काठमाडौँ ।चाबहिलको पशुपति मित्र माविकी १२ वर्षीया छात्रा प्रगुन पण्डितलाई विद्यालय जान नपाउँदा छटपटी छ । कोभिड–१९ महामारीले गर्दा ६ महिनादेखि विद्यालय बन्द छ । अहिले उनको समय घरको कम्पाउन्डभित्रै बित्छ । ‘एकोहोरो घरैमा बसेको धैरै भयो, बाहिर निस्कन मन लाग्छ, उकुसमुकुस भइरहन्छ,’ उनले भनिन् ।
कोरोनाकै कारण अहिले धेरै बालबालिका घर–परिवारभित्रै सीमित छन् । यसले बालबालिकामा रिसाउने, झर्किने समस्याहरू देखिन थालेको पशुपति मित्र माविका प्रधानाध्यापक चन्द्रकान्त पण्डित बताउँछन् । ‘घरका सदस्य बाहेक अरूसँग घुलमिल हुन पाएका छैनन्, विद्यालय जान पाएका छैनन्, केटाकेटी साह्रै ‘एग्रेसिभ’ हुन थाले भनेर अभिभावकले गुनासो गर्न थाल्नुभएको छ,’ उनले भने ।
गाउँघरको तुलनामा सहरमा यो समस्या बढी रहेको उनको अनुमान छ । ‘गाउँघरमा भए घाँसगोठालो लाग्छन्, भेडाबाख्राको पछि लाग्छन्, व्यावहारिक ज्ञान बुझ्छन्, प्रकृतिसँग घुलमिल हुन पाउँछन्,’ उनले भने, ‘सहरका केटाकेटी बाहिर निस्केर हिँड्ने ठाउँ छैन, प्रविधिको सुविधा सबैमा छैन, एउटै घर र कोठामा सीमित हुँदा समस्या देखिँदा रहेछन् ।’
उनको विद्यालयमा पनि करिब आठ सय विद्यार्थी छन् । सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने भनेपछि खोज्दा करिब तीन सय विद्यार्थीसँग मात्रै टेलिफोन सम्पर्क हुन सक्यो । केहीलाई विद्यालयमा बोलाएर पुस्तक वितरण गरे । तर अधिकांश विद्यार्थीसँग कम्प्युटर, मोबाइल फोन, इन्टरनेटको पहुँच नभएकाले अनलाइन कक्षा हुन पाएन ।
गत मेमा युनिसेफले सेयरकास्ट इनिसियटिभ नेपालसँगको सहकार्यमा ७७ वटै जिल्लाका ७ हजार ५ सय परिवारमा गरेको ‘चाइल्ड एन्ड फेमिली ट्र्याकर’ सर्भेअनुसार ३० प्रतिशत परिवारले मात्रै विद्यालयले अनलाइन कक्षा सुरु गरेको खबर पाएका थिए । तीमध्ये पनि आधाजतिले मात्र बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराउन सके । ‘जतिले खबर पाए त्यसमा आधाभन्दा बढीसँग कम्प्युटर, स्मार्टफोन र इन्टरनेटजस्ता डिभाइस उपलब्ध नभएको देखियो,’ सेयरकास्टका प्रमुख कार्यकारी मधु आचार्य भन्छन्, ‘हामीले ३ जनामा एक बालबालिका मात्रै अनलाइन कक्षामा सहभागी भएको पायौं ।’
महामारीले घरबाहिरका क्रियाकलापसँगै पढाइ बन्देज हुँदा विशेष गरी सहर, बजारका बालबालिकाको बौद्धिक वृत्तिविकासमै असर पुगेको मनोविद् करुणा कुँवरको भनाइ छ । ‘बालबालिकाहरूमा खाली लकडाउनमा पढ्न नपाएको र बाहिर निस्कन नपाएको मात्रै चिन्ता छैन कि बढ्दो संक्रमणले आफन्त, अभिभावकलाई अप्ठेरो पर्छ कि भन्ने भय पनि बढेको देखिन्छ,’ उनले भनिन् ।
उनका अनुसार घरैमा हुँदा पनि मोबाइल, कम्प्युटरमा समय बिताउँदा बालबालिकाको बौद्धिक विकास जसरी हुनुपर्ने हो त्यो हुन पाएको छैन । अभिभावकहरू नै कोभिडको चिन्तामा परेका हुँदा दोहोरो सञ्चार अभावमा बालबालिकाहरूमा पनि रिसाउने, झर्किने, अनिद्रा हुनेजस्ता समस्या बढ्न थालेको कुँवरले बताइन् ।
दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकाहरू अहिले भाडा कसरी तिर्ने, बिहानबेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहेको बालअधिकार अभियन्ता प्रविन सिलवाल बताउँछन् । ‘बालबालिकाको आवश्यकताभन्दा पनि परिवार के खाने, कसरी बाँच्ने भनेर जुधिरहेको छ, परिवारको गरिबी नै बालबालिकाको वृत्तिविकासको प्रमुख बाधक हो, मानसिक समस्याको कारक यही नै बनिरहेको छ,’ उनले भने ।
युनिसेफ र सेयरकास्टको सर्भेले पनि सहभागी ७ हजार ५ सय परिवारमध्ये ५४ प्रतिशतको आयस्रोत गुमेको देखाउँछ । विशेष गरी उपमहानगरपालिकामा बस्ने ६१ प्रतिशत परिवारले रोजगारी गुमाएका छन् । मासिक १० हजार कमाइ गरेर जीविका धान्ने ५५ प्रतिशतले रोजगारी गुमेपछि ऋणपान गरेर गर्जो टार्दै आएको सर्भेले देखाउँछ ।
रुम टु रिड संस्थाले किशोरी शिक्षा कार्यक्रमको कार्यक्षेत्रमा गरेको अनुसन्धानले न्यून आयस्रोत भएको परिवारका लभगभ दुई जनामा एक जना (करिब ४९ प्रतिशत) किशोरी ‘ड्रप आउट’ हुने उच्च जोखिममा रहेको देखाउँछ । रुम टु रिडले भारत, बंगलादेश, नेपाल, श्रीलंका, भियतनाम, लाओस, कम्बोडिया र तान्जानियाका १५–१९ वर्ष उमेर समूहका २८ हजार किशोरीसँग अन्तर्वार्ता गरेको थियो । यो सर्भे २०२० को अप्रिलदेखि जुनसम्म गरिएको थियो ।
नेपालमा ३ हजार ९ सय ९२ बालिकालाई सहभागी गराइएको थियो । जसमध्ये ५३ प्रतिशत बालिका विद्यालयबाट ‘ड्रप आउट’ हुने जोखिममा छन् । १० देखि १५ प्रतिशतले विद्यालय फर्कन नसक्ने बताएका छन् । परिवारका मानिसले जागिर छोड्नुपरेको र आर्थिक संकट आइपरेका कारण विद्यालय छाड्नुपर्ने जोखिम बढेको अन्तर्वार्ताका क्रममा बालिकाहरूले बताएका थिए ।
‘महामारीले गर्दा परिवारका सदस्यले जागिर गुमाउनुपरेपछि बालिकाहरूसमेत काममा जानुपर्ने चुनौती थपिएको छ, यसले उनीहरु स्कुल जानबाट वञ्चित हुने देखाउँछ,’ रुम टु रिडमा ‘गर्ल्स एजुकेसन प्रोग्राम’की व्यवस्थापक सलिना तामाङ भन्छिन् ।
विद्या राईले कान्तिपुरमा खबर लेखेकी छन् ।