प्रविधिको कारणले नै आजको विश्व अगोचर बाट गोचर, अभेद्य बाट भेद्य, अदृष्य बाट दृष्य, अज्ञात बाट ज्ञात, निराकार बाट आकार, असहज बाट सहज, बृहत बाट सुक्ष्म, असिमित बाट सिमित र जटिल बाट सरल बनेकोमा कसैले विमति राखेको पाईंदैन । संसारलाई साँघुरो र सुविधाजनक बनाउने श्रेय आधुनिक प्रविधिलाइै नै जान्छ । आजको सिङ्गो दुनियाँ कब्जामा राख्ने सर्व शक्तिमान मानिएको आधुनिक प्रविधिको पहुँच र हस्तक्षेपले स्वंय प्रविधि नै अचम्भित भएको हुनु पर्दछ । सञ्चार, उद्योग, ब्यवसाय, यातायात, स्वास्थ्य, शिक्षा, पर्यटन, अर्थ, निर्माण, कृषि लगायतका हरेक क्षेत्रमा आधुनिक प्रविधिकै जगजगि छ । विकसित राष्ट्रहरुको प्रगतिको मूलमन्त्र नै प्रविधि बनेको अवस्थामा हाम्रो स्थितिले गम्भिर चिन्ता उत्पन्न गरेको छ । प्रविधियुक्त शिक्षामा हाम्रो अवस्था अत्यन्त कमजोर भएको यथार्थ हाल उदाङ्गो देखियो ।
१. देशका समस्त शिक्षण संस्थाहरु बन्द भएको छ महिना भएको छ । सरकार स्वयम् अलमलमा परेकै हो । वैकल्पिक शिक्षण विधिको प्रयत्न र अभ्यासहरु शिक्षण संस्थाहरुले सकेसम्म गरेकै हुन् । कोभिड—१९ का कारणले उत्पन्न असहज र असामान्य स्थितिको पर्याप्त अनुमान गर्न नसकिएको वर्तमान विषम अवस्थामा विश्वले प्रविधिको प्रयोग नै मूल विकल्प साबित गर्यो । हाम्रो सन्दर्भमा अनलाईन कक्षाको कुरा गरियो तर ब्यवहारमा उच्च तहमा समेत प्रभावकारी बन्न सकेन । यसो हुनुमा अनेक कारणहरु जोडिएका छन् । आधारभूत तहमा त अनलाईन कक्षा झनै कमजोर भएको तथ्यहरु छरपष्ट भै सकेको छ । यदि प्रविधिमा सवल र सक्षम भएको भए हालको अवस्थामा शिक्षा यति धेरै तहसनहस पक्कै हुने थिएन । परीक्षाको व्यबस्थापन पनि समयमै हुन सक्थ्यो ।
२. बिजुली पुगेको र ईन्टरनेटको सुविधा भएको भनिएका हाम्रा शहरहरुका विथार्थी मध्ये मात्र ३० प्रतिशत अनलाईन कक्षामा समेटिएको तथ्य बाहिर आएको छ । यसमा सत्यता धेरै नजिक छ । गाउँमा त झनै दुर्दशा छ । फोन गर्न डाँडामा र रुखमा चढ्नुपर्ने ठाउँका विद्यार्थीको अनलाईन कक्षा सपनामा सिमित देखिन्छ । टेलिभिजनको कक्षा समेत प्रभावकारी छैन । समस्या ईन्टरनेटको मात्र हैन, बिद्यूत निरन्तरताको र टिभि तथा मोवाईल फोनको पनि उत्तिकै छ । बिजुली आउँदा नेट छैन अनि नेट आउँदा बिजुली झ्याप्पै जान्छ । कुनैबेला वान ल्यापटप पर चाईल्ड अर्थात ओएलपिसि कार्यक्रमले चर्चा पाएको थियो । जसको सान्दर्भिकता आज खटकेको छ । त्यो कार्यक्रम त यतिबेला ब्यापक हुनुपर्ने रहेछ भन्ने सिद्ध भएको छ ।
३. कोभिड—१९को प्रकोपमा मात्र नभै यस प्रकारका जैविक अजैविक महामारीमा प्रविधिको अधिकतम उपयोगबाट शिक्षामा मात्र हैन, सबै विकासका पक्षहरुमा प्रविधि मार्फत अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ । यो सरकारको दायित्व हो । आम नागरिक प्रविधिको पहुँचमा पुग्नु पर्छ । विद्यूत सेवाको सुविधा देशभर हुनै पर्दछ । सरकारको पहिलो प्राथमिकता बिजुली र प्रविधिको बिस्तार संगै स्तरीयतामा हुनै पर्दछ । यो समयको माग हो । समृद्ध राष्ट्रको पहिलो पाईलो हो । घरमा बसेर प्रविधि मार्फत गरिने कामहरु सेवाहरु ब्यापक छन् । कोठाबाट एक्लै बसेर दिनलिन सकिने सेवाहरु कामहरु कुनै बन्द गर्नुपर्ने स्थिति हुँदैन । प्रविधि संगै डिभाईसको व्यबस्थापन अनिवार्य शर्त हो । चर्चा गर्न सकिन्छ, विपन्नताले ग्रसित अर्थात जीवन जीउन कठिन वा बाँच्नकै लागि मुस्किल हाम्रा विद्यार्थी तथा अन्य नागरिकले प्रविधिको र डिभाईसको व्ययभार सम्भव छैन । अन्य सुविधाका र आरक्षण अन्तर्गतका बजेटखर्च प्रविधि उपलब्ध गराउनमा खर्च गर्नु पर्दछ । अति विपन्न डिभाईस खरिद गर्न नसक्नेहरुलाई सरकारले डिभाईस वितरण गर्नै पर्दछ ।
४. सीपको ज्ञान सबैभन्दा महत्वपूर्ण पक्ष हो । प्रविधि साक्षरताको गफ धेरै हुने तर काम अत्यन्तै कम हुने देश नै नेपाल भन्दा हुन्छ । सर्वप्रथमत शिक्षक नै प्रविधिमा दक्ष बन्नै पर्दछ । शिक्षण सिकाईमा नभै नहुने प्रविधिको सीप न्यूनतम योग्यतामा अब जोडनै पर्दछ । विद्यालय प्रवेशमै प्रत्येक विद्यार्थीको प्रविधिमा पहुँच र आवश्यक डिभाईसको ब्यवस्थामा सरकारी लगानी देखिनु पर्दछ । जसरी एउटा कृषकले ब्यक्तिगत फाईदाको लागि गाईपाल्दा, तरकारी फलाउँदा, फलफूल खेती गर्दा , माछा पाल्दा, हाँस कुखुरा पाल्दा लाखौं अनुदानको ओईरो लगाउने सरकारले विद्यार्थीलाई छात्रवृत्तिको बदलामा डिभाईस अर्थात ल्यापटप वितरण गर्नु उपयुक्त देखिन्छ । त्यसतै निशुल्क पाठ्यपुस्तकको सट्टा पाठ्य सामग्रिको ई—पोर्टल उपलब्ध गराउनु थप सान्दर्भिक हुन्छ । अवस्थाको गम्भिरता अध्ययन गरि यस्ता लगानिमा सक्षम अभिभावक बाट पनि योगदानमा शेयरिङ्ग गर्न गराउन सकिन्छ । संबन्धित शिक्षण संस्थाका शिक्षकहरुको भूमिका थप क्रियाशिलता सहित प्रभावशाली सहजकर्ता बनाएर प्रस्तुत गराउनमा सरकारी संयन्त्रको जिम्मेवारी हुनुपर्दछ ।
५. समस्याको पहाड देखाउन र खोतल्नमा धेरै मानिसहरु खप्पिस हुनु मानवीय स्वभाव नै हो कि भन्ने भ्रम व्यापक छ । आफू बाहेक अरु सबैमा कुनै न कुनै खोट देख्ने संस्कारले हामी धेरै ग्रसित छौं । यथार्थ र सत्य कहिलेकाँही तितो बन्न सक्छ । धेरैले त सत्य सहन वा पचाउन नसकेर मानसिक असन्तुलन प्रदर्शन गरेको पनि भेटिन्छ । यो वा त्यो भएन भनेर सल्लाह दिनु र समस्या समाधानका उपाय प्रस्तुत गर्नुमा ब्यापक अन्तर देखिन्छ । शिक्षामा प्रविधिको पहुँच पर्याप्त पुगेन र विपदमा अन्य क्षेत्र झैं शिक्षा अस्तव्यस्त बन्यो । व्यापक विद्यार्थीका बीचमा प्रविधिको उपस्थितिका लागि ठोस योजना त हुनै पर्दछ ।
पहिलो शर्त विद्यूतसेवाको उपलब्धता नै हो भने संगै इन्टरनेट तथा डिभाईसको ब्यवस्था अर्को महत्वपुर्ण जिम्मेवारी देखिन्छ । बिपद अन्य मुलुकमा पनि छ । उनीहरुबाट हामीले सिक्नु पर्ने धेरै हुन सक्छ । फेस टु फेस शिक्षणको बिकल्प अन लाईन शिक्षण वा अन्य बिधिहरु ह्ुनै सक्दैनन् । संकटमा काम चलाउ मात्र बन्न सक्छन् । शैक्षिक सत्र खेर नजाओस भनेर अपनाईने विधिहरुमध्ये अनलाईन शिक्षण विधि रोजिएको हुन सक्छ । तसर्थ अनलाईन शिक्षण विधिको तयारी सरकारको प्राथमिकतामा पर्नुपर्दछ । प्रविधिको व्यबस्थापन संगै शिक्षक र विद्यार्थीको तयारीबाट मात्र सकंटकालमा पनि शिक्षाको निरन्तरता हुन सक्ने तथ्य स्पष्ट भै सकेको छ ।
६. स्थानीय, प्रदेश र संघ गरी तिनवटा सरकार अस्तित्वमा रहेको अवस्थामा शैक्षिक अन्यौलको स्थिति कदापि उपयुक्त होईन । अप्ठ्यारो र संकटमा सरकारको उपस्थिति आम जनताको अपेक्षा हो । जबकि संविधानले माध्यमिक तह सम्मको शिक्षाको अभिभारा स्थानीय तहलाई सुम्पेको छ । स्थानीय र प्रदेशमा अपेक्षित ठोस शैक्षिक योजना बन्न नसक्दा यो बेवारिसे स्थिति उत्पन्न भएको हो । संघ त झनै अनिर्णयको बन्दि बनेकै हो । एकले अर्काको मुख ताक्ने संस्कारले थप समस्या उत्पन्न भएको स्पष्ट छ । कतिपय सैद्धान्तिक शिर्षकका बजेट रकमलाई शिक्षाका प्रविधि बिस्तार र ब्यवस्थापनमा खर्च गरेर विपदको शिक्षालाई सम्बोधन गर्न सकिन्छ । बिगत देखि आलोच्य बनेका शिक्षाकै छात्रवृत्ति, पाठ्यपुस्तक, पोशाक, खाजा, भवन निर्माण, नमुना विद्यालय, तालिम जस्ता शिर्षकका रकम अहिलेको अवस्थामा प्रविधिको पहुँच विद्यार्थी सम्म पुर्याउनमा नै खर्च गर्नुपर्ने देखिन्छ ।
अहिलेको तालिम शिक्षकलाई प्रविधि सीपमा मात्र केन्द्रित गर्दा पर्याप्त हुन्छ । हालको अवस्थाले विद्यालय भवन निर्माण गरेर बस भन्दैन । यो समय नमुना विद्यालयको नाममा करोडौं खर्च गरेर तमाशा देखाउने बेला होईन । सम्भव भए सम्मका उपाय तथा विधिको माध्यमबाट शिक्षकले आफ्ना विद्यार्थी समक्ष शैक्षणिक क्रियाकलाप जोडनै पर्दछ । सुझाव र अर्ति उपदेश दिनु र कार्यान्वयन नै गर्नुमा आकाश र पाताल झैं अन्तर हुन्छ नै । सारमा यो आलेखको सन्देश विद्यमान विपदकालमा प्रविधिको माध्यमबाट देशभरका आम विद्यार्थीलाई शिक्षण क्रियाकलापहरुको निरन्तरता प्रदान गर्नु हो ।