२०७७ जेष्ठ १६ गते

अबको शिक्षक तालिममा 'अनलाइन सिकाइ' समेट्नुपर्ने देखियो

डा. तुलसी थपलिया



किन तालिम ?
कुनै खास प्रकृतिका कामहरु गर्न निरन्तर पेशागत विकास आवश्यक पर्ने भएकाले तालिम आवश्यक पर्छ । आफूसँग भएको दक्षता र क्षमता पर्याप्त नहुने भयो भने त्यसलाई पर्याप्त बनाउन निरन्तर अवसर प्राप्त गर्ने उद्देश्यका साथ तालिमको आयोजना संयोजन, आयोजना र व्यवस्थापन गर्ने गरिन्छ ।

कस्तो तालिम ?
यसका तीनवटा पाटोलाई सँगसँगै हेर्नुपर्छ । के काम गर्नका लागि तालिम, भन्दा शिक्षण गर्नका लागि हो । शिक्षणका आधारभूत चरित्रहरु छन् । त्यो चरित्रहरु प्रायः प्रायः उस्तै उस्तै हुन्छन् । शिक्षण भनेको शिक्षकले गर्ने काम हो । शिक्षणको प्रकृतिले तालिमको आवश्यकतालाई निर्धारण गर्छ । भर्खरै सेवामा प्रवेश गरेका शिक्षकको तालीमको आवश्यकता एउटा हुन सक्छ । लामो समय शिक्षणमा बिताएको र निश्चित चरण पार गरेर पेशागत विकासको चरणमा पुगिसकेको र आफ्नो दक्षता खास ठाउँमा पुगिसकेका शिक्षकको तालिमको आवश्यकता फरक हुन सक्छ ।

तेस्रोे सिकारु हुन्छ । कस्ता सिकारुलाई कसरी सिकाउने भन्ने कुरा आउछ । चौथौं परिवेश भन्ने हुन्छ । परिवेश किन भनेको भने मल्टिग्रेड टिचिङको पढाउनुपर्ने अवस्थामा उसको तालिमफरक हुन्छ । ठूलो कक्षा भएको ठाउँमा कसरी पढाउने तालिमको आवश्यकता फरक हुन्छ ।

तालिमको मोडल
सरकारले लागु गरेको शिक्षक सक्षमताको प्रारुपले शिक्षकमा हुनुपर्ने दक्षताको पहिचान गरेको छ । दक्षता किटान भएकाले त्यसैको आधारमा शिक्षक कुनठाउँमा छ निक्र्योल गरी तालिमको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।


यी कुराहरुले तालीमको डिजाइन, तालीमको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा व्यवसायिक दृष्टिकोण निक्र्योल गर्छ ।


हामीले विगतमा लामो समयसम्म १० महिने तालिम भन्यौं । १० महिने तालिमप्याकेज १, २, ३, ४ साढे दुई महिना– साढे दुई महिना भन्यौं । त्यसको लक्ष्य के थियो भने एउटा स्टान्र्डड प्याकेज भयो भने देशमा सबैतिर काम गर्छ ।


तर, परिस्थिति र परिवेश त फरक छ । परिस्थिति र परिवेश फरक भएपछि तालिमको एउटा मानक प्याकेजले काम गरेन नि भन्ने कुरा उठ्यो । त्यसपछि सबै स्रोतकेन्द्र तहमा जिम्मा दिने, आवश्यकताको निदान त्यही हुन्छ । माग संकलन त्यही हुन्छ । प्याकेज त्यही बन्छ । जस्तो परिवेशमा जस्तो किसिमको तालिमको माग हुन्छ त्यस्तै तालिम दिने काम हुन्छ । त्यो पनि हामीले प्रयोग गर्यौं ।

प्रयोग गर्दा के बुझयौं भने तालिमको निश्चित मापदण्ड जरुरी छ । दुईटाको बीचमा सन्तुलन कायम गर्नुपर्छ । मानक पनि चाहिन्छ । लचकता चाहिन्छ । आवश्यकतालाई पनि जोड्न सक्ने र एउटा निश्चित मानक पनि होस् । शिक्षकको तालिममा हुनुपर्ने आधारभूत पक्षहरु पनि त्यहाँ रहन पर्छ । त्यो भनेर हामीले तालिमको डिजाइन प्रस्ताव गर्यौं ।

तालिम केन्द्रको पर्याप्तता
हामी कहाँ जम्मा सात प्रदेशमा सातवटा तालिम केन्द्र छन् । सातवटा तालिम केन्द्रले देशभरका शिक्षकहरुको तालिमको आवश्यकता सम्बोधन गर्न सहज छैन । अर्थात् तालिमको संरचना पर्याप्त नभएको अवस्था छ ।

तालिमलाई स्कूलमा कसरी पुर्याउने यो महत्वपूर्ण प्रश्न हो । जुन मुलुकमा अत्यन्तै राम्रो शिक्षण र शिक्षक तयारी छ ती मुलुकमा पनि सेवाकालीन तालिमहरु छोटा छोटा अवधिका हुने गर्छ । र व्यक्तिको जिम्मामा छोडिन्छ । शिक्षा प्रणाली राम्रा भनिएका मुलुकमा पनि शिक्षक तालिमलामो अवधिको सञ्चालन गरिँदैन । जसरी राम्रो डाक्टरलाई लामो तालिममा पठाउदैनौं नि । किनभने डाक्टर बनाउँदै गर्दा गतिलो तालिममा सहभागी गराउन सकिन्छ ।

अनुभवबाट क्षमता विकास
हामीकहाँ शिक्षक तयारीका चरणहरुमा पनि केही समस्याहरु छन् । यसलाई बलियो बनाउने अवस्था हुन्छ भने सेवाकालीन तालिम अलिक कम गर्न सकिने सम्भावना हुन्छ । शिक्षकले दिनदिनै आफ्नो काम र अनुभवबाट सिक्ने हो नि । जसरी भर्खरको नयाँ भन्दा २० वर्ष काम गरेको डाक्टरसँग जचाउदा हामी खुसी हुन्छौं त्यसरी नै म पुरानो शिक्षकसँग पढ्न चाहन्छु भन्न पाए हुन्थ्यो नि !

काम र अनुभवबाट खारिएर पाको भएको मान्छेसँग सिक्ने कुरा महत्वपूर्ण छ । हरेक पेशामा काम र अनुभवबाट खारिएर सिक्ने कुरा महत्वपूर्ण छ, हुनुपर्छ । हाम्रो शिक्षण पेशामा यो उत्तिकै हदमा लागु नभएको हुन सक्छ ।

शिक्षकले आफुले गरेको कामबाट प्रत्येक दिन सिक्ने र क्षमतालाई बढाउँदै लग्ने काममा जोड दिनुपर्ने हुन्छ । त्यती गर्न सक्यौं भने केन्द्रको तालिमत्यति धेरै चाहिँदैन ।

जहाँ काम गरिन्छ त्यहाँ समस्या पनि हुन्छ । जहाँ समस्या छ त्यसको समाधान पनि त्यही खोजी गर्ने, सल्लाह गर्ने, उपायहरु पत्ता लगाउने हुन थाल्यो  र नबुझको कुरा अन्यत्रबाट खोजी गर्न थालियो भने  धेरै समस्याको समाधान हुन्छ ।  

शिक्षकको सक्षमता
शिक्षकको सक्षमताको प्रारुप अन्तर्गत हामीले ८ वटा योग्यताका क्षेत्रहरु निर्धारण गरेका छौं । जसमा सामग्री ज्ञान, शिक्षण सिकाइलगायत छन् । जसमध्यै एउटा निरन्तर ज्ञानको विकास भन्ने छ । आफै निरन्तर सिकाइमा लाग्ने, अनुसन्धान गर्ने, सिकेको कुरा डकुमेन्ट गर्ने, कामबाट सिकेको आधारमा अर्को दिनको कामलाई परिमार्जित गर्ने । यो पाटो महत्वपूर्ण छ। यो हामी सबैले स्वीकार गरेको विषय हो । त्यहाँ जान सकिए धेरै समस्या हल हुन्छ । शुरुवात शिक्षक तयारी देखि यहाँसम्म आउँछ ।

एउटा डाक्टरले म फलानो डाक्टरसँग यति वर्ष काम गरेको भन्छ । यो के भने विज्ञता विसँग काम गर्दा पनि आउँछ भन्ने हो । यो भावना शिक्षणमा आउनुपर्छ भन्ने हो । म फलानो शिक्षकसँग यतिवर्षसँगै काम गरेको शिक्षक हुँ अरु जस्तो होइन भन्ने अवस्था आउनुपर्छ । कामको व्यवसायिकताबाट सिकाइ निर्माण हुन्छ । समस्याहरु बुझ्ने र सिक्ने कामको थालनी हुन्छ । तालिमको विषय र समस्या त्यहीबाट उठान हुन्छन् । तालीमको विज्ञहरु त्यहीबाट सिर्जना हुन्छन् । त्यो चरणमा हामी जानुपर्छ ।

तलिमको मूल्यांकन
तालिमको मूल्यांकन र तालिम कक्षाकोठामा पुग्यो पुगेन भन्ने कुरा चारवटा तहमा हेर्ने गरिन्छ । पहिलो, तालिमहुँदै गर्दाको दखत सहभागीले तालिमकस्तो छ भनेर गरेको मूल्यांकन, दोस्रो, तालिममा सिकेको कुरा हेर्ने(लर्निङ लेभल इभ्यालुएशन) हुन्छ । साच्चीकै कति सिक्यो तालिममा भनेर जाँच गर्ने । यसमा तालिम पूर्व र पछि नापो गर्ने काम हुन्छ ।

तेस्रो, शिक्षण व्यवहारमा परिवर्तन आयो कि आएन । यदि तालिममा केही कुरा सिके पनि शिक्षणमा परिवर्तन आएन भने विद्यार्थीको नतिजामा पनि आउने भएन । चौंथो तथा अन्तिम चरण भनेको विद्यार्थीको सिकाइमा रुपान्तरण भयो कि भएन भन्ने कुरा हो । यी चारै चरणमा हेर्नुपर्ने हुन्छ ।

विभिन्न चरणमा भएका अध्ययन मा के देखिन्छ भने पहिलो चरणमा राम्रै छ तालिम भन्ने गरेको पाइन्छ । सिकाइको चरणमा पुगेपछि यति सिकेको भनेर प्रमाणिकरण हामी गर्छौं । अधिकांश तालीमहरुमा जाँच लिइन्छ । कति सिकेको हो भनेर प्रमाणिकरण गर्ने प्रयत्न गरिन्छ ।

सिकेको कुरा व्यवहारमा प्रयोग भयो भनेर हेर्ने पाटो तालिमको तेस्रो चरण भयो । त्यसको कारण विद्यार्थीमा कत्तिको सुधार आयो भन्ने कुरा यहाँ आउने भयो । समग्र शिक्षकको पेशागत विकासको डिजाइनमा तालिमलाई नजोड्दासम्म हामीलाई गाह्रो छ ।

हामीले वास्तवमा तालिम भन्ने शब्द नै हटायौं । टिपिडि प्रोग्राम  अर्थात्  शिक्षकको पेशागत वृत्तिविकास कार्यक्रम भन्यौं । जनजिब्रोले बानी भएकाले ल्याएको मात्रै हो तालिमशब्द । पेशागत वृत्तिविकासका लागि गरिने प्रयत्न हो यो । यसमा हामीले दश दिन तालिम केन्द्रमा आधारित र पाँच दिन स्कूलवेस प्रशिक्षण गर्ने गर्छौं ।  स्कूलका अभ्यास, काम र अनुभवसँग जोड्ने गरी ।

शिक्षकको कार्यथलोको अनुभवलाई जोड्दै आवश्यकता अनुकुल नबनाएसम्म शिक्षक तालीम प्रभावकारी हुन सक्दैन ।

विद्यालय कहिले खुल्छ ?
हामीले विद्यालय खोल्न सकेनौं । सकेसम्म छिटो विद्यालय खोल्नुपर्छ भन्नेमा हामी सबै सहमत छौं । विद्यालय खोल्न जति ढिला हुन्छ उती नै सिकाइको क्षति हुन सक्छ । विद्यार्थीलाई समस्या हुन्छ ।

तर, विद्यालय खोल्ने नाममा शिक्षक र विद्यार्थीको स्वास्थ्यलाई पनि बिर्सन मिल्दैन नि !

विद्यार्थी र शिक्षकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेर सकेसम्म छिटो विद्यालय खोल्नुपर्छ भन्नेमा हामी छौं । एकैपटक सबै विद्यालय खोल्न सकिदैन होला । जोखिमको क्षेत्रगत विभाजन गरी चरणगत रुपमा विद्यालय खोल्दैजाने अवस्था आउने देखिन्छ ।


लकडाउनमा शिक्षक परिचालन
अहिलेको लकडाउनको समयलाई शिक्षकहरुले अलिकति क्षमता विकास, अलिकति तालिममा आफ्नै उर्जाले व्यतित् गरेको देखिन्छ । समग्रमा शिक्षकहरुको लकडाउनको समय उपयोग नै भएको देखिन्छ तर यो भन्दा थप उपयोगी बनाउने बारेमा सोच्नुपर्ने देखिन्छ ।

कुनै गाउँमा कोरोना संक्रमणको जोखिम पटक्कै छैन । त्यहाँ शिक्षक र विद्यार्थीको स्वास्थ्यको जोखिम नहुने गरी कुनै उपाय गर्न सकिन्छ कि त्यो कुरा हामीले केन्द्रबाट भन्न अति नै गाह्रो भएको छ ।

धेरै शिक्षकहरु लकडाउनको समयमा क्षमता विकासमा लाग्नु सकारात्मक विषय हो ।

परिवेशले हामीलाई दूर शिक्षा गर्न बाध्य बनाएको छ । दूर शिक्षा हामीले शिक्षकको क्षमता विकासमा पनि प्रयोग गरेका छौं । अन्य काममा पनि प्रयोग गरेका छौं । आगामी दिनमा तालिमको डिजाइन गर्न यसले आधार दिएको छ ।
   

(शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको अबको शिक्षक तालिम कस्तो विषयक शिक्षा बहसमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले व्यक्त गरेको विचारको सम्पादित अंश)

Comments: