२०७६ असोज २७ गते

‘हामी निजी विद्यालयभन्दा कुनै कुरामा कम छैनौं’

 

प्रेमबहादुर बस्नेत
प्रधानाध्यापक, नवीन औद्योगिक कदरबहादुर रीता मावि
देवीनगर, बुटवल, रुपन्देही

अरु विद्यालयभन्दा नवीन औद्योगिक कदर बहादुर रीता मावि के मानेमा फरक छ ?
हामी फरक छौं भन्दापनि फरक गर्ने कोशिस गर्छौं । बालमैत्री वातावरणमा समयको माग अनुसार श्रम बजारमा सजिलै समायोजन हुने किसिमले पठनपाठन गर्ने प्रयास गरेका छौं । ९–१२ कक्षामा सिभिल इञ्जिनियरिङ अध्ययन गराउँदै आएका छौं । २०६४ सालदेखि नै विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएका छौं । कक्षा ४ देखि नै कम्प्यूटर विषय पठनपाठन गर्ने गरेका छौं । गणित, विज्ञान, सामाजिक र इलेक्ट्रिकल्स विषयमा निःशुल्क कोचिङ कक्षा चलाउँछौं । नर्सरीका विद्यार्थीहरुलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरेका छौं । यस्तै फरक अभ्यासका कारण विद्यालयले २०७१, २०७३ को एसएलसी/एसइइ र २०७४ सिभिल इञ्जिनियरिङ कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नतिजा हासिल गर्न सफल रह्यो । २०६४ सालदेखि एसएलसी शतप्रतिशतसहित नेपालमा उत्कृष्ट नतिजा दिएको थियो । शिक्षा मन्त्रालयबाट देशका उत्कृष्ट २५ विद्यालयबाट जापान विद्यार्थी पठाउने क्रममा २०७० मा सिर्जना केसी सिभिल इञ्जिनियरिङकी सहभागी भएकी थिइन् ।

उनले एसएलसीमा ३.८८ जीपीए र अहिले १२ मा ८२.३३ प्रतिशत सिभिल इञ्जिनियरिङ ल्याएकी थिइन् । हामीले विद्यार्थी अनुशासनलाई विशेष जोड दिँदै आएका छौं । बिहान ६ देखि बेलुकी ५ बजेसम्म गेटपासबिना विद्यार्थी बाहिर जान पाउँदैन । विद्यालय शिक्षक स्टाफ स्कूल समयमा बाहिर जानु परेमा सुरक्षा पोष्टमा स्पष्ट विवरण लगबुकमा खुलाएर मात्र जाने गर्नुहुन्छ । साथै गएको र आएको समय स्पष्ट लेख्नुपर्ने व्यवस्था गरेका छौं । विद्यालयका गतिविधि, जानकारी र निगरानीका लागि सीसी क्यामेराको २४ सै घण्टे सुरक्षा व्यवस्था, शुुद्ध पिउने पानीको लागि विद्यालय हातामा डीप बोरिङ, अपाङ्गमैत्री÷छात्रामैत्री इन्सिनेटरसहितको आधुनिक यन्त्र जडान भएका छात्रा शौचालयको व्यवस्था गरिएको छ । विद्यालय हातामा व्यवस्थित चमेना गृह बिहान कक्षा ११ र १२ देखि निःशुल्क कोचिङसम्म ६ वटा व्यवस्थित इन्टरभलको व्यवस्था साथै विद्यार्थीलाई मनोरन्जन दिन अष्टे«लियन पिङ, विद्यालयमा हरियाली वातावरणको व्यवस्था गरेका छौं ।

विद्यालयका राम्रा अभ्यासहरु के–के छन् ?
विद्यालयको वार्षिक कार्यतालिका अनुसार प्रत्येक परीक्षाको अन्त्यमा अभिभावक भेला गराई विद्यार्थीको पठनपाठनको अवस्था जानकारी हुनेगरी नतिजा दिने व्यवस्था गरेका छौं । विद्यार्थीहरु अनुपस्थित वा गयल भएमा तहगत तथा संकायगत इन्चार्जबाट जानकारी लिर्ई ति विद्यार्थीको रोल नं. सबैले देख्नेगरी लेख्ने व्यवस्था गरेका छौं । हरेक दिन प्रार्थनामा समाचार निर्माण र वाचन प्रार्थनामा गराउने, विद्यार्थीहरु परिचालन गरी हाजिरीजवाफ, वादविवाद, कक्षामा भाषिक शुद्धतामा जोड दिने, अंग्रेजी, गणित, सामाजिक र नेपाली विषयका न्यूनतम मापदण्डको बारेमा अध्यापन गराउने गर्दछौं । साथै प्रशिक्षकहरुको व्यवस्था गरी नियमित भलिबल, फुटबल, कवड्डी र एथलेटिक्सको प्रशिक्षण गराउने, कमजोर विद्यार्थीहरुका लागि विशेष कक्षा सञ्चालन गर्ने गरिएको छ । विद्यार्थीको पठपाठन सुधार, उनीहरुलाई प्रश्नावली भराई कमी कमजोरी औंल्याइदिने, समयको माग अनुसार कार्यक्रम सञ्चालन, माइन्युट लेखन सीप विद्यालयको तहगत, कक्षागत, विषयगत नतिजालाई आधार मानेर रिसर्च टुल प्रयोग गरी अनुसन्धान गराउन विश्लेषण र सुधार आदि अभ्यासहरु गर्दै आएका छौं । मुख्य विषय कक्षाकै पठनपाठन भएकाले हामीले त्यसैलाई केन्द्रमा राखेर गतिविधिहरु अगाडि बढाउदै आएका छौं ।

अंग्रेजी माध्यममा कम्प्युटर सहयोगार्थ बाहेक मासिक शुल्क नभएकोलगायतका कारण विद्यालय अवलोकन गर्न विश्व बैंकका कन्ट्री डाइरेक्टर केनिची ओहासी, कम्बोडियाका शिक्षा राज्यमन्त्री महामहिम हिङ्ग सिङ्गे, नर्वे र फिनल्याण्डका महामहिम राजदूत विश्व बैंक साउथ एसिया प्रमुख केइको मिवा, कोरियन शिक्षाविद एसके किम, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, प्रकाशमान सिंघ, सीपी मैनाली, मन्त्रीहरु महन्थ ठाकुर, दीननाथ शर्मा, डीआर पौडेल, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, खुमबहादुर खड्का, चिरञ्जीवी जोशी, रामकृष्ण ताम्राकार, शेरेश महल, बलदेव शर्मा मजगैयाँ, दर्जनौ सभासद, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, नेपाल सरकारका सचिवहरु बालानन्द पौडेल, किशोर थापा, युवराज पाण्डे, खगराज बराल, रामेश्वर खनाल, महाश्रम शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा तीर्थराज खनिया, डा. चम्पक पोखरेल, प्राध्यापक तथा डाक्टरहरु विद्यानाथ कोइराला, राजेन्द्रध्वज जोशी गजेन्द्र श्रेष्ठ, योगेन्द्र ओमी, अग्नि काप्mले, मोहनप्रसाद अर्याल, रामजीप्रसाद पण्डित, मीता सिंह, कृष्णचन्द्र शर्मा, शिवलाल भुसाल र अनन्त पन्थी, रुपन्देहीका प्रजिअहरु विनोद प्रकाश सिंह, विष्णुप्रसाद ढकाल, तोयम रायमाझी, तारानाथ गौतम, बालकृष्ण पन्थी, स्थानेश्वर देवकोटा, ज्ञानकाजी शाक्यलगायत सयौं उच्चस्तरीय व्यक्तित्वबाट यस विद्यालयको अवलोकन र निरीक्षण भएको छ । सायद स्वदेश तथा विदेशबाट हाम्रो विद्यालयमा बाहेक निरीक्षण र अवलोकन भएका छैनन् । 


विद्यालय राम्रो बनाउन यीबाहेक अन्य कस्ता प्रयासहरु भएका छन् ?
हामी सामुहिक छलफल पछि योजना बनाउँछौं । त्यसको कार्यान्वयन गर्न सामुहिक प्रयास गर्छांै । विद्यार्थीलाई सिकाइमा मात्रै केन्द्रित गर्न विद्यालयमा छिरेपछि उनीहरु स्कूल समयमा गेटपासबिना बाहिर निस्कन पाउँदैनन् । विद्यालय हातामा मापदण्ड अनुसारको चमेना गृह रहेको छ । जसमा विद्यार्थी तथा शिक्षकलाई छुट्टा–छुट्टै व्यवस्था रहेको छ । विद्यार्थीहरुको पठनपाठन व्यवस्थित र प्रभावकारी बनाउन हरेक विद्यार्थीको व्यक्तिगत फाइलको व्यवस्था गरिएको छ । विद्यालयमा अपाङ्गमैत्री, बालमैत्री र छात्रामैत्री प्याड इन्सिनेटर जडित आधुनिक तीन फरक–फरक शौचालयको व्यवस्था गरिएको छ । लोडसेडिङको समयमा जेनेरेटरको व्यवस्था साप्ताहिक र मासिक परीक्षा लिई पृष्ठपोषण दिने व्यवस्था गर्दै आएका छौं । विद्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुबाट अवलोकन र निरीक्षण गराइ उनीहरुको सुझाव र सल्लाहमा सुधारका प्रयास गरिदँदै आइएको छ ।


तपाईंको विचारमा सिकाइ र भौतिक पूर्वाधारबीच कस्तो सम्बन्ध रहन्छ ?
भौतिक पूर्वाधारको प्रत्यक्ष असर नदेखिएपनि सिकाइ सुधारमा यसको महत्वपूर्ण भूमिका रहन्छ । सिकाइलाई सहज र प्रभावकारी हुने भौतिक पूर्वाधार हुन आवश्यक छ । यसले विद्यार्थीको सिकाइलाई सहज, आनन्ददायी, सुरक्षित, मनोरञ्जक र व्यवस्थित बनाउन मद्दत गर्छ । भौतिक पूर्वाधार पनि गुणस्तरीय शिक्षाको लागि आवश्यक आधार हो जस्तो मलाई लाग्छ । तर, तडक–भडकभन्दा पनि यो आवश्यकता, समयसापेक्ष र सुहाउँदो भने हुन जरुरी छ ।


प्रसङ्ग बदलौं, मुलुकभरकै सामुदायिक विद्यालयको नतिजा खस्किरहेको देखिन्छ ? सामुदायिक विद्यालयका खास समस्याहरु के– के देख्नुहुन्छ ?
मुख्य त, विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्था नहुनु नै हो । शिक्षक अभाव भएपछि पठनपाठनमा समस्या परिनै हाल्छ । विद्यालयहरुमा पर्याप्त शिक्षक दरबन्दी नहुँदा यसको असर नतिजामा देखिनु स्वाभाविक नै हो । फेरि, विद्यालयको भौतिक पूर्वाधार विकासमा राज्यबाट पर्याप्त लगानी हुन सकिरहेको छैन । अझैपनि जीर्ण भवन र अस्थायी टहरामै विद्यालयहरु सञ्चालन हुन बाध्य छन् । कतिपयमा त एउटै कोठामा धेरै कक्षाहरु समेत सञ्चालन गर्नुपर्ने बाध्यता छ । सामुदायिक विद्यालयमा शुल्क तिर्नु नपर्दा लगानी नभएको कारणले अभिभावकले गृहकार्य, पठनपाठनमा त्यति ध्यान दिँदैनन् । शिक्षकहरुमा राजनीतिकरण छ । शिक्षण पेशालाई जागिरको रुपमा मात्रै बुझिएको छ । सरकारी अनुगमन, मूल्याङ्कन न्यून छ । दण्ड र पुरस्कारको व्यवस्था हुन सकेको छैन । राम्रो गर्नेलाई पुरस्कार र नराम्रोलाई दण्डको व्यवस्था नहुँदा छाडातन्त्र हावी भएको छ । विद्यालयहरु न जनताका न त सरकारका जस्ता भएका छन् । विद्यालयहरुलाई दक्ष नागरिक उत्पादन गर्ने कारखाना बनाउन जरुरी छ ।


यी त समस्या भए, त्यसो भए अब सुधारको शुरुवात कहाँबाट गर्नुपर्र्ला ?
सुधारको शुरुवात विद्यालयको प्रधानाध्यापकबाटै हुनुपर्छ । प्रअमा समयको पालना, पेशाप्रतिको जिम्मेवारी, लगनशीलता, जवाफदेहिता, आर्थिक पारदर्शिता, काममा मितव्ययिता र सामाजिक जिम्मेवारी बोध हुन जरुरी छ । यी बोध भएका शिक्षक मात्रै प्रधानाध्यापक बन्न जरुरी छ । र, यस्तै हुनुपर्छ । त्यसपछि शिक्षकमा सुधार हुनुपर्छ । शिक्षकहरु मिहिनेती, अध्ययनशिल, नयाँ कुरा खोजेर सिकाउने, विद्यार्थीमैत्री, पेशाप्रति जिम्मेवार र अनुशासित बन्न आवश्यक छ । शिक्षण कार्यलाई जागिर भन्दापनि जिम्मेवारी र राष्ट्रसेवाका रुपमा लिन जरुरी छ । अभिभावकहरु पनि छोराछोरी विद्यालयमा पठाउने मात्रै होइन विद्यालयको सिकाइ, व्यवस्थापन, सुधारलगायतका विषयमा चासो र सरोकार राख्ने हुनै पर्छ । अनुगमन र मूल्याङ्कन प्रणालीमा सुधारका साथै सरकारले नीतिगत सुधार गर्न आवश्यक छ । शिक्षक दरबन्दी मिलान, कामका आधारमा मूल्याङ्कन र सरुवा÷बढुवा र पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न आवश्यक छ । प्रविधिमैत्री विद्यालय, शिक्षक, सिकाइ, विद्यार्थी हुन जरुरी छ ।


सरकारको ठूलो लगानीका बाबजुद सामुदायिक विद्यालयको गुणस्तर किन कम भएको होला ? नजिी विद्यालयमा भएको के कुरा सामुदायिकमा छैन ?
सरकारको लगानी नभएको होइन, भएको छ तर अव्यवस्थित छ । विद्यालय व्यवस्थापनमै खास समस्या छ । शैक्षिक सुशासनको कमीले सरकारको लगानीका बाबजुद विद्यालयहरु धराशयी बन्दै गएका छन् । जसले शैक्षिक सुशासन र व्यवस्थापनमा ध्यान दिए ती सामुदायिक विद्यालयहरु निजीभन्दा कम छैनन् । निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा लगानी धेरै छ, अनुगमन र निरीक्षणका लागि संयन्त्र छ, तालिम प्राप्त शिक्षक छन्, भौतिक पूर्वाधार छ, तर त्यसको कुशल व्यवस्थापन छैन । निजी विद्यालयबाट सिक्नुपर्ने कुरा पनि यही हो । प्रभावकारी सरकारी नीति तथा समन्वय, दण्ड र पुरस्कारको वैज्ञानिक व्यवस्था, शिक्षक पेशागत सुरक्षा, अनुगमन आदि व्यवस्थित भएका सबै सामुदायिक विद्यालयहरु अब्बल बन्नेछन् ।

सामुदायिक विद्यालयले समुदायको विश्वास आर्जन गर्न किन नसकेको होला ?
खराब नतिजा, अपारदर्शी व्यवस्थापन, राजनीतिकरण, पुरानै ढर्राको शिक्षण सिकाइ आदिका कारण समुदाय सामुदायिक विद्यालयतर्फ आकर्षित हुन सकेका छैनन् । फेरि अंग्रेजी मोह, अनियमित पढाइ, भद्रगोल व्यवस्थापनले समेत समुदाय विकर्षित हुँदै गइरहेका छन् । समुदायको आवश्यकता, चाहना र रोजाइ एकातिर छ, हाम्रो सामुदायिक विद्यालय अर्कोतिर छ । अभिभावकको आवश्यकता र चाहनाको सम्बोधन गर्न नसक्नु नै हाम्रो कमजोरी हो । सामुदायिक विद्यालयमा छोराछोरी पठाउन अभिभावकहरुलाई ढुक्क हुने वातावरण हामीले तयार गर्नु पर्छ । हाम्रो विद्यालयको सन्दर्भमा हामी समुदायको छलफल पछि उनीहरुको आवश्यकता र इच्छा अनुसार अघि बढ्छौं । त्यसैले त वर्षैपिच्छे निजी विद्यालय छाडेर हामीकहाँ सयौं विद्यार्थीको घुइँचो लाग्ने गर्छ । समुदायको विश्वास नजितेसम्म सामुदायिक विद्यालयको रुपान्तरण र सुधार सम्भव नै छैन ।


सामुदायिक विद्यालयहरु निजीसँग कहिले प्रतिस्पर्धा गर्न सक्ने होलान् ? 
अहिले नै गरिरहेका छन् । हामी नै गरिरहेका छौं । हामी मुलुकका कुनैपनि निजी विद्यालयभन्दा कुनै कुरामा कम छैनौं । हामी कक्षा नर्सरीदेखि कक्षा १० सम्म पूर्ण अंग्रेजी माध्यममा पठनपाठन गराउँछौं । मोफसलमा रुपन्देही पत्रकारिता र शिक्षाको राजधानी हो । शैक्षिक हब हो तर बुटवलमा पढेका केही बोर्डिङ स्कूलका विद्यार्थी हाम्रोमा प्रवेश परीक्षामा टिक्न नसकेर दोस्रो प्रवेशिका परीक्षामा कक्षा घटाएर भर्ना भएका प्रशस्त उदाहरण छन् । यस जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् । मिहिनेत गर्ने हो, साँच्चै सुधार गर्न लाग्ने हो भने मुलुकभरिका सामुदायिक विद्यालयहरु निजीभन्दा अब्बल बन्ने हैसियत राख्छन् ।


सामुदायिक विद्यालयको सुधारमा समुदायको कस्तो भूमिका रहन्छ ?
समुदायले चासो, सहयोग र सहकार्य गरेपछि मात्रै सामुदायिक विद्यालय सुधार हुने हो । किनभने, समुदायका लागि विद्यालय हो । विद्यालय बने मात्रै समुदाय बन्ने हो । छोराछोरी निजी स्कूलमा पढाउने समुदायको चासो र ध्यान नहुँदा नै सामुदायिक विद्यालयहरु सुधार नभएका हुन् । विद्यालय सुधारको मुख्य आधार समुदायको सहयोग र सक्रिय सहभागिता पनि एक हो । समुदाय सचेत र सशक्त हुनु पर्छ ।

सामुदायिक विद्यालयमा नेतृत्वको कमी भएको हो ?
सामुदायिक विद्यालयको नेतृत्वको कमी होइन, नेतृत्व स्थापित गर्नेखालको संयन्त्रको कमी भएको हो । दलीय भागवण्डा वा शक्तिको आधारमा नभएर कार्यसम्पादनको आधारमा भिजन भएको क्षमतावानहरुलाई नेतृत्व दिनु पर्छ । सुधार असल र भिजन भएका नेतृत्वबाट मात्रै सम्भव हुन्छ । नेतृत्व असल भएर मात्रै पनि भएन, काम गर्ने टिम र सयन्त्र पनि असल हुनु पर्छ । हामीकहाँ असल नेतृत्व भएका स्थानमा संयन्त्र नै खराब र संयन्त्र असल भएको ठाउँमा नेतृत्व खराब भएर समस्या भएका छन् । क्षमतावानहरुले नै नेतृत्व पाउनु पर्छ र उनीहरुलाई काम गर्ने वातावरण सरकारले निर्माण गरिदिनु पर्छ ।

शिक्षकहरुलाई तालिम धेरै दिइयो तर नतिजा खस्कन छाडेको छैन । के शिक्षक तालिम कक्षा कोठामा पुगेको लाग्छ ?
शिक्षक तालिम शतप्रतिशत कक्षा कोठामा पुगे जस्तो लाग्दैन । जहाँ पुगेका छन्, त्यहाँ राम्रो भएका छन् । खास समस्या नै यही हो । यसो नहुनुको मुख्य कारण अनुगमन र मूल्याङ्कनको कमी पनि हो । दण्ड र सजायको व्यवस्था नहुँदा शिक्षकहरु अल्छि भए । मिहिनेती पनि निराश भएका छन् । तर, नेपालमा १० जिल्लाका ८० वटा विद्यालयहरुमा व्यवहार कुशल सीप (सफ्ट स्किल) लागू भएकाले रुपन्देहीका ८ विद्यालयमध्ये हाम्रो पनि एक रहेको छ । ‘इन्टरनेशनल स्कूल अवार्ड’का लागि हामी पनि प्रतिस्पर्धामा रहेकाले कक्षा कोठामा ‘डिजिटल लिटेरेसी’, ‘लिडरसीप’, र ‘पर्सनल डिभलोपमेन्ट’लगायत क्षेत्रमा ध्यान दिने गरिएको छ । हामीले आन्तरिक र बाह्य व्यक्तिद्वारा पनि अनुगमन र मूल्याङ्कनलाई विशेष ध्यान दिने गरेका छौं । उत्कृष्ट शिक्षकहरुलाई पुरस्कारको समेत व्यवस्था गर्ने गरेका छौं । शिक्षकहरुको नतिजाका आधारमा मूल्याङ्कन हुने हो भने यो समस्या समाधान हुन्छ ।

अन्य सामुदायिक विद्यालयलाई के सुझाव दिनुहुन्छ ?
लगनशील हुँदै निस्वार्थ भावनाले कामामा योजनाबद्ध रुपमा प्रतिबद्ध भएर अहोरात्र काममा लाग्न सुझाव दिन्छु । हामीले नचाहेर वा नगरेर नै राम्रो नभएको हो । हामीले चाह्यौं भने गुणस्तरीय शिक्षा सम्भव छ भन्न चाहन्छु । योजना, पारदर्शिता, संकल्प, मिहिनेत, समन्वय, अनुशासन, सामुहिकता, अधिकारको विनियोजनलगायतमा सुधार गरे सामुदायिक विद्यालयहरु साँच्चै सुध्रन्छन् ।


सामुदायिक विद्यालयमा चरम राजनीति भएर स्तर खस्किएको आरोप लाग्छ नि ?
मलाई त्यस्तो लाग्दैन । किनकि, मानिस एक सामाजिक प्राणी हो । राजनीतिले त केही फरक पार्छ नै, हाम्रो विद्यालयमा पनि विभिन्न विचारका शिक्षक साथीहरु हुनुहुन्छ । हाम्रो टीमवर्क विद्यालयभित्र राजनीति गर्नै हुँदैन । विद्यालयमा लगनशील भएर अध्यापन गर्नु पर्छ भनेर लाग्नुभएको छ । हाम्रो नतिजा ‘क्वालिटी ग्याप’तर्फ होइन, अझ सुदृढ हुँदै गएको छ । हामीले स्कूल समयमा र विद्यालय परिसरमा राजनीति निषेध गरेका छौं । राजनीति हामी विद्यालय सुधारका लागि मात्रै गर्छौं । दलको कार्यकर्ता बनेर होइन ।


विद्यालयको अबको योजना के छ ?
विद्यालयको अबको योजना भौतिक पूर्वाधार निर्माण गरेर कक्षा ११ र १२ मा विज्ञान संकाय सञ्चालन गर्ने, छात्राबास निर्माण सम्पन्न गरी व्यवस्थापन गर्ने, ‘डिजिटल लिटेरेसी’लाई बढी केन्द्रित गर्ने, विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने रहेको छ । हामी सिभिल इञ्जिनियरिङ कक्षालाई नेपालमै प्रयोगशालामा अत्याधुनिक सामग्री र उपकरण खरिद गर्न र पुस्तकालय र मन्टेश्वरी कक्षालाई व्यवस्थित गर्दै जाने योजनामा छौं । विद्यार्थीलाई शिक्षाको मात्रै होइन, साथमा सीपको समेत प्रमाणपत्र दिनु पर्छ भनेर लागिरहेका छौं । प्रविधि र सीपयुक्त सिकाइ, प्रविधि र सीपयुक्त दक्ष जनशक्ति उत्पादन नै हाम्रो लक्ष्य र कार्यक्रम हो ।

प्रस्तुतिः रोशन क्षेत्री गाउँले

साभार : आजको शिक्षा साप्ताहिक

 

Comments: