काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभा २०१९ । हरेकले छातिमा आ–आफ्नो देशको परिचयपत्र टाँसेका छन् । देशको प्रतिनिधित्व गरेका सहभागीहरुले आफ्नो देशमा भएको मानव अधिकार, स्वास्थ्य, पर्यावरण, सहश्राब्दी विकास लक्ष्यमा भएको प्रगति, बेरोजगारी, आर्थिक प्रगतिको अवस्थाका बारेमा चर्काचर्की बहस गरिरहेका छन् ।

नेपालमा सभा आयोजना भएकाले नेपाली सांसदहरुले ‘वान वेल्ट वान रोड’बाट नेपाललाई हुने फाइदाको विषयमा कुराहरु राखे । अफ्रिकन र समाजवादी केही देशहरुमा मानव अधिकारको अवस्थाप्रति सभामा चर्काचर्की भयो ।


सहभागीहरु डिआइएसइसी, युनएचसिआर, नेपाली संसद, इसिओएसओसी, एचसिसी, युएनडिपी, आइपिसीको छुट्टाछुट्टै बैठकमा आफ्नो देशको चर्को श्वरमा बखान गरिरहेका थिए । बिचबिचमा चर्काचर्की बढेपछि संयुक्त राष्ट्रसंघका महासचिवले मध्यस्थता गरेर केही साम्य बनाउथे । ३ दिनसम्म चल्ने महासभाको पहिलो दिनको उद्घाटन सत्रपछिको अवस्था यस्तो देखियो ।

यो दृश्य वास्तविक संयुक्त राष्ट्रसंघको महासभाको नभएर रिलायन्स पव्लिक स्कूलमा आयोजना गरिएको नमूना राष्ट्रसंघीय महासभाको हो । जहाँ विद्यार्थीहरुले  विभिन्न देशको प्रतिनिधित्व गर्दै नमूना राष्ट्रसंघीय महासभा सञ्चालन गरिरहेका थिए । काठमाडौं कपनस्थित रिलायन्स पव्लिक स्कूलले विगत ६ वर्ष देखि विद्यार्थीहरुको सहभागितामा यस्तो महासभा गर्दै आएको छ ।

बिहिवार देखि शुरु भएको रिलायन्स पब्लिक नमूना राष्ट्रसंघीय महासभा २०१९ मा ११ विद्यालयका २२३ विद्यार्थीहरु विभिन्न देशका प्रतिनिधिका रुपमा सहभागी छन् ।


उनीहरुले वास्तविक संयुक्त राष्ट्रसंघीय महासभाकै झल्को दिने गरी विभिन्न निकाय र देशको प्रतिनिधित्व गरी छलफलमा भाग लिइरहेका छन् । एउटा देशले गरेको दावी र प्रस्तुतिलाई अन्य विरोधी देशहरुले कडा आपत्ति जनाइरहेका देखिन्थे ।

विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघकै झल्को दिने गरी विभिन्न ७ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा छलफललाई सहजीकरणका लागि अध्यक्ष, उपाध्यक्ष र निर्देशकको व्यवस्था गरिएको थियो । राष्ट्रसंघका महासचिवको भुमिकामा रिलायन्स पव्लिक स्कूलकै विद्यार्थी दिपर्सनजंग थापा थियो ।

विद्यार्थीहरुलाई संयुक्त राष्ट्रसंघका सभाहरु क्सरी सञ्चालन हुन्छन, देशहरुबिच कसरी छलफल हुन्छन्, आन्तरिक नीतिहरु कसरी बन्छन्, सम्बन्धहरु क्सरी बन्छन्, एजेण्डाहरु कसरी प्रस्तुत हुन्छन् भनेर व्यवहारिक रुपमै जानकारी दिनका लागि यस्तो विद्यालयस्तरीय संयुक्त राष्टसंघीय महासभाको आयोजना गरिएको रिलायन्स शिक्षा नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिए ।


यसले एकातिर संयुक्त राष्ट्रसंघको सभाको वारेमा जानकारी हुने र अर्को तर्फ सहभागीहरुले विभिन्न देशका समस्या शुक्ष्मरुपमा अध्यन गरी प्रस्तुत गर्ने भएकाले एकैपटक विद्यार्थीलाई विश्वका समस्या  र अवस्था बुझ्न सहयोग पुग्ने थापाले  बताए ।

यस्तो कार्यक्रम संसारभर विश्वविद्यालय र विद्यालय तहमा हुने गरेको  र नेपाली विद्यार्थीहरुले पनि देशको प्रतिनिधिको रुपमा धेरै देशहरुमा सहभागीता जनाउँदै आएका पनि थापाले जानकारी दिए । महासभामा अन्तिम छलफलपछि पारित हुने एजेण्डालाई पछि संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइने पनि उनले बताए ।


थापाले यस कार्यक्रमले विद्यार्थीहरुलाई एकैपटक विश्व इतिहास, संस्कृति, राजनीति र सामाजिक अवस्था, वातावरण र विकास आदिको बारेमा जानकारी मिल्ने बताए ।

उद्घाटन सत्रमा बोल्दै डा. दिनेश भट्टराइले विद्यार्थीअवस्था देखि नै संयुक्त राष्ट्रसंघको बारेमा बुझाउँदै गए पछि देशको अझैराम्रो सहभागिता हुने बताए । यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमले विद्यार्थीहरुको अन्तर्राष्ट्रिय करियर बनाउन मद्दत गर्ने उनको भनाइ थियो ।


सभामा संरक्षकहरुको भुमिकामा रविन्द्रजंग थापा, वीरेन्द्रकुमार मेहता, बसन्तलाल लामिछाने, खेमलाल भूसाल र दशरथ ज्ञवाली रहेका थिए भने परिचालन समूहमा  रोहित कटवाल, रुपक लामिछाने, हरि आचार्य, दिलिप नेपाल रहेका थिए ।

यस्तै, लजिस्टिकको महासचिवमा सन्तोस खरेल, शैक्षिकको सुशिल कोइराला, जनसम्पर्कको प्रितमकुमार मेहता, व्यवस्थापनको रुद्र ढुंगाना र आतिथ्य सत्कार समूहको महासचिवमा सुष्मा तामाङरहेकी थिइन् ।

२०७६ साउन ३० गते २२:४६मा प्रकाशित

प्रतिकृया दिनुहोस्