काठमाडौँ । गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापा हिजोआज कम्प्युटरका ‘किबोड’सँग निकै खेलिरहेका छन्। अर्थात् उनी ‘टाइपिङ’ सिकिरहेका छन्। कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको दिनचर्या फेरिएको हो ।
कक्षाकोठामा ‘ह्वाइट बोर्ड र मार्कर’ सँग खेल्ने उनी अहिले कम्प्युटरमा झुम्मिन थालेका हुन्। भन्छन्, ‘खाली समयमा आफूलाई कम्प्युटरमा ‘अपग्रेड’ गर्दै छु। ‘टाइपिङ स्किल’ बढाउँदै छु। पहिले ‘प्रिती फन्ट’मा काम गर्थें। अहिले युनिकोड पनि सिक्दै छु।’
यसबीच उनले आफू मात्र होइन, सहकर्मीहरूलाई पनि कम्प्युटरमा ‘अपग्रेड’ हुन सल्लाह दिएका छन्। ‘शिक्षकहरूले पनि विद्यालयमा आएर कम्प्युटरसम्बन्धी चासो राख्नुभयो। केही सिक्नुभयो। कतिपयलाई ‘अन अफ’ गर्नमै समस्या थियो। अब त्यो समस्या रहेन,’ प्रधानाध्यापक थापाले सुनाए।
उनले कम्प्युटरमा मात्र ध्यान दिइरहेका छैनन्, अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन्। उनले यो अवधिमा विभिन्न पुस्तक पढे। ‘मैले पाठ्यक्रम बाहिरका किताब पनि पढें,’ उनले भने, ‘कुनै किताब साह्रै मन परेर तीन पटकसम्म पनि पढें।’
यसो भनेर उनी मानसिक श्रममा मात्रै सीमित भएका छैनन्, शारीरिक श्रममा पनि उत्तिकै सक्रिय भइरहेका छन्। घरभित्रदेखि खेतबारीसम्मका यसबीच उनले गर्न भ्याए। ‘टनेल बनाएर तरकारी लगाइयो,’ लकडाउन अवधिको अनुभव सुनाउँदै उनले भने, ‘व्यावसायिक त होइन, खानलाई उब्जाइयो।’
छ महिना लामो लकडाउन अवधिमा उनी शैक्षिक गतिविधिबाट पनि टाढा रहेनन्। यसबीच उनी विद्यालयका विभिन्न गतिविधिमा सरिक भइरहे। कहिले विद्यालयका विभिन्न बैठक, छलफल त कहिले विद्यार्थीका घरघर पनि पुगे। ‘यहाँ राम्रो इन्टरनेट पनि चल्दैन,’ प्रधानाध्यापक थापाले भने, ‘अनलाइन कक्षा पनि प्रभावकारी भएन, तर वैकल्पिक बाटो खोजेर पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन खोज्यौं। केही विद्यार्थीको घरदैलोमै पनि पुगियो। टोलटोमा सिकाइ केन्द्र बनाएर पनि सहजीकरण गरियो।’
यस्ता गतिविधि पनि उनी एक्लैले भने गरेका होइनन्। त्यसमा उनलाई सहकर्मीले पनि साथ दिए। ‘ससाना समूह बनाएर विद्यार्थीलाई किताब/कापीसँग जोड्ने काम गर्यौंस,’ उनले थपे, ‘औपचारिक पढाइ नभए पनि शिक्षक र विद्यार्थीलाई जोड्ने काम भयो। साना–साना समूहमा महामारीका विषयमा समेत छलफल भयो। यसबाट कसरी सजग हुने भन्ने विषयमा पनि सचेत गरायौं।’
लामो समय विद्यार्थीसँग टाढा हुँदा कस्तो अनुभव हुँदो रहेछ? जवाफमा उनी भन्छन्, ‘बगरको ढुंगाजस्तो। के हरायो, के हरायोजस्तो अनुभूति भयो।’
औपचारिक रूपमा लामो समय विद्यार्थीबाट टाढा रहे पनि अब छिट्टै भेट्न मन छ, उनलाई। भन्छन्, ‘अब सहज हुनेबित्तिकै अनौपचारिक कक्षा सञ्चालन गर्ने तयारीमा छौं। घरदैलो, टोल शिक्षाबाट वैकल्पिक कक्षा सञ्चालन गर्ने तयारी छ।’
सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको विकट मोन्याल गाउँपालिकास्थित अरनिको राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक वीरबहादुर भण्डारी अहिले आफ्ना पुराना किताब खोजिरहेका छन्। यसका लागि उनले फेसबुकमा सूचना नै जारी गरे। फेसबुकमा केही दिनअघि उनले लेखे, ‘मेरा केही किताबहरू कोको मित्रसँग छन्। कृपया मलाई फिर्ता गरिदिनु होला। म पुस्तकालय बनाउने तयारीमा छु।’ जसमा १० वटा किताबको सूचीसमेत थियो। यो अवधि किताब पढ्ने र कम्प्युटरमा आफूलाई ‘अपग्रेड’ गरेर व्यतीत गरिएको उनले बताए।
‘लकडाउन अवधि भए पनि विभिन्न काममा व्यस्त भइयो,’ उनले भने, ‘विशेषतः किताब पढ्न र कम्प्युटरमा विभिन्न कुरा सिकेर बिताइयो। मुख्य कुरा महामारीले प्रविधिमैत्री बनाउन सिकायो। विभिन्न अनलाइन र भर्चुअल बैठकहरूमा सहभागी भइयो। अहिले घरमै किताब जम्मा गरेर सानो पुस्तकालय बनाउने तयारीमा छु। किताब संकलन गरिरहेका छु।’
त्यसो त यो अवधिमा उनले अरू पनि थुप्रै काम गरे। लकडाउन घोषणापछि नै विद्यार्थीको वार्षिक नतिजा सार्वजनिक भयो। उनका अनुसार विद्यार्थीलाई पाठ्यपुस्तक वितरण पनि गरियो। ‘बिस्तारै भारतलगायत बाहिरबाट मानिस आउन थालेपछि क्वारेन्टिन व्यवस्थापनमा पनि सघाएँ,’ भण्डारीले सुनाए, ‘घरको काममा पनि केही समय बित्यो। छोराछोरीलाई भान्छाको काम सिकाइयो।’
उनी विद्यार्थीसँग पनि धेरै समय टाढा रहेनन्। केही समय विद्यालयलाई क्वारेन्टिन बनाइयो। कक्षाकोठा व्यवस्थापनमा पनि सरिक भए। विद्यार्थीको घरदैलोमै पुगेर पनि उनले सहजीकरण गरे। भन्छन्, ‘लामो समय बिदा हुँदा केटाकेटी किताबबाट टाढा हुँदारहेछन्। त्यो दूरी बढ्न नदिन घरदैलोमै पुगियो।’
संघीय राजधानी काठमाडौंको पकनाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरिता क्षत्री लकडाउनमा पनि निरन्तर विद्यार्थीको सम्पर्कमै रहेको सुनाउँछिन्। ‘सुरुका ३ महिना कक्षा शिक्षकमार्फत घरमा रहेका विद्यार्थीसँग सम्पर्क गर्यौं ,’ उनले भनिन्, ‘समग्रमा हामी लकडाउन अवधिमा पनि विद्यार्थीबाट टाढा रहेनौं। विभिन्न माध्यमबाट सम्पर्क भइरह्यो।’
अहिले भने अनलाइन कक्षा सञ्चालन भइरहेको प्रधानाध्यापक क्षेत्रीले जानकारी दिइन् । उनका अनुसार भदौदेखि अनलाइन कक्षा सुरु गरिएको हो, तर संघीय राजधानी काठमाडौंमा समेत सबै विद्यार्थी अनलाइन कक्षाको पहुँचमा आउन सकेनन्।
‘करिब ५० प्रतिशत विद्यार्थीले अहिले अनलाइन कक्षा लिइरहेका छन्,’ उनले भनिन्, ‘कतिपयसँग अनलाइन पढ्न साधन नै छैन। कम्प्युटर, ल्यापटपको त कुरै छाडौं, स्मार्ट फोनसमेत छैन। कतिपयको घरमा रेडियोसमेत नभएको पाइयो। उनीहरूलाई अनलाइन कक्षामा सहभागी गराउन सकिएन। रेडियो/टिभीमार्फत सञ्चालित कक्षामा पनि उनीहरू सहभागी हुन सकेनन्।’ उनीहरूलाई कसरी सिकाइको माध्यममा सामेल गराउने भन्नेबारे पनि छलफल गरिरहेको उनले बताइन्।
यो अवधिमा नेपाल युवक माध्यमिक विद्यालयका शिक्षकले समेत आफूलाई कम्प्युटरमा ‘अपग्रेड’ गरेका छन्। प्रधानाध्यापक क्षेत्रीका अनुसार असार र साउनमा शिक्षक नियमितजस्तो विद्यालय आए। उनीहरूले कम्प्युटर र अंग्रेजी भाषाका कक्षा नै लिए।
‘विद्यालयमा शिक्षकका लागि कम्प्युटर कक्षा नै सञ्चालन गर्यौं,’ उनले भनिन्, ‘सामुदायिक विद्यालय भए पनि हामीले अंग्रेजी माध्यममा समेत पढाउने गरेका छौं। अंग्रेजी भाषाका कक्षा पनि लियौं।’ लामो समय विद्यार्थीसँग टाढा हुँदा न्यास्रो लागेको उनले सुनाइन्।
खोटाङको दिक्तेलस्थित सरस्वती माविका शिक्षक रामविक्रम थापा बालसाहित्यमा पनि कलम चलाउँछन्। लकडाउनका कारण शैक्षिक गतिविधि प्रभावित भएपछि उनी लेखनमै केन्द्रित रहे। उनले भने, ‘यो बीचमा केही कविता लेखें। एक वर्ष अघिदेखिका बाँकी साहित्यिक काम पनि फत्ते गरें। एउटा कविता संग्रहको पाण्डुलिपि पनि तयारी भयोे।’
असार १ देखि विद्यालय जान थाले पनि पठनपाठन भने सुरु भएको छैन। तर असारदेखि नियमित विद्यालय जान थालेदेखि शिक्षकहरूले विभिन्न नयाँ कुरा भने सिकिरहेका छन्। ‘हाम्रो विद्यालय यो वर्ष नमुना विद्यालयमा छनोट भएको छ। यससम्बन्धी अभिमुखीकरण गरियो। आइसिटीको तालिम लियौं। सहकर्मी शिक्षकले सहजीकरण गर्नुभयो। टेक्नोलोजीको क्षेत्रमा थप नयाँ कुरा सिक्ने अवसर मिल्यो,’ उनले थपे।
तर लामो समय विद्यार्थीबाट टाढा बस्नुपर्दा दिक्क लागेको उनले सुनाए। ‘यसले मानसिक रूपमा पनि असर गर्दोरहेछ,’ उनले भने, ‘म त बालसाहित्यमा कलम चलाउने मान्छे। लेखनमा समेत असर गर्यो्।’ अब छिट्टै विद्यालय खुलेर नियमित काममा फर्किन पाए हुन्थ्यो भन्ने लागेको उनले बताए।
उल्लिखित पूर्वदेखि पश्चिमसम्मका चार शिक्षकलाई प्रतिनिधि पात्र मान्ने हो भने लकडाउन अवधिमा सामुदायिक विद्यालयका शिक्षकले आफूलाई विभिन्न क्षेत्रमा ‘अपग्रेड’ गराएका छन्। सुरुका दुई–तीन महिना घरभित्रै बसे पनि असारपछि भने उनीहरू विभिन्न शैक्षिक गतिविधिमै जुटेका छन्। महामारीले उनीहरूलाई प्रविधिमैत्री हुन सिकाएको छ। यसबीच उनीहरूले सहकर्मीसँग सीप आदानप्रदान गर्ने मौका पाए। कम्प्युटर शिक्षामा उनीहरूको जोड रह्यो। कतिपयले घरायसी काममा समेत सघाएको पाइयो।
अब कहिले खुल्छन् विद्यालय ?
लामो समय प्रभावित भएको सिकाइ प्रक्रिया पुनः सञ्चालन गर्न शिक्षा मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका नै जारी गरेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरेको सिकाइ उपलब्धि हासिल गर्न दूर तथा खुला शिक्षालगायत प्रणाली उपयोग गरी सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको हो।
विद्यालय जाने उमेरका बालबालिकाको पहिचान, अभिलेखीकरण तथा वर्गीकरण गरेर सिकाइमा सहजीकरण गर्न सकिने निर्देशिकामा सुझाइएको छ। उक्त कार्य स्थानीय तथा विद्यालयले गर्न सक्ने निर्देशिकामा उल्लेख छ।
निर्देशिकाअनुसार विद्यालयबाट प्राप्त कार्ययोजनाअनुरूप स्थानीय तहले आवश्यक संयोजन गरी विद्यालयगत, क्षेत्रगत, वडागत, समुदायगत वा कक्षागत रूपमा सिकाइ सहजीकरण गर्ने गरी स्वीकृति दिन सक्नेछन्।
मन्त्रालयले निर्देशिका जारी गरी सकेकाले विद्यालय र स्थानीय तहले समन्वय गरी सिकाइ प्रक्रिया अघि बढाउने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्। उनका अनुसार विभिन्न विद्यालयले अनलाइनलगायत वैकल्पिक कक्षा सञ्चालन गरिरहेका छन्।
विनाेद देवकाेटाले नागरिकमा खबर लेखेका छन् ।