सल्यान । त्रिवेणी गाउँपालिकाले आफ्नै पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउन थालेको छ । दुई वर्षदेखि आफैं पाठ्यक्रम तयार गरी कक्षा १ देखि ३ सम्म पठनपाठन गराइरहेको गाउँपालिकाले यो वर्ष ४ र ५ कक्षाका विद्यार्थीका लागि पाठ्यपुस्तक तयार गरेको हो ।
पाठ्यपुस्तकमा संस्कार, स्थानीय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिलगायत विषयवस्तु समावेश गरिएको छ । नेपालको संविधान र स्थानीय तह सञ्चालन ऐन–२०७४ अनुसार पाठ्यपुस्तक तयार पारिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘प्रविधि र पश्चिमा संस्कृतिको विकाससँगै बालबालिकाले आफ्नो संस्कार र संस्कृति भुल्दै गए,’ उनले भने, ‘पाठ्यपुस्तकले मौलिक संस्कृतिको जगेर्ना गर्न पनि मद्दत गर्नेछ ।’ उनले खेतीप्रति बालबालिकाको लगाव बढाउन पनि पाठ्यपुस्तक तयार गरिएको जानकारी दिए ।
स्थानीय तहको सामाजिक, आर्थिक र राजनितिक परिवेशलाई पनि पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ । आगामी वर्षदेखि ६ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तकबाट पठाइ गर्ने गाउँपालिकाको तयारी छ । गाउँपालिकाले तयार गरेको पाठ्यपुस्तक १ सय पूर्णांकको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर रानाले पाठ्यपुस्तकमा शिक्षक र विद्यार्थीले रचना गरेका आलेख, कथा र कविता पनि राखिएको बताए । उनका अनुसार पालिकाका ४० वटै विद्यालयले स्थानीय पाठ्यपुस्तकबाट पढाइ सुरु गरेका छन् । अहिले १ हजार ८ सय विद्यार्थीले उक्त पाठ्यपुस्तक अध्ययन गरिरहेको उनले जानकारी दिए । २२ लाख रुपैयाँ बजेटबाट पाठ्यपुस्तक तयार गरी प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ ।
पाठ्यपुस्तकको सम्पादन शिक्षक दामोदर शर्माले गरेका हुन् । उनका अनुसार पटकपटक अभिभावक, शिक्षक तथा विज्ञहरूसँग छलफल गरी पाठ्यपुस्तक प्रकाशन गरिएको हो । उनले आफ्नै पाठ्यपुस्तक पठनपाठन गराउने त्रिवेणी गाउँपालिका कर्णालीको पहिलो स्थानीय तह भएको दाबी गरे ।
कान्तिपुरमा खबर छ।