काठमाडौं । नागार्जुन नगरपालिका–८, पाखुरेफेदीस्थित भीमढुंगा आधारभूत विद्यालयले नयाँ भवन पाएको छ ।

भूकम्पले क्षतिग्रस्त विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाईकाठमाडौं(शिक्षा)ले नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।

बुधवार भव्य समारोहकाबीच इकाईका प्रमुख अर्जुन रायमाझीले करिब ७० लाखमा बनेको ४ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
नवनिर्मित भवनको मंगलवार नै ३ नम्बर प्रदेशसभा सांसद केशवप्रसाद पोखरेलले उद्घाटन गरेका छन् ।

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश सांसद पोखरेलले नयाँ भवनमा विद्यालयले नयाँ प्रविधियुक्त शिक्षा दिन आग्रह गरे । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको भन्दै सामुदायिक विद्यालयको सुधारले मात्रै समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे ।


विद्यालय भवन हस्तान्तरण गर्दै इकाई प्रमुख रायमाझीले आफूहरुले नयाँ भवन बनाइदिएको अब त्यसमा विद्यार्थी भने, गुणस्तरीय शिक्षा दिने र भवनको सुरक्षा गर्ने काम विद्यालयको भएको बताए ।

भूकम्पले विद्यालयको भवनमात्रै नभइ शिक्षक, विद्यार्थी र अभिभावकको मन पनि भत्काएको स्मरण गर्दै रायमाझीले भवन पुनर्निर्माणले भवनसँगै मनहरुको पनि पुनर्निर्माण गरेको स्पष्ट पारे ।

८नम्बर वडाका वडाध्यक्ष शुक्रबहादुर तामाङले नयाँ भवनमा विद्यार्थी भर्ने, यसको मर्मतसम्भार गर्ने दायित्व स्थानीय सरकारले लिने बताए । अभिभावकहरुलाई छोराछोरी सामुदायिक विद्यालयमै पढाउन उनले आग्रहसमेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुराम वास्कोटाले भौतिक समस्या समाधान भएसँगै अब विद्यालय सिकाइ सुधारमा केन्द्रित रहने बताए । विद्यालयका प्रधानाध्यापक रामेश्वर लुइटेलले विद्यालयको गुणस्तरीय शिक्षा सुधारको प्रयासमा नयाँ भवन कोशेढुंगाको रुपमा रहेको बताए ।

२०७६ भदौ ११ गते २३:२३मा प्रकाशित

प्रतिकृया दिनुहोस्