२०७७ जेष्ठ १६ गते

'विद्यालय राम्रो भए सरकारले गर्दा, नराम्रो भए शिक्षकले गर्दा भन्ने सोच हटाऔं'

देवेन्द्र महर्जन



देवेन्द्र महर्जन
प्रधानाध्यापक
गम्भीर समुद्र सेतु मावि
महालक्ष्मी – २, इमाडोल, ललितपुर

विद्यालयको समग्र अवस्था कस्तो छ ?
समग्रमा रामै्र छ । अझै राम्रो बनाउने प्रयास पनि जारी छ । भौतिक पूर्वाधार निर्माणको चरण करिव सकियो । अहिले विद्यालयको मुख्य ध्यान शिक्षण सिकाइ सुधारमा नै केन्द्रित छ । सिकाइलाई बालमैत्री, प्रविधिमैत्री, दिगो र जीवनोपयोगी बनाउन भनेर पुरा विद्यालय परिवार नै मिहिनेत गरिरहेको अवस्था छ । फरक का मभन्दा पनि हरेक कामलाई फरक ढङ्गले गर्नुपर्छ र देखिनेगरी, सबैलाई महशुस हुनेगरी सुधार गर्नुपर्छ भनेर सामुहिक रुपमा मिहिनेत भइरहेको छ । साना–साना पक्षमा पनि सुधारको प्रयास गरेका छौं । त्यसलै अहिले विद्यालयको अवस्था सिकाइ सुधारमा केन्द्रित छ । विश्वव्यापी कोभिड–१९ को महामारीले हाल विद्यालय त सञ्चालन भएको छैन । तर, हामी विद्यार्थीलाई घरमै बसेर पनि कसरी सिकाइ निरन्तरता दिन सकिन्छ भनेर योजना बनाइरहेका छौं । अनलाइन र अफलाइन दुवै विधिको बारेमा योजना बन्दैछ ।

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
मैले अघि नै भनिसके । हामी फरक काम गर्न भन्दापनि हरेक कामलाई फरक ढङ्गले गर्नेगर्छौं । भन्दा र देख्दा सामान्य लागेपनि हामीले त्यसलाई सिकाइ सुधारसँग जोडेर अघि बढाउने गरेका छौं । हाम्रो मुख्य ध्यान कक्षाकोठाको सिकाइलाई कसरी बालमैत्री, विद्यार्थी केन्द्रित बनाउन सकिन्छ भन्नेमै केन्द्रित छ । शिक्षकहरुलाई पाठ्यपुस्तकमा सीमित नरही पाठ्यक्रमका आधारमा सिकाइको दायरा बढाउन भनिएको छ ।   पाठ योजना अनिवार्य गरिएको छ । त्यसका लागि शिक्षक डायरीको व्यवस्था गरिएको छ । शैक्षिक सामग्री र शिक्षण विधि निक्र्योल गरेपछि मात्रै शिक्षकहरुलाई कक्षाकोठामा प्रवेश गर्न अनिवार्य गरिएको छ । अंग्रेजी माध्यमवाट पठन–पाठन, प्रारम्भिक बालविकासदेखि ३ कक्षा सम्म कक्षा शिक्षणको व्यवस्था, थप पाठ्यपुस्तकको अध्यापन, प्रविधियुक्त शिक्षणमा जोड हाम्रा विद्यालयमा गरिउका अन्य अभ्यासहरु हुन् ।

कक्षाकोठालाई बालमैत्री र सिकाइ मैत्रीबनाउन विद्यालयमा के प्रयास भएको छ ?
हाम्रो सम्पूर्ण प्रयास नै यसैमा केन्द्रित छ । यसकालागि शिक्षकहरुलाई तालिमको व्यवस्था गरिएको छ । कक्षाकोठामा विद्यार्थीको स्तर र तहअनुसारको फर्निचरको व्यवस्था र पर्याप्त भेन्टीलेसन सहितको कक्षाकोठाको व्यवस्था गरिएको छ । कक्षाकोठालाई शैक्षिक सामग्रीयुक्त गरिएको छ । शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण व्यवहारको विकास गरिएको छ । शिक्षक र विद्यार्थीबीच अन्तक्र्रिया र छलफल गराइने गरिएको छ ।

सिकाइस्तरको अवस्था के छ ?
सिकाइ उपलब्धी सुधारात्मक छ । हामी केही वर्ष भौतिक पूर्वाधारको विकासमा केन्द्रित भयौं । अहिले पूर्णरुपमा सिकाइ सुधारमा केन्द्रित छौं । यसको नतिजा केही वर्षमा देखिने छ । फेरी हामी परक्षिाको नतिजालाई भन्दा पनि विद्यार्थीको व्यवहारिक र जीवनोपयोगी सीको विकासमा केन्द्रित छौं ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
देशभर खस्किदै गइरहेको होइन सुधार हुँदै गइरहेको अवस्था छ । पछिल्लो समय सामुदायिक विद्यालयहरुले चमत्कारिक सुधार गर्दै गइरहेका छन् । कतिपय त निजीभन्दा पनि उत्कृष्ट बन्दै गइरहेको छ । सामुदायिक विद्यालयमा भर्ना नपाए बल्ल निजीमा जाने अवस्था बन्दै गइरहेको छ । सामुदायिक विद्यालयमा भर्ना गर्न पनि सोर्सफोर्स लगाउनुपर्ने अवस्था बन्दै गएको छ । राम्रा गर्ने सामुदायिक विद्यालयमा विद्यार्थीको चाप यसरी बढेको छ कि आएका जति सबैलाई भर्ना गर्न सक्ने अवस्था पनि छैन । तर, सबै सामुदायिक विद्यालयको अवस्था त्यस्तो छैन । सुधारको जागरण फैलिएको छ । केही वर्षहरुपछि सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइको बन्ने अवस्था आउँछ । यसकालागि सबैले मिहिनेत गर्नुपर्छ । हाम्रो विद्यालयको लक्ष्यपनि अभिभावकको पहिलो रोजाइको बन्ने नै रहेको छ ।

अभिभावकहरुले त अझैपनि सामुदायिक विद्यालयलाई पत्याएको देखिदैन नि ?
सवैलाई नभनौं कतैकतै त्यो अवस्था छ, तर कतैकतै भर्ना नपाउने अवस्था पनि छ । अभिभावकको चाहना पुरा गर्ने विद्यालयलाई समस्या छैन । फेरी सामुदायिक विद्यालय गरिब, निमुखाहरुले मात्रै पढ्ने जस्तो भएको छ । सामाजिक प्रतिष्ठाका लागि पनि आधापेट खाएर पनि बालबालिका अभिभावकले निजीमा पढाउने गर्छन् । यो सधैँ चल्नेवाला छैन । कतिपय स्थानमा निजी विद्यालयलाई पनि नपत्याएका पाइन्छ । सरकारी विद्यालयको कारण निजी विद्यालय संकटमा परेका ठाउँहरु नी छन् नी ।

अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ ।  सुधारकालागि के गर्नुपर्ला ?
शिक्षकको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन ।  विद्यालय राम्रो भए सरकारले गर्दा नराम्रो भए शिक्षकको कारणले भन्ने सोच त्याग्न जरुर िछ । समस्या इमान्दारिता र जिम्मेवारी वोधको हो । शिक्षकलाई दण्ड र सजायको व्यवस्था नहुँदासम्म यो क्रम चलिरहेको छ । शिक्षकलाई सुधार्ने भनेको शिक्षक आफैले हो । उत्कृष्ट विद्यालयको लागि आवश्यक भौतिक पूर्वाधार, पठनपाठनको लागि अनुकुलतासहित विद्यालयमा पर्याप्त शैक्षिक सामग्री, प्रविधियुक्त शिक्षण र सोहि अनुसारको शिक्षकको व्यवस्थापन हुनुपर्छ ।  जिम्मेवार, कर्तव्यनिष्ठ, परिश्रमी र मेहनेति शिक्षकहरुको मूल्याङ्कन गरि प्रोत्साहनको व्यवस्थागर्नु पर्छ, शिक्षकहरुलाई निर्धारित समयावधिमा देशभर सरुवा गर्न सकिने व्यवस्था गर्नुपर्छ । खराव आचरणका शिक्षकहरुलाई विद्यालय प्रशासनवाट नै बर्खास्त गर्न सक्नेसम्मको व्यवस्था हुनुपर्छ र यसको उजुरी अन्यत्र नलाग्ने पनि हुनु पर्छ ।

सरकारले दिने शिक्षक तालीम, पाठ्यक्रम, परीक्षा प्रणाली, मूल्याङ्कनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण रुपले सन्तुष्ट नी हैन, पुरै गलतपनि छैन तर सुधार गर्नुपर्छ । शिक्षक तालिम सवै शिक्षकहरुलाई शैक्षिक सत्र सुरु हुनु अगाडि नै शैद्धान्तिक र  प्रयोगात्मक रुपमा सञ्चालन गरिनुपर्छ । पाठ्यक्रम देशको दीर्घकालीन जनशक्तिको आवश्यकताको आधारमा तयार गर्नुपर्छ र मूल्याङ्कन प्रणाली ३ घण्टाको परीक्षामा मात्र सिमित गरिनुहुन्न ।

एउटा विद्यालय राम्रो बनाउनका लागि एकजना प्रअको कस्तो भूमिका रहन्छ ?
एकजना प्रअलेमात्रै त केही पनि गर्न सक्दैन । टिमवर्क चाहिन्छ । तर, नेतृत्व लिने, योजना बनाउने, सबैसँग सम्बन्ध स्थापित गर्न सक्ने, मिलनसार, मिहिनती प्रअले मात्रै टिमवर्क जुटाउन सक्छ । देश विकासमा असल र दुरदर्शी नेताको आवश्यक भए जस्तै विद्यालय सुधारका लागि पनि नेतृत्व लिन सक्ने, जोखिम उठाउन सक्ने, सृर्जनात्मक, सामाजिक भावना भएको र दुरदर्शी प्रधानाध्यापक चाहिन्छ । प्रधानाध्यापकको नीति तथा कार्यक्रमले नै विद्यालय सफल र असफलहुने भएकोले प्रधानाध्यापकको भुमिका विद्यालयको विकासमा महत्वपूर्ण हुन्छ ।

यो विद्यालयमा नै विद्यार्थीहरु किन पढाउने ?
यहाँ स्तरीय पठनपाठनको व्यवस्था छ, बालमैत्री, व्यावहारिक ज्ञान र अनुशासनमा जोड दिइन्छ । यहाँ तालिम प्राप्त योग्य र अनुभवी शिक्षकहरु छन्, उनीहरुको तालीम र अनुभव कक्षाकोठामा नै पुग्ने गरेको छ । शिक्षकहरु एक अर्का प्रति सहयोगी छन् । पठनपाठनको लागि अनुकुन भौतिक पुर्वाधारहरु छन् । नियमित रुपमा अतिरीक्त क्रियाकलाप र भौगोलिक रुपले उपयुक्त स्थान छ साथै पठनपाठनको लागि अनुकुल वातावरण छ । अभिभावकको चाहना र विद्यार्थीको भावना अनुसार सिकाइ हुने भएकाले हाम्रो विद्यालयमा पढ्नुपर्छ ।

तपाई यस विद्यालयमाकहिले प्रअ बन्नुभयो ? तपाईं प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म यो विद्यालयमा २०७४ चैत्र १८ देखि प्रधानाध्यापक भएको र २०५६ साल देखि नै सहायक प्रअको रुपमा कार्यरत छु । म प्रअ भइ सके पछि यस विद्यालयमा शैक्षिक र भौतिक दुबै क्षेत्रमा काम गरेको छु । पुर्वाधार निर्माणमा भवन निर्माण, ग्राउण्ड व्यवस्थापन गरेँ भने शैक्षिक पूर्वाधार निर्माणमा शिक्षक तालीम, शिक्षक डायरी, विद्युतिय हाजिरी, कक्षा ११ मा कानुन तथा प्राविधिक तर्फ सिटिईभिटीवाट सम्वन्धन प्राप्तगरि सिभिल र जियोमेटिक ईन्जिनियरिङ्को तीनवर्षे डिप्लोमाका कक्षा संचालन गरेको छु ।

विद्यालय सुधारका लागि तपाईंका योजनाहरु के–के छन् ?
विद्यालयको सुधार भन्नाले विद्यालयको भौतिक, शैक्षिक, आर्थिक, सामाजिक, प्राविधिक धेरै पक्षमा हुन सक्छन् । समग्रमा विकासको लागि यी सवै पक्षको नै विकास हुनुपर्छ । यस विद्यालय सुधारको लागि मैले अझै धेरै काम गर्नु पर्नेछ । विद्यार्थीहरुको लागि आवश्यक कक्षाकोठाको व्यवस्थापन, खेलकुद मैदानको व्यवस्थापन, पर्याप्त खेल सामग्रीको व्यवस्था र अन्य विद्यार्थीको लागि आवश्यक संरचनाको व्यवस्थापन गर्ने योजना छ । शैक्षिक सुधारको लागि प्रविधि युक्त शिक्षाको विकास, हरेक कक्षामा स्मार्टबोर्ड र इन्टरनेटको सुविधा पुर्याउने योजना छ । आर्थिक व्यस्थापनको लागि स्थानिय निकाय र विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्ने सामाजिक विकासको लागि स्थानीय समुदाय, शिक्षकहरु र अभिभावकहरुसँग बैठक र भेला गर्दै कार्ययोजना तयार पारेर जाने योजना छ । विद्यालयलाई स्मार्ट स्कूल बनाउने नै मेरो मुख्य योजना हो ।

स्थानीय समुदायको सहयोग कत्तिको छ ?
समुदायको विद्यालय भएकोले स्थानीय समुदायसँग नजिकको सम्वन्ध हुनुपर्छ ।  तर, शहरका सामुदायिक विद्यालयको एउटा विडम्वना छ ।  स्थानिय वासिन्दाका छोराछोरीको सहभागीता कम छ । अथवा हुनुपर्नेजति छैन । तरपनि, समुदायको माया विद्यालयप्रति निरन्तर रहँदै आएको छ ।

शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
शिक्षामा सुधारै नभएको हैन, हुनुपर्नेजति नभएको मात्रै हो । नियतबाट नै नीति बन्ने भएकोले दुवैलाई केही सच्याउनु पर्छ । विकसित देशहरुको शैक्षिक योजना नेपालमा असफल हुन सक्छ, त्यसैले नेपालको धरातललाई हेरेर योजना र नीति तयार गर्नुपर्छ । सरकारको नीति प्रत्येक स्थानिय निकायका विद्यार्थीहरु त्यहि क्षेत्र भित्र अध्यापन गराउनु पर्ने बन्नुपर्छ । साथै, शिक्षकहरु पनि विद्यार्थीहरुको अनुपातमा एक विद्यालयवाट अर्को विद्यालयमा सरुवा गर्न सकिने व्यवस्था हुनु राम्रो हुन्छ ।

हाम्रा शिक्षकहरुलाई साँच्चै ‘गुरु’बनाउन के गर्नुपर्ला ?
हाम्रा शिक्षकहरु धेरै जसो त साँच्ची कै गुरु नै हुनुहुन्छ, विभिन्न कारणले केही शिक्षकहरु असल गुरु हुन नसक्नु भएको होला । यसका लागि शिक्षकहरुले नियमित अध्ययन गर्ने र विषयवस्तु प्रति दक्षता हासिल गर्नुपर्छ । शिक्षकहरुले प्रविधिको ज्ञान हासिल गर्नुपर्छ, मिलनसार, धैर्यवान र पेसागत जिम्मेवार भई जागिरको रुपमा नलिई सामाजिक सेवाको भावना राखी मिलनसार र कर्तव्यनिष्ठ भई कार्य गरे असल गुरु बन्न सकिन्छ ।

सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर कम देखिन्छ । यसको कारण केलाई मान्नुहुन्छ ?
पहिलो कुरा त गुणस्तर कस्तो लाई भन्ने ? एसईईको नतिजाका आधारमा भन्ने हो भने धेरै कुरा हेर्नुपर्छ । सामुदायिक विद्यालयको गुणस्तर कम भयो भन्ने आरोप निजी विद्यालय प्रेमीहरुको मात्रै हो ।  त्यसैले गुणस्तर नतिजामा होइन विद्यार्थीको व्यवहारिक ज्ञानका आधारमा हेरिनुपर्छ । सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था हेर्यौं । मेरो विचारमा सामुदायिक विद्यालयको गुणस्तर कम पनि छैन र सरकारी लगानी खेर पनि गएको छैन । फेरी सरकारको लगानी पर्याप्त छैन । धेरै लगानी शिक्षक तलबमा र भौतिक पूर्वाधारमा छ । सिकाइ सुधारमा छैन । दरबन्दी मिलान नहुँदा विद्यालयहरुमा दरबन्दी वितरण समान छैन । स्वभावैले प्रत्येक व्यक्तीको स्वभाव र रुची फरक फरक हुन्छ । क्षमतावान व्यक्तिको आकर्षण निजी विद्यालयमा बढी भएकोले निजी विद्यालयको एसईई राम्रो भएको हो । उनीहरुको चासो र सक्रियता निजीमा देखिन्छ । सामुदायिक विद्यालयका अभिभावकलाई मतलव नै हुँदैन ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
सामुदायिक विद्यालय अहिले पनि प्रतिस्पर्धी नै छन् । सामुदायिक विद्यालयको कारण निजी विद्यालयका कक्षा बन्द गर्नुपर्ने र विद्यार्थी कम भएको अहिले नै कतिपय उदाहरणहरु छन । तथापी बढी प्रतिस्पर्धि बनाउन भौतिक पूर्वाधारहरुको व्यवस्थीत र पर्याप्त व्यवस्था गर्नुपर्छ । योग्य शिक्षकहरु, पठनपाठन गराउन योग्य र बालमैत्री फर्निचरहरु र कक्षाकोठाहरु, अध्यापनमा शैक्षिक सामग्री र प्रविधिको प्रयोग गर्न सके विद्यालयहरु सुदृढ हुन्छन् ।

शिक्षक तालिम कक्षाकोठामा पुगेको लाग्छ त ?
पुग्दै नपुगेको त पक्कै होईन तर पूर्णरुपले पुगेको पनि पाइदैन ।  यसको लागि तालिम पनि कक्षाकोठामा प्रयोग गर्न सकिने विषयवस्तु सँग सम्बन्धीत र तालिमअनुसार प्रयोग गर्ने सामग्रीहरु पनि सँगसँगै पठाउने र त्यसको आधारमा शिक्षकको मुल्याङ्कन पनि भयो भने पूर्णरुपले कक्षाकोठामा पुग्न पनि सक्छ ।


Comments: