काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले २०८१ सालको एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक गरिएको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।  गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अबर्गिकृत भएको छ ।

कसरी हेर्ने नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईई नतिजको विस्तृत विवरण एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड र वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।

एसएमएस र आईभिआरमार्फत यसरी हेर्ने

नेपाल टेलिकमको एसएमएस/यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ । त्यस्तै, जानकी टेक्नोलोजी प्रालीको एसएमएसमार्फत हेर्न ३५००१, आकाश टेक प्रालीबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्