काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेर सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले पूर्ण तथा ठोस सहमति भने हुन सकेन ।

सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । आज दिउँसो निर्णायक वार्ता हुने भएको छ ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेको महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।बैठकपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पन्तले केही काम बाँकी रहेकाले मंगलबार टुंग्याउने गरी अघि बढ्ने बताए। ‘हाम्रो वार्ता सकारात्मक रूपमा अघि बढेको छ। केहि काम बाँकी छ। यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं। सरकार गम्भीर रुपमा अगाडि बढेको छ।’, मन्त्री पन्तले भने,‘१२ कक्षाको परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुन्छ।’  उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।

यता महासंघका अध्यक्ष  सुवेदी पनि सरकारसँगको वार्ता सकारात्मक भएको उल्लेख गरे। उनले केही विषयमा छलफल आवश्यक रहेकाले संवादबाटै टुंगो लगाउने बताए। शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सहमतिको ड्राफ्ट तयार भएको छ। त्यसलाई आन्तरिक छलफल गरेपश्चात टुंगोमा पुर्‌याइनेछ। शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ। मंगलबार सहमति भए बुधबारबाट आन्दोलनको मोडालिटी फेरिने महासंघको भनाइ छ।

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महाससंघसँग वार्ता सकारात्मक रूपमा अगाडी बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए । ।

महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखेर शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्