पाठ्यपुस्तकका सामग्रीले विद्यार्थीलाई रत्याउनुपर्ने, बुझ्न सहज पार्नुपर्ने र त्यसको प्रभाव गहिरोगरी पार्नुपर्ने हो । त्यसका लागि भाषाशैली, ले–आउट जस्ता पक्षमा ध्यान दिनुपर्ने हो । अझ प्राथमिक तहका पाठ्यपुस्तकमा त शब्द, वर्णन कम र चित्र बढी हुनुपर्ने तर त्यसो हुन सकिरहेको छैन । अहिले प्राथमिक तहको सबै पाठ्यपुस्तक बल्ल रङ्गीन बनाउने तयारी भइरहेको छ । अन्यथा, किताबी भरमा परेका शिक्षकहरुले गुराँस वा सिम्रिकबारे पढाउँदा ‘कालो गुराँस’ अथवा ‘कालो सिम्रिक’ पढाइरहेका हुन्थे ।
खोटाङका जिल्ला शिक्षा अधिकारीले जिल्लाका ३० विद्यालयमा पाठ्यपुस्तकको साटो पाठ्यक्रम पढाउने नयाँ व्यवस्था लागू गरेका छन् । ती विद्यालयहरुमा शिक्षकले पाठ्यक्रममा आधारित भएर प्रकृति, वातावरण, इन्टरनेटलाई आधार मानी पढाउनेछन् । विद्यार्थीलाई एउटै पुस्तक पढ्ने बाध्यता हुने छैन । पुस्तकालयमा भएका जुनकुनै पनि पुस्तक पढ्न पाउँनेछन् । हरेक विषयको एउटा कक्षा हुने छैन । एकै सन्दर्भका एउटा कक्षा दिनभर सञ्चालन हुनेछन् । त्यसमा हरेक विषयका सीपहरु सिकाइनेछ । सरकारी विद्यालयमा योजनाबद्ध रुपमा पाठ्यक्रम सिकाउने प्रयास यसलाई नै पहिलो मान्न सकिन्छ । शिक्षा निकायका कर्मचारीहरुले बेला–बेला ‘पाठ्यक्रम पढाउने हो, पाठ्यपुस्तक होइन’ भनेर दार्शनिक भाषण गर्ने गरेको भएपनि त्यसको व्यवहारिक कार्यान्वयन भने भएको थिएन ।
विद्यालयहरुमा अझै पनि पाठ्यक्रमका आधारमा नभई पाठ्यपुस्तकै भरमा शिक्षण सिकाइ हुने गरेको छ । पाठ्यक्रमका आधारमा पाठयोजना बनाई क्रियाकलाप र अनुसन्धानमुखी शिक्षा दिने उद्देश्य कागजमै सीमित बन्न पुगेको छ ।
पाठ्यक्रम पढाउने हो कि पाठ्यपुस्तक भन्नेमा शिक्षकहरु अल्मलिनुमा शैक्षिक प्रणाली नै दोषी रहेको शिक्षाविद डा. विष्णु कार्की बताउँछन् । शिक्षकहरुलाई दिने तालिम नै पाठ्यपुस्तकमा आधारित भएकाले उनीहरु पाठ्यपुस्तकभन्दा बाहिर जान नसकेको डा. कार्कीको बुझाइ छ । शिक्षकहरुले तालिममा पनि पाठ्यपुस्तककै विषयवस्तुका आधारमा शिक्षण गराउने सिके अनि उनीहरु पाठकै विषयवस्तुमा मात्रै भर परे ।
‘विषयवस्तुमा आधारित भएर शिक्षा दिने भन्दापनि विद्यार्थीमा शिक्षण सीप दिनुपथ्र्यो त्यसो हुन सकेन,’ कार्की भन्छन्, ‘पाठ्यपुस्तक हात नपरेसम्म शिक्षकले पढाउन शुरु नै नगर्ने भए । पाठ्यक्रमका आधारमा सिकाउने भन्ने विषय शिक्षकले थाहा पाएनन् र हामीले सिकाएनौ पनि ।’
लामो समय शिक्षकलाई तालिम दिँदै आएका शिक्षक तालिमकर्ता टीकाराम रेग्मी पनि पाठ्यपुस्तक नभइ पढाउने पाठ्यक्रम नै भएको बताउँछन् । ‘पाठ्यपुस्तक नपढाए’नि हुन्छ । पाठ्यक्रम भने पढाउनुपर्छ,’ उनी भन्छन् ।
पाठ्यक्रममा आधारित भएर जुनकुनै पुस्तक, पाठ्य–सामग्री, इन्टरनेटका विषयवस्तु, प्रकृति र संस्कृति पढाउनुपर्नेमा जोड दिँदै रेग्मी भन्छन्, ‘शिक्षकले किताब पढाउने नभई नयाँ कुरा सिक्ने वातावरण मात्रै सिर्जना गरिदिनु पर्छ ।’
वि.सं. ०२८ साल अघि शिक्षकहरू स्वयंले विषयगत रूपमा विद्यार्थीका लागि पाठ्यक्रम निर्माण गर्थे । त्यतिबेला शिक्षण पद्धतिमा ‘रैथाने सीप र ज्ञान’ प्रयोग गर्ने स्वतन्त्रता शिक्षकमा थियो । तर, नयाँ शिक्षा लागू भएपछि माथिल्लो तहबाट शिक्षकमाथि अंकुश लगाइयो र ऊ एउटा कर्मचारीजस्तो बन्यो । यो प्रक्रिया पछिल्लो दशकसम्म आइपुग्दा कस्तो नियतिमा बदलियो भने अहिले पनि ५० प्रतिशतभन्दा बढी शिक्षकलाई पाठ्यक्रमबारे थाहै छैन ।
जबकि पाठ्यपुस्तकले मात्र ५०÷६० प्रतिशत मात्रै पाठ्यक्रमलाई समेटेको हुन्छ । शिक्षकहरु अहिले पाठ्यपुुस्तकलाई नै सबैथोक ठान्ने अवस्थामा पुगेका छन् । समय, समाज, प्रविधि र ज्ञान– विज्ञानका कुरा बदलिएका छन् ।
बालबालिकाका दिनचर्या, उनीहरूको अपेक्षा र मनोविज्ञानको आयाम पनि बदलिएको छ । तर, पाठ्यपुस्तकको सापेक्ष स्तरोन्नति भएको छैन । विषयवस्तु प्रस्तुत गर्ने र मूल्याड्ढन गर्ने पद्धतिमै पाठ्यपुस्तक चुकेका भन्छन् शिक्षाविद्हरु । शिक्षक विद्यार्थीलाई पाठ पढाउँछन् । हुनुपर्ने के थियो भने त्यो पाठमा भएका गाह्रा शब्द र तिनका अर्थ पहिला सिकाइनुपथ्र्यो ।
जटिलखालको व्याकरण र त्यससँग जोडिएका वाक्य संरचना पहिल्यै सिकाइनुपथ्र्याे । त्यसपछि बल्ल विद्यार्थीले सहज ढङ्गमा पाठ पढ्न सक्छ । जबकि, हाम्रा पाठ्यपुस्तकले पहिला पाठ प्रस्तुत गरेर बल्ल शब्दार्थ र व्याकरणबारे विवरण प्रस्तुत गर्छन् । भाषा विज्ञान र सिकाइको तौरतरिकाका हिसाबले यो उल्टो क्रम हो भन्छन् शिक्षाविद्हरु ।
पाठ्यपुस्तक नै कति आवश्यक ?
विद्यालयमा पाठ्यपुस्तक नै आवश्यक छैन भन्छन् शिक्षाविद् डा. विष्णु कार्की । ‘पाठ्यपुस्तक त शिक्षण सिकाइका लागि सन्दर्भ–सामग्री मात्रै हुन् । खास सिकाउने त पाठ्यक्रम हो तर हामीकहाँ उल्टो भइराखेको छ,’ उनी भन्छन् । शिक्षकले किताब पढाउने र विद्यार्थीले पनि पाठ्यपुस्तक मात्रै कण्ठ गर्दा सिकाइको दायरा साघुँरिदै गएको छ ।
अष्ट्रेलिया, फिनल्याण्ड, क्यानडालगायतका देशमा विद्यार्थीहरु किताब बोकेर विद्यालय जाँदैनन् । फिनल्याण्डमा पाठ्यपुस्तक नै नदिने विकल्प छ । अष्ट्रेलिया र क्यानडामा पुस्तकालयमा मात्रै पाठ्यपुस्तक राख्ने र विद्यार्थीलाई शैक्षिक सामग्रीको रुपमा मात्रै सापटी दिने चलन छ । चीनमा एउटै किताब दुई–तीन जनालाई पढ्न लगाउने चलन छ । पाठ्यपुस्तक नै नभई हुन्न भन्ने मान्यता नै पुरानो भइसकेको जिकिर गर्छन् शिक्षाविद् डा. विद्यानाथ कोइराला । अहिले अनेकन् विकल्प सतहमा आइसकेको बताउँदै उनी अरू मुलुकका कतिपय अभ्यासबाट पनि सिक्न सकिने बताउँछन् ।
पाठ्यपुस्तक शिक्षकका लागि नभएर विद्यार्थीका लागि बनेका हुन् । शिक्षकका लागि त पाठ्यक्रम छ । ‘यदि शिक्षकले पाठ्यपुस्तक कक्षामा पढ्छ भने त्यो शिक्षक हुनै सक्दैन,’ डा. कोइराला भन्छन्, ‘नेपालका केही विद्यालयमा शिक्षकहरुले कक्षाकोठामा पुस्तक बोकेर जान र किताबकै आधारमा सिकाउन सुरु गरेका हुन् ।’
नेपालमै विश्वविद्यालयहरुमा निश्चित पाठ्यपुस्तक नभएको उनीहरु पाठ्यक्रममा आधारित भएर जुनसुकै पुस्तक पढ्न सक्ने भन्दै शिक्षाविद् कार्की देशका लागि जनशक्ति उत्पादन गर्ने ठाउँमा पाठ्यपुस्तक नचाहिने साना बालबालिकालाई भने पुस्तकको भारी बोकाइने गरेको बताउँछन् ।
तिलिङ्गाटार माविका प्रअ पाण्डे वास्तवमा पाठ्यपुस्तक आवश्यक नरहेको बताउँछन् । उनको तर्क छ, ‘पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पठाउँदा शिक्षकले पाठ्यपुस्तक मात्रै पढाउने गरेको भन्दै किताब पढाउन छाडे कम्तिमा खोजेर पढाउन थाल्नेथिए । पाठ्यपुस्तक छाप्न आवश्यक नै छैन ।’
शिक्षाविद् कोइराला पनि पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पु¥याउनुभन्दा पुस्तकालयमा मात्रै राख्ने र कक्षामा खोजेर क्रियाकलापबाट पढाउनुपर्ने बताउँछन् ।
मानसिक तनाब मात्रै
पाठ्यपुस्तक केन्द्रित शिक्षण सिकाइले बालबालिकामा डर र मानसिक तनाब मात्रै थपेको विद्यालय मनोविद् मधुविलास खनाल बताउँछन् । शिक्षकहरुले पाठ्यपुस्तक मात्रै पढाउने र विद्यार्थीले जसरी पनि जान्नैपर्ने बाध्यताले शिक्षण सिकाइ रमाइलो भन्दापनि भद्दा बन्दै गइरहेको उनको भनाइ छ । बालबालिकालाई स्तरहीन पुस्तक जति धेरै बोकायो, उनीहरूमा त्यति धेरै दबाब सिर्जना हुने, कक्षाकोठामा शिक्षकले पढाएको बुझ्ने र त्यसलाई स्मरण गर्ने मनोदशा प्रभावित हुने मात्र होइन, यस्तो अवस्थामा गृहकार्यको चाप पनि विद्यार्थीमा थपिँदा उनीहरुमा शिक्षक र सिकाइप्रति नै वितृष्णा बढिरहेको खनाल बताउँछन् ।
‘हाँस्दै, खेल्दै र रमाउँदै सिक्नुपर्ने उमेरमा यान्त्रिक प्रकृतिका झन्झटले कलिला मस्तिष्कमा विस्तृष्णा पैदा गर्छ । त्यसैले, कतिपय बालबालिकामा टोलाइरहने, छिटो रिसाउने र खुसी हुन नसक्नेजस्ता लक्षण देखिन सक्छन्,’ खनाल थप्छन्, ‘त्यसैले धेरै विकसित देशहरुले प्राथमिक तहका विद्यालयले व्याग र होमवर्करहित शिक्षा अभ्यास गरिरहेका छन् ।’
पाठ्यपुस्तक भनेका पाठ्यक्रमका सहयोगी सामग्री मात्रै भएपनि त्यसमै मात्र केन्द्रित भएर शिक्षण सिकाइ गराउँदा बालबालिकाहरु अन्य जीवन बाँच्ने कलाहरु सिक्नबाट बञ्चित रहँदै आएको मनोविद् खनाल बताउँछन् ।
भरिया विद्यार्थी
हामीकहाँ पुस्तकमा आधारित शिक्षण सिकाइ हुँदा विद्यार्थीहरु सबै पुस्तकसहितको गरुङ्गो झोला बोकेर विद्यालय जाने गर्छन् । सबै विषयका पुस्तक र तिनका कपी गरेर झण्डै दुई दर्जन किताब–कपी बोकेर विद्यार्थीहरु विद्यालय जाने र शिक्षकले पनि किताबमा जे छ, त्यहीँ मात्रै पढाउने गर्दा विद्यार्थीहरुको ज्ञानको दायरा पाठ्यपुस्तकभन्दा पर जान सकेको छैन । टिफिन बक्स, पानीको बोतल, शैक्षिक सामग्री, मोटा–मोटा कपी त छँदैछन्, त्यसैमाथि अनेकन् पुस्तकले भरिएको झोला बोकेर स–साना बालबालिका सकी–नसकी विद्यालय जाने गरेका दृश्य कहालीलाग्दो देखिन्छ ।
अझ, निजी विद्यालयमा पढ्ने विद्यार्थीको भारी त झन् बढी हुने गरेको छ । बालबालिकालाई भारी बोकाउने दुष्चक्र नरोकिएपछि विद्यालयहरूमा पाठ्यपुस्तक र पुस्तकहरूको सान्दर्भिकता, उपादेयता र स्तरबारे विचार–विमर्श पनि शुरु भएको छ । आफ्ना बालबालिकाले धेरैभन्दा धेरै पुस्तक बोक्दा अभिभावक खुशी हुनु, पाठ्यक्रम अनुसार तयार पारिएका भनिएका पाठ्यपुस्तकको समीक्षा तथा अर्थपूर्ण परिमार्जन नहुनु र त्यसैमाथि जथाभावी ढङ्गमा सन्दर्भ सामग्रीका रूपमा पुस्तकहरू कक्षाकोठामा भित्रिनुले बालबालिकाको सिकाइ सहज होइन, जटिल बनाउँदै लगेको देखिन्छ ।
परीक्षामा पनि पाठ्यपुस्तककै विषयवस्तु मात्रै सोधिने गर्दा पनि विद्यार्थी पाठ्यपुस्तकभन्दा बाहिर जान नसकेको शिक्षाविद्हरुको आरोप छ । हाम्रा शिक्षक, शिक्षण सिकाइ, परीक्षा र नतिजा पनि पाठ्यपुस्तक केन्द्रित भएकाले पूरै शिक्षा प्रणाली नै पाठ्यपुस्तककै वरिपरि घुमेको शिक्षाविद्हरुको ठम्याई छ । ‘इन्टरनेटको जमानामा यहाँका शिक्षकहरु समयमा किताब पाइएन भनेर रोइकराइ गरिरहेका छन् । यो लाजमर्दो कुरा हो,’ शिक्षाविद् डा. कार्की कटाक्ष गर्छन् ।
जथाभावि स्वीकृति
पाठ्यक्रम विकास केन्द्रले जथाभावी रूपमा आएका प्रकाशकका पुस्तकलाई स्वीकृति दिँदासमेत विद्यालय नै पिच्छे फरक पुस्तक पढाइ हुने अवस्था छ । पुस्तकको विषयवस्तु, भाषाशैली र सूचना ठीक छ कि छैन भन्ने तहमा मूल्याड्ढन भएको छैन । ती पुस्तकले पाठ्यक्रममा उद्देश्य र मर्मलाई कति आत्मसात् गरेको छ भन्ने स्पष्ट नभई झारा टार्ने काम हुँदा जस्ता पनि पुस्तक सन्दर्भ–सामग्रीका रूपमा अनुमोदित भइरहेका छन् । केन्द्रले हरेक वर्ष नयाँ प्रकाशक र वितरकका पुस्तकलाई सूचिकृत गर्ने गर्छ ।
पुस्तक लेखनको विधि र तहगत विद्यार्थीको मनोविज्ञान सापेक्ष बनाउने प्रक्रियामा खोट देखिएपछि स्तरहीन सन्दर्भ पुस्तकको भरिया बालबालिका बन्नु परिरहेको छ । पाठ्यक्रमलाई पाठ्यपुस्तकले नसमेट्ने भएकाले पाठ्यपुस्तककै आधारमा मात्रै सिकाउँदा विद्यार्थीमा पाठ्यक्रमले अपेक्षा गरेको सिकाइ उपलब्धि प्राप्त हुननसकेको पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक पुष्पराज ढकाल बताउँछन् ।
केन्द्रले सबै शिक्षकसमक्ष पाठ्यक्रम पुगोस् भनेर वेवसाइटमा राख्ने गरेको भएपनि शिक्षकले खोजेर नपढाउँदा समस्या भएको ढकाल बताउँछन् । केन्द्र पाठ्यक्रममा आधारित रहेर शिक्षण सिकाइ गर्न पाठ्यपुस्तकको विकल्पबारे तयारी गरिरहेको ढकाल बताउँछन् ।
हाम्रा पाठ्यपुस्तक कस्ता ?
पाठ्यपुस्तकमा समाहित विषयवस्तु र यिनको प्रस्तुतिकरणको शैली विश्वसनीय हुन नसकेको शिक्षाविद्हरू गुनासो गर्छन् । पाठ्यपुस्तकका सामग्रीले विद्यार्थीलाई रत्याउनुपर्ने, बुझ्न सहज पार्नुपर्ने र त्यसको प्रभाव गहिरोगरी पार्नुपर्ने हो । त्यसका लागि भाषाशैली, ले–आउट जस्ता पक्षमा ध्यान दिनुपर्ने हो ।
अझ प्राथमिक तहका पाठ्यपुस्तकमा त शब्द, वर्णन कम र चित्र बढी हुनुपर्ने तर त्यसो हुन सकिरहेको छैन । अहिले प्राथमिक तहको सबै पाठ्यपुस्तक बल्ल रङ्गीन बनाउने तयारी भइरहेको छ । अन्यथा, किताबी भरमा परेका शिक्षकहरुले गुराँस वा सिम्रिकबारे पढाउँदा ‘कालो गुराँस’ अथवा ‘कालो सिम्रिक’ पढाइरहेका हुन्थे ।
पाठ्यपुस्तकहरू बालबालिकाका लागि अन्तक्र्रियामुखी, जिज्ञासु र रमाइलो महशूस गराउनेखालका हुनुपर्नेमा त्यसो हुननसकेको कोइराला बताउँछन् ।
पाठ्यपुस्तक विद्यार्थीका लागि बाँडिएपनि शिक्षकले त्यसैको आधारमा पढाउने गरेका र पाठ्यक्रम खोजेर त्यसैमा आधारित भएर पठनपाठन गर्ने भन्ने कुरा झन्झटिलो भएकाले समेत शिक्षकहरु पाठ्यपुस्तकमुखी भएका मंगलोदय मावि थानकोटका शिक्षक लिलानाथ शर्मा बताउँछन् । विद्यालयहरुमा अझै खुला सिकाइ र अनुसन्धान तथा जीवनमुखी सिकाइको विकास नभइसकेको भन्दै प्रअ शर्मा शिक्षकलाई पाठ्यपुस्तकबाट अलग्याउनुपर्ने धारणा राख्छन् ।
पाठ्यपुस्तकका उद्देश्य
पाठ्यपुस्तकका उद्देश्य भनेको बालबालिकाकामा पढ्ने लेख्ने र आफ्नो विचारलाई मौलिक ढङ्गले व्यक्त गर्न सक्ने वा त्यसका लागि समर्थ बनाउने हो । तर, पाठ्यपुस्तकबाट उनीहरुलाई रेडिमेड विचार प्रवाह गर्न बाध्य पारिएको छ । उनीहरुलाई पाठ्यपुस्तकका माध्यमबाट सोच्ने, विचार गर्ने अवसर पो दिनुपर्ने हो ताकि उनीहरुले त्यसबाट आफ्नो क्षमता विकास गर्न सकून् ।
‘विद्यालयलाई बिस्तारै पाठ्यपुस्तकका माध्यमबाट रेडिमेड विचारहरुको फ्याक्ट्रि बनाउँदै लगेका छौं । जसबाट हामीले यस्तो पिंढि तयार गर्दैछौं जसले समस्याहरुको समाधान आफैं गर्न छाडेर उनीहरु अन्यबाट समाधानको अपेक्षा राख्छन् । वास्तवमा किताबमात्रै ज्ञानको स्रोत र दायरा होइन,’ तिलिंगाटार मावि धापासी काठमाडौंका शिक्षक सरोज पाण्डेको बुझाइ छ, ‘किताबबाहेक पनि धेरै सिक्न जरुरी हुन्छ । तर, शिक्षकहरु पाठ्यपुस्तकभन्दा बाहिर जान नसक्दा विद्यार्थीहरुको ज्ञान पनि पाठ्यपुस्तकमा मात्रै सिमित बन्न पुगेको छ ।’ पाठ्यक्रमको आधारमा पढाइदिए विद्यार्थी फेल नै नहुने पाण्डेको भनाइ छ ।
शिक्षकलाई थाहै छैन, के पढाउने ?
शिक्षाविद् कोइराला शिक्षकहरुलाई के पढाउने, के सिकाउने, कति र कसरी सिकाउने भन्ने जानकारी नै नभएको बताउँछन् । उनको विचारमा अझै पनि शिक्षक कक्षामा विद्यार्थीका लागि तयार पारिएको किताब समाएर पढाउने गर्छन् । पाठ्यक्रमबारे थाहै छैन । किताब त विद्यार्थीले आफैं घरमा बसेर पढिहाल्छन् । शिक्षकले त थप विषय खोजेर सिकाउने पो हो त ।
कक्षामा किताब पढाउने शिक्षकलाई गाली गरे फरक पर्दैन । पाठ्यक्रमको उद्देश्य पूरा हुनेगरी जे सिकाए, जहाँबाट सिकाएपनि हुन्छ भन्ने कुरा शिक्षकलाई अझै बुझाउन नसकिएको तिलिङ्गाटार माविका प्राचार्य सरोज पाण्डे बताउँछन् ।
पाठ्यपुस्तकका लागि वार्षिक झण्डै दुई अर्ब
सरकारले १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई वर्षैपिच्छे पाठ्यपुस्तक वितरण गर्दै आएको छ । यसका लागि झण्डै वार्षिक दुई अर्ब रुपैयाँ बजेट खर्च हुँदै आएको शिक्षा विभागले जनाएको छ । शिक्षा विभागका शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा पाठ्यपुस्तक छपाइका लागि मात्रै १ अर्ब ८३ करोड ३ लाख ३१ हजार बजेट खर्च भएको छ ।
गत आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब ८५ करोड ५६ लाख १९ हजार ४ सय र आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ९६ करोड ४८ लाख ६५ हजार पाठ्यपुस्तक छपाइमा खर्च हुने गरेको अर्याल बताउँछन् । व्यवस्थापन र कार्ययोजनालगायत जोड्दा वार्षिक २ अर्बको हाराहारीमा सरकारले पाठ्यपुस्तकमा खर्च गर्ने गरेको छ । शिक्षाविद् कोइराला भने पुस्तक बाँड्न छाडेर त्यो बजेटले विद्यालयहरुमा पुस्तकालय बनाउनुपर्ने बताउँछन् ।
ठूलो झोला बोक्ने विद्यार्थीमा कुप्रोपन
भर्खरै भारतमा गरिएको एक अध्ययनले १३ वर्षका ६८ प्रतिशत बालबालिकामा स्कूल जाँदा ठूलो झोला बोक्नाले ढाड र कम्मर दुख्ने समस्या मात्रै होइन उनीहरु कुप्रोपनको शिकारसमेत बन्दै गएको देखाएको छ । एसोसिएटेड चैम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री अफ इण्डियाको एक स्वास्थ्य सेवा कमिटीले गरेको सो अध्ययनमा भारतका १३ वर्ष उमेरका ६८ प्रतिशत बालबालिकाले ठूला झोला बोक्दा शुरुमा हल्का कम्मर दुखाई महशूस गर्ने गरेका र पछि त्यो बढेर गम्भीर दुखाई र कुप्रोपनको रुपमा विकसित हुँदै आइरहेको देखाएको थियो ।
अनुसन्धानमा ७ देखि १३ वर्षका ८८ प्रतिशत बालबालिकामध्ये ४५ प्रतिशत बालबालिकामा स्कूल झोलामा धेरै पुस्तक, भारी आर्ट सामग्री, स्केसट्स, स्विमिङ्गब्याग, क्रिकेट खेल तथा अन्य खेल सामग्रीको भारी बोकेर स्कूल जाने गरेको पाइएको थियो । जसले गम्भीर रुपमा मेरुदण्डमा असर गर्ने र कम्मर दुखाईको मुख्य कारण पाइएको थियो । धेरै वजनदार झोला बोकाउँदा बालबालिकाका ढाड दुख्ने समस्या, रीढको हड्डीमा समस्या आउँछ । साथै, अत्यधिक बोझको झोला बोक्नुपर्ने तनाबका कारण बालबालिकाको मांसपेशीको सही विकास नहुने र काँधका वरिपरिका मांसपेशीमा समस्या आउने अध्ययनको निष्कर्ष छ ।
यो अनुसन्धान भारतका दिल्ली, कोलकत्ता, चेन्नई, बैंग्लोर, बम्बई, हैदरावाद, पुणे, अहमदाबाद, लखनऊ, जयपुरका साथै देहरादुन गरी दश शहरका २५०० विद्यार्थी र १००० अभिभावकमा गरिएको थियो । अनुसन्धानका क्रममा धेरैजसो अभिभावकले ७ देखि ८ घण्टी पढाइका लागि दैनिक २० देखि २२ किताब–कपीको भारी बोकेर छोराछोरी स्कूल जाने गरेको गुनासो गरेका थिए । त्यसमाथि पनि विद्यार्थीले संगीत, खेलकुदलगायतका सामग्री लग्ने गरेको उनीहरुको दुखेसो थियो ।
हामी गरेर देखाउँछौं
खोटाङका जिशिअ ज्ञानमणि नेपाल भने विद्यालयहरुमा पाठ्यपुस्तकबिनै पनि गुणस्तरीय सिकाइ हुन्छ भनेर आफूहरुले गरेरै देखाउने बताउँछन् । हाल जिल्लाका ९० माविमध्ये ३० वटालाई छनौट गरेर त्यो प्रक्रिया शुरु गरिसकेको जनाउँदै बिस्तारै जिल्लाका सबै विद्यालयहरुमा यो प्रणाली लागू गर्ने उनले स्पष्ट पारे ।
अब विद्यार्थीहरुलाई झोलामा पुस्तक नबोकाई पुस्तकालयबाट विषयसँग सम्बन्धित पुस्तक दैनिक एकवटा पढ्न लगाउने र भोलिपल्ट त्यसबाट के सिक्यो ? लेख्न र बोल्न लगाइने उनले जानकारी दिए । ‘अब पाठ्यपुस्तक पढ्ने होइन, पृथ्वी, हावा, पानी, आकाश, वनजङ्गलका बारेमा सिक्ने हो । अब विद्यालयहरुमा पुस्तक नभई प्रकृतिलाई आधार मानेर सिकाइने हो,’ उनले स्पष्ट पारे ।
जिशिअ नोपलका अनुसार ती विद्यालयहरुमा तीन किसिमबाट शिक्षण सिकाइ हुनेछन् । पहिलो प्रकृतिसँग जोडेर सिकाउने, दोस्रो विश्वसँग प्रतिस्पर्धा गर्न इन्टरनेटबाट खोजेर सिक्ने सिकाउने र तेस्रो नयाँ कुरा जान्न पुस्तकालय पढाउने । अब एकदिनभरी एउटै विषयमा पढाइ गरिन्छ । सबै विषय त्यसमै जोडेर पढाइन्छ । विद्यार्थीलाई होमवर्क नदिने तर उसले घरमा गरेका हरेक क्रियाकलापहरु डायरीमा लेखी दिनभरी विद्यालयमा ल्याएर सुनाउनुपर्ने जिशिअ नेपालले बताए ।
यसका लागि तयार नहुने शिक्षकलाई सरुवासमेत गर्ने उनले चेतावनी दिए । अब विद्यार्थीहरु एउटा इनारमा गएर स्वस्थ हुन सिक्छन्, इनारको बारेमा कविता लेख्न सक्छन्, त्यहाँको झारपात र भ्यागुताबाट विज्ञान, पानी भर्न आउने मान्छेहरुबाट सामाजिक, नैतिकताबारे जान्नेछन् अनि वरपरका वस्तुहरुका आधारमा गणित सिकेर सबैलाई अंग्रेजी माध्यममा बुझ्न लगाई सो भाषामा दख्खल राख्ने बनाइने पनि जिशिअ नेपालले बताए । ‘अब एउटा कक्षामा सिमित नभई पूरा प्रकृतिलाई नै कक्षा मानेर शिक्षण सिकाइ हुन्छ,’ उनले भने ।
२०७३ पुस २७ गते