काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (नेशनल प्याब्सन) को ८औं महाधिवेशन वीरगञ्जमा हुने भएको छ । संस्थाका अध्यक्ष पाण्डव हमाल ठकुरी पक्षले वीरगञ्ज र अर्का अध्यक्ष सुवास न्यौपाने पक्षले काठमाडौं महाधिवेशन गर्ने भनी सूचना सम्प्रेषण गरेपछि महाधिवेशनबारे अलमल उत्पन्न भएको थियो ।

अन्ततः आसन्न महाधिवेशनका सन्दर्भमा पूर्वअध्यक्षहरु गीता राणा, कर्णवहादुर शाही र ऋतुराज सापकोटाले बुधवार संयुक्त अपिल जारी गरेका हुन् । तीन पूर्व अध्यक्षहरुले यही फागुन १५ र १६ गते हुने महाधिवेशन वैधानिक हुने बताउँदै त्यसमा सहभागी हुन अपिल गरेका हुन् ।

बारा जिल्ला नेशनल प्याब्सनको संयोजन र मधेश प्रदेशका आठ वटै जिल्लाको सहकार्यमा बारा जिल्लाको सिमरामा भएको केन्द्रीय पदाधिकारी तथा सदस्यबीच भएको छलफलमा आठौं महाधिवेशनको मिति र स्थानका सम्बन्धमा निर्णय लिन आफूहरुसमेतलाई दिइएको जिम्मेवारीका आधारमा सो अपिल गरिएको जनाइएको छ ।

तीन पूर्वअध्यक्ष र अध्यक्षद्वय ठकुरी र न्यौपानेसहितको पाँचजनालाई सिमराको बैठकले सर्वसम्मतरुपमा मिति र स्थानबारे निर्णय लिन जिम्मेवारी दिएकामा छलफलको क्रममा केन्द्रीय समिति बैठकको निर्णयको वैधानिकताको प्रश्न उठेपछि दुवै पक्षलाई प्रमाणित निर्णय पुस्तिकाको प्रतिलिपि यही फागुन १० गतेभित्र बुझाउन समय दिइएको थियो ।

उक्त अवधिमा एक पक्षले कैलाली जिल्लाको धनगढीमा भएको निर्णय पुस्तिका बुझाएको र अर्को पक्षबाट निर्णय पुस्तिकाको प्रतिलिपि प्राप्त नभएकोले केन्द्रीय समितिको धनगढीमा भएको वैधानिक सातौं बैठकले गरेको निर्णयानुसार पर्सा जिल्लाको वीरगञ्जमा यही फागुन १५ र १६ गते हुने राष्ट्रिय महाधिवेशन वैधानिक हुने ठहर तीन पूर्वअध्यक्षहरुको रहेको छ ।

प्रतिकृया दिनुहोस्