका कारण बन्द रहेको पठनपाठन सुचारु गर्न टोलमै शिक्षक आएर पढाउन थालेपछि विद्यार्थीहरु दङ्ग परेका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाइ बिर्सने जोखिम भएपछि दशरथ चन्द नगरपालिकाले सामुदायिक विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको सिकाइ निरन्तरता दिएको हो । दशरथचन्द नगरपालिका मातहतका १६ माध्यामिक विद्यालय, १२ वटा आधारभूत विद्यालय, र २४ वटा आधारभूत ९१–५० विद्यालयको सेवा क्षेत्रलाई टोल–टोलमा बाँडेर विद्यार्थीलाई पायक पर्ने स्थानमा जम्मा गरी पढाउन थालिएको छ ।

टोल–टोलमा विषय शिक्षक गएर पढाउन थालेपछि विद्यार्थी खुसी भएका छन् । ग्रामीण भेगका सामुदायिक विद्यालयको सेवा क्षेत्र सानो भएकोले एउटा बस्तीका विद्यार्थीहरु मात्र सो विद्यालयको सेवा क्षेत्र हुने भएकाले बस्तीलाई पनि टोल–टोलमा बाँडेर शिक्षक नै उपस्थित भई बालबालिकाको सिकाइ निरन्तरता दिइएको दशरथचन्द नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो ।

लामो समयपछि साथीहरुसँग पढ्न पाउँदा खुसी लागेको दशरथचन्द नगरपालिका–९ को जोशीबुंगा माध्यमिक विद्यालय लामौतामा कक्षा १० मा अध्यनरत पारस धामीले बताउनुभयो । लामो समयपछि टोल–टोलमा गएर विद्यार्थीलाई शिक्षण गराउन पाउँदा खुसी लागेको शिक्षक रामचन्द्र जोशीले बताउनुभयो । सिकाइ निरन्तरताका लागि हरेक विद्यार्थीको हात–हातमा नयाँ पाठ्यपुस्तक पु¥याइएको छ । अबदेखि हरेक दिन एउटा विषयको शिक्षक एउटा टोलमा पुग्नेछन् । टोलमा रहेका सबै कक्षाका विद्यार्थी बढीमा २० जनासम्म जम्मा भएर पढाइने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले बताउनुभयो ।

“शिक्षकले बालबालिकालाई पढ्न लगाउने, गृहकार्य दिने र पढ्ने बानी बिर्सन नदिन यसो गरिएको हो” दशरथचन्द नगरपालिकाका शिक्षा शाखा संयोजक मोहन नाथले भन्नुभयो “९० प्रतिशत बढी शिक्षक स्थानीय भएकाले परिचालन गर्न सजिलो भएको छ ।” शिक्षकको जनशक्ति कम र विद्यालयमा विद्यार्थी संख्या भने धेरै भएकाले टोलमा अलि चौडा आँगन भएको मैदानमा जम्मा गरी सिकाइलाई निरन्तरता दिने प्रयास थालेको दशरथचन्द नगरपालिकाका उप प्रमुख मीना चन्दले बताउनुभयो ।

गोकर्ण दयालले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्