
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले आज सूचना जारी गर्दै यो जानकारी दिएको हो।
तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो। यस वर्ष कक्षा १२ को परीक्षाफल गएकाे साउन १९ गते सार्वजनिक भएकाे थियाे। परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेड भएका थिए।
बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।
त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको छ।
हेर्नुहोस् सूचना

