मानवीय विकासले विश्वलाई सुविधायुक्त जीवनको प्रबन्ध गर्दै अघि बढाइरहेको छ भने अर्कोतर्फ वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण विश्वमा सन् १७०० पछि महामारीका कारण पटकपटक लाखौँ, करोडौँ मानिसहरुको मानवीय क्षति भएको दुःखद इतिहास विश्वसामु रहेको छ । सन् २०१९ को डिसेम्बर लगत्तै चीनको वुहान प्रान्तबाट उर्लेको नोबल कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वसामु फैलिएर आज मानव समुदाय महामारीसँग लडिरहेको छ । विगतमा भएका महामारीहरु प्लेग, बिफर, हैजा, विभिन्न प्रकार र पटक देखिएको फ्लु, एड्सजस्ता महामारीले लाखौँ, करोडौँ मानिसहरूले ज्यान गुमाएको ऐतिहासिक कुरा हाम्रो मानसपटलमा विस्मृतिमा रहेको थियो । तर आज कोभिड-१९ ले पुनः विगतको सम्झाना भएको छ । विगतको महामारीको ध्वंसात्मक अनुभूतिले हामीलाई हाल देखिएको महामारीको सामना गरी परास्त गर्ने धैर्यता, ज्ञान, सीप र बुद्धिको प्रेरणा पनि दिन्छ ।

चीनको वुहान प्रान्तमा प्रारम्भिक रुपमा देखिएको कोभिड-१९ लाई सामना गरी परास्त गर्नका लागि त्यस देशले लकडाउनको रणनीति अपनायो । करिब १६०० हाराहारी नागरिकको ज्यान गएको र करिब ५ हजार नागरिकहरूमा असर देखिने बित्तिकै सन् २०२० जनवरी २३ मा चीनले लकडाउनको कार्यक्रम घोषणा गरेको थियो ।

वास्तवमा लकडाउन भनेको के हो त ? महामारी प्रभावित क्षेत्रमा बाह्य देशका मानिसको आवतजावत रोक्ने र देशभित्रका वा त्यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सुरक्षा बङ्कर (घर) भित्र सरसफाइ र सावधानी शिक्षा दिई घरभित्रै राख्ने र संंक्रमण नभएका र संक्रमित छुट्याई संक्रमितहरुको उपचार गर्ने विधिलाई नै लकडाउनका रुपमा लिएको छ । लकडाउनले,

–    घरभित्र नै नागरिकले संक्रमणका सावधानी अपनाई सुरक्षित रहने अवस्था निर्माण गर्दछ ।
–   संक्रमण आशंकाको घेरमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गरी आवश्यक उपचारका प्रक्रियाद्वारा संक्रमणको रोकथाम गर्दछ ।

उपचार कसरी पाउने
यसको सबैभन्दा प्रभावकारी विधि भनेको स्वास्थ्य परीक्षण नै हो । त्यसैले सम्भावित संक्रमितहरुको स्वास्थ्य परीक्षण गर्नु सबैभन्दा महत्वपूर्ण र आवश्यक चरण हो । यसले परीक्षणबाट छानबिन गरी आशंकित संक्रमितहरुलाई ३ वर्गमा विभाजन गरी संक्रमण नभएका, सामान्य प्रभाव देखिएका र संक्रमण भएका छुट्याइ क्वारेन्टाइन, आइसोलेसन र उपचारको प्रबन्ध गरिन्छ ।

विश्वमा फैलिएको यस महामारीको उपचार विधिमा अलमलमा परेका इटली, अमेरिका लगायतका देशहरूमा मानवीय क्षतिको मात्रा बढेको हामीले देखिरहेका छौँ । तर, चीनले तत्काल अपनाएको लकडाउनको विधि अत्यन्तै प्रभावकारी भएको परिणामले सिद्ध गरिरहेको छ । चीनले गरेको यस लकडाउनको नीति बुझ्न सरल भए पनि तयारी र कार्यान्वयनको पक्ष भने अत्यन्तै दूरदर्शीता, मेहनत र क्षमताको उपज रहेको छ । चीनले,

–   घरमा लकडाउनमा रहने मानिसले के गर्ने, के नगर्ने अनुशासनको पाठ नागरिकहरुलाई विभिन्न माध्यमले दीक्षित बनायो ।
–   घरभित्र रहँदाको जीवनयापनको बन्दोबस्तीको सामानको जोहो र वितरण सरल प्रबन्ध गर्यो ।
–    स्वास्थ्यकर्मी र आवश्यक प्राविधिकहरुलाई आवश्यक पर्ने व्यक्तिगत सावधानीका उपकरण (Personal protection equipment, PPE) तत्काल उपलब्ध गरी शंकास्पदहरुको तत्कालै परीक्षण प्रारम्भ गरी क्वारेन्टाइन, आइसोलेसन तथा चिकित्सा सुविधाको प्रबन्ध गर्यो ।
–    चिकित्सा सुविधाका लागि रातारात १००० बेडको कोरोना भाइरस (कोभिड-१९) अस्पताल नै स्थापना गर्यो

–  सुरक्षा व्यवस्था कडाइका साथ लागू गर्यो ।

जसले गर्दा भयानक रुप धारण गरेको महामारीलाई वुहानले जित्ने अवस्थामा पुग्न लागेको हामीले देखिरहेका छौँ ।

नेपालमा पनि कोरोना भाइरसको असर २०७६ फागुनको प्रारम्भदेखि नै छिटफुट देखिँदै थियो । यसको मात्रा वृद्धि हुँदै जाँदा नेपालको ध्यान अझ गम्भीर आकर्षण भयो । जसले गर्दा कक्षा ९ सम्मको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार चैत्रको दोस्रो हप्तातिर हुने भए तापनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले चैत्र ५ गतेभित्रै सक्ने निर्देशन जारी गर्यो भने २०७६ चैत्र ६ बाट सञ्चालन हुने एसईई को परीक्षा स्थगित गरी नेपालले पनि चीनको अनुसरण गर्दै २०७६ चैत्र ११ गतेदेखि १ हप्ताको लागि लकडाउन गर्यो ।

यो समयलाई लम्ब्याइ पुनः चैत्र २५ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । संकटको घडीमा सबै नेपाली एक भएर जुट्ने नेपालीको परम्पराअनुसार नै यस महामारीसँग लड्न नेपालीहरुले अभूतपूर्व एकता प्रदर्शन गरी हामी अघि बढिरहेका छौँ । हामीले ध्यान दिनुपर्ने कुरा के छ भने चीनको सफल निर्णय त अनुसरण गर्यौं तर चीनले लकडाउन गर्दा माथि उल्लेख गरेका तयारी हामीले तयार गरेका छौँ कि छैनौँ ? यस विषयमा गम्भीर समीक्षा गर्न आवश्यक छ । यदि हाम्रो तयारी पूर्ण छैन भने एक सेकेन्ड पनि खेर नफाली त्यसको तयारी गर्नु पर्दछ । नेपालजस्तो गरिब मुलुकको बाध्यताका कारण लामो समय लकडाउन खेप्न गाह्रो हुने भएकोले पनि हामी बढी सतर्क हुन जरुरी छ । हामीले लकडाउन गरेर विदेशको आवतजावत रोक्यौँ । देशभित्रका नागरिकको सम्पर्क टुटाई परिवारमा सीमित गर्यौं । तर आशंका भएका संक्रमितहरुको स्वास्थ्य परीक्षणमा ढिलाई गरिरहेका छौँ । चाँडोभन्दा चाँडो शंकास्पदलाई केलाउँ, छुट्याउँ र आवश्यकता अनुसारको स्वास्थ्य उपचार अघि बढाऔँ । जसले गर्दा समस्या न्यूनीकरण हुँदै जानेछ ।

यस जटिल परिस्थितिमा अब म नेपालका विद्यार्थीसँग जोडिएका विषयमा केही महत्वपूर्ण सरोकारित विषयमा विवेचना गर्न आवश्यक ठान्दछु । कोभिड–१९ को संसारमा फैलँदो अवस्थामा नेपालमा पनि संक्रमितको सूचना बाहिरिएलगत्तै नेपालीहरुमा त्रासको मात्रा ह्वात्तै बढ्यो भने नेपाल सरकारले पनि यसलाई बढी संवेदनशील ढंगबाट लिएर विद्यालय शिक्षाका परीक्षा चाँडै सक्ने एसईई तथा उच्च शिक्षाका परीक्षा स्थगन गर्ने निर्णय लियो । यस अवस्थामा एसईई को परीक्षाको मुखमा पुगेका तथा अन्य परीक्षाहरु रोकिएको अवस्थामा विद्यार्थीहरुमाझ ठूलो अन्योलता र अप्ठ्यारोको अवस्था नेपाली अभिभावकहरुले भोगीरहेका छन् । हाल लकडाउनको अवस्था कहिले अन्त्य होला ? एसईई को परीक्षा कहिले सञ्चालन हुने हो ? तयारी समयावधि कति उपलब्ध होला ? माध्यमिक तहको शैक्षिक सत्र कहिलेदेखि प्रारम्भ हुन्छ ? भन्ने जस्ता अन्योलताले थप चिन्तित तुल्याएको छ । यस अवस्थमा विद्यार्थीमाथि कस्तो प्रभाव पर्ला भन्ने विषय महत्वपूर्ण छ । यसका सकारात्मक र नकारात्मक दुवै प्रभाव रहेका छन् ।

सकारात्मक प्रभावहरु
१. कक्षा नौसम्मका विद्यार्थीले परीक्षाफलका लागि मात्र प्रतीक्षामा रहेका छन् । यो लकडाउन चैत्र भित्र समाप्त भयो भने आगामी शैक्षिक सत्र समयमै प्रारम्भ हुने देखिन्छ भने एसईई पनि केही समय धकेलिए पनि ११ कक्षाको पठनपाठनमा भने असार–साउनबाट सञ्चालन हुने कक्षाहरु व्यवस्थापन गर्न सकिनेछ ।
२. लकडाउनको प्रबन्धले राष्ट्रका कर्णधारहरुलाई घरमा महामारीबाट बच्ने उपायको प्रयोग गरी सुरक्षित राख्न सकिएको छ ।
३. परीक्षार्थीले यो खाली समयलाई परीक्षाको तयारी गर्नुपर्ने भएकाले थप तयारी गर्न पाउने तथा नयाँ शैक्षिक सत्रमा प्रवेश गर्ने विद्यार्थीहरुले स्वास्थ्य, कला, अतिरिक्त क्रियाकलाप, साहित्य, पारिवारिक विधासम्बन्धी महत्वपूर्ण विषयमा रुचिअनुसार ज्ञान, सीप, आर्जन गर्न पाउने अवसरका रुपमा पनि लिन सकिन्छ ।
४. पारिवारिक सामीप्यता सौहार्दता, सहकार्य र आत्मीयताको पनि थप अनुभूति प्राप्तिको समयका रुपमा लिन सकिन्छ । आदि ।

नकारात्मक
१. चीनमा जस्तै २ महिनासम्म पनि लकडाउनको अवस्था अन्त्य नभएको अनुभव नेपालले भोग्नुप¥यो भने यस अवस्थामा ती विद्यार्थीहरुको पठन पाठनमा नकारात्मक प्रभाव पर्ने सहजै अनुमान गर्न सकिन्छ ।
२. महामारीले भय सिर्जना गरेको छ । यसले आन्तरिक तनावमा वृद्धि गरेको छ ।
३. शैक्षिक अन्योलता थपेको छ ।
४. दैनिक जीवनका बन्दोबस्तीका सामानको अभावले पारिवारिक तनाव वृद्धि भएको छ ।
५. लामो समय घरभित्रको घेरामा दैनिकी बिताउँदा मानसिक तनाव वृद्धि भएको छ । आदि ।

यो लकडाउनको उपयोग कसरी गर्ने
१. लकडाउन घरभित्रको घेरामा रहनु पट्यारलाग्दो भए पनि यो समयलाई सुरक्षित अवस्था भएकोले यसलाई सकारात्मक रुपबाट लिन सक्यौँ भने यो सुरक्षित स्वास्थ्य बंकर हो भन्ने धारणा निर्माण गर्न सक्यौँ भने कम तनाव हुनेछ । हाम्रो चुलोको समस्यालाई ठूलो कुरा मान्न हुँदैन । घरमा नै बसिरहँदा सामान्य खाना नै हामीलाई पर्याप्त हुने भएकाले सहज रुपमा लियौँ भने मानसिक तनाव बढ्दैन । साथै हाम्रो देशको यथार्थतालाई आत्मसात् गर्ने हो भने, केही वर्षयता रेमिट्यान्सका कारण आम नेपालीका घरमा चुलो राम्रोसँग चलेको मात्रै हो । विगतमा हाम्रा अधिकांश दाजुभाई दिदीबहिनीहरुको घरमा दुई छाक नपाक्ने कटुसत्य दुःखका साथ स्वीकार्नु पर्दछ । त्यसैले लकडाउनमा हाम्रो दैनिकीमा परेको असरलाई दुःखसुखका साथ सहन गरी यो महामारी परास्त गर्न सक्यौँ भने हाम्रा सुन्दर दिनहरु प्रगतिमा लगाउन सकिन्छ भन्ने कुरा सबै विद्यार्थी भाइबहिनीहरुलाई मान्यजनहरुले बुझाउनुपर्दछ, सिकाउनुपर्दछ ।

२. विद्यार्थी भाइबहिनीहरुले यो खाली समयलाई घरमा अवसरका रुपमा प्रयोग गरौँ भनी त्रास र भयभन्दा सुरक्षित समय हो भनी उपयोगिताको रुपमा प्रयोग गर्न लगाउनु पर्दछ । त्यसैले विद्यार्थी भाइबहिनीहरुले लकडाउनको समयलाई उपयोग गर्न दैनिक समयतालिका अनिवार्य रुपमा निर्माण गरौँ/गर्न लगाऔँ । उक्त समयतालिकमा व्यक्तिगत उपयोग मनोरञ्जन, रुचिअनुसारको अतिरिक्ति क्रियाकलापमा (साहित्य/कला/संगीत आदिमा) नयाँ रोचक कार्यक्रम समावेश गराउँ । साथै अंग्रेजी भाषामा क्षमता बढाउने, कम्प्युटर टाइपिङ गर्ने, अक्षर राम्रा बनाउने, स्वास्थ्य सुरक्षाका लागि योगा, शारीरिक व्यायाम, मनोरञ्जन र ज्ञानवद्र्धक फिल्म डकुमेन्ट आदि समावेश भएको दैनिक समयतालिकामा राखी नियमित प्रयोग गर्ने तथा गर्न लगाउने ।

३. अभिभावकले घरमा आफ्ना नानीहरुलाई मनोबल बढाउने तरिकाबाट प्रशिक्षित गर्नुहोस् । क्भ्भ् दिने विद्यार्थीले अनिवार्य रुपमा तपाईका विषय शिक्षकहरुसँग फोन, मेल, म्यासेन्जर आदि माध्यमबाट जोडिनुहोस् । राज्यले यस अवस्थामा सञ्चालनमा आउन सकेका सञ्चारमाध्यमबाट परीक्षा दिएर बसेका र परीक्षा दिन बाँकी विद्यार्थीहरुलाई ध्यान दिएर ज्ञानवद्र्धक प्रेरणादायक कार्यक्रम सरकारको सम्बन्धित निकायबाट प्रसार गरौँ । शिक्षा मन्त्रालयका सम्बन्धित निकायमा क्रियाशील पुस्तक लेखक, प्रशिक्षक, परीक्षामा प्रश्नपत्र निर्माणकर्ता र उत्तरपुस्तिका परीक्षणमा सहभागी शिक्षक तथा अन्य प्रतिभा शिक्षकहरुलाई यस कार्यक्रममा संलग्न गराउँ ।

४. पारिवारिक आत्मीयता वृद्धि गरौँ, घरायसी सरसफाइमा ध्यान दिउँ । खाद्यान्नको परिकार निर्माण र सेवनको शिक्षा दिउँ जसले हरेक दिनलाई नयाँ र रोमाञ्चित बनाउनका लागि वातावरण निर्माण गर्नेछ । साथै दैनिक दिनचर्यालाई रोमान्टिक बनाउन मकै, भटमास, गुन्द्रुक, बारा, भेज मम, आदि परिकार उपलब्ध स्रोत प्रयोग गरी खाद्य वस्तु निर्माण गरी भयभीत अवस्थालाई रोमान्टिक अवस्थामा बदल्न प्रयास गरौँ । तपाईको परिवारको प्रकृति, रुचि, उपलब्धताभित्रका नयाँ परिकार निर्माण सबै परिवारलाई संलग्न गरी समयलाई रमाइलो, उपलब्धिमूलक बनाउँ ।

५. यस समयको प्रमुख उद्देश्य सावधानी अपनाई भाइरसको संक्रमण रोक्ने भएकाले समयसमयमा सबुनपानीले हात धुने, बाहिर नजाने, घरायसी सरसफाइ कडाइका साथ लागू गर्ने, अरुलाई पनि घरमा आउन रोक लगाउने आदि गरी घरको स्वास्थ्य बंकरलाई साँच्चै स्वस्थकर बनाउन अभिभावकले नेतृत्व लिनुपर्दछ ।

६. शिक्षकले तपाईका यस अवस्थाका न्यूनतम गर्नुपर्ने सावधानी र पारिवारिक दायित्वको अलावा तपाईंका विद्यार्थीहरुसँग पनि जोडिनुपर्दछ । यसले तपाईको यस कार्यले लकडाउनको उद्देश्य पूर्तिको साथै तपाईंका विद्यार्थी परीक्षामा जाँदा वा आगामी शैक्षिक वर्षमा विद्यालयमा प्रवेश गर्दा असहज परिस्थितिको सामना गर्न सक्ने भय न्यूनीकरण गर्न सक्ने, धैर्यावान र लगनशील तथा थप प्रतिभा बोकेका विद्यार्थीमा परिणत गर्न सक्ने बेला पनि यही हो ।

लकडाउनको समय लम्बिने स्वभाविक अनुमान गर्न सकिन्छ । यदि उक्त लकडाउन १ महिनाभन्दा बढी हुने अवस्था भयो भने उक्त समय भनेको ठूलो भएकाले पनि माथि प्रस्ताव गरिएको विद्यार्थी, अभिभावक, शिक्षक र सरकारका भूमिका र उनीहरुले तत्काल सजिलैसँग ठूलो लगानीबिना घरघरबाट सञ्चारका साधन प्रयोग गरी गर्न सक्ने सुझाबहरु प्रस्तुत गर्न सान्दर्भिक ठानेको हुँ ।

यस समयलाई त्रास, आतंकमा परिणत गर्यौं भने यसको परिणाम नकारात्मक प्राप्त हुने मात्र होइन, क्षतिसमेत हुन्छ । यो समय त हामीलाई सम्भावित खतराबाट छुटाएर सुरक्षित गरिएको उपयुक्त समय हो । स्वास्थ्य सुरक्षाको उद्देश्य अनुरुप समयको उपयोग गर्नु पर्दछ भन्ने बुझ्न र बुझाउन सकियो भने यसको परिणाम सकारात्मक आउनेछ । सरकारले टोलटोलमा निश्चित संयन्त्र मार्फत खाद्यान्न र बन्दोबस्तीका सामान पु¥याउनुपर्दछ ।

लकडाउनमा बसेका परिवारले यो समयलाई सहज ढंगले लिनु पर्दछ । खाद्यवस्तु जोहोमा भएको सामाजिक भयलाई त्यति ठूलो नबनाई सामान्य रुपले लिनुपर्दछ । कम शारीरिक परिश्रम भएको अवस्थामा सामान्य खानपिन र हलुका खानपिनले पनि स्वास्थ्यलाई सकारात्मक प्रभाव नै पार्ने भएकाले यो विषय महामारीका अगाडि सामान्य हो भनी बुझ्ने बुझाउने गर्यौं भने अहिलेको चुनौतीसँग लड्न सहज हुनेछ । यिनै र यस्तै अन्य उपयोगी विधि, पद्धति र व्यवहारको दैनिकीबाट जति दिन लकडाउनमा बस्नुपर्छ यसलाई सुरक्षित, रोमान्टिक र फलदायी परिणाम आउने कार्यमा जुटौँ । यसबाट विद्यार्थीमा भएको भय न्यूनीकरण भई सकारात्मक प्रगतिमा अघि बढ्नेछ । साथै सबैको सहयोगबाट यो महामारीसँग राष्ट्रिय एकता प्रवद्र्धन गरी महामारीलाई परास्त गर्न सकिनेछ ।

(लेखक नेपाल शिक्षक सङ्घ संघीय कार्यसमितिका अध्यक्ष एवम् नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका पदेन सदस्य हुनुहुन्छ । )

प्रतिकृया दिनुहोस्