काठमाडौं । लिने र दिने बीच तालमेल नहुँदा शिक्षक तालिम प्रभावकारी बन्न नसकिरहेको विज्ञले टीप्पणी गरेका छन् । शिक्षक तालिममा सरकारको रोजाइ र शिक्षकको खोजाइ नमिलेका कारण त्यसको असर कक्षाकोठामा पुग्न नपाएको उनीहरुको भनाइ थियो ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको अवको शिक्षक तालिम कस्तो ? विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै जनतामावि त्रिभुवनटार नवलपुरका शिक्षक एवं हाल कावासोती नगरपालिकाका स्रोत शिक्षक तीर्थ कँडेलले सरकारको शिक्षक तालिम खोला एकातिर, पूल एकातिर जस्तो भएको टीप्पणी गरे । तालिम उपचार भएपनि  सरकारले रोगै पत्ता नलगाई उपचार गरिरहेको उनको भनाइ थियो ।

शिक्षकहरुको कक्षागत अवलोकनपछि पाइएका कमीहरुलाई सम्बोधन हुनेगरी तालिम सञ्चालन गर्नुपर्ने भन्दै तालिम दिएपनि निरन्तर अनुगमन हुनुपर्नेमा उनको जोड थियो ।

निलवाराही मावि कालीमाटी काठामाडौंकी प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलले नभोकाइकनै शिक्षकलाई तालिम दिइएको बताइन् । कोचीकोची खान परेकाले शिक्षकलाई स्वाद परेन, शिक्षकको रोजाइ र खोजाइ अनुसारको तालिम हुनुपर्यो– उनले भनिन् । विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिए  आवश्यकताका आधारमा विद्यालयले नै तालिम चाहिने शिक्षकलाई अवसर दिने उनको भनाइ थियो ।

टिच फर नेपालकी स्वस्तिका श्रेष्ठले परिवेश सुहाउँदो गरी शिक्षकको क्षमता अभिवृद्धिमा ध्यान दिइनुपर्ने बताइन् । अब तालिमको मोडेलसँगै शिक्षण सिकाइ विधिमा पनि परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।

शिक्षाविद प्राडा विद्यानाथ कोइरालाले तालिम सशुल्क हुनुपर्ने विषय भएपनि शिक्षकलाई निशुल्क प्रदान गर्दा प्रभावकारी हुन नसकेको टीप्पणी गरे । अब निशुल्क तालिम मिडियाबाट लग्ने गरी शिक्षक तालिमलाई आवश्यकताका आधारमा सशुल्क बनाउनुपर्ने उनको भनाइ थियो ।

तालिम संरचनाकै पुनर्संरचना गर्नुपर्ने भन्दै डा. कोइरालाले शिक्षकले गर्दा गर्दा जानेको हुने, साथीसँग सिकेको हुने, नजानेको कुरा खोजेको हुने भएकाले शिक्षकसँग भएको क्षमता बुझेर मात्रै आवश्यक तालिम लिने अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।  प्रा.डा. कोइरालाले भने, ‘शिक्षकले कति जाने ? त्यसको प्रोफाइल बनाउन सकिन्छ । शिक्षक स्वयंले आफूलाई के कुरा नपुगेको हो, तिनलाई मोड्युलर तालिम दिऊँ ।’

हुम्लाका पत्रकार राजन रावतले तालिम लिने र दिने दुवैपक्ष जिम्मेवार नहुँदा शिक्षक तालिम प्रभावकारी बन्न नसकेको टीप्पणी गरे । शिक्षक तालिम केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने  अवस्था गरेको  उनको भनाइ थियो । जिल्लाहरुमा शिक्षक तालिम त हो नी भन्दै ३ दिनको तालिम २ दिनमा, २ दिनको १ दिनमा र १ दिनको तालिम २ घण्टामा सक्ने परिपाटी रहेको बताए ।

फेरी काठमाडौंमा तयार पारिएको तालिमको डिजाइन दूर्गम क्षेत्रमा रुचीकर र व्यवहारिक नहुने भएकालेस्थानीय परिवेश र स्रोत र साधनका आधारमा तालिमको डिजाइन गर्नुपर्ने रावतको भनाइ थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइमा रुपान्तरण भयो÷भएन भन्नेमै तालिमको औचित्य देखिने बताए । उनका अनुसार, तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । पहिलो, तालिम लिने शिक्षकले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिमको परिक्षा मूल्याङ्कन । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथो विद्यार्थीको सिकाइमा रुपान्तरण । शिक्षण व्यवहार र विद्यार्थीको सिकाइमा रुपान्तरमाथि प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको महानिर्देशक थपलियाले बताए ।

अहिले १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास गराईन्छ । तालिम प्रभाव घट्दै जाँदा ‘तालिम’ शब्दप्रति नै नकारात्मक बुझाई हुन थालेपछि कार्यक्रमलाई शिक्षकको पेशागत विकास (टीपीडी)का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरिएको उल्लेख गर्दै महानिर्देशक थपलियाले भने,  ‘एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’

शैक्षिक तालिम केन्द्र बागमती प्रदेशका प्रमुख डा. तोयनाथ खनालले पछिल्लो दिनमा आफुहरुले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिए । ‘त्यहीँ पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उनको प्रष्टोक्ति थियो ।

शिक्षकले तालिम लिन नचाहेको, लिएपछि बिर्सिएको, कक्षाकोठामा नपुगेको भन्ने कुराहरुमा पूर्णत शत्यता नभएको भन्दै डा. खनालले शिक्षालाई अहिलेको अवस्थामा ल्याउनुमा शिक्षककै महत्वपूर्ण भुमिका रहेको स्पष्ट पारे । शिक्षक तालिमको डिजाइन र क्षमता विकासका सन्दर्भमासुधार आवश्यक रहेको विषय सहि रहेको र आगामी दिनमा प्रदेश तालिम केन्द्रको ध्यान त्यतातिर जाने उनले बताए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा शिक्षकले तालिम कक्षाकोठामा पुर्याएनन् तालिमले क्षमता विकास भएन भन्ने कुरा सही नभएको टीप्पणी गरे । लकडाउनको समयमा पनि घरमा खाली नबसेर शिक्षकहरु आफ्नै पहलमा अनलाइन विधिमार्फत् आफ्नो क्षमता सुधारमै लागिरहेका भन्दै बरु सरकारले दिने तालिम समयसापेक्ष र प्रभावकारी नभएको आरोप लगाए ।

हाल अनलाइनको पहुँच भएका ठाउँमा शिक्षक सक्रिय रहेका उनको भनाइ थियो ।  एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न नमिल्ने उल्लेख गर्दै थापाले भने, ‘पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका छैन । तर, शिक्षकको अवस्था पनि बुझ्नुपर्छ ।’ शिक्षक तालिम समय–सान्दर्भिक हुनु पर्नेमा उनको जोड थियो ।

२०७७ जेष्ठ ८ गते ११:५६मा प्रकाशित

प्रतिकृया दिनुहोस्