रुपन्देही । शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई)का केन्द्राध्यक्षहरू अभिमुखीकरण गरेको छ । आइतबार इकाइले एसईई पूरक (ग्रेडवृद्धि) २०८० का केन्द्राध्यक्षहरूलाई भरैरहवामा एक कार्यक्रम आयोजना गरी अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् रूपन्देही जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पुरक परीक्षा सञ्चालनको लागि केन्द्राध्यक्षहरु जिम्मेवार बनेर आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे । केन्द्राध्यक्षहरूले आफूले जानेका कुरा सेयर गर्न र समन्वयलाई जोड दिई सिक्ने सिकाउने कामलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले रूपन्देही जिल्लामा बुटवलदेखि भैरहवासम्म १८ वटा परीक्षा केन्द्र कायम गरिएको र उक्त परीक्षा केन्द्रमा रूपन्देही जिल्लाका ३ सय ३८ विद्यालयका ८ हजार ५ सय ६४ परीक्षार्थीहरूको सहभागिता रहने जानकारी दिए । उनले परीक्षाका आचारसंहिता, व्यवस्थापकीय पक्षहरू, सूचना प्रविधिको सदुपयोग, परीक्षामा अपनाउनपर्ने चनाखोपन, गोपनियता लगायतमा राम्रो कार्यसम्पादन गर्न सबै केन्द्राध्यक्षहरूलाई निर्देशन समेत दिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले २०८० को एसईई पुरक(ग्रेडवृद्धि) परीक्षामा हेल्प डेक्स र हेल्थ डेक्स निर्माण गर्न आग्रह गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाइ प्रमुख माधव बन्जाडेको अध्यक्षतामा शाखा अधिकृत विष्णुप्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत झविलाल बिकले स्वागत गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा नवीन औद्योगिक कदर बहादुर रीता मावि, कालिका मानवज्ञान मावि र कान्ति माविमा दुई दुईवटा परीक्षा केन्द्र रहेको नवीन औद्योगिक कदरबहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।