काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईका लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो ।
नियमित विद्यार्थीका साथै वैकल्पिक, खुला र प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो र परीक्षा दस्तुर लगायत आवश्यक कागजातसहित फारम बुझाउन पर्ने सूचनामा बताइएको छ ।
सूचना अनुसार विद्यार्थीले भरेको फारम विद्यालय मार्फत सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ हुँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा माघ १२ गते भित्र प्राप्त भैसक्नुपर्ने छ । समय भित्र परीक्षा दस्तुर तिरेको भौचर उपलब्ध नगराउने विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुन नपाउने ब्यवस्था रहेकाले प्रत्येक वर्ष केही विद्यालयको लापरबाहीका कारण विद्यार्थीहरु परीक्षामा सामेल हुन बाट बन्चित हुनुपर्ने अवस्था समेत देखिने गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सूचना बमोजिम समयमै परीक्षा दस्तुर सहित परीक्षा आवेदन फारम भर्न, भराउन र बुझाउन आग्रह गरेका छन् ।