काठमाडौँ । कोरोना महामारीका बीच स्थानीय तहहरू जेठभित्रै चालु शैक्षिक सत्र सकेर असारबाट नयाँ शैक्षिक सत्र थाल्न अग्रसर देखिएका छन् । निषेधाज्ञाका कारण देशभरका शिक्षण संस्था ठप्प भए पनि पालिकाहरू आन्तरिक मूल्यांकनबाटै अन्तिम नतिजा प्रकाशन गरेर शैक्षिक सत्र २०७८ को पठनपाठन थाल्ने तयारीमा जुटेका हुन् ।
त्यसका लागि यसअघि सञ्चालित परीक्षा, निरन्तर मूल्यांकन र वैकल्पिक विधिबाट लिइएका परीक्षाका आधारमा नतिजा प्रकाशन गर्ने मापदण्ड तय गरिएको छ । कक्षा ८ मा पालिकास्तरीय परीक्षा हुने व्यवस्था छ । अधिकांश स्थानीय तहले यिनै मापदण्डअनुसार विद्यालयले पठाएको अंकका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेका हुन् । कक्षा ८ को नतिजा तयार पारेर सम्बन्धित स्थानीय तहमा पठाउन सर्कुलर गरिएको छ । कतिपय स्थानीय तहले नतिजा प्रकाशनका लागि कार्यढाँचासमेत जारी गरेका छन् ।
ललितपुर, काठमाडौं र पोखरा महानगरपालिकाले असार पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेका छन् । ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षत्रीले यसअघि लिएका परीक्षा, आन्तरिक मूल्यांकन र अन्य वैकल्पिक उपायबाट विद्यार्थीको अन्तिम मूल्यांकन गर्न आग्रह गरिएको जनाए । ‘कुनै पनि विद्यालयमा अन्तिम परीक्षा हुन सकेको छैन, असारबाट नयाँ शैक्षिक सत्र थाल्नुपर्ने छ,’ उनले भने । कक्षा ८ लगायत अन्य कक्षाको परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न असम्भव भएकाले वैकल्पिक उपायबाट नतिजा प्रकाशन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको महानगरले जनाएको छ ।
पोखरा महानगरपालिकाले त्रैमासिक, अर्धवार्षिक, आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरी वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न आग्रह गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । महानगरपालिकाले शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना असार १ गतेबाट थाल्नसमेत निर्देशन दिएको छ । कक्षा ८ को परीक्षा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णयअनुसार हुने आचार्यले बताए ।
काठमाडौं महानगरपालिकाले यसअघि नै आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको थियो । कक्षा ८ को हकमा पहिलो र दोस्रो त्रैमासिक परीक्षाको ४० प्रतिशत, विद्यार्थीको निरन्तर मूल्यांकन तथा विद्यालयले राखेको अभिलेखका आधारमा ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल वैकल्पिक विधिबाट २० प्रतिशत मूल्यांकन गरी शिक्षा शाखामा बुझाउन आग्रह गरिएको छ ।
विद्यालयले जेठ २५ सम्म पठाएको अंकका आधारमा नतिजा प्रकाशन गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ । अन्य कक्षाको जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न भनिएको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए । ‘विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिन्छ,’ उनले भने ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले कक्षा १ देखि ९ सम्मको नतिजा जेठ २६ गतेसम्म प्रकाशित गर्न सर्कुलर गरेको छ । नगरपालिकाले नतिजा प्रकाशनका लागि मूल्यांकन कार्यढाँचा नै जारी गरेको हो । विद्यालयहरूले वार्षिक मूल्यांकन कार्यढाँचाका आधारमा नतिजा प्रकाशन गर्नुपर्ने शिक्षा शाखाकी अधिकृत रञ्जना सापकोटाले जानकारी दिइन् । अद्यावधिक, प्रयोगात्मक, अर्धवार्षिक, त्रैमासिक परीक्षा तथा आन्तरिक र अन्तिम मूल्यांकनका आधारमा नतिजा तयार पर्नुपर्ने कार्यढाँचामा उल्लेख छ । आन्तरिक मूल्यांकनमा दैनिक हाजिरी, गृहकार्य, कक्षा कार्य, व्यवहार परिवर्तन र अतिरिक्त क्रियाकलापलाई आधार बनाइएको छ ।
गोरखा नगरपालिकाले ६० प्रतिशत पूर्णाङ्क यसअघिको परीक्षाका आधारमा र ४० पूर्णाङ्क कार्यविधि बनाई विद्यार्थीको मूल्यांकन गर्न विद्यालयहरूलाई सूचित गरेको छ । विद्यालयले पठाएको अंक नगरपालिकाले प्रमाणित गरी नतिजा प्रकाशन गर्ने शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले जनाए । इलाम नगरपालिकाले आन्तरिक मूल्यांकन, त्रैमासिक परीक्षा वा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्यांकन गरी नतिजा प्रकाशन गर्न र असार पहिलो साताबाट पठनपाठन थाल्न आग्रह गरेको शिक्षा शाखाका प्रमुख प्रेमकुमार गौतमले जानकारी दिए ।
कक्षा ८ को नतिजा प्रकाशन गर्न भने नगरपालिकाले विद्यालयहरूलाई सूत्र दिएको छ । विद्यार्थीले यसअघिको परीक्षामा प्राप्त गरेको अंकलाई पूर्णाङ्कले भाग गरी अन्तिम परीक्षाको पूर्णाङ्कले गुणन गरी प्राप्ताङ्क निकालेर नगरपालिकामा पठाउन निर्देशन दिएको हो । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले त्रैमासिक परीक्षाको ४० प्रतिशत, अर्धवार्षिक परीक्षाको ४० प्रतिशत र आन्तरिक मूल्यांकनको २० प्रतिशत पूर्णाङ्कका आधारमा नतिजा प्रकाशन गर्न आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो । यसपालि पनि वैशाखदेखि शिक्षण संस्था ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ । मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ । पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि धकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले स्रोतले जनाएको छ । कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन पठनपाठनसमेत सुरु गरिसकेका छन् । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यी कक्षाको परीक्षा सञ्चालनको मोडालिटी खोजी गरिएको छ । असारबाट शैक्षिक सत्र सुरु गर्ने बताए पनि पालिकाहरूले पठनपाठनको विधिबारे खुलाएका छैनन् । शिक्षाविद् देवीराम आचार्यले इन्टरनेट, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीलाई टेलिफोनबाटै पनि सिकाउन सकिने सुझाव दिए । ‘इच्छाशक्ति भए टेलिफोन, एसएमएसबाट पनि पढाउन, सिकाउन सकिन्छ,’ उनले भने, ‘यो अप्ठ्यारो बेलामा समस्या मात्र देखाएर पुग्दैन ।’
अनलाइन परीक्षामा जोड
निषेधाज्ञा लम्बिँदै जाँदा त्रिभुवन विश्वविद्यालयले पनि अनलाइनबाट पठनपाठन र परीक्षा सञ्चालन गर्न जोड दिएको छ । त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गरेर वैकल्पिक माध्यमबाट शैक्षिक गतिविधि अघि बढाउन डिन कार्यालय, विभाग, क्याम्पसलाई निर्देशन दिएका हुन् । रोकिएका सबै तहका परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्नुपर्ने उनको जोड छ ।
गत वर्ष अनलाइन परीक्षाको तयारी गर्दैगर्दा लकडाउन खुकुलो भएपछि त्रिविले भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न थालेको थियो । फेरि कोरोना संक्रमण फैलिन्छ भन्ने आकलन गरेर वैकल्पिक माध्यमको तयारी गर्न नसक्दा त्रिविलगायत शिक्षण संस्थाका परीक्षा र पठनपाठन प्रभावित हुन पुगेको शिक्षाविद्हरूको तर्क छ ।
सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।