काठमाडौं । निरन्तर उत्पीडित वर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।

विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि मधुमेह र उच्चरक्तचापले पीडित थिए ।

काफ्लेको पार्थिव शरिरलाई शनिवार बिहान ८ बजे टिचिङ अस्पतालमा श्रद्धाञ्जली सभा गरेर शवयात्रा सहित आर्यघाट लगिएको थियो । उनको चितामा छोरी गरिमा काफ्लेले दागवत्ति दिएकी छन् ।

२०१९ साल चितवनको माडीमा जन्मेका काफ्लेका श्रीमती र एक छोरी छन् । छोरी गरिमाले नै चितवन माडीमा काज किरिया गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

स्थायी शिक्षकका रुपमा ४ वर्ष चितवन र नुवाकोटका विद्यालयहरुमा  अध्यापन समेत गरेका काफ्ले विरेन्द्र बहुमुखी क्याम्पसका सहप्रध्यापक समेत थिए । विगत दुईवर्ष देखि भने प्राध्यापन छाडेर काठमाडौंमै बसेर अस्थायी शिक्षक र विद्यालय कर्मचारीको कानूनी लडाइ लड्दै आएका थिए ।

२०५२ सालदेखि नै अधिवक्ताका रुपमा वकालत शुरु गरेका काफ्ले मुलुकभरका सुकुम्वासीहरुको मुद्दा जिताएर चर्चित भएका थिए । त्यसपछि योगी नरहरिनाथ, पूर्व युवराज पारस शाह लगायतको मुद्दा जिताएपछि उनको चर्चा चुलिएको थियो । राज्यको विपक्षमा उत्पीडित वर्गको मात्रै मुद्दा लड्ने काफ्लेले २०६६ सालको अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने सर्वोच्च अदालतको परमादेश र २०६७ को विद्यालय कर्मचारीको परमादेश समेत आफ्नै खर्चमा मुद्दा लडेर जारी गराउन सफल भएका थिए ।

सोही परमादेशका आधारमा सरकारले शिक्षा ऐनमा अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुलाई आन्तरिक प्रतियोगिता गरेर स्थायी गर्ने व्यवस्था गरेको थियो । अस्थायी शिक्षकहरु त आन्तरिक विज्ञापन भइ स्थायी भइसकेका छन् ।

गतवर्ष चितवन मावि भरतपुरको जग्गामा बनेका भवनहरु भत्काउन सर्वोच्चको फैसला गराउन सफल उनकै फैसलाका आधारमा नेपाल सरकारले हरित विद्यालय नीति ल्याउन बाध्य भएको थियो ।

अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा उनले दायर गरेका एक दर्जन मुद्दाहरु चलि नै रहेका छन् । उनले २०६३ सालदेखि स्थापना गरेका पुनरुत्थानवादी शक्ति समुह पार्टीको हाल ६३ जिल्लामा संगठन रहेका छन् । सबै जिल्लामा श्रद्धाञ्जली सभा सम्पन्न भएको पार्टीका नेता शेखरजंग रायमाझीले जानकारी दिए ।

काफ्लेले दायर संवैधानिक इजलाशका मुद्दा र अन्य उत्पीडित शिक्षकका मुद्दा समेत अब पार्टीले अगाडि बढाउने रायमाझीले जानकारी दिए ।

पार्टीका अर्का नेता शरद मिश्रले काफ्लेको स्मृतिमा कोषराज काफ्ले स्मृति प्रतिष्ठान गठन गरेर कानूनी र न्यायिक लडाइ जारी राखिने जानकारी दिए । उहाँले देखेको न्यायिक समाज निर्माण गरेरै छाड्ने र अस्थायी शिक्षक र विद्यालय कर्मचारीहरुलाई न्याय दिलाएरै छाड्ने उनको भनाइ थियो ।

२०७५ चैत्र १६ गते १५:१६मा प्रकाशित

प्रतिकृया दिनुहोस्