पाठ्यपुस्तकको नाम मेरो नेपाली हटाएर राखियो ‘भाषा संसार’

शिक्षा मन्त्रालय भन्छः नेपाली विषयको नाम परिवर्तन गर्न पाइदैन

भाषाविद् भन्छन्ः यस्तो पुस्तक चल्न दिँदैनौं

पाठ्यक्रम विकास केन्द्र भन्छः केही अलग नाम राखौं भनेर गरिएको हो

पाठ्यक्रम विकास केन्द्रले सरकारी स्वीकृतबिनाको पुस्तक विद्यालयमा परीक्षणका लागि पठाएको पाइएको छ ।

कानूनतः शिक्षा मन्त्रालयको स्वीकृति पछि मात्रै पुस्तक लागू गर्नुपर्ने हुन्छ । पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि विद्यालयहरुमा कक्षा १ को ‘मेरो नेपाली’ विषयको पुस्तक मन्त्रालयको अनुमतिबिनै नाम परिवर्तन गरेर ‘भाषा संसार’ कायम गरी विद्यालयहरुमा पठाएको हो ।

केन्द्रले यस वर्ष सातै प्रदेशमा हुनेगरी काठमाडौं उपत्यकाका सहित १८ जिल्लाका १०३ विद्यालयहरुमा कक्षा १ को नयाँ पाठ्यपुस्तक परीक्षण गरेको छ । परीक्षणसँगै अर्को वर्ष ती पुस्तकहरु देशैभर लागू हुने केन्द्रले जनाएको छ । आउँदो साल कक्षा २ को परीक्षण हुने र हरेक वर्ष कक्षाहरु बढ्दै जाने केन्द्रका अधिकारीको भनाइ छ । केन्द्रले परीक्षणकै क्रममा कक्षा १ को मेरो नेपाली पुस्तकको ठाउँमा ‘भाषा संसार’ नामको पुस्तक विद्यालयमा पठाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालयहरुमा परीक्षणका लागि पाठ्यपुस्तक लागु गर्न अनुमति दिएपनि विषयको नाम परिवर्तन गर्ने विषयमा अनुमति नदिएको जनाएको छ । मन्त्रालयका सचिव खगराज बरालले पाठ्यपुस्तक परीक्षणका लागि मन्त्रालयले अनुमति दिएको भएपनि विषयको नाम परिवर्तनबारे कुनै अनुमति नदिएको स्पष्ट पार्नुभयो । ‘कक्षा १ को मेरो नेपाली विषयलाई भाषा संसार बनाएको पाइयो । यसबारे केन्द्रका महानिर्देशकलाई नेपाली भाषा संसार बनाउन भनिसकेका छौं,’ सचिव बरालले  भन्नुभयो । ‘मेरो नेपाली विषयलाई हटाएर भाषा संसार लागू गर्नु हुँदैन । नेपाली शब्द नहटाउन मन्त्रालयले भनिसकेको छ,’ बरालले भन्नुभयो । सचिव बरालको  भाषा संसार पुस्तक लागू गर्न भनेर अनुमति नै नदिएको अभिव्यक्तिले पनि पाठ्यक्रम विकास केन्द्रले परीक्षणका लागि पठाएको पुस्तक गैरकानूनी देखिन्छ । मेरो नेपाली पुस्तकलाई नेपाली पहिचान नै मेटिनेगरी भाषा संसार राखेर अनुमतिबिना विद्यालयमा पठाइएको देखिन्छ ।  शिक्षामन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिले पारित गरेको पुस्तक मात्रै विद्यालयमा लागू गर्न पाइने कानूनी व्यवस्था रहेको छ ।

उता, पाठ्यक्रम विकास केन्द्रले भने केही अलग नाम राखौं भनेर नेपाली हटाएर भाषा संसार राखिएको जनाएको छ । पाठ्यक्रम र शिक्षक गाइडमा पनि मेरो नेपाली नै विषय भएको भएपनि किताबको नामचाहिँ विषय समितिले परिवर्तन गरेको केन्द्रले जनाएको छ ।

भाषाविद्हरु भन्छन् : चल्न दिँदैनौं

पाठ्यक्रम विकास केन्द्रले एक्कासी कक्षा १ को नेपाली विषयको नाम परिवर्तन गरी भाषा संसार बनाएपछि भाषाविद्हरुले भने त्यसको विरोध गरेका छन् । नेपाली भाषाविद्हरुले कुनैपनि बहानामा नेपाली विषयको नाम परिवर्तन आफूहरुलाई मान्य नहुनेसमेत चेतावनी दिएका छन् । नेपाली भाषाविद् एवं मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष डा. खगेन्द्र लुइटेलले नेपाली विषयको नाम परिवर्तन गरिनु नेपाली भाषामाथिको नै प्रहार भएको प्रतिक्रिया दिनुभएको छ ।  कुनै हालतमा पनि यसलाई लागू गर्न नदिने उहाँ बताउनुहुन्छ । भाषामाथिको यो एक दुष्प्रयास हो भन्दै डा. लुइटेलले यसो गर्नेहरुका निम्ति नै दुभाग्र्यपूर्ण हुने चेतावनी दिनुभयो । ‘नेपाली भाषा कसैको पेवा होइन, किताबको भित्र विषयवस्तु उही छ भन्दैमा पनि किताबको नाम फेर्न पाइँदैन र यसलाई बदल्न दिइँदैन पनि,’ उहाँले भन्नुभयो ।

अर्का भाषाविद् शरच्चन्द्र वस्ती कुनै आवश्यकता, तर्क र तुकबिनै पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको नाम परिवर्तन गर्नु गलत रहेको बताउनुहुन्छ । नेपाली विषयबाट नेपाली शब्द नै हटाउनु नेपाली भाषालाई कमजोर पार्ने खेल भएको उहाँको भनाइ छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका उपाध्यक्ष डा. विजय सुब्बाले नेपाली विषयको नाम परिवर्तन गरी भाषा संसार राखिनु सरासर गलत भएको बताउनुहुन्छ । ‘पहिलेदेखि चलिआएको र पहिचान बनाएको नामलाई परिवर्तन गरिनुहुन्न । यदि सबै भाषा भाषिलाई समेट्न भाषा संसार राखिएको हो भनेपनि नेपालीभित्रै सबै भाषा अटिहाल्छन् नि !’ डा. सुब्बा भन्नुहुन्छ । यो निर्णय तुरुन्त फिर्ता हुनुपर्ने उहाँको जिकिर छ ।

त्रुटि भएको भए सच्याउँछौं–महानिर्देशक

यता, पाठ्यक्रम विकास केन्द्रले विषय समितिले नेपाली विषयको नाम परिवर्तन गर्दा त्रुटि भएको भए सच्याउन सकिने जनाएको छ । केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले कक्षा १ को पुस्तक परीक्षणका क्रममा रहेकाले त्रुटि पाइए सुझाबका आधारमा सुधार गर्न सकिने बताउनुभयो । विषय समितिले केही अलग नाम राखौं न त भनेर किताबको नाम परिवर्तन गरेको स्पष्ट पार्दै महानिर्देशक पौडेलले यस विषयमा मन्त्रालय र राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिबाट अनुमति नलिइएको स्वीकार गर्नुहुन्छ । ‘यसबारे अनौपचारिक रुपमा विषय समितिसँग छलफल भएको छ । पौषमा पुस्तकको अन्तिम पुनरावलोकन हुँदा किताबको नाम परिवर्तन गर्न सकिन्छ,’ महानिर्देशक पौडेलले भन्नुभयो । कुनै नियतवश् नभई केही नयाँ नाम राखौं न त भनेर मेरो नेपालीको ठाउँमा भाषा संसार राखिएको हुनसक्ने महानिर्देशक डा. पौडेलले तर्क गर्नुभयो ।

नेपाली नै किन हट्यो ?

पाठ्यक्रम विकास केन्द्रले यस वर्ष कक्षा १ मा परीक्षणका लागि तयार पारेका पाठ्यपुस्तकहरुमा अन्य विषयमा भने कुनै परिवर्तन गरिएको छैन । ४ वटा पुस्तकमध्ये गणित संसार, हाम्रो सेरोफेरो, माइ इंग्लिस (मेरो अंग्रेजी) को नाममा परिवर्तन गरिएको छैन । मात्र मेरो नेपाली पुस्तकको नाम परिवर्तन गरी भाषा संसार राखिएको छ । परीक्षणका पुस्तक नपठाइएका देशभरका अन्य विद्यालयहरुमा भने मेरो नेपाली पुस्तक नै पुगेका छन् । भाषा संसार परीक्षणका लागि तयार पारिएको पुस्तक भएपनि अर्को वर्ष यो मुलुकभर पुग्नेछ । भाषा संसार पुस्तकमा प्रयोग भएका कतिपय कार्टुनहरु नेपाली मौलिक प्रकृतिका नभई विदेशी जस्तो देखिने प्रयोग गरिएका छन् । यसको पनि आलोचना भएको छ ।

नेपाली भाषामाथि प्रहार

२०६९ सालमा नेपाली भाषाको वर्णविन्यास बिगारेर यसमाथि प्रहार शुरु भएको थियो । पछि त्यसलाई शिक्षा मन्त्रालयले फिर्ता लिएपनि त्यसपछि पनि नेपाली भाषा र वर्ण माथिको प्रहार रोकिएको छैन । २०६९ साउनमा कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा कर्मचारीको सामान्य टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो । तर, पछि भाषाविद्हरुले यसमा चर्को विरोध गरेपछि शिक्षा मन्त्रालयले सो गल्ति सच्याउन बाध्य भएको थियो । नेपाली भाषाको मानक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग र भाषा बचाऊ आन्दोलन समितिहरुले तुरुन्तै सच्याउन माग गर्दै विरोध गरेपछि शिक्षा मन्त्रालयले पुनः पुरानै वर्णविन्यास प्रयोग गर्ने निर्णय गरेको थियो । यसको विरोधमा शिक्षा पत्रकार समूहले बृहत् अन्तक्र्रिया नै आयोजना गरेको थियो । पछि मानक नेपाली भाषा अभियानकै सक्रियतामा नेपाली भाषामा छापिने अन्य विषय, राष्ट्रिय परीक्षाबोर्ड, विश्वविद्यालयहरुका प्रश्नपत्र आदिमा पनि मानक नेपालीको शुद्ध प्रयोग हुने व्यवस्था भएको थियो । हाल सोही अभियानकै कारण बैंकको एटिएममा समेत नेपाली भाषा प्रयोग हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर, अर्कोतिर विद्यालयका पाठ्यक्रममा भने नेपाली विषयकै नेपाली शब्द हटाउने दुष्प्रयास भएको देखिन्छ । वर्णविन्यास परिवर्तन गर्ने निर्णय सच्याएपछि पनि केही समय पाठ्यपुस्तकहरुमा पुरानै वर्णविन्यासका पुस्तकहरु पुगेका थिए ।

कसरी बन्छ पाठ्यपुस्तक ?

परीक्षणका लागि पाठ्यपुस्तक तयार पर्दा शुरुमा विषय विज्ञ र विषय शिक्षकहरुबीच कार्यशाला गरिन्छ । पटक–पटकको कार्यशाला पछि पुस्तकको प्रारम्भिक मस्यौदा बन्छ । सोहीअनुसार लेखकले पुस्तकको खेस्रा तयार पार्छन् । सो खेस्रा समन्वय समितिमा जान्छ । त्यहाँबाट सुधार भएर आएपछि विषय समितिले अन्तिम टुङ्गो लगाउने गर्छ । र त्यसलाई शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन समितिले पारित गरेपछि छपाई गरी विद्यालयमा परीक्षण  गरिन्छ । परीक्षणका क्रममा आएका सुझाबका आधारमा परिवर्तन गरी  अन्त्यमा सबै विद्यालयमा लागू गरिन्छ ।

२०७६ जेष्ठ १४ गते ०९:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्