ऊ अहिले जापानमा छ । जापानको एउटा कलेजमा खुशी र उत्साहका साथ अध्ययन गरिरहेको छ । कक्षामा उसलाई अनुशासित, लगनशील र जेहेन्दार विद्यार्थीको रूपमा चिन्छन् । उसले अध्ययन गर्ने कक्षामा विभिन्न देशका विद्यार्थीहरू छन् । ऊ उनीहरू सँगसँगै अध्ययन गर्छ । सबै देशका विद्यार्थीहरूलाई उछिन्दै उसले अहिले टप थ्री भित्र आफ्नो स्पेस बनाएकोे छ । त्यहाँउसले आफ्नो पहिचान मात्र होइन नेपालको पहिचानलाई समेत उच्च बनाउने कोसिस गरिरहेको छ । कतिपय देशका विद्यार्थीहरूले नेपाल भन्ने पनि देश छ र ? भन्ने जिज्ञाशा राख्दा उसले गर्वका साथ भन्ने गर्दछ –‘नेपाल भन्ने देश छ । त्यो मेरो देश हो । यदि तिमीले माउण्ट एभरेष्ट र बृद्धको जन्मभूमि लुम्बिनीको नाम सुनेका छौ भने त्यो मेरो देशमा पर्दछ ।’ उसको कतिपय समय त नेपालका बारेमा केही थाहा छैन भन्नेहरूलाई धेरै कुरा थाहा दिने कार्यमा बित्ने गर्दछ ।
उसको कक्षामा एकपटक शिक्षकले अध्यापन गर्दागर्दै लुम्बिनीका बारेमा बहस चल्छ । शिक्षक र केही विद्यार्थीहरूको बीचमा लुम्बिनी त भारतमा पर्दछ भनेर छलफल अघि बढछ । त्यतिबेला त्यो कक्षामा ऊ मात्र एउटा व्यक्ति हुन्छ जसले लुम्बिनी नेपालमा पर्दछ भनेर आफ्ना अभिमतहरू दरो किसिमले अघि सार्दछ । शिक्षकले प्रमाण देखाऊ भन्छ । उसले गुगल अर्थ सर्च गरेर नेपालको मध्य भागमा रहेको एवम् लेखिएको लुम्बिनीलाई देखाउछ र गौतम बुद्धका पिता सुद्धोधनले राज्य गरेको राज्यको राजधानी तिलौराकोटलाई देखाउँछ । साँच्ची आफ्नो देशको बद्ख्याइँ र अपमान गरेको उसलाई कत्तिपनि मन पर्दैन । जति बेला उसलाई आफ्नो देशको बद्नाम गरेका कारणले दिल दुख्ने गर्दछ त्यतिबेला उसले आफ्नो देशमा रहेकी आमासँग कुरा गर्दछ –‘मम्मी म यो देशमा रोजीरोटीको निम्ति काम गरेर बस्ने पक्षमा छैन । बरू राम्रो युनिभर्सिटीमा अध्ययन गरेर नेपालमै फर्किन्छु र मेरो देशको उन्नतिका लागि सके जति योगदान गर्छु ।’
मैले मेरा उल्लिखित पङ्तिहरूमा ऊ भनेर सम्बोधन गरेको एउटा अनुशासित र जेहेन्दार नेपाली ठिटोको नाम गौरव घर्ती हो । ऊ अहिले खुशी र उत्साहका साथ जापानमा अध्ययन गरिरहेको छ । उसले नेपालमा अध्ययन गर्दा भने कहिल्यै खुशी अनुभूत गर्न सकेन । सम्मान भन्ने कुरा त चरीको दूध भएको थियो उसको जीवनमा । उसले मनका कुराहरू शिक्षक र प्रिन्सिपलसँग शिष्ट तरिकाले राख्दा समेत उसले कहिल्यै धन्यवाद् पाएन । बरू धन्यवाद्को ठीक उल्टो उद्दण्ड, अनुशासनहिन र आवारा भनेर अपमान र गाली पाइरह्यो । कतिपय शिक्षकको कक्षा राम्रो भएन भनेर प्रिन्सिपलसँग कुरा राख्दा उल्टै उसलाई धम्क्याएर निष्काषन गरिने सम्मको चेतावनी पायो । ‘गौरवले भनेको टेर्दैन, तपाईंको आफ्नो बच्चालाई राम्रोसँग सम्झाउनुहोस्’ भनेर अभिभावकलाई समेत विद्यालयबाट सूचना नगएको कुनै महिना हुँदैनथ्यो ।
गौरवलाई आफ्नो जन्मथलो सुर्खेतको विद्यालयमा मात्र होइन काठमाडौँको एउटा विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दा समेत अपमानित भएको महसुस भयो । उसलाई जापानमा जस्तो आरोप लागेको विषयमा प्रमाण पेश गर भनेर बोल्ने अवसर पनि दिइएन । कारबाहीका कुरा अघि सारियो । त्यतिबेला उसलाई जीवनप्रति यति नैराश्य र कुण्ठाको आभास हुन्छ कि म अब यो धर्तीमा बाँच्नु बेकार छ भन्ने निर्णय गरेर ‘छोराको अलिकता माया लाग्छ भने तुरून्त भेट्न आउनुहोस् नत्र तपार्इंको छोरालाई भेट्न समेत पाउनु हुनेछैन’ भनेर आमालाई फोन गर्छ गौरवले । आमा अत्तालिदै छोरालाई भेट्न काठमाडाँै जानुहुन्छ । आमा छोराको बीचमा एकापसमा आँसु बगाउँदै भलाकुसारी हुन्छ । आमाबाट छोराको खुशीको निम्ति तिमी जे भन्छौ त्यही मान्छु भन्ने कुरा भएपछि भने गौरवको जीवनले नयाँ मोड लिन्छ ।
कक्षा १२ को परीक्षा दिइसके पछि उसले आफ्नो अध्ययन गरेको विद्यालयमा फर्केर जाँदैन । जापानीज भाषा अध्ययनगर्न थाल्छ र जापान उड्न सफल हुन्छ । जापानमा उडाउनका लागि बाबाआमा हार्दिकतापूर्वक सहमत नभएपनि छोराको खुशीका निम्ति बाबाआमाले नाइँ भन्न सक्दैनन् । आमाले त विमानस्थलबाट छोरालाई बाइबाइ गरिसकेपछि मसँग भएको भलाकुसारीमा मैले ‘बधाइ छ छोरालाई राम्रो देशमा पठाएकोमा’ भन्दा गौरवको आमाले भनेको कुरा मलाई अहिले पनि सम्झना छ –‘मलाई बधाइदिनु पर्दैन सर, मलाई आज मेरो छोरा विक्री गर्नका लागि जन्माएको रहेछु भन्ने आत्मग्लानिले पोलिरहेको छ ।’ अहिले भने छोरालाई हरहमेशा आफ्नो छेउमा देख्न नपाए पनि गौरवको आमा दुःखीभने हुनुहुन्न । बरू छोराले आफँैलाई सम्झाउदै ‘मैले मेरो देशमा आएर केही गर्छु आमा, मलाई अरूका सन्ततीहरू जस्तो विदेशमा हराउने सन्ततीको रूपमा कहिल्यै नसोच्नुहोला’ भन्दा आमाको मनमा भएको पीडा र दुःख पनि अनायासै खुशी र हर्षले विस्थापित हुन पुग्छन् ।
यो पङ्तिकारले धेरै पहिलेदेखि दोहोरयाउदै आएको एउटा तीतो सत्य के हो भने यो धर्तीमा हरेक बच्चाहरू जन्मने क्रममा केही क्षमता र सम्भावनाहरू लिएर जन्मिएका हुन्छन् । शिक्षक र अभिभावकको काम भनेको विद्यार्थीहरूमा भएका त्यस्ता क्षमता र सम्भावनाहरूको पहिचान गरेर प्रष्फुटन गराउनु हो । त्यसका लागि एउटै आधारभूत कुरा भनेको विद्यार्थीले खुशी र सम्मानित महसुस गर्दै क्षमता प्रष्फुटन गर्नका लागि अवसर पाउनु जरूरी छ । यसका लागि विद्यार्थी र बालबालिका प्रति हामी सबै सकारात्मक हुनु जरूरी छ । विद्यार्थीलाई केही गर्न सकेन भनेर होच्याउनु र अपमानित गर्नु भनेको ऊभित्र रहेका क्षमता र सम्भावनाहरूको बन्ध्याकरण गर्नु हो । मैले उल्लेख गरेको गौरवको बायो डाटा अध्ययनगर्दा समेत यो कुराको पुष्टि हुने गर्दछ ।
विद्यार्थीलाई खुशी दिनका लागि सर्वप्रथम त कक्षामा खुशी दिने शिक्षक खुशी हुनु पर्दछ । शिक्षकहरू खुशी नभएको गुनासो यत्रतत्र छरपष्ट छ । उनीहरू केही आफ्नै कारणले त केही अरूका अर्थात् नियुक्ति दिने निकायका व्यवहारका कारणले खुशी देखिँदैनन् । धेरै कारण त उनीहरू सँगै सम्बन्धित छन् । सबैतिर पराजित हुँदाहुँदै विद्यालयसम्म आइपुग्दा त उनीहरूसँग एक चिम्टी खुशी पनि बाँकीहुँदैन । उनीहरू आफ्नो जीवन र शैक्षिक पद्दतिप्रति नै विभिन्न नकारात्मक भोगाइका कारणले खुशीविहीन भएर कक्षा कोठामा भित्रिने गर्दछन् । यसैको परिणामस्वरूप उनीहरू स्वभावैले विद्यालय र विद्यार्थीहरूप्रति सकारात्मक नभएको अवस्था छ । यसका लागि सर्वप्रथम त शिक्षकलाई जीवन र जगतप्रति खुशी र सकारात्मक हुने गरी पद्दतिको विकास गर्नु जरूरी छ ।
अहिलेको अवस्थामा समेत देशका चालीस हजार राहत शिक्षकहरू आफूलाई अन्याय परेको भन्दै स्थायी हुनका लागि आन्दोलन गरिरहेका छन् । हालसालै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले समेत उल्लेख गरेको छ कि अबका शिक्षक गुणस्तरीय हुनुपर्दछ, सम्मानित हुनुपर्दछ र क्षमतावान् हुनुपर्दछ । म त भन्छु यसै प्रतिवेदनलाई आधार बनाएर ऐननियम बनाउनु पर्दछ र ऐननियममा अबका शिक्षक हुने उम्मेदवारहरूले उत्तीर्ण हुनका लागि कम्तिमा लिखितमा साठी प्रतिशत वा त्यो भन्दा बढी अंक ल्याउनु पर्ने, उनीहरूले कम्प्युटर जानेको हुनुपर्ने र शिक्षक हुने व्यक्ति सामाजिक प्रतिष्ठाको हिसाबले समेत उच्च भएको हुनुपर्ने जस्ता कुराको परीक्षण हुने गरी शिक्षकको पाठ्यक्रमलाई संशोधन गरिनु पर्दछ । यसरी पाठ्यक्रम संशोधन गरेर राहत शिक्षक कै बीचमा प्रतिष्पर्धा गराउनुपर्दछ र जति उत्तीर्ण हुन्छन् त्यतिलाई सबैलै स्वीकार गर्नु पर्दछ । साथै उत्तीर्ण भएकै आधारमा स्वभावैले कोटा निर्धारण हुने गरी परिपाटी बनाइनु पर्दछ ।
यो पङ्तिकारले एम्एड्को परीक्षामा सिकाइका सिद्धान्त र मूल्याङ्कन विषयमा साठी प्रतिशत भन्दा बढी अंक त सहजै आउछ भनेर अनुमान गरेको त मात्र बयालीस आयो । मेरो अनुमानमा पनि दम थियो किनभने बीस वटा वस्तुगतमा अठारवटा मिलेका थिए र विषयगत प्रश्नहरूको जवाफ समेत कसैको पनि नछुटाई राम्रोसँग लेखेको थिएँ । नतिजाको यो दुरावस्थाका बारेमा साथीहरूसँग कुरा गर्दा उनीहरूले भने –‘यहाँ हामीलाई अध्यापनगर्ने शिक्षकहरू नै द्वितीय श्रेणीभन्दा माथिका कोही छैनन् त्यसैले विद्यार्थीलाई पनि त्यो भन्दा बढी अंक मरि गए पनि दिदैनन् ।’ साँच्ची अहिलेका विद्यार्थीहरू शिक्षकहरू भन्दा पनि जेहेन्दार छन् । शिक्षकहरूले ‘Examinee is better than examinerÚ ’ भनेर मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गर्नु पर्ने र उनीहरूबाट सिक्नुपर्ने देखिन्छ । तथापि आजका अधिकांश शिक्षकहरू यो मामलामा तयार छैनन् । बरू आफूभन्दा जान्ने भयो भनेर ईष्र्या गर्ने प्रवृत्तिका छन् । जसले गर्दा फरक प्रतिभा भएका र असाधारण क्षमता भएका गौरव जस्ता विद्यार्थीहरू यो नियतिका शिकार भइरहेका छन् ।
अरू मुलुकहरूले कुल गार्हस्थ उत्पादन वृद्धि गर्ने सवाललाई मुख्य मुद्दा बनाए जस्तै छिमेकी मुलुक भुटानले खुशी उत्पादनगर्ने सवाललाई शिक्षाको मुख्य मुद्दा बनाएको देखिन्छ । यो कुरालाई अरू देशहरूले समेत गम्भीरतापूर्वक आत्मसात गरिरहेका छन् । मलाई त लाग्छ घर, परिवार, समाज र शिक्षालयहरूमा खुशी पाउने र सबैको सबैतिर यथोचित सम्मान हुने गरी हामीले हाम्रो देशमा अनुकूल वातावरणको सिर्जना गर्न सक्यौं भने देशको गौरव उच्च बनाउनका लागि जन्मिएका गौरव जस्ता युवाहरू देशबाट बाहिरिनु पर्ने छैन । अतः यसका लागि मैले माथि सुझाए जस्तै अरूले सिक्नलायक जीवन र दिनचर्या भएका एवम् शिक्षक छनोटको परीक्षामा समेत अब्बल ठहरिएका व्यक्ति शिक्षक हुने गरी परिपाटी बसाल्न सकियो र सेवा सुविधामा समेत तदनुरूप ख्यालगर्न सकियो भने राम्रो जनशक्ति खुशीसाथ प्रतिष्पर्धा गर्दै शिक्षामा भित्रिने कुरामा कुनै सन्देह छैन । शिक्षक आफँैमा खुशी भएमा विद्यार्थी दुःखी हुने त सम्भावना नै हुँदैन । सबैलाई चेतना भया ।