कोभिड–१९ पछि हामी सबै सामान्य जीवनको पर्खाइमा छौ । यो संकटले आफूसँगै धेरैखाले समस्या र चुनौती ल्याउने छ । कोभिड–१९ पछि शिक्षकले पाठ्यक्रम भन्दा पर गएर विद्यार्थीहरुलाई सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ । कोभिड–१९ का कारण मानसिक आघातमा (Trauma)परेका विद्यार्थीहरुलाई केन्द्रमा राखेर शिक्षकले शिक्षण गर्नुपर्ने आवश्यकता महसुस हुन सक्छ ।
यी समस्या पाठ्यक्रमका समस्या नभएर सामाजिक, मानसिक र आर्थिक समस्या हुनेछन् । केही विद्यार्थी कोरोनाका कारण चिन्ता, डिप्रेसन र मानसिक आघातको शिकार हुनेछन् । धेरैका लागि कक्षाकोठाको सामान्य जीवनमा फर्किन सजिलो हुनेछैन । कोरोना भाइरस विद्यार्थीको स्मृतिमा रहिरहनेछ तर विद्यार्थीको जीवन भने सामान्य रुपमा चलिरहनेछ ।
कोभिड–१९ का दौरान कुनैपनि मानिसको परिवारमा के भयो वा भैरहेको छ भन्ने कुरो अज्ञात नै छ । परिवारले एक्लै घरभित्र कैद भएर बस्नु परेको अवस्थामा के भयो होला भन्ने कुरो कसैलाई थाहा छैन । जुन घरमा पहिलेदेखि नै घरेलु हिँसा र बालबालिकालाई हानी पुर्याउने र बेवास्ता गर्ने कार्य हुन्थे त्यो घर–घरमै कैद भएको बेला कस्तो अवस्था शृजना भयो होला सजिलै अनुमान गर्न सकिन्छ ।
कोभिड–१९ भन्दा अगाडि नै विद्यार्थीहरुले विभिन्न किसिमका समस्या झेल्दै आएका थिए । उदाहरणका लागि गरीबी, पोषणयुक्त खानाको अभाव, असुरक्षा, पारिवारिक र सामुदायिक हिँसा, तनाव र अन्य थुप्रै सामाजिक र मानसिक समस्याहरुसँग संघर्ष गर्दै आफ्नो अध्ययनमा व्यस्त थिए ।
कोरोना भाइरसका कारण आफ्नो परिवार र सामुदायिक सदस्यहरुसँगको सम्बन्ध पनि बिच्छेद हुन गएको अवस्था छ । लामो समयको एक्लोपनले गर्दा उनीहरुको मानसिक स्वास्थ्य कस्तो भएको होला सहजै अनुमान गर्न सकिन्छ । कोभिड–१९ पछि परिवार र बालबालिकाहरु घर बाहिरका धेरै अवसरहरुबाट बन्चित भएका छन् । जस्तैः अतिरिक्त क्रियाकलाप शून्य नै भए भने समुदायमा अरु सँगको सम्बन्ध पनि सीमित हुनगयो । यसले गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको तथ्यलाई नकार्न मिल्दैन ।
कोभिड–१९ पछि मानसिक आघात शिक्षक र विद्यार्थी दुबैका लागि ठूलो चुनौतीका रुपमा देखापर्नेछ । कोरोनाले विभिन्नखाले सामाजिक असमानता सतहमा ल्याएको छभने शिक्षकले शैक्षिक उपलव्धिमा मात्रै ध्यान नदिएर योभन्दा परका विषयमा समेत आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने अवस्था शृजना भएकोछ । भविष्यमा शैक्षिक संस्थाहरुले शैक्षिक उपलव्धिका अतिरिक्त अरु विषयहरु प्नि समेट्नुपर्ने हुन्छ ।
बालबालिकाहरुलाई हानी पुर्याउने काम र प्रतिकुल घरायसी अवस्थाका कारण उनीहरुले मानसिक आघातको प्रत्यक्ष अनुभव गरेका हुन्छन् । यसले गर्दा उनीहरुको सामाजिक, शारीरिक, संवेगात्मक र संज्ञानात्मक विकासमा ठूलो असर पर्छ । जस्तैः एकातिर विद्यार्थीहरु राम्रो सम्बन्ध बनाउन सक्दैनन् भने अर्कातर्फ सिकाइका लागि धेरै व्यवहारगत समस्याहरु देखिनेछन् । यसका कारण विद्यार्थीहरु सामाजिक, प्राज्ञिक र व्यवहारगत अपेक्षाहरु हासिल गर्न असमर्थ हुनेछन् । यी क्षेत्रमा देखापर्ने समस्याहरु सँग जुध्न जब विद्यार्थी सँग आवश्यक पर्ने सीप हुँदैनन् अनि उनीहरुले धेरै खाले समस्याहरु सँग संघर्ष गर्नुपर्ने हुन्छ।
कोभिड–१९ पछि शिक्षकले विभिन्नखाले चुनौतीहरुको सामना गर्नुपर्नेछ । शिक्षकले कक्षाकोठा र पाठ्यक्रममा मात्रै ध्यान दिएर पुग्ने छैन किनकि विद्यार्थीका अन्य समस्याहरुमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने छ । जस्तैः कतिपय विद्यार्थीहरु मानसिक आघातका कारण शिक्षण सिकाइका दौरान संघर्ष गर्नेछन् । नेपालका शैक्षिक संस्थाहरुमा सोसलवर्कर वाथेरापिस्ट वा मनोविज्ञानवेत्ता नभएका कारण यो जिम्मेवारी पनि शिक्षकले नै सम्हाल्नुपर्ने हुन्छ । यी थप जिम्मेवारी वहन गर्दा शिक्षक आफ्नो कार्यमा थकानको महसुस गर्नेछन् । यसका कारण शिक्षाका नियमित शिक्षण सिकाइ क्रियाकलापहरु प्नि प्रभावित हुनेछन् ।
यस्तो अवस्थामा शिक्षकको भूमिका के हुन सक्छ ?
कोभिड–१९ का कारण मानसिक आघातबाट पीडित विद्यार्थीका समस्याहरुलाई कसरी हल गर्नेछन् ? यो काम गाह्रो हो किनकि एउटा शिक्षक थेरापिस्ट पनि होइन, सोसलवर्कर पनि होइन र मनोविज्ञानवेत्ता पनि होइन । नेपालको शैक्षिक र सामाजिक क्षेत्रमा यस्ता सेवाहरुको अभाव भएका कारण विद्यार्थीहरु यसखाले सेवाबाट बन्चित हुनेछन् ।
यस्तो अवस्थामा शिक्षकले विशेषज्ञ सेवा दिन नसके पनि मानसिक आघातबाट पीडित विद्यार्थीका लागि विद्यालय र समुदायमा राम्रो र सकारात्मक वातारवरण भने शृजना गर्न सक्छन् । किनकि मानसिक आघातका कारण पीडितहरुलाई सहयोग गर्न पीडितमैत्री वातावरण आवश्यक हुन्छ । यस्तो वातावरणले विद्यार्थी र शिक्षक दुबैलाई मद्दत गर्छ । यसका लागि शिक्षकले केही ज्ञान, सीप र रणनीतिका बारेमा थाहा पाउनुपर्ने हुन्छ ।
सबैभन्दा पहिला शिक्षकले मानसिक आघातका बारेमा ज्ञान हासिल गर्नुपर्ने हुन्छ । यसकालागि शिक्षकले सोसलवर्कर वा मनोविज्ञानवेत्ता वा थेरापिस्ट नै हुनुपर्छ भन्ने छैन । शिक्षकले मानसिक आघातका बारेमा सामान्य जानकारी मात्रै लिन सके भने विद्यार्थीहरुलाई ठूलो सहयोग हुनेछ । यसका कारण नियमित शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुनेछैनन् । पुरानो मानसिक आघातका विभिन्न कारण हुन सक्छन् । जस्तैः चरम गरीबी, बालबालिकाहरुलाई हानी पुर्याउने काम, जातीय विभेद, छुवाछुतको चलन, बालबालिकाहरुले घरेलु हिंसालाई नजिकबाट नियाल्नु र आफन्त गुमाएको पीडा हुन सक्छ । यस्तै अरु थुप्रै कारणहरु हुन सक्छन् जसका कारण विद्यार्थीहरु मानसिक आघातबाट पीडित हुन्छन् ।
मानवीय जीवनमा प्रतिकुलता सामान्य हो तर, यसलाई सम्बोधन गर्न स्रोत र साधनको कमी छ भने यसले मानिसको जीवनमा ठूलो नकारात्मक असर पुर्याएको हुन्छ । मानिसको जीवनमा केही घटना घट्नु स्वाभाविक हो तर, त्यो घटनालाई सामान्य पार्न केही गर्न सकिएन भने त्यसको परिणाम उसको जीवनमा भयावह हुन सक्छ ।
मानसिक आघातका कारण बालबालिकाहरु विभिन्न किसिमले प्रभावित हुन्छन् । पहिलो कुरो बालबालिकाहरु अरुसँग स्वस्थ सम्बन्ध कायम गर्न असमर्थ हुन्छन् किनकि मानसिक आघातले उनीहरुका सामाजिक सीप र क्षमता प्रभावित हुन्छन् । यसका साथै यसले बालबालिकाका शारीरिक, संज्ञानात्मक र मानसिक विकासलाई पनि नकारात्मक प्रभाव पार्छ । आफ्नो स्वव्यवस्थापन मात्रै होइन सिकाइ र दैनिक समस्याहरुसँग जुध्ने क्षमतामा समेत ह्रास आउँछ ।
मानसिक आघातबाट पीडित बालबालिकाहरु जहिले पनि एक खाले डर वा खतराबाट त्रसित हुन्छन् । यसका कारण शिक्षण सिकाइ नै गुणस्तरीय हुँदैन किनकि यस्ता बालबालिकाहरु आफ्नो दैनिक जीवनमा घरमा वा विद्यालयमा अरु नै समस्याहरु सँग जुधिरहेका हुन्छन् ।
बालबालिकाहरुमा मानसिक आघात सम्बोधन गर्न सबैभन्दा पहिला ‘अरुसँग सम्बन्ध कसरी कायम गर्ने ?’ भन्ने कुरोमा शिक्षकले विशेष ध्यान दिनुपर्ने हुन्छ । आमाबुबासँगको सम्बन्ध, परिवारका अन्य सदस्यहरुसँगको सम्बन्ध र शिक्षक र समुदायका मान्छेहरुसँगको सम्बन्धले विशेष भूमिका खेल्छ । किनकि मानसिक आघातका कारण बालबालिकाहरुले अरु सँगको स्वस्थ सम्बन्ध र विश्वास कायम गर्न संघर्ष गरिरहेका हुन्छन् ।
साथीभाइ, पारिवारिक र सामुदायिक सदस्यहरुसँगको सकारात्मक, स्वस्थ र आत्मिय सम्बन्धले मात्र मानसिक आघातको उपचार सम्भव हुन्छ । विद्यालय आउने बालबालिकाहरुले आफ्नो परिवार र समुदायमा यस किसिमका सम्बन्ध र सुरक्षाको अनुभवन गरेका हुन सक्छन् । त्यसैले शिक्षकले जहिले पनि आफ्ना विद्यार्थीहरुसँग सकारात्मक र स्वस्थ सम्वन्ध कायम गर्नुपर्छ जसले गर्दा विद्यार्थीहरु मानसिक आघातका प्रभावलाई कमगर्न सक्छन् । यसको सकारात्मक प्रभाव शिक्षण सिकाइमा पनि पर्ने भएकाले विद्यार्थीको मानसिक आघातलाई समयमै सम्बोधन गर्न आवश्यक सेवा र सुविधाहरुको व्यवस्था गर्न त्यत्तिकै आवश्यक हुन्छ ।
जसरी मानसिक आघातले मानिसको जीवन तहसनहस पार्न सक्छ त्यसरी नै थेरापीका कारण मानिसको जीवनले फेरी पुनर्जीवन पाउन सक्छ । एउटा शिक्षकले धैर्य गरेर विना शर्त आफ्ना विद्यार्थीहरुसँग स्वस्थ र राम्रो सम्बन्ध मात्रै कायम गर्न सके भने विद्यार्थीहरुले मानसिक आघातबाट मुक्ति पाउन सक्छन् ।
तर यसको अर्थ यो होइन कि शिक्षकले आफ्ना सीमा र विद्यार्थीले पुरा गर्नुपर्ने अपेक्षाहरुलाई वेवास्ता गर्नुपर्छ । माया, स्नेह, विश्वास र करुणालाई सधैँ ध्यानमा राखेर शिक्षकले विद्यार्थीहरु सँग स्वस्थ सम्बन्ध कायम गर्न सक्नुपर्छ । यसले मानसिक आघातबाट पीडित विद्यार्थीहरुले ठूलो राहत पाउने कुरोमा कुनै शंका छैन् ।
असुरक्षित महसुस गर्ने विद्यार्थीले कहिले पनि सिक्न सक्दैन् । विद्यालयमा शारीरिक र मानसिक सुरक्षाको अनुभूति विद्यार्थीले गरेको हुनुपर्छ । कोरोनाको बेला मानसिक आघातमा परेका विद्यार्थीहरु विद्यालयमा आएपछि असुरक्षित महसुस गर्न सक्छन् । शिक्षकले निरन्तर रुपमा एउटा विद्यार्थीमैत्री वातावरण शृजना गर्न सक्छन् जसले गर्दा मानसिक आघातबाट पीडित विद्यार्थीहरुले आफ्नो विद्यालयमा सुरक्षाको अनुभूति गर्न सकुन् । यसका कारण विद्यार्थीहरु सजिलैसित घरको वातावरणबाट विद्यालयको वातावरणमा समायोजन गर्न सफल मात्रै हुनेछैनन् बरु परिवर्तनलाई सजिलै सित आत्मसात गर्न सफल पनि हुनेछन् ।
शिक्षकका व्यबहार अनुमान योग्य र एकनासका भएमा विद्यार्थीले आफ्नो मानसिक आघातबाट मुक्ति पाउन सक्छन् । शिक्षकका केही व्यवहारहरुले विद्यार्थीहरु असुरक्षा महसुस गर्न सक्ने भएकाले शिक्षकले जहिले पनि चनाखो हुनुपर्ने हुन्छ । किनकि असुरक्षाले विद्यार्थीको मानसिक आघातलाई मलजल गर्ने काम गर्छ । विद्यार्थीलाई राम्ररी बुझेर शिक्षकले करुणाले भरिएको व्यवहार गरेमा शिक्षक र विद्यार्थी बीच राम्रो सम्बन्ध कायम हुन्छ । यसका फलस्वरूप दुबैका बीच विश्वास स्थापित हुन पुग्छ । शिक्षक जहिले पनि शान्त हुनुपर्छ किनकि विद्यार्थी मानसिक आघातका कारण सधैँ शान्त हुँदैन । शिक्षकले देखाउने व्यवहारले विद्यार्थीको व्यवहारलाई निर्धारण गर्ने कुरोमा कुनै शंका छैन । शिक्षकको राम्रो र विद्यार्थीमैत्री व्यवहारले उनीहरुका संवेगहरुलाई बुझ्न र व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछन् ।
प्रत्येक विद्यार्थीका आफ्नै खाले सवल पक्ष हुन्छन् । यी सवल पक्ष विद्यार्थीका सम्पती हुन् । विद्यार्थीका कमजोर पक्षभन्दा पनि सवल पक्षमा ध्यान दिन सकिएमा विद्यार्थीको सिकाइलाई अझै अर्थपूर्ण बनाउन सकिन्छ । यसका अतिरिक्त शिक्षकले विद्यार्थीले सिक्नुपर्ने सीपमा पनि ध्यान दिनुपर्ने हुन्छ किनकि मानसिक आघातका कारण विद्यार्थीसँग कतिपय सीपको कमी हुनसक्छ ।
शिक्षकले सामाजिक सीप, समस्या समाधान, स्वव्यवस्थापन, साथी बनाउने र द्वन्द्व समाधान गर्न सक्ने सीप विद्यार्थीहरुलाई सिकाउनु पर्नेहुन्छ । मानसिक आघातबाट निर्देशित शिक्षण मनोसामाजिक समस्याका लागि जहिले पनि सहायक सिद्ध हुन जान्छ । विद्यार्थीका लागि शिक्षण सिकाइ गर्दा उसका सवल पक्षमा ध्यान दिनुपर्ने हुन्छ । यसका कारण विद्यार्थीमा आत्मविश्वास जागृत हुन्छ भने उनीहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउन अति नै सजिलो हुन्छ ।
शिक्षकले आफ्नो ध्यान आफै राख्ने र समुदायले पनि सहयोग गर्ने गर्यो भने शिक्षकको मानसिक आघातमा ठूलो कमी आउछ। शिक्षकले विद्यार्थीलाई त्यही दिने हो जे उ सँग छ । शिक्षकसँग रीस, हिँसा, ईस्र्या र चिन्ता छ भने विद्यार्थीलाई पनि त्यहि दिने हो । शिक्षकसँग करुणा, दया, स्नेह र सद्भाव छ भने विद्यार्थीलाई पनि त्यही दिने हो ।
शिक्षकले नियमित रुपमा व्यायाम गर्ने, पोषणयुक्त खाना खाने, अतिरिक्त क्रियाकलापमा भाग लिने जस्तैः पौडी खेल्ने, हिडडुल र घुमफिर गर्ने र साथीभाईहरुको नेटवर्क बनाउने क्रियाकलाप गरेमा शिक्षक सजिलै सित आफ्ना विद्यार्थीहरुसँग स्वस्थ र राम्रो सम्बन्ध स्थापित गर्न सफल हुन्छ । यसका साथै शिक्षकले कुनैपनि कामगर्दा बढी बोझ हुने कामलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरोमा ध्यान दिन सके विद्यार्थीलाई राम्रो र प्रभावकारी ढंगले सहयोग गर्न सफल हुन्छन् । शिक्षकले आफ्ना सहकर्मी शिक्षकहरुसँग पनि राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ । शिक्षकले आफ्नो हेरविचार (Self-Care) आफैले गर्न सकेमा मात्रै उसले विद्यार्थीलाई सहयोग गर्न सक्छ ।
जब विद्यार्थी र शिक्षक विद्यालय फर्किनेछन् उनीहरुमा डर, चिन्ता र मानसिक समस्याहरु हुनेछन् । शिक्षकले आफै र आफ्ना सहकर्मी प्रति जहिले पनि धैर्य भएर प्रस्तुत हुनु पर्नेछ । पुरै दिनको समिक्षा गर्दै लामो सास लिने अभ्यास गर्नुपर्छ । यस्तो अवस्थामा शिक्षकले आपासी बलियो सम्बन्ध र समूहकार्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
शिक्षकको काँधमा दबाब महसुस हुदाँ उसले थकानका कारण शिक्षण पेशा नै छोड्ने मनस्थिति पनि बनाउन सक्छ । यसका लागि विद्यार्थी र सम्पूर्ण समुदायसँग हातेमालो गरेर अगाडि बढ्दा शिक्षकले आफ्नो र समुदाय दुबैको भलो गर्न सक्छन् । विद्यालय बाहिर साझेदारी गर्दै अगाडि बढ्नु राम्रो हुनेछ । विद्यार्थी, सामुदायिक सदस्य र अरु पेशाकर्मीहरुसँग साझेदारी गरियो भने जटिल समस्या पनि समाधान गर्न सकिन्छन् । मानसिक आघातका कारण विद्यार्थीका सिकाइ क्रियाकलाप मात्रै होइनन् शिक्षकका शिक्षण क्रियाकलाप पनि प्रभावित हुन जान्छन् । शिक्षकले यो लेखमा उल्लेखित रणनीतिहरु प्रयोग गरेर विद्यार्थीलाई सहयोग गर्न सफल भयो भने पुराना भन्दा पुराना मानसिक आघातका अनुभवहरुको (Traumatized Experiences) उपचार सम्भव हुन्छ । यसका फलस्वरूप शिक्षकको सशक्तीकरण हुन जान्छ ।
अन्तमा, कोभिड–१९पछि भाइरसका कारण सबैले विद्यार्थी र शिक्षकको जीवनमा परेका प्रभावका बारेमा कुराकानी गर्ने नै छन् । कोभिड–१९ अघिपनि विद्यार्थीहरुले मानसिक आघातसँग सम्बन्धित अनुभव गरेकै हुन् । कोभिड–१९ का दौरान के भयो होला त्यो सजिलै अनुमान गर्न सकिन्छ । मानसिक आघातका घटनाहरुले निरन्तर रुपमा विद्यार्थीका सिकाइ प्रक्रियालाई सधैँ प्रभावित गरिरहने छन् । नेपालका विद्यालयमा थेरापिस्ट, सोसलवर्कर र मनोविज्ञानवेत्ता नभएकाले मानसिक आघातबाट पीडित विद्यार्थी र सिकाइको अवस्था केहो होला सहजै अनुमान गर्न सकिन्छ ? करुणा, सद्भाव र मानसिक आघातका प्रभावका बारेमा शिक्षकले गम्भीर भएमा मानसिक आघातबाट पीडित विद्यार्थीलेहरुले समयमै उपचार पाउनुका साथै शिक्षण–सिकाइ पनि त्यत्तिकै प्रभावकारी हुने कुरोमा दुईमत नहोला । शिक्षासँग सम्बन्धित सरकारी, गैरसरकारी र निजी निकायहरुले पनि विद्यार्थी र शिक्षकको मानसिक आघातलाई ध्यानमा राखेर आफ्ना शिक्षण–सिकाइ क्रियाकलाप गर्नुपर्नेछ।