काठमाडौँ । अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ। शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थिर अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ । शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लागि मन्त्रीहरुको बैठक बसेको हो । अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।
शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् । शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षण पत्रमा आफ्ना मागहरू अहिलेसम्म किन सम्बोधन हुन नसकेको हो भन्दै उनीहरुले प्रश्न गरेका थिए।