रविना महर्जन
प्रधानाध्यापक
सरस्वति निकेतन मावि, टेकु, काठमाडौं
विद्यालयको समग्र अवस्था कस्तो छ ?
राणाकालको निरंकुशता चिर्दै वि.सं २००४ सालमा स्थानीय जागरुक युवाहरूले स्थापना गरेको हाम्रो विद्यालयले एउटा विरासत बोकेको छ । त्यति बेला पनि काठमाडौंका तल्लो भेगका उपेक्षित समुदायलाई लक्षित गरि स्थापना भएको यसविद्यालयले अहिले पनि केहि हदसम्म त्यस्तै उपेक्षित समुदायका बालबालिकाहरूलाई उज्यालो घामतिर दोर्याउने प्रयास गरिरहेको छ । का.म.पा वडा नं. १२ को एक मात्र माध्यमिक तहसम्म अध्यापन हुने सामुदायिक विद्यालय भएकोले पनि यसले समुदायमा आफ्नो छुट्टै पहिचान बनाएको छ । विद्यालयको ३ आना ३ पैसा जग्गामा बनेको एउटा मात्रै भवन भए पनि ६०७ जना विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन हरदम प्रयासरत छ । समग्रमा सहयोगी वि.व्य.स., क्रियाशिल प्रशासन, कर्तव्यनिष्ठ शिक्षकहरूको टिम, खुशी विद्यार्थी र जागरुक अभिभावकहरूको एउटा सानो परिवार हो हाम्रो विद्यालय ।
शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ?
शैक्षिक सुधारका लागि विद्यालयले हाल अवलम्वन गरेको एउटा नीति भनेको सकेसम्म बालबालिकाले पाठ्यपुस्तकमा पढेका कुरा देख्न पाओस, छुन पाओस र अनुभव गर्न पाओस भन्ने हो । यसको लागि सम्भव भएसम्म विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर ल्याउने, प्रयोगशाला लाने, समुदायमा लाने, पुस्तकालयमा लाने, स्थलगत भ्रमणमा लाने जस्ता कार्यहरूमा जोड दिइरहिएको छ । यसले विद्यार्थीको सिकाइलाई जीवन्त बनाउनुका साथै दिगो पनि बनाउन मद्दत पुगेको छ । त्यस्तै प्रत्येक महिनाको एक चोटि कक्षा शिक्षकले कक्षा वैठक राख्ने र सो दिन कक्षा शिक्षक र विद्यार्थीहरू सँगै खाजा खाने र कुनै एउटा विषयमा छलफल गर्ने गरेका छौं । यस्तो गर्दा विद्यार्थीहरुले आफुले विद्यालयमा वा घरमा भोगेका कुराहरू सुनाउने ठाँउ पाउँछन, शिक्षक र विद्यार्थीको सम्बन्ध आत्मीय बन्न गएको छ । त्यस्तै विद्यालयलाई इको स्मार्ट बनाउन बोटल गारडेनिङ्ग गरेका छौं ।
कक्षाकोठालाई बालमैत्री र सिकाइमैत्री बनाउन विद्यालयले के प्रयास गरेको छ ?
कक्षाकोठाको आकार सानो र विद्यार्थी संख्या धेरै भएका कारण चाहेर पनि पूर्ण रुपमा बालमैत्री बनाउन सकिएको छैन तर कक्षाकोठाको सरसफाई र सजावटलाई उच्च प्राथमिकतामा राखेका छौं । सिकाइमैत्री बनाउन शैक्षिक सामग्रीहरुको प्रयोग, बुक कर्नर, कक्षा मोनिटर, समूहमा कार्य गर्न विद्यार्थीलाई उत्प्रेरित गर्ने काम निरन्तर भइरहेका छन् ।
सिकाइस्तरको अवस्था के छ ?
अहिले बालबालिकाहरुको लागि पढाइबाट ध्यान हटाउने धेरै सामग्रीहरु छन् । इन्टरनेटको पहुँच र विभिन्न किसिमका कम्प्युटर गेमहरूले हाम्रो पढाइले भन्दा बढी आकर्षित गरिरहेका छन् उनीहरुलाई । त्यसैले सिकाइस्तर वास्तवमै सन्तोषजनक छैन । जबसम्म हामीले हाम्रो शिक्षण सिकाइलाई उनीहरुले चाहेको जस्तो इन्टरनेट र कम्प्युटर गेमहरूसँग एकीकृत गर्न सक्दैनौं, परम्परागत शैलीमै परीक्षा लिइरहन्छौं र पास र फेल भनिरहन्छौं विद्यार्थीको सिकाइस्तर माथि उठ्न सक्दैन । हाम्रो समस्या भनेको हाम्रो विद्यार्थीहरु धेरै अगाडि बढिसके र हामी उनीहरु सँगसँगै अगाडि बढ्न सकिरहेको छैनौं ।
सामुदायिक विद्यालयको अवस्था देशभर खस्किदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सबैभन्दा पहिले हामीले चाहेको के हो ? हामीलाई राम्रो जिपिए भएको ग्रेडसीट चाहिएको हो कि ? जीवन जिउन सक्ने, समस्या समाधान गर्न सक्ने, आफ्नो मातृभुमिलाई माया गर्ने, व्यवहारिक ज्ञान भएको जनशक्ति चाहिएको हो ? यदि हामीले पहिलो विकल्प खोजेको हो भने हो सामुदायिक विद्यालयले सोचेको जस्तो उपलब्धि हासिल गर्न नसकेको हो । तर यदि हामीले दोस्रो विकल्प खोजेको हो भने हो सामुदायिक विद्यालयलाई कसैले औंला उठाउन सक्दैन ।
अभिभावकहरुले अहिले पनि सामुदायिक विद्यालयहरुलाई पत्याएको देखिदैन नि ?
हो, हामीले अभिभावकको चाहानालाई सम्बोधन गर्न नसकेको पक्कै हो । अहिले अधिकांश अभिभावकहरु कामकाजी हुनुहुन्छ । १० बजे अफिस पुग्नु पर्ने अभिभावकहरुको लागि खै त हामीले ९ बजे देखि विद्यार्थी हाम्रो जिम्मामा भन्न सकेको ? खाजा बनाएर पठाउन नभ्याउने अभिभावकका लागि खै त हामीले हजुरहरुको बालबालिकाहरुलाई हामी खाजा खुवाउँछौं भन्न सकेको ? यस्तै अनेकन अभिभावकका चाहानाहरुलाई हामीले सम्बोधन गर्न सकेका छैनौं अनि किन पत्याउछ त अभिभावकले हामीलाई । र यी चाहानाहरु प्रअ र शिक्षकले मात्रै पुरा गर्न सक्दैन शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको ऐक्यबद्दता हुनुपर्दछ ।
अहिले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको क्षमतामा बारम्बार प्रश्न उठ्ने गर्छ । सुधारका लागि के गर्नुपर्ला ?
विद्यार्थीको उपलब्धि नै एउटा शिक्षकको सफलता हो । शिक्षक सेवा आयोगबाट पास भएर वा शैक्षिक योग्यताको प्रमाणपत्रको ठेली बोकेर मात्रै हाम्रो क्षमता प्रमाणित हुँदैन । यदि हाम्रा विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न सकेका छैनन्, बजारमा बिकेको छैनन् भने हाम्रो क्षमतामा प्रश्न उठ्नु स्वाभाविक हो । हाम्रो क्षमता माथि कसैले प्रश्न उठाउन नसकोस भन्नको लागि हामीले शिक्षण पेसालाई खाली १०–४ को जागिर हैन एउटा साधनाको रुपमा लिनुपर्छ । आफुलाई अद्यावधिक गरिरहने, इन्टरनेटको सदुपयोग गरि नयाँ–नयाँ कुराहरु सिकिरहने र सकारात्मक सोचका साथ मेरो विद्यार्थीहरुको लागि केहि गर्छु भन्ने भावना भएमा पक्कै पनि सुधार हुन्छ । अन्त नपाए सम्मको लागि भनेर प्लाटफर्मको रुपमा लिने मान्छेहरु जबसम्म शिक्षण पेसामा आउछन तब सम्म हामी माथि प्रश्न उठिरहन्छ ।
सरकारले दिने शिक्षक तालिम, पाठ्यक्रम, परीक्षा प्रणालीबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
शिक्षक तालिम सबै नराम्रो पनि हैन र सबै राम्रो पनि भन्न मिल्दैन । तालिमको गुणस्तर भनेको स्रोत व्यक्ति वा सहजकर्तामा भर पर्छ फेरि तालिममा ए टु जेड सबै सिकाउन सक्ने पनि हैन तालिमले त खालि मार्गनिर्देश गर्ने हो बाँकि स्वाध्यनले हासिल गर्ने हो । व्यक्तिमा सिक्ने इच्छा छ भने अहिलेको सूचना प्रविधिको युगमा तालिम नै चाहिन्छ भनिरहनु पर्दैन । अब परीक्षा प्रणालीको कुरा गर्दा हामीले धेरै सुधार गर्नुपर्ने ठाँउहरु छन् ।
एउटा विद्यालय राम्रो बनाउनको लागि एकजना प्रअको कस्तो भुमिका रहन्छ ?
विद्यालय राम्रो बनाउनको लागि प्रअले समन्वकारी भुमिका खेल्नुपर्छ । हाम्रो देशमा एउटा प्रअ प्रशासक पनि हो, स्रोत खोज्ने मान्छे पनि हो, कक्षामा गएर आफ्नो विषय पढाउने शिक्षक पनि हो, शिक्षक साथिहरुको निरन्तर अनुगमन मुल्यांकन गर्ने व्यक्ति पनि हो, अभिभावकहरुको गुनासो सुनाउने केन्द्र पनि हो, सरकारि गैर सरकारि निकायसँग समन्वय गर्ने समन्वयकर्ता पनि हो । त्यसैले एउटा विद्यालय राम्रो बनाउनको लागि एकजना प्रअको सबैभन्दा महत्वपूर्ण भुमिका रहन्छ ।
तपाईं यस विद्यालयमा कहिले प्रअ बन्नु भयो ? तपाईं प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म २०७१ सालमा प्रअ बनेको हुँ । प्रअ भइसकेपछि सबैभन्दा पहिले पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि निःशुल्क खाजा वितरणको लागि भूपु विद्यार्थी पुनर्मिलन कार्यक्रम र पेन्टिङ्ग प्रदर्शनी गरेर स्रोत संकलन गरें । जसबाट प्राप्त रकमबाट अहिले हामीले पूर्व प्राथमिक तहका विद्यार्थीहरुका लागि निःशुल्क खाजा वितरण गरिरहेका छौं । त्यस्तै, पुस्तकालय, विज्ञान प्रयोगशालालाई स्तरिकरण, विषयगत समितिलाई चुस्तदुरुस्त बनाउने, विद्यालयमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने, बालमैत्री वातावरणको निर्माण गर्ने कोशिस, शिक्षकहरुका लागि सकारात्मक सोच, उत्साहपूर्ण सिकाइ जस्ता तालिमहरुको सञ्चालन, कक्षा सजावटमा जोड जस्ता कार्यहरु गरियो तर अझै धेरै काम गर्न बाँकी नै छ ।
राम्रो प्रअ बन्नका लागि तपाईंको सुझाबहरु के–के छन् ?
राम्रो प्रअ बन्नका लागि सुझाबहरु दिन सक्ने अनुभव त हासिल गरिसकेको छैन तर मलाई के लाग्दछ भने प्रअले आफ्नो अधिकार मात्रै प्रयोग गर्ने हैन आफ्ना सहकर्मीहरुलाई समन्वय गर्ने तिर पनि ध्यान दियो भने एउटा राम्रो टिम बन्छ र राम्रो टिमलाई साथ लिएर अगाडि बढेमा गन्तव्य सम्म अवश्य पुगिन्छ ।
विद्यालय सुधारका लागि तपाईंको योजनाहरु के–के छन् ?
हाम्रो विद्यालयलाई एउटा उत्कृष्ट विद्यालय बनाउने योजना छ । अहिले भएका कमीकमजोरीहरुलाई हटाउदै सबैको रोजाइको विद्यालय बनाउने सपना छ । यसको लागि कक्षाकोठाहरुलाई बालमैत्री, प्रविधिमैत्री बनाउँदै लग्ने । शिक्षकहरुलाई आवश्यक तालिमहरुको व्यवस्था गर्ने । आईसिटि प्रयोगशालालाई स्तरिकरण गर्ने । स्थान अभावका कारण मोबाईल क्यान्टिन चलाएर विद्यार्थीहरुलाई जङ्क खाना नखान प्रोत्साहन गर्ने । छात्रामैत्री शौचालयको निर्माण गर्ने । विद्यालय वातावरण भयरहित, कुनै किसिमको बुलिङ रहित बनाउने । कक्षा ११ सञ्चालन गर्ने जस्ता योजनाहरु छन् ।