मिति २०७७ साल वैशाख ८ गतेबाट तोकिएको कक्षा १२ को बोर्ड परीक्षा कोरोना भाईरसको महामारीको कारणले सरकारले स्थगित गरेको तथ्य जगजाहेर छ । देशव्यापी लकडाउन गरिएको थियो । परीक्षा बोर्डले गरेको निर्णय ठीक थियो वा गलत थियो तर्फ फर्किएर बहस गर्नुको कुनै अर्थ छैन् । त्यो नितान्त समिक्षाको विषय बनिसक्यो ।
कक्षा १२ को जाँच जसरी पनि गर्नै पर्ने प्रेसरमा परीक्षा बोर्ड रहेको छ । यो विद्यालय तहको अन्तिम परीक्षा हो । कक्षा १० र ११ सँग यसको तुलना गर्न मिल्दैन । विधि र कानूनले निर्धारण गरेको कुरा सोहि विधान र ऐनको परिमार्जन बाट मात्र सम्भव हुन्छ । देशमा लकडाउन शुरु भए यता स्थगित परीक्षाहरु सञ्चालनका लागि विभिन्न उपायहरु सुझाबका क्रममा व्यक्तिगत तथा संस्थागत रुपमा प्रस्तुत भएको पाइन्छ । मिडियामा दिनहुँजसो शिक्षाका समाचार छुटेका छैनन् ।
अझ शिक्षामा पनि परीक्षाको चर्चा अधिक उठेको पाइन्छ । चर्चा गर्नेहरु र मिडियामा विषय उठान गर्नेहरु निर्णयकर्ता होइनन् । निर्णय गर्ने भनेको सरकारले हो, शिक्षा मन्त्रालयले हो, राष्ट्रिय परीक्षा बोर्डले हो । अरुलाई त विचार राख्ने छुट सम्म मात्र हो । यसो गरेको भए राम्रो हुन्थ्यो कि भन्ने तर्क सरोकारवर्गले गर्नुलाई अपराध वा वाहियात भन्ने हतार गर्नु हुँदैन ।
१. पछिल्लो चरणमा कक्षा १२ को परीक्षा सम्वन्धमा परीक्षा बोर्डले सरकारलाई निर्णयार्थ सुझाव दिएको चर्चा बाहिर व्यापक छाएको छ । कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क, अनलाईन परीक्षा ४० पूर्णाङ्क र २० पूर्णाङ्क प्रयोगात्मक गर्ने भनिएको छ । यस सुझावको सत्यता दिने र लिनेलाई मात्र यकिन रहेको छ ।
अरु कुरा बाहिरका चर्चा मात्र बन्न सक्छन् । यदि उक्त सुझाव मिथ्या हो भने आधिकारिक रुपमा सो को खण्डन हुनुपथ्र्यो भन्ने जिकिर गर्ने छुट हामीमा पनि छ । संगै कक्षा १२ को परिक्षा आवेदन गरेका सबै विद्यार्थीको ट्रेसिङ्ग गर्न भनिएको कुरा आधिकारिक रुपमै आएको छ ।
कक्षा १२ पढेको र परीक्षा आवेदन फर्म भरेको विद्यालयबाट हाल विद्यार्थी बसोबास गरिरहेको स्थान वा सेवाक्षेत्र एउटै हैन भने कति टाढा कुन स्थान हो सो को नाम ठेगाना सहित नजिकको कक्षा १२ संचालन भै रहेको विद्यालयको नाम तथा कोड उल्लेख गरी पेश गर्न ७ दिने म्याद आईसकेको छ । साथै दशैं अगाडि उक्त परीक्षा गर्न नसकिने पनि भनिएको छ ।
२. कोभिड—१९ को कहर बाट मुक्त भएर जाँच चलाउने दिन पर्खिरहँदा आज ६ महिना बितेको छ । सुझावमा भनिए अनुशार नै गर्न त अनलाईनको मोडालिटि नआई कमेण्ट हतार बन्न सक्छ, जुन सहज छैन । कक्षा ११ बाट लिने आधारमा यी दिनहरु पर्खनुको कुनै तर्क छैन् । प्रयोगात्मक त अहिले पनि अधिकांश विषयमा तोकिएकै छ ।
अनि त्यो पनि दशैं पछि अझ मंसिरमा पुग्ने भएपछि उक्त विधिको परीक्षा थप आलोचनात्मक बन्ने तथ्यमा द्धिविधा छैन । तिन वटा क्षेत्रबाट उक्त परीक्षाको औपचारिकता दिने सबाल आफैंमा विवादित र अवैज्ञानिक स्पष्ट छ । कक्षा ११ कै आधार बनाउने हो भने अनलाईनको अन्यौलता बनाउन जरुरी देखिन्न । घरमा बसेर उत्तर लेख्ने र तोकिएको समय पश्चात उक्त जवाफ बुझाउने हो भने त्यो होमवर्क हुन्छ, जाँच भन्न सकिन्न ।
३. अवस्था विषम छ । यो वा त्यो विकल्प हुँदैन । वैज्ञानिक छैन । झनै विवादित र असहज बन्ने छ । औपचारिकता मात्र नगरौं । यस्ता कुराहरु गरिरहँदा थप विकल्प पनि दिन जरुरी महसुस गरीएको छ , त्यो स्वभाविक धर्म पनि हो । हालको अवस्थामा निम्नलिखित उपायहरु अपनाएर परीक्षा नै लिनु उपयुक्त देखिन्छ ।
क. परीक्षा केन्द्रको स्वास्थ्य सावधानी, शिक्षक विद्यार्थीलाई मास्क तथा पंजा अनिवार्य, दूरीमा कडाई र साबुन पानीले हात धुनै पर्ने, सेनिटाईजरको प्रयोग संगै प्रत्येक परीक्षा केन्द्रमा एक स्वास्थ्यकर्मीको ब्यवस्था गरिनु पर्दछ ।
ख. सम्भव छ भने, परीक्षा यसै महिना वा कार्तिकको पहिलो सातामा सक्ने गरी हैन कुनै सम्भवना नै छैन भने मंसिरमा नै गर्ने हो भने पनि अब परीक्षाको कार्यक्रम प्रकाशन गर्नु पर्दछ ।
ग. हाल तोकिएका परीक्षा सेन्टरको अतिरिक्त त्यति नै थप उप केन्द्र तोकेर सकेसम्म अर्को स्थानीय तहमा नलाने गरी विद्यार्थीलाई घरबाट आधा घण्टाको मात्र पैदल बढिमा ३ कि.मि. दूरीमा जाँच दिने ब्यवस्था मिलाउन सकिन्छ ।
घ. एउटा कोठामा बढिमा १० जनामात्र परीक्षार्थी रहने गरी सिट प्लान गर्न सकिने छ ।
ङ. तयारी प्रश्नपत्र र उ.पु.बाटै ब्यवस्थापन गर्ने गरी बिगत झैं जाँच लिन सकिन्छ ।
च. परीक्षार्थीको संख्या र दूरीको आधारमा केन्द निर्धारण गर्न सकिने छ ।
छ. हालको विद्यार्थी ट्रेसिङकै आधारमा र कोहि छुट्न गएमा प्रवेशपत्र लिई नजिकको केन्द्र तोकिएको विद्यालय/कलेजमा एक साता भित्र सम्पर्क गर्न सूचना दिन सकिन्छ । केन्द्रले संख्याको यकिन गरी परीक्षा ब्यवस्थापन गर्न पर्ने छ ।
ज. परीक्षार्थी धेरै भएका र एकै सिफ्टमा संचालन गर्न नसक्ने भएका केन्द्रहरुले सम्भव भए सम्मका वरपरका शिक्षण संस्थाहरु संग समन्वय गरी प्रयत्न गर्ने र सो पनि सम्भव नभए दोस्रो सिफ्टको ब्यवस्था गर्ने यसो गर्दा समानान्तर प्रश्नपत्र सेट प्रयोगको स्थितिमा परीक्षा बोर्डले ब्यवस्थागर्न सक्ने छ ।
झ. उ.पु.को प्याकेट परीक्षा केन्द्रले नै मिलाउने र जिल्लामा संकलन गरी परीक्षणको ब्यवस्था परीक्षा बोर्ड तथा समन्वय ईकाईको निर्णयमा विषय शिक्षकलाई यस पटकको लागि मात्र घरैमा पठाएर परीक्षण गराउन सकिन्छ ।
अन्तमा, अवस्थामा सुधार आएको छैन । कोरोना संक्रमण झनै बढिरहेको छ । मृत्यु पनि बढिरहेको छ । संगै स्वास्थ्य सावधानीमा गम्भिरता देखिएको छ । सजगता र सतर्कतामा धेरैको ध्यान गएको देखिन्छ । यसै बिचमा हालै बौद्ध विश्वविद्यालयले माथिकै जस्तो उपाय अपनाएर परीक्षा संचालन गरेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायात शुरु भएका छन् । बजार खुलेको छ । यो अवस्थामा हामी मात्र परीक्षा लिन हिम्मत गरिरहेका छैनौं । परीक्षार्थीहरु मानसिक तनावमा छन् । अब, कोरोना भाईरस मात्र परीक्षाकेन्द्रमा बस्ने हो भने त सोच्नै पर्दछ । अन्यथा, सावधानीका साथ परीक्षा गर्नै पर्ने स्थिति महसुस गरिएको छ ।
-हेटौंडा