काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षा एक हप्ता पछि सार्दा केही फरक नपर्ने बताएका छन् । वैशाख ११ गतेदेखि हुन गइरहेको कक्षा १२ को परीक्षा शिक्षकहरुको आन्दोलनका कारण प्रभावित हुने भनिरहेका बेला अध्यक्ष सुवेदीले एक हप्ता पछि सार्दा पनि केही फरक नपर्ने बताए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षकहरुको आन्दोलन कहिलेसम्म ? विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष सुवेदीले एक हप्ता ढिला सार्दा पनि आकाशै नखस्ने बताएका हुन् ।  त्यस्तै एसईईको नतिजा समेत असार सात गते नै प्रकाशित गर्नुपर्छ भन्ने नरहेको बताए । केही दिन तलमाथि गर्दा पनि केही फरक नपर्ने उनको भनाइ छ ।

लामो समयदेखि उत्पीडनमा परेका नेपाली शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै परीक्षा केही दिन तलमाथि सर्दा केही फरक नपर्ने बताए । ‘अहिले एसईईको नतिजाको कुरा आएको छ । त्यो सात दिन अघि र सात दिन पछि निस्किदाखेरी कुनै आकाश खस्दैन । सरकारले १२ गते ऐन जारी गरिदियो भने हामी १३ गते परीक्षण गर्न सक्छौं । हिजोभन्दा दु्रत गतिमा परीक्षण गर्छौ । हिजो भन्दा ठुलो संख्यामा परीक्षण गरेर त्यही तोकिएको कार्यसूचीभित्र दिन्छौं,’ अध्यक्ष सुवेदीले भने ।

त्यस्तै कक्षा १२ को परीक्षा समेत एक हप्तापछि गर्दा आकाशै नखस्ने बताए । तोकिएको मितिमा ऐन जारी गरिदिएको खण्डमा आफुहरु अग्रसर भएर परीक्षा समेत सफल पार्ने बताए । ‘कक्षा १२ का परीक्षा छ । त्यो पनि एक हप्ता पछि गर्यो भने आकाश खस्दैन । जमिन पनि पल्टिदैन । भूकम्प पनि आउँदैन । त्यो मितिमा ऐन जारी गरिदिएपछि हामी नै अग्रसर भएर परीक्षालाई सफल पार्छौ,’ अध्यक्ष सुवेदीले भने ।

आन्दोलनको क्रममा पुगेको क्षति पछि पुरा गर्ने उनको भनाइ छ । आन्दोलनका कारण पठनपाठनमा अवरोध भएको खण्डमा जति दिन अवरोध भएको हो, त्यति दिन पछि पढाउने समेत बताए । ‘जति कार्यदिन हामीले आन्दोलन गरेका छौं । त्यति कार्यदिन हामी विद्यार्थीलाई पढाउँछौं । त्यसको क्षतिपूर्ति दिन्छौं । २०८० मा समेत हामीले जति दिन आन्दोलन गरेका थियौं । त्यति कार्यदिन थप पढाएका थियौं,’ अध्यक्ष सुवेदीले भने ।

गत वर्ष सरकारसँग सम्झौता गर्दा नै आन्दोलन नगरिएको बताउँदै सम्झौतापछि चार अधिवेशन पुरा भइसकेको उनको भनाइ छ । चार अधिवेशनसम्म पनि ऐन जारी नगर्नु आम नेपाली शिक्षक कर्मचारी, विद्यार्थी तथा शैक्षिक जगतमाथिको अत्याचार भएको बताए । त्यही शैक्षिक जगतमाथि गरिएको अत्याचारको प्रतिकारमा आफुहरु उत्रिएको समेत बताए ।

विद्यालय शिक्षा ऐन जारी गर्ने सवालमा नेपाली शिक्षक कर्मचारी अन्तिम लडाईमा रहेको बताउँदै उनले भने, ‘नेपाली शिक्षक कर्मचारीहरु निर्णायक लडाईमा छन् । यो पटक जे जस्तो नोक्सानी बेहोर्नु परेपनि हामी विद्यालय शिक्षा ऐन जारी नगरीकन जादैनौं, कि जित्छौँ कि बित्छौँ ।’

प्रतिकृया दिनुहोस्