गुल्मी । गुल्मीको तम्घासस्थित सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिह्न प्राप्त गरेको छ । ग्लोबल क्वालिटी काउन्सिलले विद्यालयलाई चिह्न प्रदान गरेको हो । काउन्सिलले दिएका ५० सूचक मध्ये २० वटा सूचक पूरा गरेसँगै विद्यालयलाई गुणस्तर चिह्न प्रदान गरिएको काउन्सिलले जनाएको छ ।

एक कार्यक्रमकाबिच गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारीले विद्यालयका प्रधानाध्यापक डोविक्रम श्रीषलाई उक्त अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान गरे । अन्तर्राष्ट्रिय गुणस्तरीय चिह्नले कामको प्रारम्भ मात्रै हुने  पछि ८० प्रतिशत सूचक पूरा भएपछि मात्रै प्रमाणपत्र प्रदान गरिने ग्लोबल क्वालिटी काउन्सिल काठमाडौँको आइएसओ प्रतिनिधि तथा तालिम संयोजक नारायण प्रसाद दवाडीले जानकारी दिए ।

उनकाअनुसार यसका लागि विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, विद्यालय र आइएसी लोगोको प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठयोजना तथा सामग्री निर्माणको अवस्थाको मूल्याङ्कन हुने गर्दछ ।

साथै, सफा खानेपानी र कार्यालय व्यवस्थापन प्रारम्भिक सूचक हुन् । आफूहरूले नियमित रूपमा अनुगमन, सीप, तालिम र मार्गदर्शन दिएपछि विद्यालयले प्रमाणपत्रको लागि माग गर्ने दवाडीले जानकारी दिए ।

विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेसँगै आफूहरुमाथि थप  नवीनतम काम गर्नुपर्ने चुनौती थपिएको प्रधानाध्यापक डोरविक्रम श्रीषले बताए । गुणस्तर चिह्न प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्छ । तर, अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण ३० सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने उनको भनाइ छ ।

अबको सूचकहरू भनेको विद्यालयको भौतिक पक्षसँगै नतिजासँग सम्बन्धित भएकाले चुनौतीसँग अवसर पनि रहेको प्रअ श्रीसले स्पष्ट पारे । सिद्धबाबा माविले जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरीय चिह्न प्राप्त गरेको हो । वि.सं. २०४३ सालमा स्थापना भएको सिद्धबाबा माविमा एक हजार ५५० विद्यार्थी अध्ययनरत छन् ।

सोही अवसरमा विद्यालयको अत्याधुनिक नयाँ भवनको शिलान्याससमेत गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभासदस्य डा. भन्द्र भण्डारी, रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवी कुँवर, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेले लगायतले विद्यालयले शैक्षिक गुणस्तर सुधारमा गरेको सुधारको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्