पोखरा । पोखरामा सम्पन्न प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलनले नयाँ २९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको नेतृत्वमा संस्थापक अध्यक्ष सुदामप्रसाद गौतम दोहोरिएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा हेम्बराज कडेल र उपाध्यक्षमा टिकाराम पाण्डेय निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा लक्ष्मण श्रेष्ठ, उपमहासचिव मीन अछामी तथा सचिवहरूमा बेगबहादुर थापा, मन्जु बस्नेत र यामबहादुर श्रेष्ठ रहेका छन् । सम्मेलनले कोषाध्यक्षमा रिता तिवारी र सहकोषाध्यक्षमा हिमाल केसी निर्वाचित गरेको छ भने सदस्य सचिव घनश्याम न्यौपाने निर्वाचित भएका छन् ।
सदस्यहरूमा इन्द्रकुमार तामाङ, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्रप्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मणदत्त भट्ट, कुबेरप्रसाद भेटुवाल, विनिता कुमारी साह त्यस्तै महाबिर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल, डा. टंक दाहाल निर्वाचित भएका अध्यक्ष गौतमले जानकारी गराए ।
सम्मेलन उद्घाटन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पोखरा पुगेका थिए । उनले प्रधानाध्यापकहरुको शिक्षा सुधारको नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा देशका सातै प्रदेशका प्रधानाध्यापकका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। विभिन्न शैक्षिक चुनौती, विद्यालय व्यवस्थापन, नीति निर्माणमा प्रधानाध्यापकको भूमिका र विद्यालयमा नवप्रवर्तन विषयमा विविध सत्रहरू संचालन भएका थिए।
तीन दिने सम्मेलनले देशभरका प्रधानाध्यापकहरूको सहभागिता र सशक्त बहसका बीच संगठनको भावी कार्यदिशा तय गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। सम्मेलनले ‘सशक्त विद्यालय, सक्षम नेतृत्व’ लाई प्राथमिकतामा राख्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रधानाध्यापकहरूको भूमिका थप प्रभावकारी बनाउने संकल्पसमेत गरेको छ। नयाँ कार्यसमिति चयनसँगै संघले आगामी दिनमा विद्यालय प्रशासन, शैक्षिक गुणस्तर तथा प्रधानाध्यापकहरूको पेशागत सुरक्षा र पहिचानको लागि स्पष्ट कार्यदिशा तय गर्ने प्रतिबद्धता जनाएको छ।
संघका नव–निर्वाचित अध्यक्ष सुदामप्रसाद गौतमले प्रधानाध्यापक संघ नेपाल नेतृत्व विकास र विद्यालय रूपान्तरणको अभियानमा अझ अघि बढ्ने बताए । प्रधानाध्यापक सशक्त भए, विद्यालय सक्षम बन्ने बताउँदै उनले शिक्षामा गुणस्तर नै आफूहरूको धेय भएको उल्लेख गरेका छन् ।