काठमाडौं । राष्ट्रिय आवश्यकता र बजारको माग अनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रभावकारी हुन नसकिरहेको सरोकारवालाहरुले बताएका छन् । एकातिर लाखौं युवाहरु बेरोगार बनिरहने र अर्कोतर्फ उद्योग व्यवसायमा आवश्यक जनशक्ति नपाउने अवस्था रहेको भन्दै राष्ट्रिय आवश्यकता र मागका आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षा दिइनुपर्नेमा उनीहरुको जोड थियो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटि) लाई स्वतन्त्र र स्वयत्त निकाउ बनाइनुपर्ने, पूर्वाधार बिनाका प्राविधिक शिक्षालयलाई अनुमति दिन बन्द गर्नुपर्ने, दिएकाहरुको वर्षैपिच्छे नविकरणको व्यवस्था हुनुपर्ने, सिटिइभिटि, प्राविधिक शिक्षालय र उद्योग व्यवसायबिच सम्बन्ध र सहकार्य स्थापित गरेमात्रै प्राविधिक शिक्षा प्रभावकारी हुने उनीहरुको भनाइ थियो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारको एउटै लक्ष्य प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास, विस्तार र गुणस्तर सुधार रहेको स्पष्ट पारे । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम बजारकोमाग, राजनीतिक रुची, विकास र विस्तार गर्ने सरकारी नीति पनि भएकाले यसको विकास र विस्तारमा मन्त्रालय क्रियाशील रहेको उनको भनाइ थियो ।
प्राविधिक शिक्षा ऐनको मस्यौदा अन्तर्मन्त्रालय छलफलमा रहेको र त्यसमा सिटिइभिटिको संघीय मर्मअनुरुपको विकेन्द्रियकरण, उपाध्यक्ष नराखि सिइओ राख्नेलगायतका विषयमा छलफल भइरहेको उनले जानकारी दिए । यसमा अझै छलफल गर्न मन्त्रालय सधैँ खुला रहेको उनको भनाइ थियो । कानून र संरचनाको बारेमा कार्यदल बनाएर छलफल गरिरहेको उनले जानकारी दिए ।
प्राविधिक तथा व्यवसायिक शिक्षालाई राष्ट्रिय मात्रै नभइ अन्तर्राष्ट्रिय बजारको माग, आवश्यकतासँग जोड्दै प्रतिस्पर्धी जनशक्ति उत्पादनकेन्द्रित बनाउँदै लग्नुपर्ने उनको भनाइ थियो । बजारका हरेक चुनौती सम्बोधसमाधान गर्न सक्ने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सोही अनुसारको संरचना, पूर्वाधार र पाठ्यक्रम सोही अनुसार नै विकास गर्दै लग्नुपर्ने प्रवक्ता शर्माले बताए । तालिम सञ्चालन गर्न पहिले तालिम आवश्यकता र बजार मागको पहिचान हुनुपर्नेमा उनको जोड थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का सहसभापति सुमित केडियाले उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग व्यवसाय महासंघलगायतसँग छलफल गरी बजारमा आवश्यक जनशक्तिको पहिचान र प्रक्षेपण गर्दा वेश हुने बताए ।
प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम सञ्चालन गर्न सिटिइभिटिलाई मात्रै दिँदै यसलाई स्वयत्त निकाय बनाउनुपर्ने भन्दै विभिन्न मन्त्रालयले आफुखुसी प्राविधिक शिक्षा सञ्चालन गर्न नहुने उनको भनाइ थियो । विदेशिने जनशक्तिलाई मात्रै आधार मानि पाठ्यक्रम बनाइने गरेको प्रति असहमति व्यक्त गर्दै केडियाले नेपालका उद्योग व्यवसाय र राष्ट्रिय आवश्यकताका आधारमा पनि पाठ्यक्रम बनाइनुपर्ने बताए ।
उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति रविनकुमार श्रेष्ठले सरकारले प्राविधिक शिक्षा र तालिम लिन साथ प्रमाणपत्र बोकेर विदेश जाने होइन कि स्वदेशका उद्योगधन्दामा रोजगार हुने किसिमको नीति ल्याउन आवश्यक रहेको बताए ।
अब प्राविधिक तालिम उद्योगधन्दामै गर्ने र शैद्धान्तिक शिक्षा मात्रै शिक्षालयहरुमा चलाउने गरी व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
‘हिजोका दिनमा सिटिइभिटिले बजारको आवश्यकतालाई भन्दा स्वरोजगार जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दा उद्योगधन्दामा आवश्यक जनशक्ति आयात गर्ने अवस्था थियो ।’ उनले भने, ‘पछिल्लो दिनमा केही सुधार आएपनि उद्योग धन्दाको आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्ने कामको शुरुवात अझै हुन सकेको छैन ।’ नेपालमा अहिले निर्माण, कृषि र पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको भन्दै उनले यस विषयका दक्ष जनशक्तिलाई रोजगारीको कुनै समस्या नरहने बताए ।
उद्योग मन्त्रालयसँग सहकार्य गरी फुटवेयर क्षेत्रमा वार्षिक २–३ सय जनालाई तालिम दिएर रोजगारी दिने गरिएको उहाँले जानकारी दिए । यस्तै तत्काल १२ सय जनशक्तिलाई तालिम दिएर रोजगारी दिन मन्त्रालयबाट अनुरोध आएको र त्यसमा काम भइरहेको उनले बताए ।
नवलपुरको कावासोती नगरपालिका स्रोत शिक्षक तिर्थराज कँडेलले आवश्यकता एकातिर जनशक्ति उत्पादन अर्कोतिर हुँदा प्राविधिक शिक्षा प्रभावकारी नभएको टिप्पणी गरे । प्राविधिक शिक्षामा आवश्यकता, माग र उत्पादनसँग तालमेल नहुँदा एकातिर बेरोजगारी बढिरहने, उद्योगधन्दाले जनशक्ति नपाएर बाहिरबाट आयात गरिरहेने र अर्कोतर्फ सिटिइभिटिले आफ्नै सुरमा जनशक्ति उत्पादन गरिरहेने अवस्था रहेको उनको भनाइ थियो । यि तीनै पक्षबीच तालमेल मिलाउन जरुरी रहेको उनले बताए ।
सिटिइभिटिका निर्देशक महेशप्रसाद भट्टराईले आफुहरुले प्राविधिक तथा व्यवसायिक शिक्षालाई रोजगारी र उद्योग धन्दाको आवश्यकता र जनशक्तिको मागमा आधारित भएर अगाडि बढाइरहेको बताए । श्रम, उद्योग र शिक्षा मन्त्रालयले स्वामित्व लिने गरी यसलाई अगाडि बढाइएको उनको भनाइ थियो ।
हाम्रो अहिलेको परम्परागत मान्यता शिक्षाले रोजगारी ल्याउँछ, रोजगारीले व्यवसाय प्रवद्र्धन हुन्छ त्यसैले शिक्षामा लगानी गरियो भने व्यवसाय प्रवद्र्धन प्राकृतिक रुपमा हुन्छ, रोजगारी पनि स्वाभावलै हुन्छ भन्दै यि तीन कुराहरुलाई छुट्टाछुट्टै हेर्ने चलन रहेको उनले बताए । अब यस अवधारणा बदल्न पर्ने भन्दै उनले व्यवसाय प्रवद्र्धनले मात्रै रोजगारी ल्याउने र रोजगारी भए पैसा तिरेर पनि सिक्ने भएकाले लगानीको दिशा परिवर्तन गर्नुपर्ने खाँचो औल्याए ।
व्यवसायिक शिक्षा सिक्ने र सिकाउने थलो उद्योग–व्यवसाय हुनुपर्ने यसले व्यवसाय प्रवद्र्धन पनि हुने र शिक्षा र सिपको पुस्तान्तरण पनि हुने उनको भनाइ थियो । त्यसैले सिटिइभिटिले औद्योगिक क्षेत्रभित्र शिक्षालय राख्ने, कार्यगत तालिमको व्यवस्था मिलाउने काम गरेको भन्दै निर्देशक भट्टराईले प्राविधिक तथा व्यवसायिक शिक्षा उद्योग व्यवसायकै लागि भएको बताए ।
उद्योग व्यवसायहरु प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण, तालिम सञ्चालन, प्रमाणिकरणमा सहभागी हुने उनको भनाइ थियो । सरकारले पनि राष्ट्रिय योग्यता प्रारुप बनाएर यही क्षेत्रलाई जोड दिएको उनले बताए ।
शिक्षालाई रोजगार प्रवद्र्धनमा जोड्दै अगाडि बढाउनुपर्ने, उद्योग धन्दाका दक्ष कालिगडलाई प्रशिक्षकको रुपमा परिचालन गर्नुपर्ने, त्यहाका कार्यशालालाई प्रयोग शाला बनाउनुपर्ने, त्यहाँको लगानीलाई शिक्षा र उत्पादनको खर्चको रुपमा परिभाषित गर्ने गरी अगाडि बढ्नुपर्ने भट्टराईले आवश्यकता औंल्याए ।
आजको शिक्षा साप्ताहिकको संवाद शृंखला अन्तर्गत मंगलबारको ‘व्यवसायिक शिक्षा र रोजगारदातासँगको अन्तर्सम्बन्ध’ विषयक चौंथो भर्चुअल संवादमा उद्योगव्यवसायी, प्राविधिक शिक्षालयका सञ्चालन, निजी क्षेत्रका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी,शिक्षक पत्रकारलगायतको सहभागिता रहेको थियो ।