काठमाडौँ । नुवाकोटको चण्डेश्वरी माविका छात्र रामशरण धमला यसपटक कक्षा १० मा पुगेका छन् । उनी पूर्ण दृष्टिविहीन विद्यार्थी हुन् । नयाँ कक्षामा पुगे पनि अहिलेसम्म उनी विद्यालय जान पाएका छैनन् । कोरोना महामारीका कारण सूर्यगढी गाउँपालिका–३ भुन्टेगाउँस्थित घरमै छन् ।
‘होस्टेलमा बस्दामात्र पढेको थिएँ, घर आएदेखि पढ्न पाएको छैन,’ उनले भने, ‘साथमा कुनै ब्रेल पुस्तक छैन । घरको रेडियोमा कक्षागत पढाइ हुन्छ तर बुझ्दिन । गाह्रो भइरहेको छ ।’ सहरबजारका साथीहरूले टेलिभिजन, इन्टरनेटबाट अनलाइन पढिरहेको जानकारी पाएको उनले सुनाए । ‘हाम्रो घरमा टिभी, इन्टरनेट र राम्रो मोबाइल छैन,’ उनले आफ्नो दैनिकी सुनाए, ‘बाआमा, दिदीबहिनी र भाइलाई घरको काम सघाइरहेको छु ।’ उनको विद्यालय पुग्न गाडीमा ३ घन्टा लाग्छ ।
चण्डेश्वरी माविका प्रधानाध्यापक हरिप्रसाद रिजालका अनुसार विद्यालयमा १५ जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । ‘नयाँ शैक्षिक सत्रका निम्ति हालसम्म ब्रेल पुस्तक पाएको छैन,’ उनले भने, ‘विद्यार्थी कहिले आउनु भनेर सोध्छन्, तर विद्यालय खोल्ने अनुमति पाएका छैनौं । गाउँघरमा कसैको इन्टरनेट, टेलिभिजन पहुँच नहुँदा अनलाइन कक्षा चलाएका छैनौं ।’
मुगुको बालमन्दिर आधारभूत विद्यालयमा १० जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । उनीहरूका निम्ति पनि अहिलेसम्म ब्रेल पुस्तक पुगेको छैन । प्रअ दिलिप शाहीले टेलिफोनमा भने, ‘ब्रेल लिपि पढ्न जान्ने शिक्षक पनि छैनन् । विद्यार्थी आआफ्नै घरमा छन् ।’ बिजुली नभएकाले टेलिभिजन, इन्टरनेटको व्यवस्था नरहेको उनले सुनाए ।
जुम्लाको सिंजास्थित भैरब माविमा २६ जना दृष्टिविहीन छन् । उनीहरू जाजरकोट, कालिकोट र मुगुका हुन् । आवासीय सुविधा भएकाले दुई–तीन दिन हिंडेर यहाँ पढ्न आउने गर्छन् । ‘लकडाउनपछि विद्यार्थी घरतिरै छन्,’ शिक्षक दत्तबहादुर बुढाले भने, ‘ब्रेल पुस्तक आइपुग्यो तर विद्यालय खुलेको छैन । टाढा भएकाले कसैलाई किताब दिन पाएका छैनौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कृषिसमेत पढाइन्छ ।
सुनसरीको धरानस्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय दृष्टि अपांगता भएकामात्र पढ्ने देशभरिकै एकमात्र विद्यालय हो । प्रधानाध्यापक प्रमोद भण्डारीका अनुसार यहाँ २३ जिल्लाका विद्यार्थी छन् । तर लकडाउनयता विद्यालय बन्द छ । ६५ जना विद्यार्थी घर गएका छन् । ‘दृष्टिविहीन विद्यार्थीलाई लामो समयको छुट्टीमा परिवार र समाजसँग घुलमिल गर्न पठाउने हाम्रो नियम नै हो,’ गत चैत पहिलो साता जाँच लिएर घर पठाएको उल्लेख गर्दै प्रअ भण्डारीले भने, ‘नतिजा निकालेर जानकारी दियौं । नयाँ सत्रको ब्रेल पाठ्यपुस्तक आएको छ । २०–२५ जनालाई मात्र किताब दिन सक्यौं ।’ संखुवासभा, ताप्लेजुङलगायत दुर्गम जिल्लाका विद्यार्थी सम्पर्कमा आउन नसकाले भर्चुअल कक्षाको सम्भावना नरहेको उनले जनाए । सो विद्यालय कक्षा ५ की छात्रा निशा ढकालले विज्ञान, नेपाली र सामाजिक विषयको ब्रेल पुस्तक पाएको सुनाइन् । ‘साथीसँग भेटेर पढ्न नपाएकाले स्कुल जान मन लागिसक्यो,’ सुनसरीको तरहरामा रहेकी निशाले भनिन्, ‘किताब पढेर बुवालाई सुनाउँछु । रेडियो सुन्छु । बाहिर हिंडडुल गर्न पाएको छैन ।’
उपत्यकाकै ललितपुर लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा पढ्ने ३९ दृष्टिविहीन विद्यार्थी अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । ‘अधिकांश विद्यार्थी उपत्यका बाहिरका छन्,’ शिक्षक प्रतिभा घिमिरेले भनिन्, ‘नजिक सम्पर्कमा रहेका केही विद्यार्थीलाई अभिभावकमार्फत् ब्रेल पुस्तक दिएका छौं । उनीहरूलाई रेडियो, टेलिभिजन पनि सुन्न भनेका छौं ।’
कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा ४६ दृष्टिविहीन पढ्छन् । ‘उपत्यकामा रहेर सम्पर्कमा आएकालाई पुस्तक र अनलाइन कक्षामा सहभागी गराएका छौं,’ अनुवाद शिक्षक समिता शाक्यले भनिन्, ‘जुम, मिडासबाट पढिरहेका छन् । तर धेरैजसो गाउँबाट आएका छैनन् ।’ कक्षा ८ का दृष्टिविहीन छात्र शिव माझीले दैनिक चार पिरियड अनलाइन कक्षा पढ्दै गरेको सुनाए । ‘किताब पनि पाएँ, अनलाइन कक्षा पढ्दै छु, रेडियो सुन्छु, युट्युब चलाउँछु,’ हाल बुढानीलकण्ठमा बस्दै आएका उनले भने, ‘तर मजस्तै मेरा धेरैजना साथीहरू गाउँमा छन् । इन्टनरनेट छैन । उनीहरू छुटेका छन् ।’ सोही विद्यालय कक्षा ८ की छात्रा एन्जल काफ्लेसमेत अनलाइन कक्षा पढ्छिन् । ‘छोरीको दैनिक कक्षामा हामी अभिभावकले सहयोग गर्दै आएका छौं,’ उनका बुवा शरद काफ्लेले भने, ‘ब्रेल लिपिका माध्यमबाट पढ्ने विद्यार्थीलाई भौतिक कक्षा महत्वपूर्ण छ । भनेको सुनेर मात्रै ब्रेल पार नलाग्ने रहेछ ।’
एक हजार ब्रेल पुस्तक छापियो
दृष्टिविहीनले ब्रेल लिपिबाट पढ्ने गर्छन् । ब्रेललिपि ६ वटा डटबाट बनेको हुन्छ । यसलाई हातका औंलाले छामेर पढिन्छ । ब्रेल लिपि लेख्न स्लेट स्टाइलस र बाक्लो पेपरको प्रयोग गरिन्छ । ब्रेल लेख्दा दाहिने साइडबाट लेखिन्छ भने पढ्दा देब्रे साइडबाट पढिन्छ । ब्रेल पुस्तक साधारणभन्दा ठूलो आकारको हुन्छ । तौल पनि गह्रुँगो हुन्छ । त्यसैले यसलाई विषयगत भन्दा पनि कक्षागत ‘सेट’मा निर्माण गरिएको हुन्छ । विद्यार्थीले बोकेर घर पुर्याउन सहज छैन । जतन गर्न नसके छेडिएका अक्षर मेटिन्छन् ।
शिक्षा मन्त्रालयको सहयोगमा कक्षा १ देखि १० सम्मको ब्रेल पुस्तक नेपाल नेत्रहीन संघ र नेपाल दृष्टिहीन कल्याण संघले छाप्दै आएका छन् । चालू शैक्षिक सत्र २०७७ का लागि १ हजार ८४ सेट छापिएको कल्याण संघका कार्यक्रम अधिकृत रत्नकाजी डंगोलले बताए छन् । ‘सबै जिल्लामा ब्रेल पुस्तक पठाइसकेका छौं,’ उनले भने ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग) समावेशी शिक्षा शाखाका अनुसार देशभरिमा दृष्टिविहीन पढ्ने १६ वटा एकीकृत विद्यालय छन् भने ८१ विद्यालयमा स्रोत कक्षा सञ्चालन हुन्छ । शाखा अधिकृत नारदप्रसाद धमलाका अनुसार ती विद्यालयमा कक्षा १० सम्म २ हजार ३ सय ७७ दृष्टिहीन र ४ हजार २ सय ३४ न्यून दृष्टियुक्त विद्यार्थी पढ्छन् । सरकारले दृष्टिहीन विद्यार्थीलाई आवासीय सुविधाबापत मासिक ४ हजार रुपैयाँ १० महिनाको छात्रवृत्ति दिंदै आएको छ । त्यसैगरी घरबाट कसैको सहरामा विद्यालय आउजाउ गर्न सक्नेलाई १० महिनाको मासिक ५ हजार रुपैयाँ दिइएको छ । आफैं आउजाउ गर्न सक्नेले मासिक तीन सय रुपैयाँ र सामान्य अपांगता भएकाले वार्षिक एक हजार रुपैयाँ पाउँछन् ।
गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।