कोरोना भाइरसको आतङ्कबाट वर्तमान विश्व आतङ्कित छ । यसकै कारणले दुनियाँका अढाई लाख भन्दा धेरै मानिसहरुले ज्यान गुमाईसकेको तथ्याङ्क बाहिर आईसकेको छ । स्वास्थ्य, शिक्षा, अर्थ, व्यवसाय, उद्योग, यातायात, विकास निर्माण सबै क्षेत्र अहिले अस्तव्यस्त छन् । सम्बन्धित क्षेत्रका सरोकारवालाहरु सबै हाल अत्यन्त तनावमा हुनु अन्यथा होईन । यो अवस्थामा हाम्रा शिक्षणसंस्थाहरुको नियमितताको प्रसंगमा तपसिलका चर्चालाई यस आलेखमा समेट्ने प्रयत्न गरिएको छ ।

१. परीक्षाको प्रसंग
क.  कक्षा नौ सम्मको परीक्षाले खासै चर्चा पाएन । हुन त चैत्र ५ गतेभित्र परीक्षा सक्न सरकारी सूचना आएकै हो । यी परीक्षा लगभग सकिएको अवस्था नै भन्न सकिन्छ । नतिजा प्रकाशनको तयारीमा सबै छन् । कक्षा ८ को पनि स्थानीयतहबाट तयारी भइसकेको बाहिर सुन्नमा आएकै छ । धेरै शिक्षणसंस्थाहरुले कक्षा नौ सम्मको वार्षिक परीक्षा सम्पन्न गरिसकेका छन् । यो तहमा परीक्षाको समस्या छैन ।

ख. कक्षा १०, ११ र १२ को परीक्षा चर्चाको शिखरमा छन् । एसईईको परीक्षा शुरुहुनुभन्दा करीब १२ घण्टा अघि चैत्र ५ गते साँझ उक्त परीक्षा स्थगित भएको थियो । चैत्र ११ गतेबाट शुरुभएको देशव्यापी लकडाउन कायम छ ।  सरकारी संयन्त्र आत्तिएको देखिदैन । जेठ १५ गतेसम्म पर्खिएर अनिमात्र नयाँ निर्णय लिने सोच बाहिर आईसकेको छ ।

आधिकारिक रुपमा परीक्षाबोर्डकै प्रमुखको संयोजकत्वमा  गठित समितिबाट परीक्षा लगायतका शिक्षाका विषयमा विद्यमान विषम परिस्थितिमा के गर्दा उपयुक्त हुन्छ सो को प्रतिवेदनमा आधारित सरकारी निर्णय बाहिर नआएसम्म यी सबै अनौपचारिक नै हुन । कक्षा १२ को परीक्षा भने बोर्डबाटै लिन जरुरी भएकाले सो को लागि पर्खिनैपर्ने  स्थिति छ । सहजमा मात्र कक्षा एसईई र ११ को परीक्षा हुने अन्यथा विकल्पहरु खोजिने मनस्थितिमा जिम्मेवार व्यक्तिहरु रहेको चर्चा मिडियामा आएकै छ । विकल्पहरुमा शिक्षकको आन्तरिक मूल्याङ्कनको आधार, एकैदिनमा मूलविषयहरुको मात्र परीक्षा, पायकपर्ने केन्द्रबाट परीक्षा दिलाउने जस्ता विविध मोडलहरु सँगै अन्तर्राष्ट्रिय अभ्यासहरु समेतलाई प्रयोग गर्न सकिने प्रसंगहरु नै आएका छन् । कक्षा ११ को परीक्षाबारेमा भने चिन्ता लिनु नपर्ने नै हो ।

ग. प्राविधिक शिक्षा तर्फकाको हकमा परीक्षा चल्दै गर्दा रोकिएको कारणले लकडाउनको अन्त्य पश्चात मात्र हुने निश्चित छ । त्यसै गरी विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु पनि अनलाईनबाट मात्र सम्भव देखिदैन । विश्वविद्यालयले अनलाइन अध्यापन निर्देशिका २०७७ जारी गरिसकेको हालको अवस्थामा परीक्षा सञ्चालनको लागि भिन्न विकल्पहरुबारेमा छलफल गर्नगराउन जरुरी देखिन्छ ।

२. नतिजा प्रकाशनको चर्चा    
परीक्षा दिईसकेका विद्यार्थीहरुले नतिजाको अपेक्षा र माग गर्नु स्वभाविक हो । नतिजा प्राप्ति पश्चात एउटा पर्खाइको अन्त्य हुन्छ  नै । विद्यालयतहको परीक्षा सम्पन्न भइ नतिजा प्रकाशनको उपयुक्त समय पर्खिरहेका विद्यालयहरु मध्ये कतिपयले अनलाइन प्रविधिको सुबिधा प्रयोग गरि नतिजा प्रकाशन प्रारम्भ गरिसकेका छन् ।

यो केहि हतार पनि हुनसक्छ । जब तमाम विद्यार्थीले नतिजा थाहापाउने स्थिति हुँदैन तब यो चर्चाको विषय स्वभाविक बन्दछ नै । कक्षा ८ को हकमा स्थानीयतह तयारी अवस्थामा रहेकाले थोरै अनुकुलता हुनेबित्तिकै उनीहरु उक्त नतिजा प्रकाशनगर्न आतुर रहेको स्पष्ट छ ।  विद्यालयले लकडाउनको आचारसंहिता भित्र रहेर कोरोना भाइरसको संक्रमणबाट सजग र सतर्क बन्दै बनाउँदै विभिन्न चरणमा नतिजा प्रकाशन गर्न सक्दछ । यसरी नतिजा प्रकाशनको विषय मात्र ज्यादा गम्भिर छैन भन्न सकिन्छ । धेरै शिक्षण संस्थाहरुले आआफ्नो अनुकुलतामा नतिजा प्रकाशनको काम गरिरहेका छन् ।

३. कक्षा सञ्चालन सम्बन्धमा

क. पाठ्यपुस्तकको उपलब्धता
लकडाउन अन्त्यको घोषणा नभै विद्यालयका कक्षाहरु सञ्चालन हुने अवस्था आउँदैन, यो स्पष्ट छ । विद्यालयतहका पाठ्यपुस्तकहरुको उपलब्धता अर्को महत्वपूर्ण विषय बनेको छ । यद्यपि हामी पाठ्यपुस्तकहरु शैक्षिकसामग्रीमात्र हुन् भनिरहेका छौं । व्यवहारमा , हाम्रा विद्यार्थीमात्र हैन अभिभावकहरु समेत किताब वीनाको पढाइलाई पढाइ नै नभएको वा झाराटार्ने मात्र भन्ने संस्कार हावी छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकहरु सबै वेभसाइटमा राखिएका छन् । तर हातमा किताब नभएसम्म पढाइ नै नहुने मानसिकतामा परिवर्तन जरुरी छ ।  यस अवस्थामा पाठ्यपुस्तकको वितरण पहिलो शर्त बनेको छ ।

ख. आधुनिक प्रविधि प्रयोगका कक्षाको चर्चा
शिक्षालयमा विद्यार्थी नबोलाई प्रविधिको माध्यमबाट कक्षा सञ्चालनको चर्चा अहिलेको मूल विषय बनेको छ । टिभि, रेडियो, मेसेन्जर, जुमक्लाउड कन्फ्रेन्स, गुगल कन्फ्रेन्स, लगायतका अत्याधुनिक प्रविधिको प्रयोगबाट कक्षा सञ्चालनका कुरामात्र हैन काममा पनि हालै केहि शिक्षणसंस्थाहरुले थालनि गरिसकेको समाचार बाहिर आइरहेका छन् ।

यसको प्रभावकारिता भने हेर्न बाँकि छ । विजुली र प्रविधिको पहुँच र स्तरीयताबारे हामीलाई जानकारी नै छ । शिक्षकहरुमा नै प्रविधिको प्रसार पर्याप्त नभएको वर्तमानमा विद्यार्थीसम्म अनलाइन शिक्षा कागजमा मात्र सिमित नरहला भन्ने निश्चितता छैन् । प्रविधिको अज्ञानता अर्को समस्या छ नै । विश्वविद्यालयतहमा त समस्या बनिरहेको छ जबकि यो स्तरमा विद्यार्थीको प्रविधिमा धेरै पहुँच छ र प्राध्यापकहरु प्रविधिमा दक्षरहेको स्थिति छ ।

विद्यालयतहका शिक्षक तथा विद्यार्थी वर्गमा आवश्यक प्रविधि पुग्न नसकेको यथार्थमा सर्वप्रथमत शिक्षकमा पर्याप्त प्रविधिको ज्ञान दिन जरुरी छ । टिभि तथा रेडियोबाट प्रसारण गरिने शैक्षिक कार्यक्रमको अवस्था बारे धेरै भनिरहनु नपर्ला । जबकि अन्य प्रविधिभन्दा टिभि र रेडियोको पहुँच परसम्म छ र सञ्चालनमा सहजता देखिंदा पनि यसको प्रभावकारिता भने अपेक्षित बन्न नसकेको तथ्य बाहिर आएकै छ ।

कुनै निश्चित कक्षाको जस्तो एसईईको हाल खासखास विषयहरुको एकोहोरो प्रसारण जस्तो यो हुन सक्दैन । विभिन्न कक्षाहरु र भिन्न विषयहरुको ससाना बालबालिकाको लागि गरिने शिक्षणसिकाई क्रियाकलाप स्वभाविक कठिन हुन्छ नै । केहि समय अल्मल्याउने काममा ठूलो हल्लामात्र नहोस भन्नेमा हामी गम्भिर बन्नैपर्छ ।

पहिलो काम भनेको शिक्षकलाई तयारी बनाएर मात्र हामी विद्यार्थीसंग जोडिन सक्छौं । बिजुली र प्रविधिको पहुँच त पहिलो शर्त त छदैंछ संगै सम्बन्धित व्यक्तिहरुको टेक्नोलजि लिट्रेसिको सबाल अर्को महत्वपूर्ण अभिन्न विषय हो ।

ग. डिजिटल एजुकेशनको युगमा प्रवेशको बेला आएको हो त ?
यो सवाल हाल अधिक चर्चामा छ । वर्तमानमा कोरोना कहरको आतङ्क विश्वव्यापी छ । कुनैबेला भूकम्पको त्रास र विध्वंसले शैक्षिकक्षेत्र तहसनहस बनाएकै हो । कहिले नाकाबन्दि त कहिले बाढी, पहिरो, आँधी जस्ता प्राकृतिक विपत्ति एवम् महाव्याधिका कारणले हाम्रो शिक्षामा बारम्बार प्रहार भएकै हो ।
यसप्रकारका अस्तव्यस्त स्थितिमा बैकल्पिक शिक्षा व्यवस्थाको अभाव पहिलेबाटै खटकेको अनुभव गरिँदै आईएको हो । हाम्रो धरातल, साधन स्रोत, विद्युत विस्तार, प्रविधिको ज्ञान, आर्थिक स्थिति, शिक्षक विद्यार्थीको टेक्नोलजी लिटरेसी जस्ता महत्वपूर्ण सबालहरुमा पर्याप्त विश्लेषण पहिलो काम हो ।

आगलागीपश्चात् कुवा खन्नजाने संस्कारको अझै अन्त्य भएको छैन । लकडाउनको समयमा डिजिटल एजुकेशनको चर्चा अधिक चलेको छ । लकडाउन खुलेपछि फेरी छेपारोले जस्तो भुसुक्क बिर्सने हो भने यी कुराको कुनै अर्थ रहँदैन । निश्चय नै, विद्यमान विषम चुनौतीलाई डिजिटल शिक्षाको अवसरमा बदल्दै अहिले बाटै प्रविधिको क्षेत्रमा पाइला अघि  बढाउँदैै जाने हो भने भविष्यमा हामीले हालको जस्तो उकुसमुकुस अवस्थाको सामना गर्नुपर्ने छैन ।

यसको लागि स्थानीय तह देखि केन्द्रिय स्तर सम्मका तीनैतहका सरकारले गम्भिरताका साथ बजेट सहित ठोस नीति र कार्यक्रम बनाउनु पर्दछ । डिजिटल एजुकेशन भन्न जस्तो सरल छैन । गरेर देखाउन त अहिले नै थालनि गर्नैपर्छ । डिजिटल शिक्षाको प्लानिङ गर्ने, सोको  लागि आवश्यक बजेट व्यवस्थापन र कार्यान्वयन नै वर्तमान कोरोना कहरको मूल अभिभाराको महसुस जिम्मेवारपक्षबाट हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्