तेज चन्द्र खनाल

सन् २०१९ को अन्त्यतिर बाट चिनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा आज विश्व नै लथालिङ्ग भएको छ । यस्तो बेला सबैको मनमा आइरहने प्रश्न हो, कोरोना कहर कहिले सकिएर संसार फेरि आफ्नै पुरानै लयमा फर्किन्छ होला ? कोरोना भाइरस कहिले निष्क्रिय हुन्छ होला ? अब यो महामारी कहिलेसम्म रहन्छ ? कहिले सकिन्छ होला ? जस्ता प्रश्नहरु आजको दिनसम्म पनि अनुत्तरितनै रहेका छन् ।

नेपालपनि अहिले कोरोना महामारीका कारण आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रूपमा क्षतविक्षत त भएको छ नै जसले गर्दा देश गरिबी, बेरोजगारी र भोकमरी जस्ता विषम परिस्थितिहरुबाट पनि गुज्रीरहनु परेको छ । यही महामारीको चपेटामा हाम्रो देशको शिक्षा प्रणाली पनि अछुतो रहन त सकेन तर झन सबैभन्दा बढि चपेटामा यही क्षेत्र पर्यो ।

यसै सन्दर्भमा शिक्षा क्षेत्र कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक सत्रको समेत क्रमभङ्गता भइ यो वर्षको शैक्षिक सत्र पनि दुइ महिना पछाडि सरी जेठ सम्म लम्बिएको छ । गत २०७६ साल चैत्र ६ गते देखि विद्यालयहरु बन्द भएका थिए भने चैत्र ११ गते देखि भने देशै भरी लकडाउन भएको थियो । शिक्षा आर्जन गर्ने मन्दिर भनेर चिनिने धेरै विद्यालयहरु क्वारेन्टाइन स्थल बनाइएका थिए जसले गर्दापनि विद्यालयहरुमा सिकाइ सहजीकरण हुन सकिरहेको थिएन पछि बिस्तारै बिस्तारै कोरोना भाइरसको प्रभाव कम हुँदै जाँदा विद्यालयबाट क्वारेन्टाइनहरु हटाइ ति ठाउँहरुलाई निर्मलीकरण गरी पहिलेकै अवस्थामा फर्काउने प्रयास भने सम्पूर्ण स्थानीय तहबाट भएको थियो र सिकाइलाई बैकल्पिक तरीकाले अगाडि बढाउने प्रयास पनि धेरै स्थानीय तहहरुबाट भएका थिए ।

कोरोना महामारीको दरपनि बिस्तारै बिस्तारै घट्दै गएको हुनाले करीब ८ महिना देखि पूर्ण रुपमा बन्द रहेका विद्यालयहरु २०७७ मंसिर देखि विस्तारै देशैभरी खुल्न थाले । यस भन्दा अगाडि विद्यालयहरु नखुले पनि विद्यालयहरु आँफै अथवा कतिपय स्थानीय तह आफैले पहल गरी विभिन्न वैकल्पिक माध्यम (अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन आदि) हरु बाट शिक्षा प्रदान भने गरेका थिए तर ती त्यती प्रभावकारी देखिएनन् । फेरी पनि कोरोना भाइरसको संक्रमण दर विभिन्न देशमा पुनः बढ्दै गएको देखिन्छ । नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव परिरहेको छ जसले गर्दा फेरी पनि शिक्षण संस्थाहरु बन्द हुने हुन की भन्ने शंका उपशंकाहरु आउन थालिसकेको छ । जसले गर्दा यस शैक्षिक वर्षको शिक्षा प्रणालीनै प्रभावहिन र अनुत्पादक सिद्ध हुने खतरा बढेको देखिन्छ ।

नेपालमा यसको कारणले शिक्षा सबै भन्दा बढी प्रभावित अनि प्रताडित भएको छ । यही कोरोनाको महामारीको बिचमा हाम्रा शिक्षणसंस्थाहरुले विगत लामो समय घरमानै स्थिर भएर बसेका विद्यार्थीहरुलाई चलायमान बनाउनु परेको छ । शिक्षकहरुलाई आफ्नो कोर्स पनि सक्नुपरेको छ भने विद्यार्थीहरु लाई छोटो समयमा धेरै सिकाउनु पर्ने चूनौतीपनि थपिएको छ । यस विषम परिस्थितिमा हाम्रो परम्परागत रुपबाट अझ भनौकी पुरानै ढर्राबाट सञ्चालन हुँदै आएका विद्यालयहरु नयाँ परिस्थिति, नयाँ नयाँ सिकाइका विधि र प्रविधिहरु प्रयोग गरी छोटो समयमा धेरै सिकाइ उपलब्धिपनि दिनु परेको छ, जुन सजिलो पक्कै छैन ।

त्यसमा पनि अन्य बिषयभन्दा गणित बिषय त्यति सहज छैन । केही मेधावी विद्यार्थीहरूलाई त यस विषम परिस्थितिले खासै असर नगर्ला तर अधिकांश विद्यार्थीको सिकाइ कमजोर हुने कुरा विभिन्न अनुसन्धानबाट विज्ञहरुले बताउदै आएका छन् । यसबाटपनि स्पष्ट हुन्छ कि भोलिको दिनमा गणितीय जनशक्तिको पनि अभाव अवश्य हुने देखिन्छ । त्यसैले आजको यस विषम परिस्थितिमा व्यवहारिक गणित शिक्षाको अत्यन्तै महत्व रहेको छ । यस विषम परिस्थितिमा गणितलाई जोगाउनु, गणित शिक्षणलाई प्रभावकारी बनाउनु, गणितको सिकाइ उपलब्धि उच्च बनाउनु र यस विषम परिस्थितिका कारणले भएको गणितको क्षतिलाई न्यूनिकरण गर्नु गणित शिक्षकको प्रमुख दायित्व हुन्छ । त्यसैले विद्यालय शिक्षामा समावेश गरिएको गणित विषयको पाठ्यक्रमको सीमा भित्र रहेर गणित शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि गर्न सकिने केही महत्वपूर्ण क्रियाकलापहरु यहाँ उल्लेख गरिएको छ ।

गणित एक अमुर्त विषय हो । यसको उत्पत्ति समयको माग र मानव सभ्यताको विकासक्रमसँगसँगै भएको पाइन्छ । गणित समयको क्रमसँगै मानवद्वारा निर्मित विषयपनि हो । यसले मानिसको दैनिक जीवनमा आइपर्ने सम्पुर्ण आवश्यकताहरुलाई पुरा गर्नको निम्ति ठुलो भुमिका निर्वाह गरेको पाइन्छ । गणित पनि भाषा जस्तै दैनिक व्यवहारका लागि आधारभूत कुरा हो । हरेक नागरिकले दिनहुँ जसो बजारमा किनमेल गर्दा, झ्याल ढोकाहरु बनाउँदा, विभिन्न घरायसी सामान हरु निर्माण गर्दा गणितसम्बन्धी धारणा र सीप प्रयोग गर्नु पर्दछ । गणित सिक्नाले विद्यार्थीहरुलाई जीवनको अति महत्वपूर्ण संख्यात्मक स्वरुप बुझ्न र व्याख्या गर्न मद्दत मिल्छ । विद्यार्थीले भविष्यमा जुनसुकै पेशा अपनाएपनि गणितसम्बन्धी धारणा, सीप एवं क्रियाको विशेषज्ञताले उसको कार्यकुशलता र क्षमता अभिवृद्धि गराउँछ । गणित अध्ययनले विद्यार्थीहरुमा अनुशासित र रचनात्मक वृद्धि सिर्जना गर्न एवं गणितीय समस्याहरु हल गर्न तार्किक युक्तिसमेत प्रयोग गर्ने बानी बसाल्न सहयोग गर्छ ।

गणित शिक्षणका दुई प्रमुख शर्तहरु रहेका छन् ती हुन् स्पष्ट धारणा (Clear Concept) र धेरै अभ्यास (More Practice) । त्यसैगरी, विद्यार्थीहरुले पनि निरन्तर अभ्यास नगर्ने हो भने अन्य विषयभन्दा गणित छिटो बिर्सने सम्भावना बढी हुन्छ । त्यसैले गणित पढाउनेले सधैं विचार पुर्याउनुपर्ने कुरा के हो भने उत्तर निकाल्नेभन्दा पनि प्रश्न समाधान गर्ने उपाय र प्रक्रियालाई बढी प्राथमिकता दिनु पर्छ । किनकी कुनै पनि पाठसम्बन्धी स्पष्ट धारणा (Clear Concept) पाइसके पछि त्यस पाठबाट सोधिने प्रश्नको जवाफ जान्नु खासै समस्याको कुरा रहँदैन । त्यसैले गणित शिक्षकले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने गणित पढाउनु भन्दा पनि सिकाउनु बढि प्रभावकारी हुन्छ भन्नु नै हो ।

त्यसैले यस विषम परिस्थितिमा पनि गणित शिक्षणलाई प्रभावकारी बनाउन निम्न कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

 गणित बास्तवमा तर्क, सोचाइ, समालोचनात्मक चिन्तन, निर्णयमा आधारित विषय हो । त्यसैले यो विषय शिक्षण गर्दा विद्यार्थीहरुमा तर्क गर्ने, सोच्ने, समालोचनात्मक चिन्तन गर्ने, अभ्यास गर्ने अवसरहरु प्रशस्त मात्रामा प्रदान गरिनु पर्दछ,

 शिक्षकले विद्यार्थीमा रहेको पूर्वज्ञानलाई आधार मानेर पाठको विकास का लागि विभिन्न सान्दर्भिक प्रश्नहरू, विभिन्न उदाहरणहरू समेत प्रस्तुत गरी उत्तर पत्ता लगाउन वा अनुमान गर्न लगाउनु उपयुक्त हुन्छ,

 गणितका सरल विषयवस्तुहरुलाई अवलोकन सीपको अभावले जटिल बनाइदिएको देखिन्छ । तसर्थ गणित शिक्षण गर्दा अवलोकन सीप विकास गर्न यसलाई दैनिक जीवनमा प्रयोग गरिने व्यावहारिक सीपसँग जोड्न सक्नुपर्छ,

 गणित शिक्षणलाई रुचिपूर्ण र प्रभावकारी बनाउनका लागि कक्षाकोठामा गणितीय खेल तथा पजलहरुको प्रयोग अत्यन्त जरुरी देखिन्छ । एकोहोरो व्याख्यान विधि वा समस्या समाधान विधिले विद्यार्थीहरुको ध्यान सिकाइबाट विचलित हुन जान्छ । गणित विषयमा अन्य रोचक प्रसंगहरु वा कथा कहानीहरुको अभाव हुनु र सधैं समस्या समाधान गर्ने कार्यमात्र भइराख्नुले यस विषयबाट सिकारुको ध्यान पलायन हुनु स्वभाविकै हो । दैनिक जीवनमा गणितको उपयोगिताको अनुभूति हुनु जति आवश्यक छ, गणितलाई रोचक बनाउने विभिन्न उपायहरु खोज्नु तथा तिनलाई उपयोग गर्नु पनि त्यतिकै अपरिहार्य छ,

 आधारभुत गणितीय धारणा, संरचना र प्रकियाहरू हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गर्नु पर्दछ,

 एक कुशल शिक्षकले दैनिक जीवनका समस्याहरुको समाधानमा गणितका आधारभूत ज्ञान र सिपको प्रयोग गर्न सक्नुपर्दछ,

 गणितीय आवधारणा, सिद्धान्त तथा समस्या समाधान सिपको तार्किक प्रयोग विधिबाट गणित तथा अन्य थुप्रै शिक्षणविधिहरुलाई एक अर्कामा अन्तरसम्बन्धित गर्नु अत्यन्त आवश्यक छ,

 गणितीय विधिको प्रयोगबाट भौतिक एवम् सामाजिक क्रियाकलापको व्याख्या गर्ने क्षमताको विकास गर्न सक्नु पर्दछ,

 गणितको क्रमबद्धता एवम् तार्किक महत्वलाई आत्मसात गरी गणितको निरन्तर अध्ययनका लागि उत्प्रेरित हुने तत्परताको विकास गर्न सक्नुपर्दछ,

 गणित शिक्षणमा मूख्यतया विद्यार्थीहरूलाई आगमन तथा निगमन विधि, समस्या समाधन विधि, खोज विधि, प्रयोगात्मक विधि, प्रदर्शन विधि, प्रश्नोतर विधि, छलफल विधिहरु बढि प्रयोग गर्नु पर्दछ,

 विद्यार्थीमा दैनिक व्यवहारमा आइपर्ने गणितीय समस्याहरु पत्ता लगाई समाधान गर्ने क्षमताको विकास गर्नु अति जरुरी हुन्छ ।

अन्त्यमा,
माथि उल्लेखित उद्देश्यहरू पुरा गराउनका लागि सिकाइ सहजीकरण प्रक्रिया महत्वपुर्ण हुन्छ । यसको निम्ति परम्परागत रुपबाट परीक्षामुखी शिक्षणको विकल्प खोज्नु अति आवश्यक हुन्छ । जसका लागि गणितको अर्थपुर्ण सिकाइका लागि शिक्षकले विद्यार्थीका लागि लागि सहजिकरण गर्नु पर्दछ । गणितलाई जीवन सँग जोडेर सिकाउनु पर्दछ र गणित गाह्रो विषय हो भन्ने जुन धारणा विद्यार्थीहरुमा छ त्यो धारणालाई एउटा कुशल शिक्षकले चिर्न सक्नु पर्दछ । शिक्षणका क्रममा विद्यार्थीहरुले गरेका त्रुटिहरुलाई विश्लेषण गर्ने र सुधार गर्ने कुरामा शिक्षक बढी सक्रिय हुनु पर्दछ ।

खनाल हुप्सेकोट गाउँपालिका नवलपुरका शिक्षा अधिकृत हुन ।

प्रतिकृया दिनुहोस्