काठमाडौँ । यसवर्षको रिलायन्स साहित्य स्रष्टा सम्मान साहित्यकार भुवनहरि सिग्देल र रिलायन्स युवा प्रतिभा सम्मान युवाकवि मनोज भण्डारीलाई प्रदान गरिएको छ । रिलायन्स साहित्य समाजले शनिवार भब्य कार्यक्रमका बिच कविद्वयलाई २५ हजार पाँच रुपैयाँ राशीको रिलायन्स साहित्य स्रष्टा सम्मान र ११ हजार पाँच रुपैयाँ राशीको रिलायन्स युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।

वरिष्ठ साहित्यकार प्रा.डा. माधव प्रसाद पोखरेलले कविद्वयलाई सम्मानित गरेका हुन् । रिलायन्स साहित्य समाजलले हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गर्दै आएको छ । समाजले २०६९ सालदेखि वर्षेनी कवि साहित्यकारहरूलाई सम्मान गर्दै आएको समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिए ।

कवि बलराम दाहालले सम्मानित स्रष्टाद्वय सिग्देल र भण्डारीकोे व्यक्तित्व, नेपाली साहित्यमा योगदान र साहित्य जीवनबारे चर्चा गरेका थिए ।सम्मानपश्चात् बोल्दै साहित्यकार सिग्देलले सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको भन्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. माधव प्रसाद पोखरेलले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्सेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरेका थिए । साथै विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कलानिधि दाहाल, त्रिलोचन आचार्य, पवित्रा पोखरेल, रोशन गर्तौलालगायत कविहरूले आफ्नो रचना वाचन गरेका थिए ।

यसैगरी, रिलायन्स साहित्य समाजद्वारा आयोजित ‘पन्ध्रौँ देवकोटा स्मृति अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता’मा राष्ट्रका २३ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २१ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट ५ वक्ताहरू छानिएका थिए र २२ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच ५ प्रतियोगीहरूबिच अन्तिम प्रतिष्पर्धा गराइएको थियो ।

प्रतियोगितामा टाइम लाइन स्कुल, जोरपाटीकी छात्रा प्रसिद्धिका रुपाखेती प्रथम, महेश संस्कृत गुरुकुलम्, देवघाटका छात्र प्रतिक बडाल द्वितीय, नेपाल वेद विद्याश्रमका छात्र सदस्य गौतम तृतीय भएका थिए । साथै, रिपुमर्दनी सैनिक महाविद्यालयका छात्रा मेलिशा कार्की र जुगल नव गुरुकुलका छात्रा सन्ध्या गौतमले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।

रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा सम्पन्न कार्यक्रममा कविहरू कलानिधि दाहाल, बलराम दाहाल, त्रिलोचन आचार्य, कपन–बानेश्वर साप्ताहिक पत्रिकाका सम्पादक निबन्ध आचार्य, शिष्टाचार अभियानका अभियन्ता मुकुन्दराज ढकाल, रिता बुढाथोकी, बिन्दा गौतम, संजिता पौडेल, कालिका श्रेष्ठ, टिका दाहाल, सिता कार्की, पवित्रा पोखरेल, पम्फा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्