एजेन्सी । भारतका महान् क्रिकेटर सचिन तेन्दुलकरका क्रिकेट गुरु रमाकान्त आचरेकरले उनलाई मैदानी अभ्यासको भट्टीमा जलाई–जलाई क्रिकेट जगत्का हीरा बनाएर निकालेका थिए । आचरेकरले आफ्नो स्कुटरमा राखेर सचिनलाई एकै दिनमा चार–चार म्याच खेलाउन लाने गर्थे । सचिन स्कुलपछि खाजा खाएर अभ्यासका लागि मैदानमा पुग्थे । मैदानमा गुरु आचरेकरले उनलाई कठोर अभ्यास गराउँथे ।

एक दिन गुरु आचरेकरले सचिनलाई एउटा जुनियर म्याचमा सहभागी हुन पठाए । तर, सचिन गुरुको आज्ञा पालना नगरी आफ्ना साथीहरूसित आफ्नै स्कुलको सिनियर टोलीको खेल हेर्न वाङ्खडे क्रिकेट मैदान पुगे । संयोगले उनका गुरु आचरेकर पनि त्यही मैदानमा थिए । सचिनले गुरुलाई देखे ।खाजा खाने समयमा सचिन आफ्नो टिफिन बक्स लिएर गुरुलाई भेट्न गए । गुरुले पहिल्यै सचिनलाई देखेर उनले आजको म्याच छाडेको बुझिसकेका थिए । तैपनि, उनले सचिनसित सोधे– तिम्रो म्याच कस्तो भयो ? तिम्रो प्रदर्शन कस्तो रह्यो ? तिमीले कति रन बनायौ ?

सचिनले इमानदारीपूर्वक सत्य स्विकार्दै भने– गुरु, आज म म्याचमा सहभागी हुन गइनँ । म यहाँ स्कुलको सिनियर टोलीका लागि ताली बजाएर हौसला बढाउन आएँ । सचिनको जवाफ सुन्नासाथ गुरु आचरेकरले उनको गालामा जोडले एक थप्पड हिर्काए र भने– तिम्रो काम अरूका लागि ताली बजाउने होइन, आफ्ना लागि अरूलाई ताली बजाउन बाध्य पार्ने हो ।  सचिनको जीवनमा त्यही एक थप्पडले ठूलो मोड ल्याइदियो । त्यस दिनदेखि उनले मन लगाएर अभ्यास सुरु गरे । आखिर उनको निरन्तरको अभ्यास र बेजोड प्रतिभाले संसारलाई ताली बजाइरहन बाध्य बनाइछाडे ।

उनको जीवन

तेन्दुलकरको जन्म राजापुरको मराठी ब्राह्मण परिवारमा भएको थियो । उनको बुवा रमेश तेन्दुलकर चिनिएका कथाकार थिए भने आमा रजनी एक जीवन विमा कम्पनीमा कार्य गर्थिन् । सचिनको नाम उनको बुवाले आफ्नो मनपर्ने सङ्गीतकार सचिन देव बर्मनको नाममा राखेका थिए । उनको ठुलो दाई अजीत तेन्दुलकरले सचिनलाई क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनको एक भाई नितिन तेन्दुलकर र एक बहिनी सविता तेन्दुलकर छन् ।सन् १९९५ मा सचिन तेन्दुलकरको विहे अञ्जली तेन्दुलकरसँग भयो । सचिनको दुई छोराछोरी छन् – सारा र अर्जुन ।

सचिनले मुम्बईको शारदाश्रम विद्यामन्दिरबाट आफ्नो शिक्षा पुरा गरेका थिए । त्यहिँ उनले प्रशिक्षक रमाकान्त अचरेकरको अचरजमा आफ्नो क्रिकेट जीवनको प्रारम्भ गरेका थिए ।


तेन्दुलकर  (जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् । एकदिवसीय म्याचहरूमा पनि उनलाई सर्वाधिक रन बनाउने कीर्तिमान प्राप्त छ । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट म्याच मुम्बईको लागि १४ वर्षको उमेरमा खेलेका थिए ।

सन् २००२ मा आफ्नो करियरको आधा बाटोमै विज्डन क्रिकेट खेलाडी्स अल्मानाकले उनलाई टेस्ट क्रिकेटको सबैभन्दा महान ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा राखेको थियो, उनीभन्दा अगाडि अस्ट्रेलियाका डन ब्र्याडम्यान थिए । त्यसैप्रकार एकदिवसीय क्रिकेटमा पनि उनलाई दोस्रो स्थान प्राप्त भएको थियो, उनीभन्दा अगाडि वेस्ट इन्डिजका भिभ रिचर्ड्स रहेका थिए । तेन्दुलकर २०११ क्रिकेट विश्वकप भारतले जित्दा सो टिममा प्रमुख खेलाडीको रुपमा थिए, उनले भारतको लागि खेलेका ६ क्रिकेट विश्वकपहरू मध्ये पहिलो जित थियो । उनी त्यसभन्दा पहिले दक्षिण अफ्रिकामा भएको २००३ क्रिकेट विश्वकप प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट भएका थिए । सन् २०१३ मा विज्डन क्रिकेट खेलाडी्स अल्मानकको १५०औँ वार्षिकोत्सवको अवसरमा विश्व क्रिकेट इतिहासमा विश्व टेस्ट एघारको सूचीमा आफ्नो स्थान बनाउन सफल उनी मात्र एकजना भारतीय क्रिकेट खेलाडी थिए ।

तेन्दुलकरले क्रिकेट खेलमा गरेको योगदानको कदर स्वरूप भारत सरकारले सन् १९९४ मा अर्जुन पुरस्कार, सन् १९९७ मा भारतको सबैभन्दा ठुलो खेल सम्मान राजीव गान्धी खेल रत्नका साथै सन् १९९९ र सन् २००८ मा क्रमसः पद्म श्री र पद्म विभूषणले सम्मानित गरेको थियो । सन् २०१३ नोभेम्बर १६ मा आफ्नो क्रिकेट जीवनको अन्तिम म्याच सकेको केहीबेरमै प्रधानमन्त्री कार्यालय ९भारत०ले उनलाई भारतको सबैभन्दा नागरिक सम्मान भारत रत्नले सम्मानित गर्ने निर्णय गरेको थियो । भारत रत्नले सम्मानित हुने हालसम्मका सबैभन्दा कान्छो र पहिलो खेलाडी हुन् ।

सन् २०१२ डिसेम्बरमा, तेन्दुलकरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनी ट्वान्टी२० क्रिकेटबाट अक्टोबर २०१३ मा सन्यास लिए  यसै प्रकार सचिनले सन् २०१३ नोभेम्बर १६ मा मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिज विरुद्ध आफ्नो जीवनको २००औँ तथा अन्तिम टेस्ट म्याच खेलेर क्रिकेटको सबै स्वरुपबाट सन्यास लिएका थिए । तेन्दुलकरले ६६४ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेर जम्मा ३४,३५७ रन बनाएका थिए ।

सचिन तेन्दुलकरका केही रोचक कुरा

  • सचिन तेन्दुलकर तेज बलर बन्न चाहन्थे । यही इच्छाले गर्दा सन् १९८७ मा उनले एमआरएफ पेस एकेडेमीमा पनि भर्ना भए । तर, उनलाई अस्ट्रेलियाका महान तेज बलर डेनिस लिले अस्वीकृत गरे।
  • सन् १९८७ को विश्वकपमा तेन्दुलकर बल ब्वाय थिए ।
  •  सन् १९८८ मा अन्तरविद्यालय क्रिकेटमा उनले भारतकै पूर्वखेलाडी विनोद काम्बलीसँग मिलेर ६६४ रनको विश्व कीर्तिमान साझेदारी गरे । जसमा तेन्दुलकरको योगदान ३२६ रन थियो।
  • सचिन तेन्दुलकर इङ्ग्लिस काउन्टीमा खेल्ने सबैभन्दा कम उमेरका भारतीय क्रिकेट खेलाडी हुन् । सन् १९९२ मा उनले योर्कसायरबाट खेलेका थिए । उनी योर्कसायरका पहिलो ओभरसिज खेलाडी पनि हुन् ।
  •  सचिन तेन्दुकलरले भारतको तीन सबैभन्दा ठूलो घरेलु प्रतियोगिता रन्जी ट्रफी, दुलिप ट्रफी र इरानी कपमा पहिलो खेलमै शतक बनाएका थिए ।
  •  सचिन तेन्दुलकर आफ्नो आदर्श खेलाडी भारतका सुनिल गवास्कर तथा वेस्टइन्डिजका सर भिभियन रिचर्ड्सलाई मान्छन् ।
  •   पाकिस्तानविरुद्ध कराँचीमा टेस्ट क्रिकेटमा पदार्पण गर्नेक्रममा तेन्दुलकरले सुनील गवास्करले उपहार दिएको प्याड लगाएका थिए ।
  •   सचिन तेन्दुलकरले अन्य क्रिकेट खेलाडीलेभन्दा भारी ब्याट प्रयोग गर्छन् । प्रायः उनको ब्याटको तौल १ दशमलव ५ किलोको हुने गर्छ ।
  •  सचिन तेन्दुलकरको एकदिवसीय क्रिकेटमा उत्कृष्ट वर्ष सन् १९९८ रह्यो । सो वर्ष उनले नौ शतकसहीत १,८९४ एकदिवसीय रन बनाएका थिए ।

    विश्व रेकर्ड

  • सन् २०१२ को मार्च १६ मा बङ्गलादेशमा सम्पन्न एसिया कप क्रिकेटमा बङ्गलादेशविरुद्ध एक सय रन बनाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक नयाँ विश्व कीर्तिमान कायम गरे। उनले टेस्ट र एकदिवसीय गरी शतकको शतक बनाए। यो खेल बङ्गलादेशको मिरपुरस्थित शेरे बङ्गला राष्ट्रिय स्टेडियममा भएको थियो ।
  • सन् २००९ मा भारतको ग्वालियरमा दक्षिण अफ्रिका विरुद्ध एक एकदिवसीय क्रिकेटमा नट आउट २०० रन बनाए । उनि अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २०० रन बनाउने पहिलो खेलाडी हुन् ।
  • सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक प्रहार गरे।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी (१७००० भन्दा बढी) रन ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ४९ शतक ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय विश्व कप प्रतियोगितामा सबैभन्दा बढी रन ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी ५१ शतक ।
  • अस्ट्रेलियाको विरुद्ध ५ नोभेम्बर २००९ मा १७५ रनको इनिङसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार रन पुरा गर्ने विश्वको पहिलो ब्याट्सम्यान ।
  • टेस्ट क्रिकेटमा सबैभन्दा बढी रनको किर्तिमान ।
  • टेस्ट क्रिकेटमा १३००० रन बनाउने विश्वको पहिलो ब्याट्सम्यान ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द सिरीज ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा बढी म्यान अफ द म्याच ।
  • अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सबैभन्दा बढी ३०००० रन बनाउने कीर्तिमान ।
प्रतिकृया दिनुहोस्