प्रकाश पाण्डे

बैठक भनेको एक प्रकारको सभा हो जो खास उद्देश्यको पूर्ति गर्न बोलाइन्छ । विषयवस्तुमाथि छलफल केन्द्रित गरेर, विचारको मन्थन गरेर एउटा निष्कर्षमा पुगिन्छ। नीति, नियम, कार्यक्रम, कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने उद्देश्यले बैठक बसिन्छ। कुनै पनि संस्थाको गति तथा सफलताको पहिलो आधार भनेको प्रभावकारी बैठक हो। प्रभावकारी बैठकको लागि तयारी, संचालन तथा समापन पूर्ण हुनुपर्छ ।

दुई वा दुई भन्दा बढी व्यक्ति वा सदस्यहरु वा पदाधिकारी वा समूह बिच पूर्व निर्धारित मिति, समय र स्थान वा आकस्मिक रुपमा निश्चित प्रस्तावमा केन्द्रित रहेर गरिने औपचारिक वा अनौपचारिक साक्षात्कार, अन्तरक्रिया, भेटघाट वा छलफल गरि निष्कर्ष निकालिन्छ भने त्यो नै बैठक हो । अर्थात कार्यलयको निश्चित लक्ष्य हासिल गर्नको लागि गुणस्तरीय सेवा प्रवाहको उद्देश्यले खास विषयवस्तुको तयारी, सचांलन, नियन्त्रण, छलफल र निर्णय गरि प्रभावकारी कार्यान्वयनद्वारा आवश्यक प्रबन्ध मिलाउने कार्यहरुको समिष्टिगत स्वरुप नै बैठक व्यवस्थापन हो ।

निश्चित उद्देश्यले बसेको बैठकमा उठान गरिएको कुनै पनि विषयको सामूहिक छलफलबाट प्राप्त निचोड उल्लेख गरी सहभागीद्वारा हस्ताक्षरित लिखित नोटलाइ निर्णय पुस्तिकामा उल्लेख गरेपछि बैठकको समाप्ति हुन्छ ।

चार्ल्स डब्ल्यू स्कार्फ भन्छन् ,”बैठकहरूमा सकेसम्म थोरै मानिसहरू हुनुपर्छ, तर सबै सही व्यक्तिहरू हुनुपर्छ ।” ठिकै हो यो भनाई अभ्यासमा पनि त्यस्तै देखिन्छ । ठूलो समूह तथा खराब प्रवृत्तिका व्यक्तिहरु भएमा बैठकको उद्देश्य पूरा हुँदैन  त्यसले झन समस्या ल्याउँछ । अनिर्णयको बन्दी बनाउँछ तनाव वृद्धि गर्छ । थोमस सोवेल भन्छ्न्,”सभाको आनन्द लिने मानिसहरूलाई कुनै कुराको जिम्मा दिनु हुँदैन।” हो तिनीहरूले जिम्मेवारी र उत्तरदायित्वहरु वहन गर्दैनन्। विषयमा गम्भीर हुँदैनन् । त्यो बैठकको लागि बैठक मात्र हुन्छ। त्यस्तै गरी क्रिस फसेलले “एक नेताको रूपमा तपाईंले लगातार प्रभावकारी सञ्चार गर्नुपर्छ। बैठकहरू परिणाममुखी र सुधारमूखी हुनुपर्छ – तपाईंको संगठनात्मक लयले बानी भन्दा उद्देश्य र सक्षमता भन्दा प्रभावकारितालाई महत्त्व दिनुपर्छ।” भनेका छ्न्। हो, वास्तवमै बैठकले परिणाम दिनुपर्छ र त्यो कार्यपरक हुनुपर्छ ।

डेभ व्यारी बैठकको महत्त्व यसरी दर्शाउछ्न् –“मानवले उसको पूरा शक्ति लगाउदा पनि दौड किन पूरा गरेन र कहिल्यै पूरा गर्दैन भनेर कारण तपाईंले पत्ता लगाउनु भयो भने एउटा शब्द पहिचान गर्नुहुन्छ त्यो हुन्छ `बैठक´।” वास्तवमा दौड जित्न होस् वा उद्देश्य पूरा गर्न होस् बैठक आवश्यक छ। यसले सामुहिकतामा विश्वास गर्छ। जोन हेयउड ले भनेका छन् , ” एउटा टाउको भन्दा दुइटा टाउको बुद्धिमानी हुन्छ्न् ।”
यसबाट स्पष्ट हुन्छ -एउटा मस्तिष्क भन्दा धेरै मस्तिष्कबाट आएको निष्कर्ष तथा निर्णय बुद्धिमानी हुन्छ। त्यसकारण छ्लफल बैठक आवश्यक छ।

खासमा बैठकले सहअस्तित्व, अपनत्व, सहकार्य र सहभागिताको सुनिश्चितता गर्छ। यसमा विचार, विज्ञान र तर्कको आधारमा समस्याको समाधान र संभावनाहरूको मार्गदर्शन क्रीम मथेर तय गरिन्छ। जोन केनेथ गलब्रेथका अनुसार, “तपाईं केहि गर्न चाहनुहुन्न भने बैठकहरू अपरिहार्य छन्।” संस्थाले गति लिन समस्या समाधान गर्न तथा उद्देश्य प्राप्त गर्न बैठक आवश्यक छ । एक्लै त्यो खास केही सम्भव छैन्। सर सहयोग र एकता हुनेछैन्। काम फत्ते हुनेछैन् । सन्दूक रुइत भन्छ्न् ,”तपाईँहरु मेरो सफलता भन्नुहुन्छ खासमा मेरो सफलता त्यो होइन त्यो त टिम वर्कको सफलता हो ।” हो, बैठक छलफल र अन्तरक्रियाले नै टिमवर्कको कार्ययोजना दिन्छ।

बैठक किन आवश्यक छ ?

•संस्थाको उद्देश्य अनुसार कार्यहरू गर्न,
•जटिल समस्याको समाधानमा उचित निर्णय लिन,
•संस्थाले गुणस्तरीय सेवा र सुविधाहरू उपलब्ध गराउन
•उत्पादनमुखी र परिष्कृत निर्णय निर्माणका लागि,
•संस्थामा सबैको अपनत्व विकास गर्न,
•निर्णयमा व्यक्तिगत स्वार्थ हावी हुन नदिन,
•संस्थाको गति र विकास गर्न
• सहभागी तथा सहकार्यको नमुना प्रस्तुत गर्न,
•निर्णयकै कारण भविष्यमा निर्णयकर्तालाई हुनसक्ने हानी कम गर्न,
•विचारहरूको मन्थनबाट खास निचोड निकाली कार्यान्वयन गर्न,
•कुशल निर्णय गरी स्वभाविक खालका नीति नियम निर्माण गर्न र प्रभावकारी सेवा वितरण गर्न ।

बैठक कुनैपनि समस्या समाधानको लागि त्यससँग सम्बन्धित व्यक्तिहरूको समग्रता विचार निर्धारण गर्ने एउटा अत्यन्तै महत्वपूर्ण सामूहिक निर्णय प्रक्रिया हो । प्रत्येक समितिले बैठक संचालन कार्यविधि वा निर्देशिका (Meeting conducting guideline ) निर्माण गरी पारित गरेर मात्र प्रयोगमा ल्याइएको हुन्छ । समितिको बैठक उक्त बैठक सञ्चालन कार्यविधिको तोकेको आधारमा बस्नुपर्छ। कहिलेकाँही आकस्मिक पनि बस्नुपर्ने हुनसक्छ ।

बैठकमा सही समय (Right time), सही व्यक्ति ( Right man), सही विषय (Right agenda) र सही निर्णय (Right decision ) हुनु अत्यन्तै आवश्यक छ । यदि यस्तो भएन भने समस्याको सही निकास ननिस्किन पनि सक्छ । खासमा बैठकको सञ्चालन तथा व्यवस्थापन गर्दा तीनवटा चरणहरू पार गर्नुपर्ने हुन्छ । बैठक पूर्वको चरण, बैठक सञ्चालनको चरण र बैठक समाप्तिपछिको चरण । बैठक व्यवस्थापनको समग्र प्रक्रिया अर्थात् उक्त तीन चरणहरूलाई यसरी पनि व्यक्त गर्न सकिन्छ ।

१. बैठकको पूर्वतयारी

बैठक राख्नु भन्दा अगाडी धेरै महत्त्वपूर्ण कुराहरुमा विचार पुर्‍याउनु वाञ्छ्नीय हुन्छ। समितिको अध्यक्ष तथा सचिवले निम्न प्रश्नहरूको उत्तरहरू तयारी गरेर मात्रै बैठकको सञ्चालन गर्नुपर्छ । के के तयारी गर्नुपर्छ ? के त्यो बैठक आवश्यक नै हो ? विषयहरू के के हुनेछन् ? एजेण्डा के के हुनेछन् ? को को व्यक्ति सहभागी हुनुपर्ने हो ? छलफलको पूर्वानुमान के हुनसक्छ? संभावित निर्णय के हुनसक्छ? आफ्नो विचार के हुने ? संस्थाको उद्देश्यसँग ती एजेण्डाहरू कतिको मेल खान्छन् ? संस्थाको उन्नति र प्रगति के गर्दा हुन्छ ? यी प्रत्येक प्रश्नहरूको उत्तर तयार गर्नुपर्छ।

बैठक अगाडि गर्नुपर्ने पूर्व तयारीहरुमा बैठक कक्षको सरसफाई, बसाइँ व्यवस्थापन, एजेन्डा छलफलका विषयहरु/कार्यसूचीको तयारी, एजेण्डा स्लाइडमा प्रस्तुत गर्ने भएमा स्लाइड तयारी र पूर्वसूचना, अध्यक्षता गर्ने र सहभागीहरुको निर्धारण, बैठक सञ्चालन गर्ने मिति, समय र स्थान, नोट तयार गर्ने र निर्णय लेख्ने व्यक्तिको छनौट को निर्धारण गर्नुपर्छ । सामान्यतया निर्णय लेखन समितिको सदस्य सचिवले गर्नुपर्छ भने नोट लेखनको लागि अध्यक्षले समितिको कुनै सदस्यलाई अह्राउन सक्छन् । बैठकको लागि अनुकूल समय, अनुकूल स्थान (खासगरी संस्थाको अफिसमा) तथा बैठक अनुकूलित वातावरण भएको स्थानलाई छनोट गर्न सकिनेछ।

अध्यक्षको निर्देशनमा समितिको सदस्यले कम्तिमा तीन दिन अगाडि नै बैठकको एजेण्डाहरू तय गरेर उक्त एजेण्डाहरू उल्लेख गर्दै समितिका सदस्यहरूलाई औपचारिक रुपमा पत्रहरू या फोनकल, भरपर्दो डिजिटल एप्समार्फत् छलफलको एजेन्डाहरू उपलब्ध गराउनुपर्छ । कहिलेकाहीँ संस्थाको हितको लागि संस्थाको उद्देश्य पूर्तिको लागि तथा संस्थाको आवश्यकता सम्बोधन गर्नको लागि वा संस्थाले संस्थाको समस्या समाधान गर्नको लागि संस्थाको अध्यक्ष र सचिव मिलेर पूर्व तयारीकै क्रममा एजेण्डाहरु तय गरिसकेपछि एक खालको निर्णयको स्वरूप कस्तो हुने भन्ने कुराको गृहकार्य गर्नुलाई पनि उत्तम नै मानिन्छ।

तर उक्त गृहकार्य गोप्य, संस्थाको हित तथा उद्देश्यपूर्ति हुनेगरी स्वार्थभन्दा माथि उठेर आफ्नो विचारको प्रतिनिधित्वले निर्णयको स्वरूप लिने गरी गृहकार्य गर्नुपर्ने पनि हुन सक्छ ।

मोबाइल वा अन्य डिभाइसहरु बैठक हलभित्र निषेध गर्ने वा स्वीछ अफ गर्ने गर्नुपर्छ। बैठक आचारसंहिताको पालना गराउने कार्य पनि अध्यक्षकै हुन्छ।

कुनैपनि संस्थाको समितिको बैठककको अध्यक्षता समितिको अध्यक्षले गर्नुपर्छ भन्ने कुरा प्रायः निश्चित नै छ । यदि निजको अनुपस्थितिमा बैठकमा उपस्थित जेष्ठ सदस्यले गर्न सक्छ। त्यो बैठक कार्यविधिमा के पारित गरेको छ त्यही अनुसार हुन्छ ।

समितिको बैठक अध्यक्षको निर्देशनमा समितिको सचिवले बोलाउँछ । बैठक बस्ने स्थान र समय सूचनामा उल्लेख गरिएको हुनुपर्छ । समितिको बैठक प्रायः समितिको कार्यालयमा बस्छ । समितको बैठकका लागि सूचना गर्दा बैठक बस्ने मिति, समय र स्थान खुलाइ पठाउनु पर्छ यसरी सूचना गर्दा बैठक बस्ने समयभन्दा तीन दिन अगावै उपलब्ध गराउनु पर्छ।

अर्थात समितिको बैठक बोलाउँदा सो बैठकमा छलफल गरिने विषय स्पष्ट रुपले किटान गरी बैठक बस्ने मिति भन्दा ३ दिन भित्र संभव भएन भने कम्तीमा २४ घण्टा अगावै सचिवले सवै सदस्यलाई उपलब्ध गराउनु पर्ने हुन्छ। अर्थात् यो विषय बैठक कार्यविधि अनुसार हुन्छ। समितिको अध्यक्षको निर्देशनमा सचिवले समितिको बैठक सञ्चालनको कार्यक्रम लिखित रुपमा तयार गर्नुपर्छ। प्रस्ताव सम्बन्धी खाका पनि तयार गर्नुपर्छ।

२ बैठकको सञ्चालन

बैठकको सञ्चालन अन्तर्गत उपस्थिति, अध्यक्षता ग्रहण, उपस्थितहरुको सही, बैठक सञ्चालकको निर्धारण, एजेण्डा प्रस्तुती, एजेन्डाहरु स्लाइडमा प्रस्तुतिकरण गर्ने वा पेपरमा वितरण गर्ने र प्रत्येक सहभागीले पालैपालो एजेन्डामा विचार दिने तथा छलफल गर्ने, हरेकले बोलेको नोट तयार गर्ने, निर्णय लेखनको तयारी , अध्यक्षले समग्रतालाई लिएर निर्णय प्रस्तुत गर्ने र प्रमाणित गर्ने जस्ता विषयहरू यस अन्तर्गत पर्छन्।

बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तिकामा आफ्नो नाम र बुझिने गरी दस्तखत गर्नुपर्छ । सचिवले समितिको बैठकमा सचिवको रुपमा उपस्थिति पुस्तिकामा उपस्थिति जनाई दस्तखत गर्नुपर्छ । बैठक संचालन प्रक्रिया अन्तर्गत बैठकको सञ्चालन प्रायः समितिको सचिवले गर्ने प्रचलन रहेकोको सञ्चालन गर्नुपर्छ । कतै कतै अध्यक्षले बैठक प्रारम्भ र सञ्चालन पनि गरेको पनि पाइन्छ।

बैठकको छलफलको क्रम विषयसूचीका आधारमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुन्छ । समितिको बैठक अध्यक्षको अध्यक्षतामा बस्छ अर्थात् समितिको अध्यक्षले बैठकको अध्यक्षता गर्नुपर्छ । जसले बैठकको सञ्चालन गर्ने, बैठककलाई सुव्यवस्थित गर्ने, निर्देशन दिने, रुलिङ गर्ने, नियन्त्रण गर्ने तथा व्यवस्थापन गर्ने काम गर्नुपर्छ । बैठक एजेन्डाभन्दा बाहिर जान आट्यो या बैठकमा संस्थाको हित विपरीतका कुराहरू आउन लागे वा उद्देश्य भन्दा बाहिर जान आट्यो अथवा वैष्ठकमा अनावश्यक कुराहरू हुन थाले भने बैठकलाई सही ट्रयाकमा ल्याउने काम पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिकै हुन्छ।

अध्यक्षको आसनको सम्मान र आदर गर्नु समितिका प्रत्येक सदस्यको कर्तव्य हुन्छ । अध्यक्षको अध्यक्षत्मक पद्धतिको पालना गर्नु ,रुलिङलाई मान्नु, बैठक सञ्चालन तथा व्यवस्थापन निर्देशिका अनुसार आफूलाई प्रस्तुत गर्नु इमान्दार हुनु, तथ्य र प्रमाणको आधारमा समग्रतालाई पनि ख्याल गर्दै स्वार्थभन्दा माथि उठेर विचार प्रस्तुत गर्नु प्रत्येक व्यक्तिको कर्तव्य र दायित्व हुन्छ।

बैठकको छलफलमा भाग लिने सदस्यले बोल्ने पालो तथा बोल्न पाउने समयको अवधि बैठकको अध्यक्षले तोकेबमोजिम हुन्छ । बैठक सञ्चालनको सुरुवात पूर्व बैठकको निर्णयको समीक्षा गर्दै वर्तमानको एजेण्डाहरू प्रस्तुत गरी प्रत्येक एजेन्डा माथि अलगअलग हिसाबले पालैपालो प्रत्येक सदस्यहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न अध्यक्षले समय दिनुपर्छ। त्यसपछि बैठकमा भाग लिएका समितिका प्रत्येक सदस्यहरूले पालैपालो विषयवस्तुमाथि आफ्ना विचारको प्रस्तुति गर्नुपर्छ ।

एक जना सदस्यले बोलिरहेको समयमा अर्को कुनै सदस्यले बीचमा कुरा काट्नु हुँदैन । एक सदस्यले अर्को सदस्यको विचारको सम्मान गर्नुपर्छ र र आफ्ना विचारहरु दिँदा प्रत्येकले तथ्य र प्रमाण तथा उपयोगिताको आधारमा संस्थाको हितको आधारमा दिनुपर्ने हुन्छ ।

बैठकमा प्रस्तावमाथि सम्पूर्ण सदस्यहरुले हरेक एजेन्डामाथि आफ्ना विचारको प्रस्तुतिकरण तथा छलफल गरिसकेपछि आएका महत्त्वपूर्ण विचारहरूको निष्कर्ष नोट अध्ययन गर्दै उनीहरूको विचार छलफलको समग्रतालाई प्रतिनिधित्व हुने गरी अध्यक्षले आफ्नो विचारलाई समेट्दै अन्तिम निर्णय प्रस्तुत गर्नुपर्ने हुन्छ। र उक्त कार्य बैठकको प्रस्तावमाथि बोल्ने क्रम समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सो प्रस्ताव निर्णयको लागि सभामा प्रस्तुत गर्नुपर्छ। र उक्त निर्णय सर्वसम्मत रूपले पारित हुनुपर्छ अर्थात् गर्नुपर्छ । निर्णय भएका प्रत्येक एजेन्डाहरूको कार्य योजना र कार्यान्वयन तालिका को मोटामोटी योजना समेत प्रस्तुत गरेर त्यसलाई पारित गराउनुपर्छ।

बैठकको निर्णय सामान्यतया सर्वसम्मतिको आधारमा हुन्छ तर मत विभाजन हुने अवस्थामा अध्यक्षता गर्ने व्यक्तिको मत निर्णयक हुन्छ । तर त्यस्तो अवस्था सिर्जना हुन नदिन अध्यक्षले अत्यन्तै सजग भएर विवेकपूर्ण भूमिका निभाउनुपर्ने हुन्छ।

३. बैठकको समापन

बैठकमा छलफल भैसकेपछि निर्णयको अभिलेख गर्ने, माइन्यूट प्रमाणिकरण गर्ने, वितरण/सार्वजनिकिकरण र कार्यान्वयन गर्ने, त्यसको लागि कार्ययोजना बनाउने तथा बैठक/माइन्यूटको निरन्तर प्रगतिको अनुगमन गर्न फलोअप गर्नुपर्छ । र त्यसको जवाफदेहिता लिनुपर्छ।

समितिको सचिवले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तिकामा अभिलेख गरी उपस्थित सदस्यलाई पढेर सुनाएर सही गराइ प्रमाणीकरण गरेर राख्नुपर्छ त्यसपछि बैठकको समापन भएको घोषणा अध्यक्षले गर्नुपर्छ। उक्त बैठकको दिन भएका निर्णयहरू र उक्त निर्णय कार्यान्वयन गर्नको लागि बनेको कार्ययोजना समेत उल्लेख गर्दै त्यसको समय सीमा अथर प्रक्रियाहरू समेत उल्लेख गर्दै प्रत्येक सदस्यहरूलाई एकएकप्रति उपलब्ध गराउनुपर्छ।

निर्णय पुस्तिका लेख्दा ध्यान दिनुपर्ने कुराहरु

•बैठक नम्बर, मिति र स्थान, समितिको नाम, अध्यक्षता, उपस्थित सदस्य पदाधिकारीको हस्ताक्षर,अनुपस्थित सदस्य पदाधिकारीको नाम, एजेन्डा तथा निर्णयहरू व्यवस्थाहरू व्यवस्थित ढङ्गले उल्लेख गर्नुपर्छ ।
•प्रस्ताव, छलफल र निर्णयलाई क्रमबद्ध र व्यवस्थित रुपमा उल्लेख गर्नुपर्छ ।
•निर्णय पस्तिकामा औपचारिक कार्यालय भाषाको प्रयोग गर्नुपर्छ।
•निर्णय पुस्तिका दायाँ पेजमा मात्र लेख्नुपर्छ। बायाँ पेजलाई क्रस गर्नुपर्छ।
•निर्णय लेख्दा छोटो अर्थपूर्ण स्पष्ट र प्रभावकारी वाक्य संरचनाको प्रयोग गर्नुपर्छ।
•निर्णयलाई प्रचलित संविधान, कानूनसम्मत तथा सन्दर्भ सहितको बनाउने अधिकतम प्रयास गर्नुपर्छ ।
•निर्णय लेख्दा शब्द चयन अर्थको रचना तथा भाव लाई बुझेर मात्र उल्लेख गर्नुपर्छ।
•निर्णय लेख्दा बीचबीचमा खाली ठाउँ छोड्नु हुँदैन किनकी खाली ठाउँ छोडेमा कसैले त्यसमा नयाँ निर्णय लेख्नसक्छ।
•निर्णयमा विवादिद दोहोरो अर्थ लाग्ने अस्पष्ट हुनु हुँदैन।
निर्णय लेख्दा अनावश्यक केरमेट गर्नुहुँदैन । यदि केरमेट गर्नैपरे एकपटक मात्र तेर्सो धर्कोले काटेर त्यसको दायाँ बायाँ अध्यक्षले हस्ताक्षर गर्नुपर्छ । निर्णय पुस्तिकामा टिपेक्स लगाएर मेट्ने वा गल्ती सच्याउने काम कदापि गर्नुहुँदैन । त्यो अबैध हुन्छ।
•निर्णय लेखिसकेपछि उक्त निर्णयलाई पढेर सम्पूर्ण सदस्यहरूलाई सुनाउनुपर्छ।
•अन्त्यमा निर्णयलाई प्रमाणीकरण गरेर अभिलेखिकरण गर्नुपर्छ।

बैठकबाट भएको कुनै निर्णयमा चित्त नबुझ्ने सदस्यले निर्णय पुस्तिकामा छोटकरीमा आफ्नो फरक मत जनाउन सक्नेछ । यद्यपि निर्णय गर्दा निर्णय सर्वसम्मत भयो भने अत्यन्तै उत्तम हुन्छ । तसर्थ अध्यक्षले निर्णयलाई सर्वसम्मत गराउने हदैसम्मको प्रयास भने गर्नु चाहिँ पर्छ । औपचारिक रूपमा कुनै पनि संस्थामा पठाउनुपर्ने निर्णय भएमा उक्त संस्थाले नोट अफ डिसेन्टको निर्णयलाई स्वीकृत नगरेर पुन: सर्वसम्मतिको लागि फिर्ता पठाउन पनि सक्छ । तसर्थ त्यस्तो विषयमा समितिको अध्यक्ष अत्यन्तै संवेदनशील चाहिँ हुनैपर्छ ।

यसर्थ बैठक संस्थाको हितमा,उद्देश्य प्राप्तिमा, उन्नयन र प्रगतिमा, तथा संस्थामा देखिएका समस्या समाधान गर्नको लागि अत्यन्तै प्रभावकारी र फलदायी हुन्छ । बैठकको तयारी, सञ्चालन र समापनका सम्पूर्ण प्रक्रियाहरु अत्यन्तै नियमपूर्वक अनुशासनमा रही,स्वार्थभन्दा माथि उठेर निस्वार्थ भावले गर्ने हो भने संस्थाको उन्नति, प्रगति, समृद्धि हुन बेरै लाग्दैन। तर बैठक सञ्चालनको समग्र प्रक्रिया विधिसम्बत, निर्देशिका अनुकूल, वैज्ञानिक तथा समग्रतामा आधारित चाहिँ हुनैपर्छ त्यति मात्र होइन प्रत्येक सदस्य तथा अध्यक्ष संस्थाप्रति इमान्दार, जवाफदेही र मिहिनेती हुनैपर्छ।

शिक्षक, सुनपकुवा मा वि उर्लाबारी ०२ मोरङ ।

प्रतिकृया दिनुहोस्