काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले आगामी शैक्षिक मार्गचित्र निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । शिक्षा मन्त्रालयले सूचना जारी गर्दै आयोगले तयार पारेको प्रश्नावली भरेर साथै, बुंदागत रुपमा लेखेर समेत सुझाव दिन सकिने जनाएको छ ।

गत भाद्र १९ गते प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन तहसम्मको विश्लेषण गरी मुलुकको वर्तमान संघ, प्रदेश र स्थानीय तह अनुकूल शिक्षा नीति, कार्यक्रम र संगठनात्मक स्वरुपको सुधार एवम् परिमार्जन गर्नका लागि नेपाल सरकारलाई सुझाव पेश गर्न भन्दै उच्चस्तरीय शिक्षा आयोग गठन गरिएको थियो ।

नेपालको शिक्षालाई कसरी व्यावहारिक, प्रतिस्पर्धी, वैज्ञानिक, रोजगार उन्मुख, गुणस्तरीय, जनमुखी, समालोचकीय क्षमता सहितको अनुसन्धानमूलक एवं नेपालका विविध कला, संस्कृति, ज्ञान, सीप, प्रविधि, परम्परा तथा जनज्ञान आदिसंग जोड्दै तिनको भरपुर प्रयोग गर्न सक्ने नागरिक उत्पादन गर्ने र तिनको आजीवन शिक्षा पाउने हक सुनिश्चित गर्ने कुराहरुलाई समेटी विज्ञ समूहद्वारा प्रश्नावली निर्माण गरिएको र त्यो भरेर पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले तयारी प्रश्नपत्र भरेर इन्टरनेका माध्यमबाट साथै, बुंदागत रुपमा लेखेर समेत सुझाव दिन सकिने जनाएको छ ।

ती प्रश्नावली तथा शिक्षासँग सम्बन्धित अन्य समस्या वा मुद्दाहरु भए तिनीहरुलाई बुदाँगत रुपमा उल्लेख गरी यथासम्भव छिटो आफ्नो राय सुझाव दिनुहुन शिक्षासँग सरोकार राख्ने सबै स्थानीय सरकार, संघसंस्था, शिक्षक, प्राध्यापक, अभिभावक, शिक्षाप्रेमी, शिक्षाविद्, शिक्षाकर्मी, पत्रकार एवम् इच्छुक महानुभावहरुमा शिक्षा मन्त्रालयले अनुरोध समेत गरेको छ ।

२०७४ मंसिर १३ गते १०:३१मा प्रकाशित

प्रतिकृया दिनुहोस्