२०७६ फागुन १० गते

शिक्षक नबढाऔं, भारी सङ्ख्यामा कटौती गरौं

नन्दलाल आचार्य



पृष्ठभूमि
भूगोलमा अलग भए पनि अरू हरेक कुरामा नेपाल भारतमा मिसिएको छ । भारत पनि नेपालमा घुलेको छ । नेपाली जनता कहिल्यै कसैको गुलाम भएनन् यद्यपि आफ्नैको गुलामी गर्नबाट कहिल्यै पछि हटेनन् । र, हट्न पनि चाहँदैनन् ।

पहिले राजा महाराजको, राणा सरकारको, मण्डले प्रभुहरूको गुलामी गरे । अहिले नेताजी, व्यापारी र कर्मचारीको गुलामी गरेर थाकेका छैनन् । र, थाक्न पनि चाहँदैनन् । किनभने यही प्रणाली सर्वोत्तम ठानेका छन् । त्यसैले सबै चुप छन् ।

यी तीन ओटै वर्गले देश सञ्चालन गर्छन्, कानुन बनाउँछन्, धन्दा चलाउँछन् । एक अर्कामा नमिल्दा भाँडभैलो मच्चाउँछन्, मिलेपछि कुना पसी बाँडीचुडी कुपुकुपु हसुर्छन् । लाटा जनतालाई पाएर मख्ख पर्छन् । जनताको मौनतालाई आफ्नो समर्थनको हस्ताक्षर सम्झन्छन् ।

भारत–नेपालका जनताले मान्ने मुख्य धर्म हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन आदित्यादि हुन् । यी धर्महरूले मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि बनाएर निरीह जनता माथि आडम्बर लाद भनेका छैनन् । सीमित जान्ने पण्डित–पुरोहित, मौलबी अर्थात् शिक्षक बनेर अबुझ बालबालिकाहरूको मस्तिष्कमा अनुशासन र मर्यादाको नाममा गुलामीमा बाँच्न भन्दैनन् ।

कुनै पनि धर्मले फजुल खर्च गर्न, मारकाट र हुलहुज्जत गर्न तथा मानवताको धज्जी उडाउन भनेका छैन । यद्यपि अहिले धर्मले गरिव जनताको आशा र भरोसा कुल्चेर फजुल खर्च गरी गरेको छ । धर्मयुद्धको नाम गरी रगतको नदी बगाएको छ । धार्मिक संस्कारको प्रपञ्चमा छुवाछुत–जातिय विभेद, मानव बली आदित्यादि पक्ष हेर्दा मानवअधिकारको ठाडो उलङ्घन गरेको छ ।

वर्तमान समयमा देखिएका यावात् विकृत पक्षहरूको मूल जरो धर्ममा गएर अड्केको छ । धर्मको वरपर छन्, तिनै समाजका रक्षकहरू– नेताजी, व्यापारी, कर्मचारी । यिनकै हातमा शक्ति छ । यिनीहरूकै मुठ्ठीमा मुलुकको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाछ । आफ्नो वर्ग अनुकूलको कानुन बनाउने, कार्यान्वयन गर्ने र कानुनको संरक्षण गर्ने वा व्याख्या गर्ने सारा अधिकार छ । सिर्फ फरक यत्ति छ– कसैको प्रत्यक्ष त कसैको परोक्ष । उनीहरूकै हातमा धर्म र शिक्षाको साँचो नहुने कुरै आएन ।

एकाध उदाहरण
साँचो अर्थमा भारत–नेपालका धर्महरूले एउटा कुरा भन्छन्, त्यसको व्याख्या, विश्लेषण र कार्यान्वयन अर्कै पाराले हुन्छ । त्यो शासक, व्यापारी र कर्मचारी अनुकूल हुन्छ । अर्थात्, टाठाबाठा अनुकूल हुन्छ । यसका लागि पर्याप्त उदाहरणहरू पेस गर्न सकिन्छ । एकाध उदाहरण तल प्रस्तुत छ–

१. सतिप्रथा– धर्मले सतिप्रथा कायम ग¥यो । र, स्पष्ट आवाजमा भन्यो– उमेर पुगेको लोग्ने मर्दा उमेर पुगेकी उसकी पत्नीले आफ्नो यौन भोक, तिर्सना, अतिशय मोह, सधुवा श्रृङ्गारपटार लोग्नेको चितासँगै जलाउँनुपर्छ । किनभने नजलाए/नत्यागे अर्को पुरुष अहङ्कारले आक्रमण गरी बेथितिको जग बसाउन सक्छ । स्त्री पनि अनैतिक सम्बन्ध स्थापनामा लाग्न सक्छे । तसर्थ पतिको अवसानसँगै स्त्रीको भोकको अन्त्य हुनुपर्छ । सांसारिक मायाजालमा अल्झेर मृतक पतिको चिन्ता गरी शरीर सुकाउने र जन्मेका सन्तानलाई अलपत्र पार्ने गर्नुहुन्न ।

धर्मको यही व्यवस्थालाई आधार बनाई अपव्याख्या गरेर स्त्री जिउँदै पतिको चितामा जल्नुपर्ने नियम ल्याइयो । कुनै अंशियार दाजुभाइले अंश एकलौटी पार्न वा अन्य लाभ लिनका लागि अवरोध हटाउने काम गरेको हुनुपर्छ ।

२. जातपात, छुवाछुत–भारत–नेपालकाधर्महरूले कर्मका आधारमा जातपात, छुवाछुतको व्यवस्था गरे । नकाम गर्ने कुकर्मीलाई समाजबाट बहिष्कृत गरे । निन्दनीय कर्म गर्ने लागि अछुत भने । सुकर्म गर्न र स्तुत्य आचरण अवलम्बन गर्न आह्वान गरे । त्यस्तालाई समाजका महान् मान्छेको संज्ञा दिए ।
यसैलाई अपव्याख्या गरी ठूलाठालुले जन्मका आधारमा जातपात र छुवाछुतको व्यवस्था गरे । यसकै आधारमा जसले सीपयुक्त काम ग¥यो, उसैलाई अछुत भनी दुत्कार्ने काम गरिरहेछ ।

३. शैक्षिक परिपाटी– भारत–नेपालका सन्दर्भमा गुरुकूलमा आधारित शिक्षा थियो । थोरै शिक्षक (प्रायः एउटै)ले धेरै विद्यार्थीहरूलाईविविध विषयको ज्ञान दिलाउने परिपाटी थियो । एउटा गुरुकूलको एकथरी शिक्षा ग्रहण गरेपश्चात् अर्के थरीको ज्ञान लिन अर्को गुरुकूल जाने काम हुन्थ्यो । शिक्षा घरमा हैन, प्रकृतिको अनुपम काखमा दिइन्थ्यो । शिक्षक–विद्यार्थी स्वतः तपस्वीजस्ता हुन्थे । विद्यार्थीहरू समूहमा सिक्थे । एउटा समूहको सक्रियतामा अर्को समूह सिक्थ्यो ।शिक्षक अवलोकन÷रेखदेख गर्ने, आवश्यक परे मात्र मार्गनिर्देश गर्ने काम गर्थे । माथिल्ला कक्षाका विद्यार्थीले तल्ला कक्षाका विद्यार्थीहरूलाई सिकाउँथे । अर्थात् पुरै विद्यार्थी केन्द्रित शिक्षण परिपाटी थियो ।

विद्यार्थीहरू अनुभवजन्य ज्ञान लिन्थे । सीपयुक्त व्यवसायिक/प्राविधिक ज्ञान लिन्थे । शिक्षा हासिल गरेपछि आफ्नै सीपले स्वतः उद्यम गर्थे । कसैको पछि नलागी आफ्नै ज्ञानको ताकतले इज्जतदार जीवन विताउँथे । ज्ञानी अझ नम्र हुन्थे, नम्रतालाई विद्वत्ताको गुण ठान्थे ।

यस्तो परिपाटीको अपव्याख्या गरी अहिले यस्तो कुरूप र गुलामी व्यवस्था छ– धेरै शिक्षकले धेरै विद्यार्थीहरूलाई विविध विषयको ज्ञान दिलाउने परिपाटी छ । शिक्षा घर पायक अर्थात् घरबाट धाउन सकिने कृतिम वातावरणमा दिइन्छ । कुनै विद्यार्थी परिवारका कामदारजस्ता, कुनै चाहिँ सौखिन राजकुमारजस्ता हुन्छन् । शिक्षा प्रायः किताबमा आधारित ज्ञान हुन्छ, नत्र शिक्षकको ज्ञानभन्दा बाहिरको हुँदैन । एक थरी विद्यार्थीबाट अर्को थरीविद्यार्थीले सिक्ने र सिकाउने परिपाटी नै हुँदैन । शिक्षक कि त निरीह हुन्छन्, कि त प्रवचनकर्ता हुन्छन् ।

विद्यार्थीहरू कि त धोक्न माहिर हुन्छन् कि त परीक्षामा नक्कल गर्न सिपालु हुन्छन् । । सर्वसाधारणको पहुँच बाहिर सीपयुक्त व्यवसायिक÷प्राविधिकशिक्षा छ । महंगो भएकाले पैसावाल नै व्यवसायिक/प्राविधिक शिक्षा लिन्छन्, राज्यबाट प्राप्त अवसर पनि उपभोग गर्छन् । सर्वसाधारण साधारण शिक्षा हासिल गरेपछि अहङ्कारी भएर निस्कन्छन् । गुलामी गरेरै जागिर पाउने मनोकाङ्क्षा पाल्छन् ।आर्थिक उन्नति गरे मात्र इज्जतदार जीवन विताउन पाइने ठान्छन् ।माथिकै वर्गको चाकरीबाट मात्र आफ्नो भाग्य चम्कने मान्छन् ।

कसैले नयाँ कुरो सम्झे वा गरे मान्ने कमै हुन्छन्, विरोध गर्ने धेरै हुन्छन् । हरेक कुरा पैसाको तुलोमा तौलने गर्छन् । अहिले आर्जितशिक्षाले नै दयामाया मार्ने काम गर्छ र बदलामा क्रुरपन जन्माउँने गर्छ ।


सिक्नुपर्ने मूल कुराहरू
उपर्युक्त चर्चापरिचर्चाका आधारमा धर्मबाट शिक्षक–विद्यार्थीहरूले सिक्नुपर्ने कुराहरू निम्न छन्–
१. हरेक सुन्दर चीजमा मात्रै हैन कुरूप चीजमा पनि सुन्दरता खोज्नुपर्छ । कुरूपतामा भेटिने सुन्दरतामा प्राकृतिकपन भेटिन्छ ।
२. जन्मका आधारमा हैन कर्मका आधारमा छुवाछुत र भेदभावको भावना राख्नुपर्छ । भ्रष्टचार गर्ने, ठग्ने, हिंसाजन्य अपराध गर्ने जस्ता अपराधीलाई चुलोचौका बार्नुपर्छ । सीपको पूजा हुनुपर्छ, सेवा गर्ने वर्गले आदर भेट्नुपर्छ ।
३. आडम्बरी कृत्य गर्नेको पाखण्डपनको भण्डाफोर गर्नुपर्छ ।
४. हरेक कामकुरामा सामाजिक लाभ खोज्नुपर्छ । आर्जित ज्ञानले परालम्बीपन मेट्नुपर्छ र स्वालम्बीपन उम्रनुुपर्छ ।
५. सिकेको ज्ञान र सीप आफूमै सीमित राख्नुहुन्न । अरूलाई बाड्दै जानुपर्छ र बदलामा आफ्नो पनि बढ्दै जानुपर्छ ।
६. जीवनपर्यन्त ज्ञान÷सीप सिक्नुपर्छ । त्यसले व्यक्तिमा अहङ्कारको साटो नम्रपन र मेलमिलापी भावनाको जन्म गराउनुपर्छ ।
७. राज्य वा अग्रजको अनाचार र बेथितिपूर्ण व्यवहारको सिर्जनात्मक आलोचना गर्नुपर्छ र सुधारका लागि यथेष्ठ बिकल्पसहित उपायहरू बताउनुपर्छ ।
८. आफ्ना हरेक कर्मको मूल्याङ््रकन स्वयम् गर्नुपर्छ । त्यसको प्रतिक्रिया हेर्नु÷बुझ्नुपर्छ । सुध्रने ठाउँमा सुध्रनुपर्छ । गर्व गर्ने ठाउँमा अडान लिनुपर्छ ।
९. परोपकारी हुनुपर्छ, फजुल खर्चालु र आडम्बरीपन चक्कै त्याग्नुपर्छ । अरूको हितमा आफ्नो सुख भेट्नुपर्छ ।
१०. देश र जनताको मनोभावनाको कदर गर्नुपर्छ ।
११. सबैले अरूको नमुना बन्नुपर्छ । राष्ट्र हाँसे हाँस्न पाइन्छ भन्ने ठान्नुपर्छ ।.
१३. ज्ञान किताब र शिक्षकमा हैन आफैंभित्र छ । खोज्न अन्यत्र भौतारिनु पर्दैन । आफूभित्रै खोजे सबै कुरा मिल्छ । जानकारी÷सूचना सर्वत्र छ, जहाँबाट मिल्छ, लिनुपर्छ ।साँचो ज्ञान केवल आफूभित्रै छ, आफ्नै सक्रियतामा छ, लगनशिलतामा छ । अतः हरेक शिक्षक–विद्यार्थीले ज्ञानको खोजयात्रामा निस्कन सक्नुपर्छ ।
१४. सुहाउँदो आस्था र मर्यादालाई सिकाइको अस्त्र सम्झनुपर्छ ।
१५. बाहिरी रूपले मात्र हैन अन्तर्हृदयले सिकाउने र सिक्ने कर्मलाई तपस्या ठान्नुपर्छ र दत्तचित्त भई कर्तव्यपथमा लाग्नुपर्छ ।

 उपसंहार
धर्मको निचोड छ– धेरै शिक्षक हैन, थोरै कुशल शिक्षकको खाँचो छ । एक थरी जान्ने विद्यार्थीले अर्का थरी कम जान्ने विद्यार्थीलाई आफ्नै भाका र लवजमा सिकाउने परिपाटी बस्नुपर्छ । मूल्याङ्कनको मुख्य अस्त्र कागज–कलम हैन उसले आर्जन गरेको सीप, उसको लगनशिलता/क्रियाशिलता हुनुपर्छ । शिक्षालय राष्ट्र/समुदायको संरक्षणमा मात्र हुनुपर्छ । शिक्षाले सिकारु स्वाबलम्बी हुनुपर्छ ।


अतः शिक्षक बढाउने हैन, भारी सङ्ख्यामा कटौती गर्नुपर्छ । बदलामा छात्रशिक्षकको परिपाटी ल्याएर अनुभवजन्य र प्रयोगात्मक ज्ञान दिने र दिलाउने गर्नुपर्छ ।


–श्री जनता मावि, गोलबजार–४, सिरहा ।
















Comments: