काठमाडौं । शिक्षा मन्त्रालय अन्तर्गतको निजामति कर्मचारीहरुको आधिकारीक ट्रेडयुनियनले पाठ्यक्रम विकास केन्द्रको गैरकानूनी हर्कत विरुद्ध शिक्षा सचिवलाई ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पारित भइसकेको भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको साथै विना स्वीकृति कक्षा १ को ‘मेरो नेपाली’ पुस्तकको नाम परिवर्तन गरी ‘भाषा संसार’ बनाएको भन्दै ट्रेड युनियनले मंगलवार शिक्षा सचिव खगराज बराललाई ज्ञापन पत्र बुझाएको हो ।

यसअघि नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल निजामति कर्मचारी युनियन शिक्षा विभागीय समितिले पनि शिक्षा मन्त्रालयलाई यही विषयमा ज्ञापन पत्र बुझाएको थियो ।

पाठ्यकम विकास केन्द्रबाट प्रकाशन गरिएको आधारभूत तह कक्षा १–३ को पाठ्यकम, २०७५ को प्राक्कथन लगायत विभिन्न पृष्ठहरूमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७५ भनी उल्लेख गरिनुलाई ट्रेड युनियनले कानूनी राज्यको उपहास भएको दाबी गरेको छ ।

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप नेपाल सरकारबाट स्वीकृत हुनुपर्ने यथार्थलाई वुझ्दाबुझ्दै स्वीकृतिको चरणमा रहेको प्रारूपका सिद्धान्तलाई आधार भन्दै उल्लेख गर्नुले कानूनी राज्यको उपहास भएको छ । उक्त कार्य प्रचलित विधि र प्रक्रिया पुरा गरेर यथाशिघ्र सार्वजनिक गरियोस् ।’ सचिवलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।

नेपाल सरकारले परीक्षणमा रहेका पुस्तकहरू मध्ये मेरो नेपाली पुस्तकको नाम परिवर्तन गरी भाषा संसार नामाकरण गरिनुलाई विज्ञप्तिमा नेपाली पहिचान र भाषा माथिको प्रहार भनिएको छ ।

‘मेरो नेपाली नामले पुस्तकको नाम मात्र हैन आम नेपालीको राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्दछ । देशमा राष्ट्रियताको बहस हुँदै गर्दा नेपाल र नेपाली शब्द समेत परिवर्तन गरी भाषा संसार राख्नुले समग्र नेपाली भावनालाई ठेस पुयाउनुका साथै आफ्नो मौलिक पहिचान समेत मेटिने अवस्था छ ।’ ट्रेडयुनियनका अध्यक्ष हरिभक्त पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साथै, विज्ञप्तिमा विद्यालय शिक्षामा नेपाली विषयको स्थान कमजोर बनाउँदै नेपाली विषयको महत्त्व र मर्मलाई लोप गराउने नियोजित कार्यको छानविन गर्न यस ट्रेड युनियन मन्त्रालय मार्फत नेपाल सरकारको ध्यान आकृष्ट गराइएको छ ।

 २०७६ जेष्ठ २१ गते १५:१५मा प्रकाशित

प्रतिकृया दिनुहोस्