काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित पोखरेलले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले पदभार ग्रहण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको वाचापत्रलाई नै मुख्य मार्गचित्र बनाएर काम गर्ने स्पष्ट पारे । उनले शिक्षा क्षेत्रमा केवल योजना मात्र नभई देखिने गरी नतिजा, उपलब्धि र पूर्वाधार विकासमा जोड दिने रणनीति अघि सारेका छन्। अबको पाँच वर्षको मुख्य उद्देश्य नै हरेक मन्त्रालयमार्फत पार्टीका वाचाहरूलाई मूर्त रूप दिनु रहेको र त्यसका लागि सबै मन्त्रालयहरूसँग समन्वय गरेर अघि बढ्ने उनको योजना छ।

शिक्षाका साथै खेलकुद क्षेत्रको विकासका लागि पनि भौतिक पूर्वाधारको निर्माण र सुदृढीकरणलाई प्राथमिकतामा राखिने उनले बताए। प्रशासनिक झमेला भन्दा पनि नतिजामुखी काम गरेर शिक्षा र खेलकुद दुवै क्षेत्रमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै उनले आफ्नो कार्यकालमा जनताले महसुस गर्ने गरी सुधारका कामहरू हुने दाबी गरे ।

शिक्षामा आमुल रुपान्तरणलाई उनले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका थिए ।

को हुन् सस्मित पोखरेल ?

काठमाडौं–५ बाट निर्वाचित युवा नेता सस्मित पोखरेल १ फागुन २०५२ मा जन्मिएका हुन् । काठमाडौंमै हुर्किएका उनले प्लस टुसम्मको अध्ययन अमेरिकामा र कानुन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका छन् ।  हाल त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत रहेका उनले संसदमा इन्टर्नको रूपमा समेत काम गरेका छन् ।

विवेकशील साझा पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका पोखरेल २०७४ को निर्वाचनमा उज्वल थापाको अभियानमा सक्रिय थिए । पछि रास्वपामा आवद्ध हुँदै केन्द्रीय सदस्य तथा सहप्रवक्ताको जिम्मेवारी सम्हालेका उनले २०७९ को स्थानीय चुनावमा बालेन शाहको अभियानमा पनि भूमिका खेलेका थिए । सुशासन, पारदर्शिता, शिक्षा र आर्थिक विकासलाई प्राथमिकता दिँदै उनले काठमाडौं–५ बाट विजय हासिल गरेका हुन् ।

पोखरेलले यसअघि बालेन्द्र शाह (बालेन) काठमाडौंको मेयर हुँदा उनको सचिवालयमा बसेर काम गरेका थिए ।महानगरमा शिक्षा क्षेत्रको सुधारमा उनको भूमिका रहेको मानिन्छ । बालेनकै रोजाइअनुसार उनी शिक्षामन्त्री बनेका हुन् ।

प्रतिकृया दिनुहोस्