काठमाडौं । चावहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा तीन दिनसम्म चल्ने वृहत् विज्ञान प्रदर्शनी सुरु भएको छ। विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र अनुसन्धान गर्ने बानी विकास गराउने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी माघ २८, २९ र फागुन १ गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन कार्यक्रममा विद्यालयका अध्यक्ष तथा प्राचार्य रविन्द्रजङ्ग थापा अध्यक्षको भूमिकामा थिए भने प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका चर्चित वैज्ञानिक प्रा. डा. उदयराज खनाल उपस्थित थिए। कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना अभिव्यक्ति र छोटो ध्यान सत्रसहित औपचारिक सुरुवात गरिएको थियो, जसले वातावरणलाई सकारात्मक र उत्साहपूर्ण बनाएको थियो।

प्राचार्य थापाले विद्यालयको लक्ष्य केवल पढाइमा सीमित नभई विद्यार्थीको प्रतिभा चिन्ने, निखार्ने र उनीहरूलाई सक्षम तथा जिम्मेवार नागरिक बनाउने रहेको बताए। उनले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै महत्व दिनु नै विद्यालयको विशेषता भएको उल्लेख गरे। उनका अनुसार यस्तो प्रदर्शनीले विद्यार्थीहरूलाई नयाँ कुरा खोज्न, सिक्न र सोच्न प्रेरित गर्छ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूको सहभागिता देख्न पाइन्छ। कुल ७७ वटा स्टलमध्ये धेरैजसो विज्ञान र सूचना प्रविधिसम्बन्धी छन् । यसका अलावा पुस्तक प्रदर्शनी, लेखकसँग भेटघाट, प्रयोगात्मक गतिविधि, स्मार्ट होम प्रणाली, आर्ट तथा फेस पेन्टिङजस्ता आकर्षक कार्यक्रमहरू पनि राखिएका छन्, जसले प्रदर्शनीलाई अझ रोचक बनाएको छ।

प्रदर्शनीका क्रममा मेण्टल क्याम्प, अन्तरक्रियात्मक सत्र तथा दोस्रो दिन विशेष रूपमा बिजनेस आइडिया पिचिङ कार्यक्रम पनि हुने छ, जहाँ विद्यार्थीहरूले आफ्ना नयाँ सोच र परियोजनाहरू प्रस्तुत गर्ने मौका पाउनेछन् । यसले उनीहरूमा आत्मविश्वास र उद्यमशीलता दुवै बढाउने अपेक्षा गरिएको छ।

विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अतिथि, शिक्षक र अभिभावकलाई प्रत्यक्ष व्याख्या गर्दै ज्ञान र सीप दुवैको प्रदर्शन गरेका छन् । कतै रोबोट चलिरहेको दृश्य देखिन्छ भने कतै सहरको नमुना मोडलमार्फत भविष्यको प्रविधिमैत्री समाजको कल्पना प्रस्तुत गरिएको छ । सामूहिक सहभागिता, आत्मविश्वास र उत्साहले भरिएका यी दृश्यहरूले विज्ञान केवल किताबमा सीमित नरही व्यवहारमा रूपान्तरण भइरहेको सन्देश दिन्छन् ।

विद्यालयका अनुसार यस्ता कार्यक्रमहरूले किताबमा सीमित ज्ञानलाई व्यवहारमा उतार्ने अवसर दिन्छन् । साथै विद्यार्थीलाई प्रविधिसँग नजिक बनाउने, अनुसन्धानतर्फ आकर्षित गर्ने र सिर्जनात्मक सोच विकास गराउने राम्रो माध्यम पनि बन्छन् । आयोजकले अभिभावक, विद्यार्थी, शिक्षक तथा इच्छुक सबैलाई प्रदर्शनी अवलोकनका लागि आग्रह गरेको छ । विज्ञान, सिर्जना र नयाँ सोचको यो उत्सव सबैका लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्