काठमाडौँ । काठमाडौँ कपनस्थित रिलायन्स पब्लिक स्कुलमा नमुना संयुक्त राष्ट्रसंघीय राष्ट्रिय सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको हो ।

जारी नमुना राष्ट्र संघको नवौँ सम्मेलनमा दुईसय बढी मुलुकका प्रतिनिधिका रूपमा देशभरका सयौँ विद्यार्थीहरूको सहभागिता रहेको छ । सम्मेलनमा काठमाडौँ उपत्यकासहित रुपन्देही, धनुषा, नवलपुरलगायतका जिल्लाबाट विद्यार्थीहरु विभिन्न मुलुक एवं राष्ट्रसंघीय निकायका प्रतिनिधिका रूपमा विद्यार्थीहरूको सहभागिता रहेको छ ।

जारी सम्मेलनमा विभिन्न देशका प्रतिनिधिका रूपमा सहभागि विद्यार्थीहरूबिच ती देश र विश्व परिवेशका विभिन्न मुद्दामा चर्को बहस र छलफल भइरहेका छन् । तीनदिने अवधिमा सम्पूर्ण विश्व जगतका जल्दाबल्दा समस्याका बारेमा विद्यार्थीहरुले छलफल गरी आपसी समझदारी कायम गर्दै संकल्प पत्र तयार पार्ने जनाइएको छ ।

त्यसो त रिलायन्स स्कुलले हरेक वर्ष यस्तो राष्ट्र संघीय सम्मेलनको आयोजना गर्दै आएको छ । अहिलेको सम्मेलन नवौैँ संस्करण हो । हरेक वर्ष यसरी नै विद्यार्थीहरू विभिन्न देशका प्रतिनिधिका रूपमा विश्व परिवेशबारे छलफल र बहस गर्ने गर्दछन् ।

सम्मेलनले विद्यार्थीहरुलाई एकातिर राष्ट्र संघको सम्मेलन कसरी सञ्चालन हुन्छ भन्ने जानकारी प्राप्त हुनेछ भने अर्कोतर्फ विश्वका विभिन्न देशका समस्या, विश्व परिवेशका बारेमा समेत ज्ञान मिल्नेछ ।

जस्तो कि अहिले सम्मेलनमा रुस युक्रेन युद्ध, इजरायल प्लालेस्टाइन युद्ध, इरान, रुस, चाइना, अमेरिका, युरोपका मुद्दा, आणविक हतियार, पर्यावरण सन्तुलन, विश्व शान्ति, बढ्दो तापक्रम, एआईआदि विषयमा छलफल र चर्का भइरहेका छन् ।

सम्मेलनमा संयुक्त राष्ट्र संघीय ६ वटा समिति डाइसेक, डब्लूएचओ, यूनोओसा, आइपीसी, यूएनएचआरसी लगायतको सहभागिता रहेको छ । त्यस्तै, संघीय संसद नेपाल र ऐतिहासिक विपत समितिले पनि सहभागिता जनाएका छन् ।

सम्मेलनको बिहिबार संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यले उद्घाटन गरेका हुन् । त्यस्तै, सम्मेलनमा संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दिपायन वशु रायको विशेष अतिथिको रूपमा सहभागिता जनाएका थिए ।

‘जहाँ युवा मस्तिष्कहरू वार्ताका लागि भेला हुन्छन्’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा सहभागि विद्यार्थीहरूलाई रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बसन्तलाल लामिछानेले स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं संयुक्त राष्ट्र संघका लागि पूर्व आवाशीय दूत तथा कुटनीतिज्ञ मधुरमण आचार्यले सम्मेलनबाट विद्यार्थीले एकैपटक धेरै विषयको ज्ञान पाउने बताए । पछिल्लो पुस्तासँग साक्षात्कार गर्न पाउँदा हर्षित बनेका आचार्यले आफू संयुक्त राष्ट्र संघमा आवद्ध रहँदा गरेका कामको फेहरिस्तसमेत विद्यार्थीमाझ राखेका थिए । उनले संयुक्त राष्ट्र संघले नेपालको दिगो विकासका लक्ष्य हासिल गर्नका निमित्त विभिन्न गतिविधि गर्दै आएको समेत बताए ।

कार्यक्रममा विशेष अतिथि एवं संयुक्त राष्ट्र संघ शान्ति तथा निशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक रायले संयुक्त राष्ट्र संघले हाल नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको बताए । सम्मेलनले विद्यार्थीमा नेतृत्व सीप र विश्वपरिवेश बारेको ज्ञान मिल्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले सम्मेलनले विद्यार्थीमा कुटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले दक्ष नागरिक निर्माणमा सहयोग गर्ने उनको विश्वास व्यक्त गरे ।

‘यो सम्मेलनमा सहभागी विद्यार्थीहरुले विश्वमा देखिएका जल्दोबल्दो चुनौतीका विषयमा छलफल गरी संकल्प पत्र तयार गर्छन्,’ उनले भने, ‘जो भोलिका दिनमा नीति निर्माण गर्न सहयोगी हुनेछन् ।’  विद्यालय स्तरका ज्वलन्त समस्याहरुको पहिचान गरी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बुझ्न र बुझाउन सन् २०१६ रिलायन्स पब्लिक नमुना राष्ट्रसंघ (आरपीमुन)को स्थापना भएको थियो । त्यसयता रिलायन्सले निरन्तर यो सम्मेलन गर्दै आएको छ ।सम्मेलन भदौ १ गते समापन हुनेछ ।

प्रतिकृया दिनुहोस्