• आउँदो वर्ष मुलुककै उत्कृष्ट विद्यालय बनाउनेछौं
    ()

  •  

    पूर्णप्रसाद दवाडी
    प्रधानाध्यापक
    नारायणी नमूना मावि, भरतपुर, चितवन


    विद्यालयको अवस्था कस्तो छ ?

    समग्रमा भन्नुपर्दा उत्साहजनक नै छ । शुरुमा विद्यालयको शैक्षिक गुणस्तर एकदमै कमजोर थियो । २०२० सालमा दिनभर काम गर्ने र राती पढ्नेहरुका लागि खोलिएको रात्री विद्यालय हो । उमेर पुगेका र पाका मान्छेहरुले रात्रीकालीन समयमा पढ्ने भएकाले गुणस्तर अत्यन्तै नाजुुक थियो । यो विद्यालयलाई अझैपनि पुराना मान्छेहरुले नामले भन्दापनि रात्री विद्यालय भनेरै चिन्छन् । यो विद्यालय प्रावि, निमावि र मावि भएको नभई पहिले मावि, निमावि हुँदै पछि मात्रै प्राविमा गएको हो । राती विद्यार्थी कम भएपछि बिहानमा लगियो । बिहान लैजाँदा पनि खासै विद्यार्थी नआएपछि २०४१ देखि दिउँसो सञ्चालन गर्न थालियो । शुरुका केही वर्ष विद्यालय एसएलसी नतिजामा निल नै भयो । अन्त फेल भएपनि रात्री स्कूल छदँैछ नि भन्दै बजारतिरका फेल भएका, आवारा, अनुशासनहीन विद्यार्थी पढ्न आउने गर्दथे । जसले गर्दा शैक्षिक स्तर राम्रो हुने पनि कुरा भएन । तर, पछिल्लो दिनमा राष्ट्रियस्तरमै गौरव गर्नसक्ने बन्दै गएको छ । हामी पाठ्यक्रम र पाठ्यपुस्तक पढाउनुभन्दा पनि शिक्षालाई व्यवहारसँग जोड्नका लागि लागिरहेका छौं । १२१ मापदण्ड पुरा गरेर सरकारबाटै नाममै नमूना लेख्न अनुमति पाउने मुलुककै एक मात्र विद्यालय नारायणी नमूना मावि मात्रै हो । २२२ नमूना विद्यालय छनौट भएपनि उनीहरुले बजेट मात्रै पाउने हो । नाममा नै नमूना लेख्न पाउँदैनन् । प्रअ र विव्यस अध्यक्षको परिवारमा तीन पुस्तामा नमूना नाम भएका कोही भएमा हामीले नमूना लेख्न पाउँदैनथ्यौं ।


    सुधारको शुरुवात कसरी गर्नुभयो ?

    विद्यालयको गिर्दो नतिजादेखि हैरान हुनुभएका तत्कालीन प्रअ टेकबहादुर थापाको नेतृत्वमा गुणस्तर सुधारका लागि नयाँ प्रयासहरु गर्न शुरु भए २०४९ साल तिरबाट । त्यसका लागि शुरुमा हप्ताको ३/३ दिन अंग्रेजी र गणितको थप कक्षा लिन शुरु गरियो । हल्ला पनि गर्ने, केही राम्रा विद्यार्थी तान्ने र विद्यार्थीको स्तर अनुसार सेक्सन विभाजन गर्न भनेर त्यसपछि प्रवेश परीक्षा लिई विद्यार्थी भर्ना गर्न शुरु गरियो २०५०÷५१ तिर । तेस्रो प्रयासस्वरुप उत्तीर्ण प्रतिशत ३२ बाट बढाएर ४० बनाइयो । पछि प्रथम त्रैमासिक र अर्ध वार्षिक परीक्षामा पास नभए माथिल्लो कक्षामा जान नसक्ने व्यवस्था ग¥यौं । यी सब हल्लाका लागि मात्रै गरिएको थियो । तर, यसले गर्दा विद्यार्थीहरु शुरुदेखि नै मिहिनेत गरेर पढ्न थाले । यसले गर्दा बाहिरबाट पनि मिहिनेती विद्यार्थी आउन थाले र गुणस्तर सुधार हुन थाल्यो ।

    २०५७/५८ मा पुगेपछि विद्यालयले जिल्लामा प्रथम हुन शुरु ग¥यो । लगातार ८/१० वर्ष विद्यालय जिल्ला प्रथम हुँदै गयो । २०६८ सालदेखि नेपाल सरकारले राष्ट्रिय रुपमा पनि मूल्याङ्कन शुरु गरेपछि पहिलो वर्ष मध्यमाञ्चल आठौं भयो । २०६९ मा राष्ट्रिय पाँचौं भयो । ०७० मा छैटौं, ०७१ मा एक्साइसौं, ०७२ मा राष्ट्रिय दोस्रो र मध्यमाञ्चल प्रथम भयो । २०७३ मा देशभरको दोस्रो र ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भयो । यस वर्ष लगभग ३०० विद्यार्थी एसइइ परीक्षामा सहभागी भइरहेका छन् । आशा छ, हामी आगामी वर्ष मुलुककै उत्कृष्ट विद्यालय बन्नेछौं । यसका लागि शिक्षक समूह निरन्तर मिहिनेतमा जुटेको छ ।


    सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको चासो किन कम भएको होला ?

    हामी मिहिनेती भए र राम्रो गुणस्तर दिन सके विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सक्छौं । हाम्रै विद्यालयको कुरा गर्ने हो भने कक्षा १० मा ६ वटा र ९ कक्षामा ३५० विद्यार्थीका लागि ७ सेक्सन छ । कुल २,००० विद्यार्थी छन् । हामी अहिले पनि प्रवेश परीक्षा लिन्छौं र धेरै विद्यार्थी फाल्नलाई लिन्छौं । जहिल्यै ११ र १९ वैशाखमा दुईपटक परीक्षा हुन्छ । गत वर्ष ७५८ जनाले परीक्षा दिएकामा ४ सय मात्रै उत्तीर्ण भए । दोस्रोपटक पनि २ सय बाहिरिए । राख्ने क्षमता भए हामी जतिपनि विद्यार्थी संख्या पु¥याउन सक्छौं ।


    शैक्षिक गुणस्तरको अवस्था कस्तो छ ?

    कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकाय सञ्चालनमा छन् । यसमा पनि निजीका प्लस टुभन्दा हाम्रो नतिजा उत्कृष्ट छ । एसइइमा ए प्लस र एभन्दा मुनिकालाई हामी भर्ना नै लिँदैनौं । सिकाइमा मात्रै होइन, हाम्रा विद्यार्थी खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहँदै आएका छन् । हाम्रा एकजना विद्यार्थीले फिलिपिन्सको मनिलामा गई अन्तर्राष्ट्रिय विज्ञान प्रतिस्पर्धामा भाग लिएर आए । जिल्लामा हाम्रो विद्यालय आयो भनेपछि मैदान नै खाली गरिदिने जस्तो अवस्था छ । गत वर्ष एसइइ परीक्षामा ५० जनाको ए प्लस आएको थियो । यस वर्ष १०० जनाले ल्याउने हाम्रो अनुमान छ । यहाँबाट जाने विद्यार्थीले अरु ठाउँमा राम्रो गरिरहेका छन् । गत वर्ष मात्रै पुल्चोक इञ्जिनियरिङमा हाम्रा तीनजना विद्यार्थीले छात्रवृत्तिमा नाम निकाले ।

    बाहिरबाट हेर्दा देखिने विद्यालयका विशेषताहरु के–के छन् ?

    झट्ट बाहिरबाट हेर्दा विद्यालय भरतपुरको माझमा देखिन्छ । भौतिक रुपमा पनि सम्पन्न छ । घेरा पर्खाल, हरियाली, फूलबारी, सुरक्षा, सफा, अनुशासन सबै कुराले गर्व गर्नलायक नै छ । हाम्रा विद्यार्थी विदा भएर बाहिर निस्कन मात्रै आधा घण्टा लाग्छ । पूरै ठाउँ नै हाम्रा विद्यार्थीले ढाकेको झैं देखिन्छ । अंग्रेजी माध्यम लागू गरेका छौं । हरेक कक्षामा प्रोजेक्टरबाट शिक्षण हुन्छ । हरेक शुक्रबार कक्षा ८ र १० को परीक्षा लिन्छौं । उत्तरपुस्तिका अभिभावककहाँ पठाइदिन्छौं । नतिजाको विश्लेषणका आधारमा अघि बढ्छौं । विद्यार्थी र शिक्षकहरुलाई डायरी दिएका छौं । शिक्षकले हरेक दिन पढाउने र पढाएका विषय विद्यार्थीले सिकेको विषयवस्तु टिप्ने गर्छन् । विद्यार्थीलाई शिक्षक लगबुक दिन्छौं । हरेक दिन कुन शिक्षकले के पढाए भन्ने लेख्नु पर्छ । हरेक मसान्तमा त्यो प्रअलाई बुझाउनु पर्छ । हाल ३० जना दृष्टिबिहीन विद्यार्थीका लागि होस्टेल सञ्चालन गरिरहेका छौं । २९ जना सुस्त मनस्थिति विद्यार्थीका लागि दिवा होस्टेल सञ्चालन गरेका छौं । उनीहरुका लागि गाडीमा ल्याउने लैजाने र निःशुल्क दिवा खाजाको व्यवस्था गरेका छौं । एउटा ठूलो परिवार जस्तै मिलेर बसेका छौं । स्थानीय समुदाय, जिल्लामा सरुवा भएर आउने कर्मचारी सबैको पहिलो रोजाइ यही विद्यालय हुने गरेको छ । अहिले नारायणी विद्यालयको विकल्प निजी विद्यालय होइन, निजी विद्यालयको विकल्प नारायणी मावि बन्न पुगेको छ । यहाँ भर्ना नपाए मात्रै निजीमा जाने चलन शुरु भएको छ ।

    शिक्षकहरुको व्यवस्थापन कसरी गर्नुभएको छ ?

    हामीकहाँ पर्याप्त शिक्षक दरबन्दी छैन । ३४ जना मात्रै सरकारी दरबन्दी छ । ७२ जना शिक्षक–कर्मचारी छौं । बाँकी सबै निजी स्रोतमा व्यवस्थापन गरेका छौं । अभिभावकहरुले इच्छाले गर्ने आर्थिक स्रोतबाहेक विद्यालयको आम्दानी अन्य केही छैन । हामीले हरेक तहमा छुट्टै व्यवस्थापक बनाएका छौं । प्रअले हरेक व्यवस्थापकहरुसँग सम्पर्क गरे पुग्छ । हरेक शिक्षकहरुसँग शैक्षिक शत्रको शुरुवातमै यति प्रतिशत उत्तीर्ण गराउँछु भनेर कार्यसम्पादन सम्झौता गर्छौं । त्यसो त, विद्यार्थीले पनि यति सुधार गर्छु भनेर प्रतिबद्धता जनाउने गर्छन् । यस वर्षको एसइइ परीक्षामा थोरै ल्याउछु भन्नेले पनि ६५ प्रतिशत र बढी भन्नेले ९५ प्रतिशत ल्याउछु भनेर प्रतिबद्धता जनाएका छन् । जिल्लामा राम्रो नतिजा ल्याउने शिक्षकहरुलाई जिशिकाले वर्षैपिच्छे गर्ने पुरस्कार वितरणमा १९ जना नारायणी माविका मात्रै हुनुभयो । अतिरिक्त कक्षा लिने र विदामा नबस्ने शिक्षकलाई थप सुविधा दिने भएकाले शिक्षकहरु सितिमिति विदा बस्नुहुन्न । हामीले ९ जना एमएसी गरेका शिक्षक निजी स्रोतमा राखेका छौं । एमएड गरेका मात्रै ११ जना शिक्षक राखेका छौं । हामीले धेरै पढेकालाई तल्लो कक्षामा राख्ने गरेका छौं ।


    समुदायको साथ कत्तिको पाउनुभएको छ ?

    समुदायको निकै सहयोग छ । समुदायले सधैं सबैतिर नारायणी जस्तो विद्यालय हुनु पर्छ भन्नुहुन्छ । विव्यसले रातदिन नभनी खट्छ । विव्यसको बैठकमा रिसाउनुपर्ने, चर्कोसाग बोल्ने गनुृपरेको छैन । सहयोगी छ । विव्यसका अध्यक्ष पूर्व प्रअसमेत रहनुभएका टेकबहादुर थापा विगत चार वर्षदेखि निर्विरोध हुँदै आउनुभएको छ । उहाँ घर–परिवारभन्दा विद्यालयलाई माया गर्नुहुन्छ । हामीलाई गर्व पनि लाग्छ । सबैतिर सामुदायिक विद्यालयहरु खस्कँदै गइरहेको अवस्थामा हामीले यतिसम्म गर्न सकेछौं जस्तो लाग्छ । विद्यार्थीहरु विद्यालय आउन हतार गर्ने र दिनभर रमाएर सिक्ने गर्छन् । मन्टेश्वरी प्रशिक्षण लिनुभएका शिक्षक र पर्याप्त शैक्षिक सामग्रीसहितको नर्सरी कक्षा हेर्न लायक छ । नर्सरी र केजी पछि बल्ल कक्षा १ मा जाने व्यवस्था गरेका छौं । हाम्रा सबै शिक्षकहरु आफ्ना छोराछोरी यही विद्यालयमा पढाउनुहुन्छ । मेरा तीनजना छोराछोरी यहीबाट पढेका हुन् । केही शिक्षकले एसओएसलगायतका अन्य निजीस्तरका विद्यालयबाट निकालेर समेत हाम्रोमा ल्याउनुभएको छ ।


    विद्यालयको आगामी योजना के–के छन् ?

    हामीलाई अझैं १२६ कोठा आवश्यक छ । पाँच वर्षमा ५,००० विद्यार्थी पु¥याउने लक्ष्य राखेका छौं । विद्यालयले २०० विद्यार्थीका लागि होस्टेल बनाउँदैछौं । अर्को वर्षदेखि ११ मा तीन वर्षे आएसइ एजी र कम्प्यूटर इञ्जिनियरको कक्षा शुरु गर्दैछौं । हामी प्राविधिक शिक्षामा जोड दिनुपर्छ भनेर ‘नारायणी इञ्जिनियरिङ इन्स्टिच्युट’ भनेर शुरु गर्दैछौं । नौ प्राविधिक विषय अध्ययन हुनेछ । सबै तयारी पूरा भएको छ । हामी प्राविधिक र साधारण गरी दुई शिक्षालय सञ्चालन गर्दैछौं । एउटा वृहत् विद्यालयको मोडलमा जाने उद्देश्य राखेका छौं । स्वीमिङ पुल, अण्डर ग्राउण्ड पार्किङ बन्दैछन् । पार्क, खेलमैदान बन्दैछन् । विद्यालयमा प्रवेश गरेपछि अर्कै संसारमा पुगेको जस्तो बनाउने हाम्रो योजना छ । काम अघि बढिरहेको छ । एक कक्षामा प्रवेश गरेको एउटा बच्चा १२ उत्तीर्ण गर्दा उसको हातमा शैक्षिकसँगै प्राविधिक सीपको प्रमाणपत्र दिने योजनामा छौं ।


    सामुदायिक विद्यालयहरुको स्तर नउकासिनुको कारण के हो जस्तो लाग्छ ?

    शिक्षकलाई हेर्ने दृष्टिकोण र स्वयं शिक्षकै व्यवहार सन्तोषजनक भएन । शिक्षकहरु विभिन्न संगठनमा विभाजित छन् । ‘सामुदायिक विद्यालय पढाइ नराम्रो हुने ठाउँ हो, ऋण गरेर भएपनि निजीमै पढाउनुपर्छ’ भन्ने आम अभिभावकको सोचाइ बन्यो । त्यसलाई चिर्न हामी असफल भयौं । विव्यसमा चरम राजनीतिक खिचातानी र विद्यालय सञ्चालनमा उनीहरुको अवरोध देखिन्छ । तर, पछिल्लो दिनमा सुधार आउँदैछ । चितवनमा सामुदायिकबीच कडा प्रतिस्पर्धा शुरु भएको देखिन्छ । को भन्दा को कम को अवस्था बनेको छ । स्थायी, तालिमप्राप्त, प्रतिस्पर्धी शिक्षक हुँदा पनि व्यवस्थापनको कमीले सामुदायिक अब्बल बन्न सकिरहेका छैनन् ।


    शिक्षकले बढी राजनीति गरेर समस्या भएको हो ?

    एकाध मान्छेको आधारमा तीन लाख शिक्षकलाई एउटै डालोमा हाल्न मिल्दैन । केहीले गरेका होलान् तर समग्रमा त्यस्तो छैन । विचार र आस्था हुन सक्ला । म पनि नेपाल शिक्षक महासंघको केन्द्रीय सहअध्यक्ष हुँ । म दलीय राजनीतिभन्दा शैक्षिक सुधारको राजनीति गर्ने मान्छे हुँ । प्रअ भिजन भएको मोडल हुन जरुरी छ । ऊसँग सुधारको मार्गचित्र हुन जरुरी छ । जागिर खाने मात्र शिक्षकले केही हुँदैन, केही गरौं भन्ने शिक्षक समूह हुन जरुरी छ ।


    सामुदायिक विद्यालय कमजोर हुनुमा हाम्रो नीतिमा समस्या हो कि नियतमा ?

    नीतिमा पनि समस्या छ अनि नियतमा । सरकारले सामुदायिकको स्तर उकास्ने नीति ल्याउन सकेको छैन । निजीमा छोराछोरी पढाउनेहरुले नीति बनाएको अवस्था छ । सबैले सामुदायिकमा पढाउने नारा ल्याए ५ वर्षमा निजीभन्दा अब्बल बन्छन् सामुदायिक विद्यालय । राम्रा निजीमा पठाउने, कमजोर हामीकहाँ पठाउने र निजी जस्तै बना भन्ने ? पाठ्यक्रम पनि अहिलेको विद्यार्थी सुहाउँदो समयसापेक्ष छैन । पढाउने ढंगमा पनि सुधार ल्याउन जरुरी छ । हाम्रोमा भर्ना गरिदिन भनेर मन्त्री, विशिष्ट व्यक्तिको फोन आउँछ । निजीले थोरै र राम्रा विद्यार्थीलाई पूरै घोकाएर सिकाउँछ । हाम्रोमा धेरैका निम्ति मिहिनेत गर्नुपर्छ ।

    प्रस्तुति : रोशन गाउँले

     

    साभार आजको शिक्षा साप्ताहिक