१. हाल हाम्रो शैक्षिक क्षेत्रमा चर्चाका अनेक विषयहरु मध्ये त्रिविविमा चार वर्षे स्नातक तहलाई बिगत झैं तिन वर्षेमा ल्याउने पनि एक रहेको छ । यद्यपि यो चर्चामा सत्य नभएको भन्ने भनाई संगै मिडियामा पढ्न सुन्न सकिन्छ । तैपनि हावा नचलि पात हल्लिदैंन भन्ने उक्ति सदैव सान्दर्भिक बन्दै आएको छ । त्रिविवि नेपालको पहिलो र ठूलो विश्व विद्यालय हो ।
त्रिविविका निर्णयहरुबाट अन्य विश्व विद्यालयहरु स्वभाविक प्रभावित बन्नु नयाँ विषय होईन । प्रारम्भमा स्नातक तह दुई वर्षे थियो । त्यसै बेलामा प्राविधिक क्षेत्र मेडिकल तथा इन्जिनियरि¨ र कृषि एवम् वनका विषयहरुमा भने शिक्षा, ब्यवस्थापन र मानविकि भन्दा एक वर्ष बढि अवधि लाग्दथ्यो । वि.सं.२०५६ देखि एक वर्ष बढाएर दुई वर्षेलाई तिन वर्षे र तिन वर्षेलाई चार अनि पाँच वर्षे सम्मको स्नातक लागु गरियो । त्यसै गरी २०७२ सालमा शिक्षा शास्त्र तिन वर्षेलाई चार वर्षे बनाईयो । २०७३ सालमा ब्यवस्थापन संकायलाई चार वर्षे र मानविकिलाई २०७४ सालमा चार वर्षे बनाईएको थियो ।
२. विश्वविद्यालय शिक्षाको स्नातक तह, स्नातकोत्तर तह, एम फिल तह र विद्यावारिधि तहको अलग अलग पाठ्यक्रम निर्धारण गरिएको हुन्छ । विषयगत क्रेडिट आवर तोकिएको हुन्छ । हरेक तहमा अवधि एक महत्वपूर्ण पक्ष हो । विभिन्न राष्ट्रमा उल्लेखित तहको पढाई अवधिमा सामान्य विविधता भने सहजै अनुभव गरिएको छ । अधिकांश मुलुकको स्नातक तह तिन वर्षे नै पाईएको छ । कतिपय देशको कतिपय विश्वविद्यालयमा स्नातकोत्तर तह पश्चात सिधै विद्यावारिधिमा प्रवेश गराईएको पनि पाईन्छ ।
कतिपयमा भने एम फिल अनिवार्य गरिएको छ । विषयगत पाठ्यक्रमले तोकिएको क्रेडिट आवर पूरा गर्न अवधिमा समेत कम र बढि अवधि लाग्ने हुन्छ । प्राविधिक विषयहरुमा बढि समय लाग्ने कारण पनि यहि हो । नेपालबाट स्नातक तह पास गरेर बिदेश गएको विद्यार्थीले फेरी सोही विषयमा उक्त तह दोहर्याएर पढ्नु परेको कारणले यो तहको क्रेडिट आवर कम भएको र समयानुकूल गर्ने भन्ने महसुस गरेर अवधि बढाईएको भन्ने चर्चा हामीले सुनेका थियौं । अन्यथा, दुई वर्षे स्नातक तह चार वर्षे बनाईकोलाई अर्थपूर्ण मानिएको छ । यो पढिरहँदा स्मरण गर्नैपर्ने पक्ष भनेको विश्वविद्यालय तहको शिक्षा दुनियाँको कुनैपनि कुनामा समकक्षता प्राप्त गर्ने स्तरको हुनु अनिवार्य छ । यसमा थप बहस गरिरहन जरुरी पर्दैन ।
३. त्रिविवि,नेपालका विश्वविद्यालयहरुको पनि विश्वविद्यालय हो भन्दा अरु विश्वविद्यालयहरुको मान मर्दन गर्न खोजिएको भने होईन । काठमाण्डौं विश्वविद्यालयले प्रारम्भ देखि नै तहगत पाठ्यक्रम र सो अन्तर्गतका क्रेडिट आवरमा अनि रिसर्च तथा डिजर्टेशन पेपरमा रत्ति पनि सम्झौता नगरेकै कारणले स्तरीयताको उपल्लो श्रेणी कायम राख्न सकेको हो । त्रिविवि देशकै पहिलो अनि सर्वाधिक ठूलो र दशौं लाख विद्यार्थीको रोजाईको विश्वविद्यालय मात्र नभै एक ऐतिहासिक विश्वविद्यालय हो । उच्च शिक्षाको गन्तब्यका अतिरिक्त समग्र राजनीतिक तथा सामाजिक —आर्थिक रुपान्तरणका आन्दोलनमा त्रिविविका विद्यार्थीको योगदानको उच्च सम्मान गर्नैपर्छ । समयानुकूल पाठ्यक्रम परिमार्जन र आवश्यक क्रेडिट आवर निर्धारण संगै विद्यार्थी मूल्याङ्कनको महत्वपूर्ण काम विश्वविद्यालय स्वयंले निर्माण गर्न सक्छन् ।
तर, यी तहगत मानक निर्धारणका प्रक्रियाहरु संगै शैक्षणिक क्रियाकलापहरुका सबालमा समेत निर्णय गर्नु अघि सम्वन्धित आधारभूत विषयमा विज्ञहरुबाट पर्याप्त सुक्ष्म विश्लेषण गरिने परम्परा भुल्न मिल्दैन । बिगतका अभ्यासहरु, वर्तमानको माग र सान्दर्भिकता, राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक परिवेश, शिक्षाको उद्धेश्य,आदि शिर्षकमा आवश्यक गृहकार्य गरेरमात्र परिमार्जन गरिने साझा प्रचलन कायम देखिएको छ । अवधि फेरबदलमा केहि कारण त हुन्छ नै । मापदण्ड र मानकका सबालमा सरोकारवाला कन्भिन्स नभएसम्म परिमार्जनको कार्यान्वयनमा सबालहरु उठ्ने क्रमलाई अन्यथा मान्न सकिंदैन ।
४. त्रिविविका उपकुलपतिले स्नातकतहको अवधि घटाएर तिन वर्षे गराउने विषय ईन्कार गरिरहेको बेलामा सम्वन्धित कलेज—डिनहरु असन्तुष्ट रहेको भनाईले मिडियामा स्पेस पाएको छ । यसको अन्तर्यमा घट्दो विद्यार्थी संख्या प्रमुख कारक भनिएको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना भएका करिब तिन लाख विद्यार्थीहरु चौथो वर्षको अन्तिम परीक्षामा करिब साठी हजार मात्र भएको अवस्थालाई सामान्य कोणबाट पनि उपयुक्त भन्न सकिदैंन । यदि यो तथ्याङ्क सहि हो भने एकै तहमा असी प्रतिशत विद्यार्थी ड्रप आउट हुने स्थितिले हाम्रो उच्च शिक्षामा भयावह चुनौति स्विकार्नै पर्दछ ।
विद्यार्थी ड्रप आउट, हाम्रो शिक्षा प्रणालीमै पर्याप्त धावा बन्दै आएको छ । कक्षा एकमा भर्ना भएका करिब सोह्रलाख विद्यार्थीहरु कक्षा दशको एसईई परीक्षामा पुग्दा करिब पाँच लाख हुने गरेको तथ्याङ्कले शिक्षा मन्त्रालय सहित सम्वद्ध पक्षहरु गम्भिर एवम् चिन्तित बन्नु स्वभाविक हो । विद्यार्थी कहाँ हराउँछन् भन्ने विषयमा विज्ञहरुबाट विभिन्न विचार बारम्वार बाहिर आएको पृष्ठभूमीमा एक तह पश्चात उपल्लो तहमा केहिले अध्ययनको निरन्तरता दिन नसक्ने तितो यथार्थबाट हामी अनभिज्ञ भने छैनौं ।
५. एसईई तथा कक्षा वाह्रको परीक्षा सकिएको दिन विद्यार्थीहरुले एक आपसका युनिफर्ममा खाडीमा भेटौंला भन्ने लेखेका चित्रहरुले मिडिया र सामाजिक संजालमा पर्याप्त चर्चा पाएको स्थिति ताजै छ । यो लेखाईको अन्तर्य केलाउने हो भने स्वदेशमा रोजगार नभएको र रोजगारीकै लागि खाडी मुलुकहरुमा जानै पर्ने विवशता स्पष्ट भेटिन्छ । संगै , हाम्रो शिक्षा प्रणालीमा पनि दरै प्रश्न उब्जाएको स्विकार्नै पर्दछ । रोजगारमूलक अर्थात सीप एवम् ब्यवसायिक शिक्षाको आवश्यकता र अपरिहार्यता शैक्षिक अन्तर्निहित सबाल बन्दै आएको छ ।
शिक्षालाई सीप संग र सीपलाई उत्पादन संग अनि उत्पादन रोजगारी एवम् अर्थोपार्जनको आधार भएमा मात्र जीवनयापन सहज भै समृद्धि प्राप्तीमा शिक्षाको सार्थकता प्रमाणित हुन्छ । संगै, ब्यवसायमूलक र खोज—अनुसन्धानका माध्यमबाट वैज्ञानिक आविष्कार संग शिक्षा जोडिनै पर्दछ । शिक्षाले नै समग्र मानवजातिको उच्च पहिचान बनाउने र मुलुकको प्रतिष्ठा उजागर हुने तथ्यमा बिमती छैन ।
६. अन्तमा, स्नातक तहमा शिक्षा, ब्यवस्थापन र मानविकि संकायहरुमा तिन वर्षे अवधि नै उपयुक्त हुने र सो अनुशार पाठ्यक्रम ,पाठ्यभार, क्रेडिट आवर, मूल्याङ्कन विधि, शैक्षिक सामग्री आदिको ब्यवस्था अधिकांश विद्यार्थीको आवाज संग शिक्षा सरोकार वर्ग सहमत देखिन्छन् । मेडिकल साईन्स,ईन्जिनियरि¨, कृषि,वन,आईसीटी,विज्ञान लगायत प्राविधिक विषयहरुमा भने चार वर्षे स्नातक तह स्विकार्य भैसकेको छ । बढिमा, प्रत्येक दश वर्षमा पाठ्यक्रम परिमार्जनको परम्परागत अभ्यासको धरातलमा अवधि घटाउने चर्चा स्वभाविक हुनसक्छ । चार वर्षलाग्ने गैर प्राविधिक स्नातक तह केहि हदमा पट्यारलाग्दो हुन्छ नै ।
दक्षिण एशियामा मात्र हैन, ईंग्ल्याण्ड,स्वीटजरल्याण्ड,फ्रान्स,फिनल्याण्ड,इटली,जर्मनी, न्युजील्याण्ड, बेल्जियम लगायत विश्वका अधिकांश राष्ट्रमा सामान्य सैद्धान्तिक विषयहरुमा तिन वर्षे स्नातकतह नै पाईन्छ । त्रिविविले यो विषयलाई गम्भिर रुपमा लिनुपर्छ र सरोकारवर्गका आवाजको पनि विश्लेषण हुने अपेक्षा गरिएको छ ।
– हेटौंडा