अपाङ्गता भएका बालबालिकाको पठनपाठन र आवासिय सुविधाका लागि हुम्लामा ८ करोड लागतको आवासिय स्रोतकेन्द्र भवनको निर्माण शुरु भएको छ ।

जिल्ला भरिका अपांगता भएका बालबालिकाहरुको पठन–पाठन र लालन–पालन गर्दै आएको हिमाली शिक्षा र विकास (हेड नेपाल) ले आवासीय भवनको निर्माण सुरु गरेको हो । नमूना अपांगता बालबालिका आवासीय स्रोत केन्द्र निर्माण गर्ने उद्देश्यले भवनको निर्माण कार्य अगाडि बढाइएको हो ।

सहयोगी हातहरुको सहयोगले निर्माणकार्य सुरु गरिएको केन्द्रको भवनको बिहीबारबाट निर्माण कार्य शुरु गरिएको छ । अहिले भाडाको घरमा ५० जना छात्रा छात्रहरुलाई निःशुल्क अध्ययन गराईरहेको हेड नेपालले कर्णाली प्रदेशमै नमूना स्रोतकेन्द्र बनाउने लक्ष्यका साथ भवनको निर्माण कार्य सुरु गरेको संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले जानकार िदिए ।

जग्गा खरिद देखि भवनको निर्माण कामसम्म विभिन्न सहयोगीहातहरुबाट निरन्तर सहयोग प्राप्त भइ रहेको उनले जानकारी दिए । तीसकोठे भवनको निर्माण कार्य सम्पन्न भए ६४ जना बालबालिकाहरुले पठन–पाठन सहित आवासीय सुविधा पाउने छन् ।

काम सम्पन्न गर्न तीन वर्ष लाग्ने अनुमान गरिएको छ । आफु पनि फरक क्षमता भएका निर्देशक लामाले भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी बनाउन मापदण्ड अनुसारका आरसिसि पिलरबाट निर्माण सुरु गरिएको बताए ।

अपांगमैत्री हुने केन्द्रलाई समावेशी, विशेष र सामान्य रुपमा अपांगता बालबालिकाको विकास गर्दै लैजाने योजना हेड नेपालले बनाएको छ ।

स्रोतकेन्द्रको चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार, संघीय संसदहरुका लागि प्राप्त हुने बजेटको साझेदारी कार्यक्रम र स्थानीय गाउँपालिकाको सहयोगमा ४० लाख र ६ लाख श्रमदानबाट पहिलो चरणको काम सुरु गरिएको छ ।

पूर्णरुपमा वजेटको व्यवस्था नभई केन्द्रको निर्माण कार्य सुरु गरिएको कारण सहयोगी हातहरु जुट्ने विश्वास हेड नेपालले लिएको छ ।

कोरोना कहरले गर्दा आउन लागेको विदेशी दाताको सहयोग पनि रोकिएको अवस्थामा काम सुरु भएको र आगामी दिनमा सहयोगका लागि सहयोगी मनसँग हातेमालो गर्न आग्रह गरिएको छ ।

कोरोनाले लकडाउन जारी रहँदा आफु पनि दैनिक रुपमा काममा खटिने उनको तयारी छ ।

भवन निर्माणका लागि आबश्यक सामाग्री हवाई मार्गबाट ढुवानी गर्नु पर्ने भएको कारण अहिले लागतमा निर्माण कार्य पुरा हुँदासम्म दुई करोड कम लागत लाग्ने अनुमान गरिएको छ । जिल्ला सडक सञ्जालसँग जोडिन लागेको कारण ती सामाग्री सस्तोमा ढुवानी हुने भएपछि लागत घट्ने अनुमान हेड नेपालले गरेको हो ।

२०७७ जेष्ठ ८ गते १९:१६मा प्रकाशित

प्रतिकृया दिनुहोस्