केशवभक्त घर्ती (५८) रोल्पा सदरमुकाम लिवाङमा रहेको वालकल्याण नमुना माविमा अध्यापन गर्न लागेको ३७ वर्ष भयो । २०४० पौष सालमा अस्थायी नियुक्ती पाएका उनले २०४२ सालदेखी स्थायी शिक्षकको रुपमा कार्यरत छन । निम्नमाध्यामिक तहमा अंग्रेजी पढाउने उनलाई जागिरको उत्तराद्र्धमा सुचना प्रविधि मोहले च्याप्दै लगेको छ । उमेर ढल्कदै गएका उनको साथी वनेको छ ल्यापटप । विद्यालयमा रहदा होस वा घरमा ल्यापटप खोल्छन र सुचना प्रविधिसँग रमाउछन् उनी ।

केशवभक्त घर्ती मात्र हैन बालकल्याण नमुना मावि लिवाङका सवै शिक्षकहरुलाई अचेल फाल्तु गफ गर्ने फुर्सद छैन । प्रायः कम्प्युटरमा व्यस्त देखिने उनीहरु कसैगरि फुर्सद भए सुचना प्रविधिकै कुरा गर्छन् । विगतमा राजनीतिक गफ गर्ने थलो वनेको आरोप लाग्ने सो विद्यालय अचेल भने सूचना प्रविधिले प्राथमिकता पाउन थालेको छ । आफुले जानेका कुरा एकअर्का वीच आदान प्रदान गर्दा नयाँ कुरा थाहा हुदा सिक्न सिकाउन सहज भएको छ शिक्षकहरुको भनाई छ ।

विद्यालयले अघिल्लो वर्ष सुचना प्रविधिको नविनतम प्रयोग गर्ने भन्दै माध्यमिक तहमा स्मार्ट बोर्ड जडान गरेको थियो । क्रमशः सवै कक्षामा स्मार्ट वोर्ड जडान गरि सूचना प्रविधिमैत्री वनाउने लक्ष्य लिएको विद्यालयले अघिल्लो वर्ष त्यसको प्रयोगमा समस्या भोग्यो । ‘यस वर्ष भने लकडाउनका कारण लामो समय सम्म भएको विद्यालय वन्दको सदुपयोग गर्दै स्मार्ट वोर्ड प्रयोग गर्ने सीप र कम्प्युटर सीप सिकायौं’, विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भने ।

विद्यालयले एक शिक्षक एक ल्यापटपको कार्यक्रम अघि सारेको प्राचार्य पोख्रेलले जानकारी दिए । अहिले २५ जना शिक्षकलाई ल्यापटप उपलव्ध गराएका छौ प्राचार्य पोख्रेलले भने । ‘सुरुसुरुमा धेरै शिक्षकको हातमा ल्यापटप भएपनि सूचना प्रविधिको ज्ञान निकै कम हुँदा उपयोगमा समस्या थियो’, पोख्रेलले भने, ‘लकडाउन अवधिमा स्मार्ट बोर्ड प्रयोग, यूट्युवबाट आवश्यक शैक्षिक र सहयोगी सामाग्रीको खोजी तथा ल्यापटप प्रयोग लगायतका सुचना प्रविधिको आधारभुत ज्ञाप र सीपमा शिक्षकहरुको क्षमता विकास भएको छ’, ।

लकडाउनको पहिलो २ महिना वन्द रहेपनि जेठ देखि भने विद्यालय नियमित खुलिरहेको छ । दैनिक विहान ८ वजेदेखि बेलुका ६ बजेसम्म ४ सिप्टमा शिक्षकको ड्यूटी व्यवस्थापन गरिएको छ । पूर्णकालिन र अल्पकालिन समेत ६३ जना शिक्षक कर्मचारी रहेको सो विद्यालयमा वढी भिडभाड नहुने गरि ड्यूटी व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । विद्यालयको नियमित काम गरेर बचेको समयलाई सुचना प्रविधिमा उपयोग भईरहेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतवहादुर डाँगीको भनाई छ ।

‘सुचना प्रविधिसँग अभ्यस्त हुन पुरानो पुस्तालाई अलि कठिन भएपनि विद्यालयमा टिक्न सूचना प्रविधिको ज्ञानको विकल्प छैन’, डाँगीले भने, ‘लकडाउनको अवधिमा विद्यालयले आयोजना गरेको छोटो अवधिको तालिम,शिक्षकहरुको आफ्नै मेहनत र छलफलवाट विगतको तुलनामा शिक्षकहरु सुचना प्रविधिमा अभ्यस्त हुदै गएको पाइएको छ’ ।

जीवनको ३७ वर्ष शिक्षण पेशामा विताए पनि पछिल्लो प्रविधिले आफुमा थप जोश र उत्साह थपेको शिक्षक केशवभक्त घर्तीको भनाई छ । ‘उमेर ५८ वर्ष पार भइसकेको छ अव विद्यालयमा सेवा गर्ने अवधि पनि थोरै भएपनि सुचना प्रविधिले मलाई नवयुवा झै वनाएको छ’, घर्तीले भने । जीवनको धेरै समय कालोपाटी, चक र डस्टरमा विताएका घर्ती सेवाको उद्धाराद्र्धमा सुचना प्रविधि उपयोग गर्न पाएकोमा मख्ख छन् ।

‘विद्यालयले स्मार्टवोर्डवाट पठनपाठन गर्न भन्दै कक्षा कक्षामा स्मार्ट वोर्ड जडान र शिक्षकका हातहातमा ल्यापटप दिएपछि सुचना प्रविधिको ज्ञान सीप सिक्नै पर्ने भयो’, घर्तीले भने, ‘विद्यालय होस वा घर वचेको समय सुचना प्रविधिको नवितम कुरा सिक्न समय खर्चने गरेको छु’ ।

‘म आफै शिक्षक भए पनि मेरो शिक्षक यूट्युव र साथीभाई भएका छन्’, घर्तीले भने, ‘कोरोना पछि भएको लामो समयको लकडाउनले धेरैले धेरै कुरा गुमाएपनि मैले भने सुचना प्रविधिको ज्ञान सीप प्राप्त गरे’, ।

प्रतिकृया दिनुहोस्