काठमाडौं।कोभिड महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियामार्फत्को शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी पाइएको छ ।
शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको दाबी गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले हाल कक्षा ९ र १० का अनिवार्य विषयहरुलाई बढी जोड दिइएका रेडियो कक्षाहरु छिट्टै कक्षा ६ देखि १२ सम्मै लगिने जानकारी दिनुभयो ।
अन्य वैकल्पिक सिकाइ माध्यमका तुलनामा रेडियो प्रभावकारी पाइएकाले भौतिक रुपमा विद्यालय खुलेपनि पूरक सिकाइ सामग्रीको रुपमा रेडियो कक्षालाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।
आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तक्र्रियामा बोल्दै निर्देशक दाहालले रेडियो कक्षा कति प्रभावकारी भयो भनेर केन्द्रले अध्ययन नगरेको भएपनि निरन्तर राम्रा प्रतिक्रिया आइरहेका बताउनुभयो ।
सरकारले हाल रेडियो नेपाल र सामुदायिक रेडियो प्रशारक संघ (एकोर्याव)मार्फत् दुईसय बढी सामुदायिक रेडियोमार्फत् यस्तो कक्षा सञ्चालन गर्दै आएको छ । एकोर्याबमार्फत् बिहान १० देखि ११ बजे र साँझ ५ देखि ६ बजेसम्म कार्यक्रम प्रशारण हुँदै आएको छ ।
शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिताका सम्बन्धमा एकोर्याबले सातै प्रदेशका १९२ शिक्षक, अभिभावक र विद्यार्थीमा गरेको अध्ययनमा ८८ प्रतिशतलाई कार्यक्रम प्रशारण हुने समय उपयोगी लागेको देखिएको थियो । यस्तै, ७३ प्रतिशतले कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।
एकोर्यावका अध्यक्ष अर्जुन गिरीले पछिल्लो दिनमा सामुदायिक रेडियोहरु शिक्षाकेन्द्रित बन्दै गएको भन्दै शहरी भन्दा ग्रामीण क्षेत्रमा रेडियो कक्षा प्रभावकारी रहेको बताउनुभयो । अन्य क्षेत्रमा प्रभावकारी बनेपछि रेडियोको पहुँच नै नभएको दाङको बंगलाचुली गाउँपालिकाले आफैँ एफएम रेडियो सञ्चालन गरेको उहाँले सुनाउनुभयो । कतिपय ठाउँमा अभिभावकसित रेडियोको सेट नै नभएका अवस्थामा भने बालबालिकाहरु सिकाइबाट बञ्चित बनेको पनि उहाँको औंल्याई थियो ।
रेडियो मुक्ति बुटवलकी स्टेशन प्रमुख कल्पना तिवारीले माथिल्ला कक्षाका विद्यार्थीमा रेडियो सिकाइ प्रभावकारी देखिएपनि तल्लो कक्षाका बालबालिकाले झन्झट मान्ने गरेको बताउनुभयो ।
केन्द्रले तयार पारेको कार्यक्रम देशभर प्रशारण गर्नुको सट्टा स्थानीयस्तरमै उत्पादन गर्न सके बढी प्रभावकारी हुने भन्दै उहाँले आफूहरु रेडियो कक्षालाई अन्तक्र्रियात्मक बनाउने प्रयत्नमा लागिरहेको जानकारी दिनुभयो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्य तथा दृश्य शाखाका रेडियो इञ्जिनियर सन्त महर्जनले विद्यार्थी रेडियो कक्षामा टिकिरहून् भनेर एउटा रेडियो कक्षालाई १५ मिनेटको मात्रै बनाएको, विषयवस्तु सिँधै नदिएर नाटकीकरण, संवादात्मक र रमाइलो बनाइएको, विद्यार्थीको चाहनाबमोजिमको समय छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार रेडियो नेपालसँग रेडियो कक्षाका लागि प्रतिमिनेट ७९१ रुपैयाँमा सम्झौता गरिएपनि सामुदायिक रेडियोहरुमा भने कार्यक्रम निर्माणका लागि प्रतिकार्यक्रम ४ हजार मात्रै लगानी भएको छ ।
गुड नेवर्सका कार्यप्रमुख शंकर सुवेदीले हाल सरकारसँगको समन्वयमा हुम्ला, मुगुदेखि नुवाकोटसम्मका १२ जिल्लामा आफूहरुले रेडियो कक्षा प्रशारण गर्दै आएको जानकारी दिनुभयो । आफूहरुले कक्षा ८ का १८६ विद्यार्थीमा गरेको छोटोे सर्भेले ८१ प्रतिशत विद्यार्थी रेडियो कक्षामा सहभागी हुने गरेको देखाएको बताउनुभयो । सर्भेले सहभागीविद्यार्थीमध्यै २९ प्रतिशतमा अति प्रभावकारी र ६६ प्रतिशतमा प्रभावकारी पाइएको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक विकास केन्द्र डोटीका सहजकर्ता एकराज बडुले रेडियो कक्षा शुरु गर्ने र विद्यालय खुल्नेबित्तिकै छाड्ने गर्नाले समस्या भएको औंल्याउनुभयो । रेडियो कक्षालाई पूरक सिकाइका लागि निरन्तर कक्षाकोठामा जोड्न आवश्यक रहेको बताउनुभयो ।
जस्ट नेपालकी कार्यक्रम व्यवस्थापक कल्पना रजकले महामारीको समयमा वैकल्पिक सिकाइको अवस्था, विद्यार्थीको पहुँच र प्रभावकारिताको अवस्था जान्न भर्चुअल अन्तक्र्रिया श्रृंखला शुरु गरेको जानकारी दिनुभयो ।
आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले रेडियो सेट नै नभएका ठाउँमा संघीय र स्थानीय सरकारले अभिभावकलाई रेडियो वितरण गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले एकोहोरो सञ्चार प्रक्रियाका रुपमा रहेका रेडियो कार्यक्रमलाई दोहोरो बनाउने उपायमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र र एकोर्याबलगायत सम्बन्धित पक्ष लाग्नुपर्ने सुझाउनुभयो ।